Pages

Sunday, August 10, 2025

लघुकथा (अङ्क २६ मा प्रकाशित)


गाउँको छिमेकमा एउटा परिवारको घरमुलीले भौतिक शरीर त्यागेर स्वर्गवास भएछ । एउटा छिमेकी र मानवीय नाताले मेरो पनि कर्तव्य हो– मृतक परिवारलाई संवेदना प्रकट गर्न जानु र म… गएँ । शोकमग्न घरको आगनमा टेबुलमाथि मृतकको फोटोमा माला लगाइदिएको र केही फलफूल, केही रुपैयाँ, अनि धुप बालेर राखिएको थियो । मैले साथमा लिएर गएको दुई थुङ्गा फूल फोटोमा चढाई श्रद्धाञ्जली अर्पण गर्दै बैकुण्ठबासको कामना गरे । शोकाकुल माहोलमा सज्जनहरू उल्लेखनीय रुपमा उपस्थिति देखिन्थ्यो । तर मलाई त्यहाँको माहोल अलि अस्वाभाविक जस्तै लाग्यो ।

मृतकका आफन्त छोराबुहारीहरू, छोरी ज्वाइँहरू शोक चार दिन मात्र बारेर चोख्याउने र पाँचौ दिन आफ्नो कार्य क्षेत्र (विदेश) फर्कि हाल्ने योजनामा व्यस्त देखिन्थे । उनीहरूको अनुहारमा दुःख र शोकको कुनै भाव थिएन । न आखाँमा आँसु नै थियो । बरु यो शोक कार्य कतिञ्जेलसम्म सकिन्छ भन्ने भावना उनीहरूको अनुहार स्पष्ट झल्किरहेको देखिन्थ्यो ।

संवेदना प्रकट गर्न आउने हितैषी आफन्त, साथीभाइ, छिमेकीहरू कालो चियाको चुस्कि लिंदै कोही मोबाइल चलाउन र फोनमा कुरा गर्न व्यस्त देखिन्थे । भने कोही आफ्नो पुरुषार्थको गफ हाक्न मग्न थिए । उनीहरूको कुरा सुन्दा यो कुनै चियाचौतारीको चिया गफ जस्तो लाग्थ्यो । कथित ती महानुभावहरू आ–आफ्नै महान कार्यको तारिफ गर्दै आत्मरतिमा लीन भइरहेको देखेर मलाई त्यहाँ उपस्थित भइरहन उचित लागेन र त्यहाँबाट निस्केर हिँडे । र म सोच मग्न भएँ ।

‘यो मृत्यु शोक भनेको मानवीय संवेदनासँग जोडिएर आउने गम्भीर पक्ष हो । तर आजकल मान्छेहरू यति धेरैे स्वार्थी किन ? आफू पनि एकदिन मर्नु पर्छ भनेर किन सोच्दैनन् ?’ र उनीहरूले मृत्यु शोकलाई लोकाचारमा परिणत गरिरहेको देखेर म अवाक भएँ ।

- बुङ्गमति २२ ललितपुर

..............................................................................‍
..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

No comments:

Post a Comment