Pages

Wednesday, December 4, 2024

लघुकथा (अङ्क १८ मा प्रकाशित)

 प्रधानमन्त्रीको सवारी

- शशीश्री आचार्य
बौद्ध कुमारीगाल, काठमाडौँ  


साँझको समय म बेलुकी अफिसबाट फर्कंदै थिएँ । गौशालामा गाडी जाम भयो । आधा घण्टा जति जाम भयो । के को जाम रैछ भनेर सबै जना त्यै जाम हेर्न गए । म भने बस मै बसी रहें । गर्मी महिनाको समय बसमा धेरै बेर बस्दा बस्दा हपहप भएको थियो मलाई, त्यै भएर म पनि बसबाट ओर्लिएर त्यतैतिर लागें । यसो बुझि लेराउँदा त ! हाम्रा देशका प्रधानमन्त्रीको सवारी पो रहेछ । कति दुःख दिन सकेको होला जनतालाई हैट ! देश भने खोक्रो बनाई सके । महंगीले सीमा नाघिसक्यो, विकासका नाममा सिनको भाँचेका छैनन् अझ यिनका लागि हामी दुःख पाउँदै छौ । सेना र प्रहरी जति सबै मन्त्री आउने बाटोमा पहरेदार बनि बसेका छन् । हामी जस्ता जागिरे पनि उसैलाई कुरेको जसरी टुलुटुलु त्यतै हेर्दै थियौं । एक जना मन्त्रीलाई लाख पाखाभरि सुरक्षाकर्मी तैनाथ थिए । कसले के गथ्र्यो र उसलाई कसको हिम्मत उसलाई छुने... राम राम किन त्यति धेरै पहरेदार उसका, म सोच्दै अचम्म परेँ । एकजनाको सुरक्षार्थ यति धेरै मानिस खटिएका देखेर मेरो कन्चट तातेर आयो । 

बल्ल बल्ल महाराजको सवारी भयो । सबै जना हात जोडेर बिन्ती भाउ गर्दै थिए । यति धेरै सास्ती खपेर पनि अझै त्यै नेतालाई हात जोडेर बिन्ती भाउ गरेको देख्दा म त छक्क परेँ ।

त्यस्तै दस मिनेटपछि हामी सबै आफ्नो बस भएतिर आउँदै थियौं । अचानक यौटा महिला आफ्नो बच्चा च्यापेर रुँदै थिइन् । उनको रुवाईमा पीडा झल्किएको थियो । मैले सोधें हजुरलाई के भो? किन रुनु भयो भन्दै यसो उनको बच्चातिर हेरें, साह्रै बिरामी रहिछिन् । उसैलाई अस्पताल लान हिँडेकी रहेछिन् मन्त्रीको जामको कारणले गर्दा अस्पताल लान हिँडेकाले बीचैमा अलपत्र परेछन् । मैले भने,  'दिदी एम्बुलेन्समा आउनु भएको भए हुने थियो नि !’ उनले भनिन्,  'हतारमा याद आएन’ भन्दै रुँदै थिइन् । हामी सबै मिलेर फकाई फकाई ती दिदीलाई बाबुसहित उहाँहरू आएको ट्याक्सीमै राख्यौ । दिदी धेरै आत्तिनु भयो अनि म घर न गएर दिदीसँगै कान्ति हस्पिटल गएँ । हतार हतार गरी इमरजेन्सी तिर लाग्यौ बच्चाका बाबु पहिले नै हस्पिटल गएका रहेछन् । दुई जना भित्र पसे म बाहिरै उनीहरूलाई कुरिरहें । एकछिनमा दिदी पनि बाहिर निस्कनु भयो । हामी दुवै भगवानसँग प्रार्थना गर्दै थियौं । 

आधा घण्टापछि बल्ल बाबुको बाबा मुख रुमालले छेक्दै रुँदै बाहिर निस्कनु भयो । हामी आत्तिएर उनी पट्टी लाग्यौ, उनको मुखबाट बाबु गयो नानी हामीलाई छोडेर अस्पताल लेराउन ढिलो भयो रे ! डाक्टरले धेरै गाली गरे... त्यत्तिकैमा दिदी बेहोश भएर ढलिन्... आमाले आफ्नो मुटुको टुक्रा गुमाइन् भने बाबाको संसार उजाड भयो ।

यसको जिम्मेवार को?

....साथ सहयोगको खाँचो

No comments:

Post a Comment