Pages

Wednesday, December 4, 2024

म किन लेख्छु ? (अङ्क १८ मा प्रकाशित)


मलाई कसैसँग प्रतिस्पर्धा गर्नु छैन । मेरो प्रतिस्पर्धी भनेको स्वयम् म नै हुँ । म प्रतिस्पर्धी रहित भएर लेख्छु । आफ्नै रचनासँग आफैले तुलना गर्छु । पहिले लेखेको राम्रो लाग्दैन अनि नयाँ लेख्न खोज्छु, चित्त बुझ्दैन फेरि लेख्छु । 

मलाई के लाग्छ भने मैले आफूले लेखेका रचना आफैले चित्त बुझाएँ भने नयाँ लेख्ने जाँगर आउँदैन र त राम्रो लेख्न सकिन्छ कि भनेर पुनः पुनः लेख्छु । विशेष गरी बालसाहित्यतर्फ मेरो रुचि छ, त्यस अन्तर्गत पनि मलाई बालकविता लेख्न औधि मज्जा लाग्छ । म बालबालिकालाई मनोरञ्जन दिनका लागि लेख्छु । बालबालिकालाई उपदेशको भारी बोकाउनु मेरो लेखनको उद्देश्य होइन । ती काम त अभिभावक र शिक्षकको हो । बालबालिकालाई नैतिक सन्देशको प्रत्यक्ष सम्प्रेषण हुने खालको आग्रहीकरणको भाषाशैली मलाई दिक्क लाग्ने विषय हो । के त्यसो भए बालबालिकालाई नैतिक सन्देश नदिएर बिग्रनै दिने त ? त्यसो होइन । उनीहरूलाई विभिन्न उदाहरणमार्फत मनोरञ्जन घुसाउँदै र अप्रत्यक्ष रूपमा नैतिक सन्देश दिनका लागि म लेख्छु । 

म बालपाठकलाई विचारको नाटकीकरण गरेर मनोरञ्जनमा भुलाउन लेख्छु । बालपाठकले मैले भन्न खोजेको कुरा रचना पढिसकेपछि आफै थाहा पाउँछन् । लेखेर पैसा कमाइएला र व्यावसायिक बनुँला भन्दा पनि आत्मसन्तुष्टिका लागि म लेख्ने गर्छु । एउटा रचना लेखेर थोरै पारिश्रमिक पाइयो भने मलाई तलब बुझेको भन्दा बढी आनन्द आउँछ । अचेलका युवा पाठकहरू पढ्नतिर भन्दा पनि कुलतमा फसेका छन्, प्रविधिको दुरुपयोग गरिरहेका छन् । उनीहरूलाई पठन संस्कृतिको विकास गराउनतिर केही सकिन्छ कि भनेर पनि मैले लेख्ने गर्छु । म शिक्षक भएको नाताले कक्षामा आफ्ना र अन्य साहित्यकारका रचना सुनाउँछु । उनीहरू साहित्यमा लहसिन वा सिर्जनामा रम्न सके भने रचनात्मक बन्न सक्छन् कि भन्ने म ठान्दछु र उनीहरूलाई प्रेरणा जगाउन समेत म लेख्ने गर्छु । अर्को कुरा म आफ्नो अनुभव बाँड्न र बाल तथा युवा पाठकहरूलाई सकारात्मक बनाउने प्रयास गर्न पनि लेख्छु ।


....साथ सहयोगको खाँचो

No comments:

Post a Comment