सुनिता र अनिता छिमेकी थिए । दुवैको घरको सिमाना यौटा सानो गोरेटोले छुट्टयाएको थियो । त्यो गोरेटोले दुई पट्टिको कुवा र पंधेरोलाई पनि जोडेको थियो ।
सुनिता र अनिता उमेरमा धेरै फरक भए पनि गाउँका साथी जस्तै थिए । तर दुवैका परिवार एक अदृश्य दुश्मन जस्तै थिए । अनिता र सुनितासँगै खेलेको, हिंडेको दुवै परिवारलाई पटक्कै मन पर्दैन थियो । तर पनि दुवै कतै न कतै भेटी रहन्थे ।
उनीहरूको साँधमा एउटा ठूलो टिमिलोको रुख थियो । असार साउनको महिनामा त्यो टिमिलोको बोटमा असाध्यै फल लाग्दथ्यो । त्यो टिमिलोको बोट दुवै छिमेकी आफ्नो मात्र हो भनी दावा गर्थे, सधैं जसो झगडा नै पर्ने गर्दथ्यो । सानो गोरेटो बाटो गाउँको सार्वजनिक बाटो जस्तै भएको थियो जस्ले पुरै गाउँको पानीको श्रोत दुई कुवा र पंधेरोलाई जोड्दथ्यो ।
बाटो हिड्ने बटुवाहरूको छहारी पनि थियो टिमिलोको बोट । कहिले आफ्नो परिवारको आँखा छलेर सुनिता अनितालाई झोला भरी टिमिलो टिपेर दिने गर्थी । हरियो टिमिलोको तरकारी होस् या अचार अति नै स्वादिष्ठ हुन्थ्यो । पाकेको टिमिलो पनि सारै मिठो हुन्थ्यो । टिमिलोको फल सकिए पछि स्याउलाहरू गाई बाख्राले रमाउँदै खान्थ्ये । घास काट्न जाँदा अनिता सुनिता डोको भर्न टिमिलोको स्याउला आपसमा बाँड्ने पनि गर्थे ।
समय बित्दै गयो दुवै ब्यस्त भए, दुवैको फरकफरक समय र ठाउँमा विवाह भयो । गृहस्थीको कारण माइती आउने र भेट हुने क्रम पातलो हुँदै गयो । दाजुभाइको पनि अंशबण्डा भयो तर दुवै परिवार बीचको दुस्मनी भने रत्तिभर कम भएन । जग्गा नापीको क्रममा टिमिलाको रुख अनिताको परिवारको जमिनमा परेको पक्का भयो । तर सालौदेखि मौसममा फलेको फल नखाई चित्तै बुझ्दैन थियो । अनिताको आमाले आफ्नो टिमिलो दुस्मनले खायो भनेर रिसै रिसले टिमिलोको रुख काटी दिइन् । बिस्तारै समय बित्दै गयो, टिमिलोले बढाएको दुस्मनी ओझेल पर्दै गयो । दुवै घरमा छोराहरूको विवाह भयो परिवार बढ्दै गयो ।
अनिताको आमा पनि बिस्तारै बुढेसकाल र बिरामीले गल्दै जानुभयो । बिरामीको अवस्थामा खाना खान मन नलाग्ने हुन थाल्यो । टिमिलोको तरकारी भए एक गाँस रुचि हुन्थ्यो की भन्ने सम्झना आयो आफ्नो घरको टिमिलोको बोट त रिसले काटी सकेको याद आयो । टिमिलोको तरकारी खाने असीम तृष्णा जाग्न थाल्यो । समय परिवर्तनसँगै गाउँको विकासले गर्दा पूर्ण परिवर्तन आइसकेको थियो । टाडा–टाडासम्म परिवारले आमाको लागि टिमिलोको खोजी गर्दापनि उपलब्ध हुन सकेन । यो खबर बिस्तारै सुनिताको आमाले पनि थाहा पाउनु भयो । सुनिताको भाउजुको माइतमा टिमिलोको फल लागेको खबर थाहा पाएपछि सबै दुस्मनी भुलेर, सुनिताको आमा आफै गएर टिमिलो ल्याउनु भयो र मिठो गरी पकाएर अनिताको आमालाई खुवाउनु भयो । यता अनिताको आमाको भने टिमिलोको तरकारीमा नै अन्तिम प्राण अट्केको जस्तो थियो । धेरै लामो समय बिरामीले खाना खान नसकेको अनिताको आमाले त्यो दिन पेटभरि मिठो मानेर खाना खानुभयो । सब परिवार र छिमेकी खुसी भए । आमा मानौं जिन्दगीमा पहिलो पटक तृप्त र खुसी हुनुभयो । शान्तिपूर्वक प्राण त्याग गर्नुभयो । धेरै वर्ष अघि त्यही टिमिलोले गर्दा सुरु भएको दुस्मनी आज त्यही टिमिलोले दुई परिवारलाई करिब ल्यायो । अनिता र सुनिताले फेरि त्यही ठाउँमा एउटा नयाँ टिमिलोको बोट लगाए । आज त्यो टिमिलोको बोट आउने जाने बटुवाहरूको बिश्राम स्थल भएको छ, पंक्षीहरूको बासस्थान भएको छ । मौसममा फलेपछि टिमिलो गाउँभरि सबैले तरकारी खाना पाउने भए र टिमिलोको बोट र चौतारी दुई परिवारको मैत्री स्थलको रुपमा स्थापित भयो ।
-बिजय लक्ष्मी निवास, आरुबारी
जीवित राख्नका लागि तपाईंको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
No comments:
Post a Comment