Pages

Friday, August 8, 2025

अन्तर्वार्ता (अङ्क २६ मा प्रकाशित)




कुसुमाकरज्यू, तपाईं धीर, शान्त र शालीन व्यक्तित्व हुनुहुन्छ । यस्तो व्यक्ति समीक्षकको भूमिका आई स्रष्टाका सिर्जनाहरूको गुण/दोष खुट्याउने भूमिकामा रहँदा तपाईको शान्त स्वभावमा केही हलचल हुन्छ कि ?

कुसुमाकर : कति रमाइलो प्रश्न सोध्नु भयो । भूमिका परिवर्तन हुँदा स्वभाव परिवर्तन हुन्छ कि हुँदैन भन्ने । मलाई के लाग्छ भने म पाठक हुँदा वा समीक्षक हुँदा मेरो स्वभावमा परिवर्तन भएको जस्तो लाग्दैन । तर समीक्षाको भूमिका निभाउनका लागि प्रशस्त तयारी चाहिँ गर्ने गर्छु । किनभने कसैको सिर्जनामा गुण दोष देखाउने कार्य कठिन कार्य हो । तथ्यपरक, वस्तुपरक र निष्पक्ष समीक्षा गर्न सकियो भने सर्जकप्रति न्याय हुन्छ जस्तो लाग्छ मलाई ।


पछिल्लो समय तपाईं रूचाइएको एक समीक्षक हुनुहुन्छ । हामीलाई बताइदिनुस्, एउटा समीक्षकको अध्ययनको दायरा कति हुँदोरहेछ ?

कुसुमाकर : सर्जक होस् अथवा समीक्षक तर, गर्नुपर्ने अध्ययनको दायरा निकै फराकिलो देख्छु म । आफू कहाँसम्म पुग्ने भन्ने मात्र हो । समय र क्षमताले भ्याएसम्म साहित्य सम्बन्धी कुराहरू पढ्छु । पहिले पहिले रहरमा पढ्थेँ । अहिले जान्न र बुझ्नका लागि पढ्छु । समीक्षक भएपछि त झन् धेरै पढ्नै पर्‍यो । 

लेखन र अध्ययनको विषय लघुकथा नै किन भन्ने प्रश्न उठ्न सक्छ । लघुकथा मेरो रुचि र प्रिय विषय हो । लघुकथा पढ्दा वा लेख्दा मनमा आनन्द आउँछ । लघुकथाले नै मलाई पाठक सामु चिनाएको छ । यसका साथै लघुकथाको विकासका लागि धेरै काम गर्न बाँकी छ । यसले पनि मनमा उत्साह उमङ्ग जगाउँछ ।

अध्ययनको दायराका कुरा गर्दा पाश्चात्य साहित्यमा लघुकथाका बारेमा विश्वविद्यालय स्तरमा अध्ययन, अनुसन्धान हुन्छन् । प्राध्यापकहरूले लघुकथामा गरेका शोधपत्रहरू बग्रेल्ती भेटिन्छन् । ख्यातिप्राप्त प्रकाशकहरू पनि लघुकथाको विकासका लागि  अभियन्ता भएर लागिपरेका छन् । हिन्दी साहित्यमा समेत विश्वविद्यालयहरूमा लघुकथा शोध तथा विकास विभाग स्थापना भएकाछन् । तर, नेपालमा भने विश्वविद्यालयमा लघुकथा भनेको कथा कै सानो रूप हो । छुट्टै विधा होइन भनेर पुरानो सिद्धान्त पढाइन्छ र लघुकथालाई कथा मै घोलेर कथा दर्शन बनाइन्छ । अनि लघुकथाको विकास कसरी हुन्छ ? विकास भनेको मौजूदा स्थिति र अवस्थाबाट अगाडि बढ्नु हो । न कि लघुकथाका सिद्धान्त देखेर लघुकथालाई चौखुर्‍याइयो भनेर आकाश नै खस्ला जसरी बिच्कनु हो । 

नेपाली साहित्यमा सिर्जनशील लेखनको विकास पाश्चात्य साहित्यको जस्तो भएन । अहिले बल्ल यसको थालनि भएको छ । हामीलाई लघुकथा लेख्न सिकाउँदा अग्रजका लघुकथा पढ्ने र त्यसकै अनुसरण गर्न भनियो । हाम्रो सिकाइलाई अग्रजका लघुकथामा सीमित गरियो । गुण अवगुण छुट्याउन नसक्ने गराइयो । झण्डै एक हजार शब्दको प्रतिनिधि नेपाली लघुकथा पनि पढेको छु । अहिले २५० शब्दको सीमा बाँधिएको छ लघुकथाका लागि । अब मैले अग्रजबाट सिकेको कुरालाई के भन्ने ? यी परिस्थितिबाट बाहिर निस्कन नेपाली लघुकथाको धार कता गइरहेको छ ? अन्तर्राष्ट्रिय साहित्यमा लघुकथाको विकास कसरी भएको छ? भन्ने कुराको अध्ययन गर्न जरूरी छ । म यिनै विषयमा अध्ययन गरिरहेको छु । 

नेपाली साहित्यमा लघुकथा रचना सम्बन्धी सिद्धान्तका पुस्तक निस्किसकेका छन् । तिनीहरूको अध्ययनले आफैलाई जाँच्न योग्य बनाउँछ । आफू र आफ्नो सिर्जनाको स्तर कहाँ रहेछ भन्ने थाह हुन्छ । आफूले मन पराएका र आफूलाई उत्कृष्ट लागेका अग्रजका रचनाहरू सिद्धान्ततः उत्कृष्ट रहेछन् कि आफ्नो भ्रम मात्र रहेछ भन्ने कुरा पनि गहिरो अध्ययन पछि थाहा हुन्छ । त्यसैले लेख्न बस्नु भन्दा पहिले तात्कालिक उत्कृष्ट लघुकथाहरू र तिनको सिद्धान्तको अध्ययन गर्न जरूरी देख्छु ।


विदेशी भूमिमा हुनुहुन्छ । फेरि साहित्यभन्दा नितान्त फरक क्षेत्रमा हुनुहुन्छ । साहित्यका पुस्तक र साहित्यका लागि समयको व्यवस्थापन कसरी मिलाउनु हुन्छ ?

कुसुमाकर : साहित्य मेरो रुचिको विषय हो । त्यसमाथि लघुकथा प्रिय विषय हो । साहित्यको विद्यार्थी भएको नाताले आफ्नो रुचिको विषयका लागि अति व्यस्तताका बावजूद पनि समय जुट्दो रहेछ । यहाँ नेपाली उखान सम्झन चाहन्छु – त आँट म पुर्‍याउँछु भन्छ रे कर्मले पनि । हुन त समय प्रशस्त भएर मात्रै पनि सिर्जना नहुँदो रहेछ । यो त यहाँले पनि अनुभव गर्नु भएको छ होला ।


पछिल्लो समय तपाईंले उठाउनु भएको प्रस· 'लघुकथामा कालखण्ड दोष’ ले नेपाली लघुकथा तरङ्गित भइरहेको पाउँदा कस्तो महसुस गर्नु हुन्छ ?

कुसुमाकर :  'कालखण्ड दोष’लाई प्रसङ्गमा मात्र सीमित गर्नु भन्दा लघुकथाको सिद्धान्तका तवरले हेर्नुपर्ने जस्तो लाग्छ । किनभने कालखण्ड दोष लघुकथाका सिद्धान्तमा गरेको शोध–अनुसन्धानको निचोड हो । कालखण्ड दोष लघुकथालाई छोटाकथा वा कथा भन्दा फरक देखाउने कसी हो भन्ने यस शोध–अनुसन्धानले पुष्टि गरेको छ । छोटाकथा वा कथामा कालखण्ड दोष लाग्दैन तर लघुकथामा कालखण्ड दोष लाग्छ । त्यसैले कालखण्ड दोष नहुनु लघुकथाको मानक हो भन्ने निर्क्योलमा म पुगेको छु । 

लघुकथा लेख्न थालेदेखि सुन्दै आएको कुरा के हो भने – लघुकथाको सामयिक आयाम छोटो हुन्छ वा लघुकथा एक बसाइमा सकिनु पर्छ । तर, यो सामयिक आयाम छोटो भनेको कति छोटो हो ? एक बसाइ भनेको कति समय हो ? यस कुरामा लघुकथाकारहरू अन्योलमा थिए र अझै छन् । त्यसैले आ–आफ्ना बुझाइ अनुसार सामयिक आयाम अथवा कालखण्डका लम्बाई राखेका छन् ।  कालखण्ड दोषसम्बन्धी शोध–अनुसन्धानले लघुकथामा हुने सामयिक आयामलाई स्पष्ट गरेको छ । र, अन्योल हटाइदिएको छ । लघुकथामा कालखण्ड दोष सम्बन्धी शोध–अनुसन्धान लघुकथाको क्रमिक विकासको द्योतक हो । यस शोध–अनुसन्धानले लघुकथाका अन्य आयामहरूमा खोज अनुसन्धान गर्ने ढोका खोलिदिएको छ । 

अब रह्यो कुरो लघुकथा क्षेत्र तरङ्गित हुने र मलाई भएको अनुभूतिको । पहिलो कुरा त कालखण्ड दोष कुनै मन गढन्ते कुरा होइन । सामाजिक सञ्जालमा वाहवाही कमाउन सिर्जना गरिएको प्रसङ्ग पनि हैन । यो एउटा गहन अध्ययन र अनुसन्धानबाट निकालिएको निचोड हो । 

अर्को कुरा, यस सम्बन्धी शोध–अनुसन्धानले के देखाउँछ भने नेपाली लघुकथामा सामयिक आयाम अथवा कालखण्ड छोटो हुनुपर्छ भन्ने कुरा त त्यतिखेर देखि नै उठेको छ जतिखेर लघुकथाका परिभाषा लेखिए । कालखण्ड छोटो हुन्छ भन्ने त परिभाषा मै समेटिएको छ – लघुकथा चट्याङ हो, झरी हैन । कालखण्ड दोषको बारेमा भने लघुकथाका अभियन्ता विनय कसजूले आजभन्दा सत्र वर्षअघि जानकारी दिइसकेका थिए । त्यस पछिको समय लघुकथालाई स्थापित गर्नमा बित्यो । अहिले पनि लघुकथाको अस्तित्व स्वीकार नगर्ने र यसलाई कथाको फरक स्वरूप मात्रै मान्ने समूह छ । २०७७ मा पनि डा. पुष्करराज भट्टले आफ्नो लेखमा कालदोषको बारेमा उल्लेख गरिसकेका छन् । तसर्थ कालखण्ड दोष अहिले मात्र उठेको विषय हैन । तर, ओझेलमा परेको पक्कै हो ।

यतिखेर कालखण्ड दोष बारे चर्चा परिचर्चा हुँदा म खुशी छु । यस्ता विषयको चर्चा परिचर्चा एवं छलफल हुनु अत्यन्तै जरूरी छ । शोध र अनुसन्धानबाट निस्किएको विषयलाई मन पर्ने–नपर्ने, वैयक्तिक नाफा–घाटाको स्तरभन्दा माथि उठेर सामुदायिक, बौद्धिक र प्राज्ञिक स्तरबाट छलफल हुन आवश्यक छ । 

कालखण्ड दोष बारे सामाजिक सञ्जालमा आएका मत अभिमत हेर्दा मलाई के लागेको छ भने लघुकथाकारहरूबाट कालखण्ड दोषको अध्ययन गरेर, आफूले बुझेर अनि प्रयोग गरेर त्यसबाट पाएको अनुभव आएको छैन । धेरै त सतही कुरा मात्रै देखिएका छन् । अर्कोतर्फ, सिक्ने र सिकाउने उद्देश्यका साथ फेसबुकमा सञ्चालित लघुकथाका कार्यक्रमहरूमा समीक्षकहरूले कालखण्ड दोषलाई प्रष्ट्याउने प्रयत्न गरिरहेकाछन् । त्यो देखेर मनमा आनन्द आउँछ । कालखण्ड दोषको प्रचार प्रसारले लघुकथा लेखनमा परिवर्तन हुँदै गरेको सङ्केत मैले पाएको छु ।


लघुकथामा 'गागरमा सागर’ हुन्छ भनिन्छ । यस्तो अवस्थामा कालखण्ड दोषको सीमाबाहिरका लघुकथाहरू पनि उत्कृष्ट हुन सक्छन्, हैन र ?

कुसुमाकर : दीपकज्यू, तपाईंसामु मेरो निजी धारणा के राख्दछु भने लघुकथाका अभिलक्षण अथवा विशेषताहरू लघुकथा लेखनका सीमा होइनन् मार्ग निर्देशक हुन् । कालखण्ड दोष पनि सीमा होइन लघुकथाको विशेषता हो ।

मलाई र शायद तपाईंलाई पनि लागेको अहिलेको प्रश्न हो – उत्कृष्ट केलाई भन्ने ? कस्तो लघुकथालाई उत्कृष्ट भन्ने ? लघुकथाको मानक के हो ? के अहिले पनि सिद्धिचरण श्रेष्ठ वा भीमनिधि तिवारी वा पूर्णप्रसाद ब्राह्मणका जस्ता लघुकथालाई मात्र उत्कृष्ट मान्नुपर्छ र ? लघुकथाको मानक स्थापना गर्ने क्रममा २५० शब्दको सीमालाई एउटा मानक मानिएको छ । लघुकथाका सिद्धान्तकार लक्ष्मण अर्यालले भर्खरै मानक लघुकथाका लागि कालजयी विषय, शैलीमा सौन्दर्य, भाषामा प्रभावकारिता, लेखनमा संक्षिप्तता, पठनमा उत्पन्न हुने झिल्का, आवश्यक अङ्गहरूको समुचित व्यवस्थापन, एकोन्मुखताको उपयोग र प्रकाशन अघिको कसरत हुनु पर्दछ भनेर मानकका सूची बनाएका छन् । लघुकथाको मानकका सूचीमा अब कालखण्ड दोष रहित हुनुपर्ने मापदण्ड पनि थपिएको छ । यी तत्व सम्मिलित भएको लघुकथालाई उत्कृष्ट मान्नुपर्छ भन्ने खाका निर्माण भएको छ ।

एउटा कुरा के बुझ्न जरूरी छ भने सिद्धान्त र मानक भन्ने कुरा समय अनुसार परिवर्तन भइरहन्छन् । आज भन्दा पचास वर्ष अघि छोटो आख्यान भएकालाई लघुकथा भनिन्थ्यो । त्यतिखेर ती नै उत्कृष्ट थिए । अहिलेको मानक भित्र उसबेलाका उत्कृष्ट लघुकथा नपर्न पनि सक्छन् । अहिलेको समयमा उत्कृष्ट हुनका लागि आजको मानक भित्र रहेर लेख्नु पर्छ भन्ने मेरो मान्यता छ ।


एक अध्ययनशील लघुकथाकार/समीक्षकको नाताले बताउनुहोस् – लघुकथा लेखनमा सिद्धान्तको कोरा प्रभाव कति जायज कति नाजायज देख्नुहुन्छ ?

कुसुमाकर : यस अघिका प्रश्नहरूको उत्तर दिँदा यस प्रश्नको उत्तर आंशिक रूपमा दिइसकेको छु । लघुकथा लेखनमा सिद्धान्तको महत्वपूर्ण स्थान छ । सिद्धान्त नपढी लघुकथालाई तिखार्न, चम्काउन सकिँदैन । 

सिद्धान्त पढेर आफ्नो ज्ञान बढाउने हो । चेतनाको स्तर बढाउने हो । लघुकथा लेखनमा विधागत कला र लेखकीय कला दुवै हुन जरूरी छ । विधागत कला तिखार्न सिद्धान्तका बारेमा बुझ्न जरूरी छ । तर सुगा रटाइ जस्तो गरेर सिद्धान्त रटेर लेखकीय कला उन्नत हुँदैन । अग्रजका लघुकथा पढ्नु पर्छ भन्नु एक हिसाबले विधागत कला सिकाउनु हो । लेखनका सिद्धान्त सिकाउनु पनि हो । त्यस्तै समीक्षकले गरेका समीक्षा सुन्नु पर्छ भन्नुको तात्पर्य पनि सिद्धान्ततः विधागत कला सिकाइएको हो । म त लघुकथा लेखन मै सिद्धान्त घुसेको देख्छु । कुरा नबुझेर ’सिद्धान्त भन्ने छुट्टै चरा हो’ भने जसरी हौवा चलाइएको जस्तो लाग्छ ।

अर्को, यहाँले उठाउनु भएको सिद्धान्तको कोरा प्रभावको कुरा छ, त्यसको उत्तर कालखण्ड दोषको चर्चा परिचर्चाले दिइसकेको छ जस्तो लाग्छ । कालखण्ड दोषका बारेमा छर्लङ्ग भएपछि लघुकथाकारले सामयिक आयाम मिलेको छ कि छैन भन्ने चिन्ताबाट मुक्त भएर अरू मानक तत्वहरूमा ध्यान पुर्‍याउन पाउँछ । अनि आफ्नो लघुकथालाई अझ उत्कृष्ट बनाउने प्रयास गर्छ । तपाईंको भाषालाई सापटी लिएर भन्नु पर्दा सिद्धान्तको कोरा प्रभावले व्यक्तिगत र सामूहिक फाइदा छ । र, यसले लघुकथाको उन्नयनमा पनि सहयोग पुर्‍याउँछ । सिद्धान्तको अध्ययनले ॅमेरो गोरुको बाह्रै टक्का’ भन्ने प्रवृत्तिमा पनि परिवर्तन आउँछ भन्ने मेरो विश्वास छ । मेरो गोरुको बाह्रै टक्का भन्ने प्रवृत्ति लघुकथा उन्नयनको बाधक हो ।


लघुकथा लेखनमा अबको बाटो कस्तो हुनुपर्ला ?

कुसुमाकर : लघुकथा लेखनमा अबको बाटो भनेको मानक लघुकथा लेख्ने प्रयत्न गर्नु हो । अहिलेका जमाना अनुसारको उत्कृष्ट लघुकथा लेख्ने प्रयत्न गर्नुपर्छ । अहिलेको समयमा एउटै विषयमा धेरै लघुकथाहरू लेखिएको पाइएको छ । विषय दोहोरिएका र बासी छन् । परिवेश उस्तै छन् । अब नयाँ–नयाँ र कालजयी विषयमा लघुकथा लेख्न जरूरी भइसकेको छ । त्यस्तै नयाँ–नयाँ शैलीको विकास हुन पनि जरूरी छ । लघुकथा लेख्दा बिर्सन नहुने कुरा के हो भने लघुकथा आख्यान हो तर झट्का अथवा झिल्का उत्पन्न गर्ने क्षमता राख्छ । त्यसैले झिल्का उत्पन्न भएन भने लघुकथा नै बन्दैन भन्ने ख्याल राख्नु पर्छ । झिल्का निस्कन क्षणिक समय लागे जस्तै लघुकथाको कालखण्ड पनि छोटो र क्षणिक हुन्छ । त्यसैले लघुकथालाई कालखण्ड दोष मुक्त बनाउनु पर्छ । अर्को बिर्सन नहुने कुरा भनेको लघुकथाले विधागत कला र लेखकीय कलाको गतिलो संयोजन खोज्छ । त्यसैले विधागत कलाको विकास गर्न सिद्धान्तहरूको ज्ञान हुन जरूरी छ । अरूका लघुकथाहरू पढेर लेखकीय कलाको विकास गर्नुपर्छ । यहाँ नेर एउटा युक्ति राख्न समीचीत ठान्दछु – एउटा लघुकथा लेख्न सयवटा तात्कालिक उत्कृष्ट लघुकथा पढौँ । अन्त्यमा, कालखण्ड दोषको शोध–अनुसन्धानले लघुकथाको विकासमा एउटा इँट थपेको मात्र नभएर क्रमिक विकासको ढोका खोलिदिएको छ ।

--------------------------------------
.‍..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

No comments:

Post a Comment