सपनाका दाजु दिलीपलाई भेट्न आउने साथी प्रदीपले सपनालाई पहिल्यैदेखि नै मन पराउन थालिसकेका थिए । प्रदीप र सपनाबीचको हिमचिम बारे दिलीपलाई थाहा हुँदैनथ्यो । एकदिन प्रदीपले सपनालाई विहे प्रस्ताव राखे । सपनाले बिएल नगरी बिहे नगर्ने अड्डी लिएकी थिइन् । प्रदीपले बिहेपछि अध्ययनमा बाधा नपार्ने प्रतिवद्धता जनाएका थिए । सपना र प्रदीपले एकदिन मोटरसाइकलमा पोखराको यात्रा तय गरे ।
सपनाले “साथीसँग घुम्न पोखरा गएको” बताएपछि दिलीपले आफ्नी बहिनी केटी साथीसँग गएकी होलीन् भन्ने अन्दाज गरे । पोखरा पुगेकै साँझ फेवाताल किनारमा रहेको फिस्टेल लजमा सपना र प्रदीपको बास भयो । भोलिपल्ट विन्धवासिनी मन्दिरमा गएर उनीहरूले प्रेम विवाह गरे । त्यसैदिन दुवैजना काठमाडौँ आउँदै गर्दा सपनाले तमाम सपनाहरू बुनिरहेकी थिइन् । बेलुकी कोठामा आइसकेपछि सपनाले दाइलाई बिहेको जानकारी दिइन् । आफ्नै मिल्ने साथीसँग बिहे भएकोमा दाइ खुशी नै थिए ।
एक वर्षपछि सपनाको छोरा जन्मिएकोले उनले बिएलको दोस्रो वर्षमा खासै कक्षा लिन भ्याइनन्, घरमै अध्ययन गरेर भए पनि दोस्रो वर्षको पढाइ पूरा गरिन् । प्रदीप आफ्नो स्टेशनरी पसल सफलतापूर्वक चलाउँदै थिए । बच्चा सानो भएकोले दसैँअघि घर जाने र दसैँ मानेर फर्किने गरी उनी एक्लै मोटरसाइकल यात्रा गर्दै गाउँतिर लागे । प्रदीपले मुगलिन पार गरेर दासढुंगातर्फ तीव्र गतिमा मोटरसाइकल हाँकिरहेका थिए । एउटा घुम्तीनिर पश्चिमतर्फ जाने एउटा यात्रुबाहक बस र काठमाडौँतर्फ आइरहेको मालबाहक ट्रक साँघुरिदै गर्दा दुई ठूला गाडीको चेपमा परेर प्रदीपको तत्काल घटनास्थलमै निधन भयो ।
त्यसबखत मोबाइल फोनको प्रचलन नभएकोले सपनाले प्रदीपलाई सम्पर्क गर्ने अवस्था थिएन । बेलुकी टेलिभिजनको समाचारमा प्रदीपको निधन भएको कुरा प्रसारणपछि छिमेकीले थाहा पाएर दुःखद् घटना बारे सपनालाई सुनाए ।
सपना छाँगाबाट खसे जस्तो भइन् र दूधेबालक बोकेर दाइको कोठामा गइन् । अन्ततः सपनाका तमाम सपनाहरूमध्ये कैयन अपूरा हुन पुगे ।
बुढानिलकण्ठ, काठमाडौँ
जीवित राख्नका लागि तपाईंको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
No comments:
Post a Comment