"यसपालि त बेलैमा आऊ है छोरी तीजमा"
“खै ! हेरम् आमा, सधैँ माइतमा खाएकै त हो नि यसपाली घरमा पनि दर खाएर हेरम् न भनेर हो, म सायद आउँदिन होला ।’’
“तिमी आएनौ भने घरै सुन्ने हुन्छ, दाजु भाउजु पनि घरमा आएका छन् ।’’ फेरि पनि आमाले छोरीलाई आग्रह गर्नुभयो ।
“घरको पनि तिज हेरन बुहारी’’ सासु आमाले भन्दै हुनुहुन्थ्यो ।
परिवारको साथ तिज मनाउन पाउँदा मनमनै उनी फुरुङ्ग भएकी थिइन् ।
“बुहारी’’ आमाको आवाज आए तिरै उनी गइन् ।
“हेरन, मेरो माइतमा पनि आमा एक्लै हुनुहुन्छ रे, म त माइत हिँडेकी राम्रोसँग दर पकाएर खानू है । घ्यू र अरु सबै भान्सा कोठामा छ । अल्छी नगरिकन खाऊ है ।“ उहाँको कुराले उनी जिल्ल परिन् ।
सासुको घरबाट माइतिघर नजिकै थियो ।
मनभरि गाँठो पर्यो । कोठामा बसेर रुन लागिन् । यतिकैमा माइतिघरबाट दाजुले फोन गर्नुभयो ।
बहिनी, खै आएकी दर खान । हामी सबै तिमीलाई पर्खिरहेका छौँ ।
“हैन दाजु, यहीँ घरमा दर खाने भएँ । सासु आमाले कस्तो मिठो दर बनाइरहनु भएको छ, सरि आइँन’’ भन्दै फोन कल काटिन् ।
झन् भक्कानिएर रुन थालिन् । श्रीमान् पनि अफिसबाट अलि छिटै घरमा आए । भित्र कोठामा श्रीमती रूँदै गरेको कारण सोधे ।
“धत् सानु, म हुँदाहुँदै यसरी आँसु झार्नु पर्दैन’’ भन्दै आफ्नो अँगालोमा बाँधे । उनले सोधे, “अनि आमा माइत जाने भएपछि तिमी पनि त दर खान आफ्नो माइत गएको भए हुने, यहाँ पनि त आखिर कोही छैन, माइत किन नगएकी ?’’
श्रीमान्को आँखामा एकोहोरो मात्रै हेरिरहिन् उनले ।
“अनि के दर पकायौ त ?’’ श्रीमानले सोधे ।
“केही पनि पकाइन एक्लैका लागि ।“
यतिकैमा टुप्लुक्क सासुआमा माईतबाट आउनुभयो ।
“बुहारी के के दर पकायौ खै चाखम् त !“
- राधे राधे, भक्तपुर हालः अष्ट्रेलिया
No comments:
Post a Comment