Pages

Wednesday, July 9, 2025

लघुकथा (अङ्क २५ मा प्रकाशित)


एउटी गाउँले मध्यमवर्गीय परिवारकी युवतीलाई एउटा शिक्षित युवकले मन पराएर बिहे गरी शहरमा लिएर आए । साधारण लेखपढसम्म गर्नसक्ने ती युवती हेर्दा सुन्दर र सभ्य देखिए पनि मान्छेहरूसँग उठबस गर्ने तौरतरिका आउँदैन थियो । उनका श्रीमान् भने सभ्य, कुलीन र कुशल व्यापारी थिए । समय बित्दै जाँदा उनीहरूको जीवनस्तर झन्‌झन् माथि उठ्दै गयो ।

अचानक जीवनमा आफ्नो अगाडि धनवैभव देखेर युवती आफू महारानी नै भएको भ्रममा परिन् । उनले मान्छेलाई हेपेर खसालेर बोल्ने र अर्काको कमीकमजोरी खोतल्ने गर्न थालिन् । अनि अरुलाई बोलाएर ऊ त यस्तो हो नि, उस्तो हो नि भनेर कुरा काट्ने गर्न थालिन् । त्यति मात्र नभएर अलि सुन्दर युवती छन् भने त्यो फलानी त नि मेरो श्रीमान्‌सँग सल्केकी रैछे’ समेत भन्दिने । उनको त्यो व्यहोरा थाहा पाएर उनको सम्पर्कमा आएका जति पनि महिलाहरू थिए बिस्तारैबिस्तारै टाढिँदै गए । 

तैपनि फोन गरीगरी बोलाएर नयाँ साथी बनाएर आफ्नो घरमा बोलाउने, विभिन्न किसिमका उपहार दिने अनि चेपारो पारेर बोल्ने, आफ्नो तारिफ आफै गर्ने र बोल्दाबोल्दै उसैलाई धासेर–गिराएर बोल्ने गर्थिन् । उनले कसैको सानो नराम्रो कुरा सुनेपछि फोन गरेर भए पनि त्यो कुराको बयान पिट्ने गरेपछि अरुले पनि उनका नानाथरी कुरा काट्न थाले । समाजमा आफ्नो बदनाम भएको मूर्खले पनि सहन्न भने उनले झन् के सहन्थिन् र ? आफूले ओकलेको जहर फैलिएर आफैसम्म नआइपुग्ने कुरै भएन, समाजमा उनलाई सन्की र पाखे आइमाई भनेर भन्ने गरेको थाहा पाएपछि मेरो बारेमा यस्तो कुरा कसले सुनायो भनेर सुनाउनेलाई धम्क्याउँदा फलानीले भनेको भन्न कर लाग्यो । अनि त्यो तेश्रो महिलालाई फोन गरेर बोलाईन् र खुबसँग झपारिन् । त्यतिबेला ती दुई भद्र महिलाहरू गहभरी आँसु पारेर चुपचाप उनको खप्की सहेर गए, त्यसको पर्सीपल्ट एकहूल महिलाहरू आएर उनलाई घरबाट बाहिर बोलाए, उनी बाहिर निस्कने बित्तिकै एउटी भर्खरकी सुन्दर युवतीले च्याप्प पाखुरामा समाएर एक झापट गालामा हान्दै भनिन् ‘पाखे आइमाई ! उसको कुरा उसँग, उसको उसँग गरेर सबैलाई गलत र चरित्रहीन् देखाएर आफू चोखो बन्न खोजेकी ?’ 

‘हैन ऐ मूर्ख, सबैले तेरो कुरा मात्रै सुन्छन् ? यहाँ उपस्थित कसैको पनि कहिल्यै राम्रो कुरा गरेकी छन् तैंले ? आफ्नै श्रीमान्‌को त हामीसँग कुरा काट्ने तैंले कसैलाई बाँकी राखेकी छन् ? आजभन्दा चार वर्ष अगावै जगल्ट्याउन आएकी हैन म ?’ भन्दै जगल्ट्याउन थालिन् । साथ आएका महिलाहरूले पनि तथानाम गाली गर्दै घुस्सामुक्का हान्न थाले ।  

ढोकाको कापबाट हेरिरहेको उनको श्रीमान्‌ले देखेर पनि नदेखेझैं गरी फरक्क फर्केर आफ्नो कोठाभित्र पसे अनि लामो सास फेर्दै भने ‘लाख सम्झाउँदा पनि तेरो गोबर भरेको दिमागमा केही असर भएन, यो त हुनु नै थियो एकदिन ! मलाई जति बदनाम गरे पनि उनीहरूको नाम मसँग जोडेर उनको दाम्पत्य जीवनमा भुइँचालो ल्याउने काम नगर्नु पर्ने थियो । भोग अब आफ्नो करनीको फल ! बानीले पो रानी हुन पाइन्छ ।’ भन्दै सिरक ओढेर सुते ।

-हालः काठमाडौँ

.............................................................................‍
..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

No comments:

Post a Comment