Pages

Tuesday, July 8, 2025

लघुकथा (अङ्क २५ मा प्रकाशित)


लोग्ने र सौताको चरम अपहेलना सहन नसकेपछि गाउँको सबै घरव्यबहारलाई चटक्क छोडी आफ्नो आठ बर्षकी सानी छोरीलाई च्यापेर मालती काम खोज्दै खोज्दै शहर पसेकी थिइन् । भाग्यबस शहरको कुनै एउटा घरमा सरसफाइको काम गर्ने अवसर पाइन् ।

मालती काम गर्न बसेको घर आदर्श परिवारको थियो । जहाँ आमाबुवाको मायामा हुर्केकी मालतीकी छोरी सरहकी एउटी सानी छोरी पनि थिइन् । त्यो घरको मायालु र शिक्षित वातावरण देखेर मालती आफ्नो जिन्दगी र कर्मलाई धिक्कार्दै गहभरी आँसु पार्थिन् ।

अनि आफ्नो छोरीको भविष्यलाई सम्झदैँ मनको पीडालाई दबाउने प्रयत्न गर्थिन् ।

हरेक दिन त्यो घरको सानी छोरीलाई आफ्नो बुवाले अफिस जाने बेलामा आफूसँगै मोटरसाइकलमा राखेर स्कूल लाने र ल्याउने गर्दथे । स्कूल जाने बेलामा आफ्नो आमालाई, “आमा ! मीठो खाजा बनाइदिइ राख्नुस् है !’’ भन्दै हात हल्लाउँदै जाने गर्थी । यी सबै क्रियाकलापहरु मालतीकी छोरीले सधैं देखिरहन्थी र उ सँगसँगै स्वरमा स्वर मिलाउँदै हात हल्लाउने प्रयास गर्थी । तर त्यो स्वर भित्रभित्रै विलीन भएर जान्थ्यो र निरर्थक बन्थ्यो ।

एकदिन छोरीले मालतीलाई भनी, “आमा ! मैले पनि यसैगरी मीठो खाजा बनाएर राखिदिनुस् है, भन्दै हात हल्लाएर स्कूल जाने मेरो रहर कहिले पूरा होला ?’’ छोरीको उत्साहित प्रश्नले मालती स्तब्ध बनिन् । उनको बोली फुटेन । छोरीलाई स्नेह साथ काखमा राख्दै आफ्नो मनको पीडा भित्रभित्रै लुकाउने कोशिस गरिन् । तर त्यो पीडाले उनको आँखाबाट बलिन्द्र आँँसुको धाराको रुप लिएर अविरल बगिरहन्थ्यो… ।

-का.म.न.पा– ७, चाबहिल, काठमाडौँ

.............................................................................‍
..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

No comments:

Post a Comment