Pages

Tuesday, July 8, 2025

लघुकथा (अङ्क २५ मा प्रकाशित)


फूलहरू आज असाध्यै मुस्कुराइरहेका थिए । जस्तै उनलाई थाहा थियो — ऊ आउनेछ ।

शीतल हावा बगिरहेको थियो, जुन कहिले काँध छुन आउँथ्यो, कहिले केशहरू उडाइदिएर उसलाई हर्षित बनाउँथ्यो । तर त्यही हावा आज उसका नयनहरूमा पनि केही थोपाहरू सुम्सुम्याइरहेको थियो ।

नदी किनारमा उभिएर उसले आँखा पारिपट्टी गाडेकी थिई — जहाँ ऊ कहिल्यै देखिन्थ्यो । आज पनि शायद उस्तै एक साँझ हुनेछ, जस्तै ती धेरै साँझहरूमा ऊ आएको थियो, मुस्कुराएको थियो, अनि ढल्किँदो घाममा दुई छायाँहरू लम्बिएर एउटै हुँदै गएका थिए ।

“आज ऊ आउँछ,’’ उसले आफैँलाई भनेकी थिई ।

साँझ झन्झन् गहिरिँदै गयो । सुनौलो झिल्काहरू पानीमा नाच्न थाले । उनले सेतो पहिरन सम्हालेर अगाडि पाइला चालिन्‌— बिल्कुल त्यो ठाउँसम्म, जहाँ उनीहरू सँगै बसेका थिए पहिले………

तर आज ऊ एक्लै थिई । प्रकृति सबै उसका पक्षमा थिए तर समय होइन ।

अचानक खोला पारि एउटा आकृति देखियो । उनले एकक्षण पत्याइनन् । आँखा झिम्काइन् । आकृति अझ नजिक आयो, तर उसको अनुहार धुम्मिएको थियो ।

“त्यो ऊ हो?’’

हावा रोकिएझैँ लाग्यो । फूलहरू थरथराए । नदीले एक सास रोकेको भान भयो ।

त्यही बेला उनी मुस्कुराइन् — पीडा मिश्रित, मिठासले भरिएको मुस्कान । किनकि, शायद त्यो ऊ थिएन । तर उसको सम्झना भने हरेक साँझ यति सजीव भएर आइपुग्थ्यो, मानौँ ऊ अझै आइरहेको छ ।

आज फेरि एक साँझ उनी कुरी बसिन् — आशा र सम्झनाबीचको त्यो डोरी समातेर ।

-बौद्ध कुमारीगाल काठमाडौँ

.............................................................................‍
..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

No comments:

Post a Comment