घर सुनसान थियो । चन्द्राकर अफिसबाट साँझमा टुप्लुक्क घर पुगे । चकमन्न घर देखेर उनले आफ्नी श्रीमतीलाई बाहिरैबाटै आवाज लगाए, “सुलोचना ! तिमी कहाँ? खै सुमन, सुधाकर?’’
घर बाहिर बरण्डामा निस्केर सुलोचनाले भनिन्, “किन आत्तिएको? भरखरै कलेजबाट आएर खाजा खाए अनि खाएको प्लेट सफा गरेर कपडा धुन गएका छन् ।’’
“जे होस्, छोरा छोरी नभनी तिमीले दुबै जनालाई संस्कार सिकाएकी छौ नि ।’’ चन्द्राकरले कोठामा पसेर मोजा फुकाउँदै श्रीमतीको तारिफको पुल बाँधे ।
“हो नि ! बच्चैदेखि विभेद सिकाएकी छुइनँ । खेलौना दिँदा पनि दुबैलाई बन्दुक पनि दिएँ, गुडिया पनि दिएँ । मैले मौकामा, श्रोतको पहुँचमा र निर्णयको अधिकारमा दुबैमा समान दिएकी छु । अब त कुन काम छोराको कुन काम छोरीको ? भन्दैनन् । दुबै मिलेर गर्छन् ।’’ घोक्रे नाक फुकाउँदै सुलोचनाले भनिन् ।
यत्तिकैमा छोरी बाहिर लुगा सुकाउँदै गरेकि देखिइन् । सुलोचनाले अह्राइन्,
“छोरी, तिम्रा भित्री कपडाहरू चैं छोपेर सुकाऊ है? भाइलाई बाहिरै सुकाउनु भन्नू है ।’’
यो सुने पछि बुवाले प्याच्चै सोधे, “हिजो पनि छोरी वर्थ–डेमा जान लाग्दा 'उज्यालो मै फर्क है’ भनेको सुनेको थिएँ । अस्ति छोरालाई चै 'चाँडै आउनु’ मात्रै भन्यौ ।’’
सुलोचनाले सम्झाउदै भनिन्, “आफूले मात्रै बुझेर भयो र ? समाजमा त अझै तुस बाँकी छ नि ।’’
चन्द्राकरले व्यङ्ग्य गरे, “आफ्नो पुरानो संस्कारको तुस पो होला नि !’’
- लोकन्थली, भक्तपुर
No comments:
Post a Comment