साहित्य मेरो निम्ति केवल सिर्जनात्मक अभिव्यक्तिको माध्यम होइन, यो मेरो आत्माको नितान्त आवश्यक संवाद हो । लेखनले मलाई आत्मसमीक्षा गर्न सिकाएको छ, जीवनलाई बहिर्मुखी हेर्ने आँखासँगै अन्तरदृष्टिको झ्याल पनि उघारेको छ । साहित्य मसित केवल मनोरञ्जनकालागि आएको होइन, यो मेरो चेतनाको आधार, अस्तित्वको श्वास र समाजसँगको संवादको सबल साधन बनेको छ ।
म विशेषतः लघुकथा विधामा सक्रिय छु । यसबाहेक कथा, कविता, निबन्ध र यात्रा संस्मरण लेख्न रमाउने गरेको छु । लघुकथा मलाई मनपर्ने विधा मात्र होइन, यो मेरो भावनात्मक र बौद्धिक अभ्यासको मूल केन्द्र हो । यसले अत्यन्तै स–साना आकारभित्र गहिरो अनुभूति, सामाजिक बिडम्बना, मानवीय पीडा र सत्यताका तीव्र यथार्थहरू समेट्ने अवसर दिन्छ । संक्षिप्तताभित्रको सम्पूर्णता र शिल्पभित्रको सघनता मेरो लेखकीय यात्रा निम्ति सधैँ प्रेरणादायी बनिरहेको छ । लघुकथाले मलाई जीवनका ती कुनामा लैजान्छ जहाँ मौनता छ, असहायता छ, अनि सत्यको कठोर झिल्को छ ।
तर मेरो लेखन–क्षेत्र केवल यत्तिमा सीमित छैन । कथा लेख्दा म पात्रहरूको अन्तद्र्वन्द्व र मनोविज्ञानको गहिराइमा पुग्न खोज्दछु । म पात्रहरूसँग जिउँछु, उनीहरूको पीडा, सपना र द्विविधालाई आफूभित्र आत्मसात् गर्छु, अनि तिनका कथामार्फत् पाठकको मनको गहिराइ छुने प्रयास गर्दछु ।
कविता मेरो भावनात्मक विस्फोट हो । जहाँ अनुभूति शब्दमा झर्छ र भावना फूलझैँ फक्रन्छ । म शब्दमा गन्ध भेट्ने कोशिस गर्छु, त्यो गन्ध जसले पाठकलाई जीवनको कुनै बिर्सिएको क्षण सम्झाइ देओस् ।
निबन्ध भनेको मेरो दृष्टिकोणको घोषणा हो । यसमार्फत् म विचारको संरचना खडा गर्छु, समाजप्रतिको जिम्मेवारी निर्वाह गर्छु, तर्क र अनुभूतिबीचको सन्तुलन खोज्छु । यात्रा संस्मरण लेख्दा म केवल स्थानको यात्रा गर्दिन, म संस्कार र भावना सँगै बग्दछु । यात्राले मलाई मानिसका अनुहार पढ्न सिकाएको छ, उनीहरूको मौनता बुझ्न र सम्वेदनाको विविध रूपमा समाहित हुन सघाएको छ ।
मैले लेख्न थालेको कारण केवल रुचि थिएन, यो एक किसिमको आवश्यकता थियो । जब समाज मौन छ, जब आवाजहरू चिच्याउन सक्दैनन्, त्यतिबेला लेखन मेरो स्वर बन्छ । म लेख्छु किनभने म मौनता भित्रको स्वरलाई उजागर गर्न चाहन्छु । ती कथा लेख्छु जुन समाजको भीडभित्र हराएका छन्, ती पीडा उतार्छु जसले न्यायको ढोका कहिल्यै ढकढक्याउन पाएका छैनन् । लेखन मेरो प्रतिरोध हो, अन्याय, दमन र विकृत प्रवृत्तिहरूका विरुद्ध । यो मेरो करुणा हो, उपेक्षित, विस्थापित र पीडितप्रति । यो मेरो समर्पण हो, सत्य, न्याय र मानवीयताको पक्षमा ।
मेरा रचनाहरूको उद्देश्य केवल पाठकलाई रमाइलो गराउनु होइन । म त पाठकको मनमा केही प्रश्नहरू छोड्न चाहन्छु । म शब्दबाट एउटा हल्का कम्पन सिर्जना गर्न चाहन्छु जसले पाठकलाई आफूभित्र फर्केर हेर्न बाध्य बनाओस् । म विश्वास गर्छु । साँचो साहित्य पढिँदैन, अनुभूत गरिन्छ ।
लेखन मेरो धर्म हो । यो कर्म र पूजा समेत हो । म अक्षरहरूमा श्रद्धा राख्दछु, ती अक्षरहरू जसले समाजमा उज्यालो ल्याउन सक्छन् । लेखन मेरो लागि प्रार्थना हो, जहाँ म आफ्ना भावनाहरू अर्पण गर्छु, र शून्यतामा एउटा अर्थ खोज्छु ।
र अन्तत, लेखन मेरो आत्मसंवाद हो, जहाँ म आफूलाई भेट्छु, आफैंसँग कुरा गर्छु, र आफैंभित्रको मानवता उजागर गर्न खोज्दछु ।
– सिक्किम
जीवित राख्नका लागि तपाईंको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
No comments:
Post a Comment