Pages

Sunday, July 6, 2025

व्यक्तित्व (अङ्क २५ मा प्रकाशित)


आधुनिक नेपाली कथा–परम्पराको 'यथार्थवादको युग’ (सं. १९९१–२०१९) मा कथाकार जगदीश नेपाली (सं. १९९९–२०३८) देखा परेका हुन् । उनी आफैँले सम्पादन गरेको कथासङ्ग्रह 'आदर्शश्री’ (सं. २०११) मा उनका दुई कथाहरू 'चुम्ना’ र 'पतिया’ सङ्गृहीत भएकाले उनको कथायात्रा सं. २०११ देखि भएको देखिन्छ । कक्षा नौसम्मको मात्र विद्यालय शिक्षा हासिल गरेका उनको अभिरुचि साहित्यिक पत्रकारिता, स्थानीय राजनीति र समाजसेवामा केन्द्रित भएको पाइन्छ । शिक्षण पेसासमेत गरेका उनलाई बङ्गाली, आसामी, गुजराती, हिन्दी र अङ्ग्रेजी भाषाको समेत ज्ञान थियो । अध्यात्मवाद र अभिनय कलामा समेत अभिरुचि राख्ने उनी स्थानीय यातायात व्यवसायका प्रतिष्ठित व्यक्तित्व पनि थिए । उनी शिक्षानुरागी साहित्यिक व्यक्तित्व थिए । उनको एक मात्र लघुकथासङ्ग्राह जगदीश नेपालीका केही लघुकथाहरू (सं. २०३९ः सम्पा. गिरिराज आचार्य) प्रकाशित छ ।

जगदीश नेपाली तीव्र सामाजिक दृष्टि भएका चेतनशील कथा–स्रष्टा हुन् । उनले समाजमा नारीहरूमाथि हुने गरेका अन्याय र अत्याचार, मादक पदार्थ सेवन गरी हिँड्नेहरूको दुरवस्था, मान्छेभित्र बढ्दो पाशविक प्रवृत्ति र स्वार्थपन, अरूको आँखामा कसिङ्गर फालेर ठगी हिँड्ने मानिसको स्वभाव, मौलाउँदो भ्रष्टाचार, निम्नवर्गका मानिसहरूमाथि उच्चवर्गका मानिसहरूले गर्ने गरेका शोषण, विश्वासहीनताको स्थितिबाट अघि बढिरहेका मानिसहरू आदि देखेका छन् । उनी मानिसहरूको निकृष्ट मनोवृत्तिका कारण समाजबाट नैतिक मूल्यहरू विच्छिन्न हुँदै गएको देखेर दुखित बनेका छन् । हाम्रो समाजको यस्तै विद्रूप देखेर उनले लघुकथाहरू लेखेका हुन् । यस अर्थमा उनका कृतिहरू तात्कालिक समाजको दर्पण बनेका छन् । 'प्रपञ्च’ कथामा नारी पीडालाई यसरी प्रस्तुत गरिएको छ :

सौतेनी आमाको रोजाइले सुशीलाको जीवन नर्कतुल्य हुने । आफ्नो रोजाइ व्यक्त गर्दा वेश्या शब्दले सम्बोधित हुनुपर्ने । दाजु परदेशमा, बाबुको जोड छोरीलाई देख्दा गहभरि आँसु पनि बाहेक नचल्ने ।

तसर्थ सुशीलाले नारकीय जीवनमा प्रवेश गर्नुभन्दा आत्महत्या गर्नु नै अन्तिम शान्ति सम्झेर उदयलाई सम्झेर एक टीक सिसिक आफै निधारमा लगाएर कोसीमा आफूलाई विसर्जन गरिन् । टाढासम्म उनको पार्थिव शरीर कैले तल कैले माथि गरेको देखिइरहेको थियो ।

स्वतन्त्र निर्णय गर्नबाट सर्वथा वञ्चित नारीका संवेदना र अनुभूतिलाई यस कथामा देखाइएको छ । परतन्त्र जीवन कतिसम्म पीडापूर्ण हुन्छ भन्ने कुरालाई स्पष्ट पार्दै कथाकार नेपालीले नारीमाथि हुने अन्यायको पराकाष्ठालाई देखाएका छन् । यसरी नै कथाकारले आफ्ना 'सम्झना’, 'दसैंको जुहारीमा चिता’, 'नासो तर कसको’ कथाहरूमा पनि नारीहरूका अन्तर्पीडालाई देखाएका छन् । नारीहरूले करबलमा परेर पराई पुरुषसँग विवाह गर्न बाध्य हुनुपर्ने, विवाहपश्चात् तिनीहरूले आपनो जीवनलाई आफ्नो भन्नै नपाई अरूका निम्ति आहुति दिनुपर्ने र पुरुषहरूको स्वार्थको जालभित्र फसेर आफ्नो जीवनलाई पीडापूर्ण बनाउनु पर्नेजस्ता यथार्थलाई उनले आख्यानीकरण गरेका छन् । 'दसैंको जुहारीमा चिता’ कथामा नारीहरूको नियतिको दुःखान्त कथा यसरी कोरिएको छ :

जुहारी खेल्दाखेल्दै उज्यालो भयो । निहुँ जुहारीको भए पनि रुकीको रोजाइ श्यामेलाई थियो । तर दुर्भाग्य श्यामेले हार्यो । रुकीको हार लाउने जय भयो । बाजी हार्नाले रुकीले माला त लगाउनैपर्यो । तर जयको गलामा माला पर्नासाथ रुकीको हात कामेर बेहोस भई । सबैले हतारहतार पानी छ्यापे, फुकफाक गरे । कसैको केही सिप लागेन । रुकीको अन्तिम संस्कार मागमाया खोलाको दोभानमा भयो। श्याम पर बसेर मात्र आँसु पुछिरहेको थियो ।

प्रेममा पराजय मात्र खेप्न बाध्य नारीहरूको नियति कतिसम्म दुःखपूर्ण हुन्छ भन्ने कुरोलाई यस कथामा स्पष्ट पारिएको छ । यसरी कथाकार जगदीश नेपालीले समाजमा नारीहरूले खेप्दै आएका पीडालाई कथ्य बनाएर समाजको यथार्थको अङ्कन गरेको हामी पाउँदछौं ।

कथाकार जगदीश नेपाली समाजमा अनेक विकृति र विसङ्गतिहरू देख्दछन्, किनभने उनी समाजमा बस्ने मानिसहरूमा नैतिक मूलको ह्रास र पाशविक प्रवृत्तिको दासत्वको प्रवृत्ति भएको देख्दछन् । 'चोर गोठालो’, 'दुई भाइको मतो’, 'कस्तो लेखिस्‌’, 'के खोज्छस् काना ? आँखो’, 'नोकरीको स्थायित्व’, 'जहाँ कङ्गाल उही चण्डाल’ जस्ता कथाहरूमा उनले समाजको रुग्ण अवस्थाको यथार्थ चित्रण गर्दै मान्छेभित्र विकसित हुँदै गएको नीच प्रवृत्तिको कटु आलोचना गरेका छन् । उनका दृष्टिमा मान्छे भन्ने जात कतिसम्म कृतघ्नी छ भने जिउँदो छँदा प्रतिभा जस्तो अमूल्य कुरालाई वास्ता नगर्ने, तर मृत्युपश्चात् भने गोहीको आँसु झारेर भारी प्रशंसा गर्न कति पनि सङ्कोच मान्दैन – 'सम्झना’, 'श्रद्धाञ्जलि’, ’गोष्ठी’ जस्ता कथाहरूमा यो कुरो भनिएको छ । कथाकारले मान्छेभित्रको बर्बर, असभ्य र अनैतिक चरित्रको उद्घाटन 'के खोज्छस् काना ? आँखो !’ कथामा यसरी गरेका छन् :

गजुरेल बाजे पनि कम्ताका होइनन् दुवैलाई तराजुमा हाले फरक पर्ने छैनन् बेहोराका लागि तर मानेको हात यस पटक माथि पर्यो । कारण पैरो बचाव उद्धार समितिको सचिवमा यसपालि उसले उछिन्यो । तानखुवापारि पैरो गएकै थियो । उसको सचिवमा न्वारान हुनासाथ तम्मरले पारिपारिका सबै गाउँ सखाप पार्यो । अब क्या है मानेका सत्र । भाग्यमानीको भूतै कमारा । ऊ सचिव हुनु । धमाधम पैरो र बाढी थपिनु ’के खोज्छस् काना ? आँखो !’

प्राकृतिक प्रकोपको सिकार बनेर सर्वसाधारण गाउँलेहरूले ठुलो दुःख पाएको पायै गर्दछन्, यता समितिका पदाधिकारीहरू भने सहयोगका लागि आएको पैसा आफू मात्र तर मार्दछन् । मानवताहीन कर्मलाई महत्व दिने समाजलाई कथाकार नेपालीले आलोचना गरेका छन् । मान्छेभित्र नैतिक चरित्रको ह्रास हुँदै गएको कुरोलाई उनले ’दुई भाइको मतो’ कथामा यसरी भनेका छन् :

चौकामा लड्डुले गब्बूलाई एक मुक्का जमाउँदै भन्यो –“तँलाई लाज लाग्दैन खानैपरे पनि त घुप्लुक्क पसारिन पर्छ नि । भट्टीमा बाटा–बाटामा क्या हो यो गाईजात्रा ?“

गब्बूले लड्डुलाई आज एक्कासि पाण्डित्याइँ छाँटेको देखेर छक्क पर्दै उसले मुक्का उज्याउँदै भन्यो– “तँचाहिँ कुन ड्याङको मूला होस् र यत्रो उपदेश छाँटछस्‌“ – झट्ट पछाडि सरेर मुन्टो निहुराउँदै मुख लड्डूको कानैनेर पुर्‍याएर बिस्तार गब्बूले साउती गर्यो – “कस्तो लाटो रहेछ म पनि थिएँ नि एक्लै किन यो ’सङ्कटमोचनको’ प्रयोग ? भनेको पो त ।”

मान्छेले आफूभित्रको नीच मनोवृत्तिलाई किमार्थ त्याग्न नसक्ने अवस्थाको चित्रण माथिको कथामा गरिएको छ । मान्छेले आफूभित्रको कुसंस्कार वा खराब प्रवृत्तिलाई परिवर्तन गर्न नसक्ने कुरा 'वंश परम्परा जाला र ?’ कथाले पुष्टि गर्दछ । यो कथा यस्तो छ :

चौरमा भेडा चरिरहेका थिए, भेडी गोठालो गेल्बु पेपर तानेर धुँवा फेक्तै थियो । अकस्मात् भएका भेडामध्ये एउटा ठुलो भेडाले गेल्बुको नजिकै आएर बिन्ती गर्यो– “हजुर, मलाई पनि हजुर जस्तै बनाइदिनुपर्यो’ गेल्बुले एउटा हातले सिङमा समाएर अर्को हातले टाउकातिर सुमसुम्याउँदै भन्यो– ’तिमी भेडाको कोखमा जन्मेरै पनि अरू जस्तै एकोहोरो त देखिदैनौ, तिमीलाई म आफू जस्तो पारि पनि दिउँला अरे लौ । के त ! तिम्रा भैयात जात भाइहरूले उम्कन देलान् त । अथवा तिमी म जस्तो भएउनै अरे भने पनि तिमीबाट वंशपरम्पराको अभिशाप जाला र ?

दुष्ट मतिका अर्थात् कुसंस्कारग्रस्त मानिसभित्रको खराब प्रवृत्तिबारे यस कथामा चर्चा गरिएको छ । ’चोर गोठालो’ कथाले पनि मान्छेभित्रको यस्तै सैतानी प्रवृत्तिलाई औंल्याएको छ । यसरी कथाकार जगदीश नेपालीले प्रदूषित समाजको अन्त यथार्थको अङ्कन गर्ने सन्दर्भमा अन्धो न्यायलाई आत्मसात् गर्ने स्वार्थी समाजको भण्डाफोर पनि गरेका छन् । 'को कस्तो ?’ र 'कचहरीको कठघरामा’ कथाहरूमा उनले निरपराधी मान्छेले सहन बाध्य हुनुपर्ने अन्यायबारे चर्चा गरेका छन् । जन्मान्ध मान्छेलाई डकैतीको आरोप लाग्नु ('को कस्तो ?’ कथा) र दुवै हात नभएको सेवा निवृत्त लाहुरेलाई अरूमाथि हातपात गरेको आरोप लाग्नु ('कचहरीको कठघरामा’ कथा) जस्ता सामाजिक विडम्बनालाई यी कथाकारले देखाएका छन् । समग्रमा हेर्दा उनले स्वार्थी, कृतघ्नी, आत्मघाती र परपीडक मानिसहरूले भरिएको समाजको जीर्ण अवस्थाको सजीव चित्र उतारेका छन् ।

व्यङ्ग्यविधान कथाकार जगदीश नेपालीको कथाकारिताको एक महत्वपूर्ण विशेषता हो । उनले आफ्ना ॅहातमा सोमरस’, 'नोकरीको स्थायित्व’, 'के खोज्छस् कानो ? आँखा !’, 'कस्ता लेखिस् ?’, 'श्रद्धाञ्जलि’ जस्ता कथाहरूमा विदेशी इसारामा चल्ने स्वदेशी व्यक्ति, समिति वा संस्था खोलेर पैसा कुम्ल्याउने चतुर व्यक्ति, ठगी काम गरेर आफू ठुलो मान्छे बन्ने व्यक्ति र अत्यन्त कृतघ्नी व्यक्तिहरूप्रति कडा व्यङ्ग्य गरेका छन् । 'श्रद्धाञ्जलि’ कथामा गरिएको व्यङ्ग्य यस्तो छ :

आज विमलाको जन्मदिन । वहाँ महान् लेखक हुनुभएकाले वहाँको स्मृतिमा सहरका प्रतिष्ठित विद्वान् मृदुभाषी वल्लभजीको विमल स्मृति भवनमा प्रवचन हुने आफ्ना जीवनका बहुमूल्य प्रकाशनहरू जनसमक्ष प्रस्तुत गर्न नसकी मृत्यु शय्यामा परेका विमलको आफू जिउको आफ्ना पुण्य श्रद्धाञ्जलि अर्पण गर्ने अग्रज साहित्यिकहरूको अनुहार हेर्ने इच्छाले वहाँ पनि भिडमा चेप्टिन पुग्नुभयो । आफ्ना अथक परिश्रमबाट प्रस्तुत जन उपन्यास प्रकाशनार्थ लैजाँदा तिरस्कार र अपमान सहनुपरेथ्यो । श्रद्धेय वल्लभजीले सोही उपन्यास हातमा लिई निर्मलजीको मुक्त कण्ठले प्रशंसा गर्दै वहाँको आत्मशक्तिको व्याख्यासहित विमलको कास्यमूर्तिमा माल्यार्पण गरेको विमलले टुलुटुलु हेरिरहे ।

प्रवचनउप्रान्त सबै हिँडे । हल शून्य भएर पनि विमल हलमै थियो । सबै गइसकेपछि विमल आफ्नै कास्य मूर्तिलाई सुमसुम्याएर भन्दै थियो– “म मरे पनि तँ ता जिउँदै छस् नि ।“

जगदीश नेपालीले स्वार्थी र अन्धो मानिसका अतिरिक्त सरकारी कार्यालयका भ्रष्टाचारी हाकिम, पैसा खान पल्केका तथाकथित समाजसेवी र परजीवी बन्दै गएका विद्यार्थीहरूका साथै कामदारको शोषण गरेर मोटाउने उद्योगपतिहरूलाई समेत व्यङ्ग्य गरेका छन् । उनले गरेको व्यङ्ग्यमा आक्रोश तथा विरोध दुवै पाइन्छन् ।

कथा–शिल्पी जगदीश नेपाली अन्योक्ति तथा मिथक दुवैको सुन्दर प्रयोग गर्न सिपालु छन् । 'वंश–परम्परा जाला र ?’, 'मेसिन’ कथाहरू अन्योक्तिको शैलीमा छन् भने 'हेरौं न बरु’, 'इमानदार भारदार’ कथाहरू मिथक प्रयोगका दृष्टिले स्तरीय छन् । उनका कथाहरूमा पूर्वी नेपालका भूगोल र संस्कृतिको जुन पृष्ठाधारहरू पाइन्छन्, ती पनि सुन्दर छन् । तर यति भएर पनि उनका कथाहरूमा भाषिक सम्प्रषेणको समस्या विद्यमान छ । ’गुलियोले नै मर्छ भने विषको प्रयोग किन ?’, 'अपराधी को ?’ लाई लघुकथा भनिए पनि तिनमा निबन्धात्मक गुणहरू भेट्टिन्छन् । कथामा विचारको भार लाने प्रवृत्ति उनमा पाइए तापनि उनले कलम चलाउन थालेको समयलाई दृष्टिगत गर्दा उनले लघुकथाको जुन बान्की प्रस्तुत गरेका छन्, त्यो अत्यन्त प्रशंसनीय छ । नेपाली लघुकथाको शिल्पकारितामा उनले दिएको पृष्ठपोषण पछिका स्रष्टाका लागि आदर्श नमुना बन्न सकेको कुरालाई स्विकार्नै पर्दछ ।

जगदीश नेपाली सामाजिक चेतना भएका संवेदनशील कथा–प्रतिभा हुन् । उनको कथ्य प्रस्तुतिमा विविधता पाइनाले उनको कथाकारिता समग्रमा गतिशील स्वभावको बन्न गएको छ । व्यङ्ग्यमा प्रवीण उनी नेपाली लघुकथाको इतिहासका पृष्ठपोषक हुन् ।

साभारः नेपाली लघुकथा र कथाकारहरू

--------------------------------------
.‍..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

No comments:

Post a Comment