Pages

Friday, August 8, 2025

व्यक्तित्व (अङ्क २६ मा प्रकाशित)


आधुनिक नेपाली कथा–परम्पराको ’यथार्थवादको युग’ (सं. १९९१–बी.टी.) र नेपालीमा स्नातकोत्तर उपाधि प्राप्त गरेका उनको प्रमुख पेसा शिक्षण कार्य नै हो । उनी ’भानुभक्त पुरस्कार’ (सन् १९८६), साहित्य अकादमी पुरस्कार (सन् १९८६) र ’रत्नश्री स्वर्ण पदक’ (सन् १९८८) बाट सम्मानित भइसकेका छन् । उनका प्रकाशित कथासङ्ग्रहहरू हुन् ।


१. विम्बहीन प्रतिबिम्ब (सन् १९७१),
२. कथा–स्मृति (सन् १९७३ : तिलक राईसँग संयुक्त),
३. बाइस धारा (सन् १९७८),
४. तरल कथाहरू (सन् १९८३),
५. चक्रव्यूह (सन् १९८५),
६. समय र बाँसुरीको धुन (सन् १९८८),
७. कालाग्नि (सन् १९९६),
८. आदि–आदि (सन् १९९९),
९. सूर्यस्नान (सन् २००३) ।

शरद् छेत्री उपन्यास, नाटक, कविता–काव्य र समालोचनाका पनि स्रष्टा हुन् ।

लघुकथामा स्रष्टा शरद् छेत्रीले मान्छेले भोग्न बाध्य विसङ्गतिका अन्तर्पीडाहरूलाई व्यक्त गरेका छन् । उनी के ठान्दछन् भने मान्छे पराधीनतामा बाँच्न विवश छ अर्थात् मान्छेको कुनै स्वतन्त्र अस्तित्व नै छैन (’प्रतिद्वन्द्वी’), मान्छे मूल्यहीनतामा विलयन भइरहेको छ (’धराशायी’) र जोखिममा परेको मान्छेको जीवन कुनै समयमा पनि अस्तित्वहीन हुन सक्तछ (’स्वतन्त्र निर्णय’ लघुकथा)। उनले अस्तित्वहीन मान्छेको नियतिलाई यसरी चित्रण गरेका छन् :


ठुलो सङ्घर्षपछि टापुमा पुग्यौं । ओठमा गीत त भन्किरहेकै थियो, टापुको प्राकृतिक सौन्दर्यले हामीलाई नाच्न प्रोत्साहन दियो । हामी नाच्यौं, जीवन नाच्नुभयो ।

+ + +

नाच्दा नाच्दा हामीले आपस्तमा अङ्कमाल गर्‍यौँ, प्रेम गर्‍यौँ, लुटुपुटु भयौं… अझ प्रोत्साहित भएर नाच्यौं… नाच्दा नाच्दा एक दिन त्यो प्रतिद्वन्द्वी मसित लीन भयो… मैले जताततै प्रेम मात्र देखें… म फेरि सिङ्गो मनिस भएँ। मलाई त्यसपछि पूर्ण विश्वास भयो कि कुनै पनि मेसिनले फेरि मलाई खण्डित पार्न सक्तैन; – म स्वस्थ भएँ,

म मानिस भएँ …

विश्वासलाई जोख्न म फेरि नदीको तटमा आएँ ।

नौका चढेपछि अनायासै धेरै अघि छाडेको तटतर्फ जाने इच्छा भयो ।

यद्यपि त्यस तटमा कालो वायुमण्डल व्याप्त थियो…

अर्को तटमा पुग्नेबित्तिकै मलाई हठात् एउटा मेसिनले समात्यो । अरू मेसिन तत्कालै आएर नौका नष्ट पारे !…

उफ्, त्यस तटको सहर, जो मैले युगौँ अघि छोडेर भोगेको थिएँ, त्यहाँ कुनै मानिस पाइएन ।

सबै थिए मेसिनमा मानिसहरू… रोबोटहरू…

फेरि मेरो विभाजन भयो ।

प्रतिद्वन्द्वीलाई झकझकाउँदै मभित्रबाट कोट्याएर निकालियो ।

प्रेमलाई थुनेर एउटा बन्द ढुङ्ग्रोमा राख्दै नष्ट पार्ने आदेश दिइयो… अहिले मेरो हातमा एउटा पेस्तोल थमाइएको छ ।

मेरो प्रतिद्वन्द्वीको हातमा पनि त्यस्तै पेस्तोल थमाइएको छ । एउटा वृत्तीय आयतन घेरेको परिधिवरिपरि हामी आपस्तलाई बिरालोको नजरले हेर्दै घुमिरहेका छौं ।

इसारा पाउनासाथ नै हामीले आपस्तमा प्रहार गर्नुपर्ने छ र अब हामी न त गाउन सक्छौँ, न त नाच्न ।

बस ।

इसाराको प्रतीक्षामा आतुर छौँ – मेसिनको इसाराको प्रतीक्षामा … (’प्रतिद्वन्द्वी’ बाट) ।

विज्ञानद्वारा उत्प्रेरित युद्धका कारण मान्छेले भोग्न बाध्य हुनुपर्ने विसङ्गतिको अन्तर्पीडालाई कथाकार शरद् छेत्रीले व्यक्त गरेका छन् । यस लघुकथामा उनले मिलाप होइन विग्रह, प्रेम होइन घृणा र शान्ति होइन सन्त्रासको सिङ्गो आयतनभित्र छटपटाएको आजको मान्छेको नियतिलाई स्पष्ट पारेका छन् । यसरी नै उनले मृत्यु–भयद्वारा आक्रान्त मान्छेको अवस्थाको चित्रण पनि यसरी गरेका छन् :


यति भनिसकेर के सुस्ताउन खोजेको थियो त्यो, हातबाट कुखुरा हामफालेर भाग्यो । यसरी हामफाल्दा कुखुराको पखेटाले अर्को चोरको हातमा भएको मोमबत्ती झ्याप्प निभ्यो । आत्तिंदै त्यसले भन्यो ’उफ्, ईश्वरको गन्ध ! …’ अर्को चोरले झपारेर भन्यो– ’केको ईश्वरको गन्ध ? मोमबत्तीको धागो डढेको गन्ध पनि थाहा नपाउने उल्लू ।’ …

’यस्तै गन्ध अघि कहिल्यै थाहा पाएको थिइनँ नि त ! तिमी नै उल्लूझै छौ, कुखुरा छोडी पठायौ ।’

’तर हामी दुवै जना उल्लू होइनौँ ।’

’किन ?’

’उल्लू भए त राति आँखा देख्ने थियौं ।’

ऊ… त्यसपछि कुखुरा कराउँदै छ, तिमी यताबाट जाऊ, म उताबाट खेद्छु । व्यर्थको कुरामा समय बरबाद नगरौं ।’’ …


… औंसीको त्यो कालो रातमा दुवै जना कुखुराको गन्ध सुँघ्ने प्रयास गर्दै यताउता खेद्न थाले। निभेको मोमबत्ती गन्धविहीन स्वरूपमा त्यतै कतै लडिरहेको थियो। पहाडको गोरेटोमा कुखुरा भ्याटभ्याट गर्दै यताउति आत्तिदै भागिरहेको थियो । चोरहरूको अन्तर्तहमा भोकको गन्ध र कुखुराको गन्धको द्वन्द्वले ठुलो उत्तेजना पैदा गरिरहेको थियो । तिनीहरू सकेसम्मको वेगले हानिएर कुखुरालाई खेदिरहेका थिए । निक्कै बेरसम्मका खेदाइपछि दुईओटा ठुलो आवाजउप्रान्त हठात् गतिमा रोकावट आयो । दुई जना चोरहरू भिन्दाभिन्दै भिरबाट तल खसेको भए पनि आफ्नो रगतको गन्धसितै तिनीहरूले त्यस बेला अनुभव गरिरहेका थिए – मृत्युको गन्ध, सिर्फ मृत्युको गन्ध … । (’गन्ध’ बाट)

कुखुरा चोरेर खान खोज्दा उल्टै मृत्युको मुखमा पुगेका दुई चोरको दुर्नियतिको दुःखान्त कथा हो ’गन्ध’ । यसरी नै कथाकार शरद् छेत्रीले पोखरीको कथा’ लघुकथामा पनि विपरीत नियतिको भोगले निम्त्याएको विसङ्गतिपूर्ण मृत्युको दुःखान्त कथा हालेका छन् । यसै सन्दर्भमा उनले के कुरा व्यक्त गरेका छन् भने मान्छे सदा तृष्णाको भ्रममा निरर्थक बाँचिरहेको हुन्छ (’आकांक्षा’) र मान्छेले अभिशप्त क्षण र परिस्थितिलाई आत्मसात् गरिरहेको हुन्छ, ’पिंजरा र परिवर्तन’ लघुकथा)। समग्रमा उनले मान्छेभित्रको निरर्थक सोच र सन्दर्भविहीन चिन्तनका दुष्परिणामलाई देखाउँदै अन्ततः विसङ्गतिबाट रुग्ण मानव जीवनको चित्रण गरेका छन् ।

लघुकथाका शिल्पी शरद् छेत्रीले विश्व रङ्गमञ्चमा अधिनायकवादी शक्तिले देखाउने गरेको बर्बर व्यवहारको पर्दाफास गरेका छन् । यस सन्दर्भमा उनको के धारणा रहेको देखिन्छ भने अधिनायकवादीहरूले जनतालाई बन्धनमा पारेर आफ्नो मुठीभित्र सम्पूर्ण राज्यशक्ति केन्द्रित गर्न उद्यत हुन्छन्‌; जस्तो :


कुकुरले उत्तेजित बन्दै भन्यो ’हो स्वतन्त्रता । मलाई स्वतन्त्रता देऊ, नत्र म सुनको साङ्लो आफैँ चुँडाउँछु ।’

मालिकले नरम भएर भन्यो– ’छोरो, तँ कस्तो कुरो गर्दै छस् ? स्वतन्त्रता भन्ने कुरो त कल्पना मात्रै हो । साङ्लो चुँडाउँदैमा कोही स्वतन्त्र बन्दैन ।’

’त्यसो भए यो साङ्लो किन ?’ कुकुरले सोध्यो ।

’तेरै सुरक्षाको निमित्त यो सालो लाइएको हो । – तँ जस्तो महँगो खाने, दामी वस्त्र र अत्तर लाउने कुकुर बाहिरको भतुवा कुकुरसित नमिसिओस् भन्ने राम्रो विचार मेरो छ । छोरो, म कति माया गर्छु तँलाई … चुप लाग् … ।

मालिकको नरम कुरा सुनेपछि कुकुरले पनि अरू विरोध जन्माउने कारण तत्क्षण उब्जेको सानो आग्रह सुनायो – ’तर हजुर, बाहिरबाट आएको पाङ्ग्रीको गन्धले मलाई असह्य पारिसकेको छ । – कृपया एकपल्ट मलाई पाङ्ग्रीसित … ।’

मालिकले जिब्रो टोक्दै भन्यो ’ए, कुरो त त्यो पो ! … मलाई पनि त्यो गन्धले बिहानदेखि नै बान्ता होला जस्तो भइरहेको थियो…।’

फुस्रो अनुहार पार्दै मालिक फोनतिर लम्कियो । फोन गरेको तीन मिनेटभित्रै डाक्टर आइपुग्यो ।

नोकरहरूको सहायता लिएर कुकुरलाई इन्जेक्सन लाइयो ।

फीस लिएर ढोकाबाट निस्किदै डाक्टरले भन्यो ’महाशय ! यो इन्जेक्ट गरिएको औषधिले पुरुषको उत्तेजना शिथिल हुन्छ । नारीको गन्धको कुनै असर नै पर्दैन । – मानिसमा समेत त यो औषधिको प्रयोग सफल भएको छ भने कुकुरमा किन नहुनु

कुकरको उत्तेजना साँच्चै नै शिथिल भयो । – भुक्नु त परै जाओस्, खानासमेत त्यसले लिएन । – कुकुरको वरिपरि पुलाउ, दुध, सुकुटी, मासु – इत्यादि राखिएको थियो । – तर त्यसले केही हेरेन । – लाचार भएर मालिकले भन्यो– ’खा, छोरो खा, … कति सताउँछस् ! … म कति माया गर्छु तँलाई … खा, छोरो …. खा ।’ तर त्यसले केही खाएन । – तीन दिनसम्म त्यसले मालिकलाई टुलुटुलु हेरेपछि आँखा बन्द गर्यो र त्यसपछि आँखा खोलेन । …

त्यसरी सहिद हुने त्यो दशौं कुकुर थियो । मालिकले रुँदै त्यसलाई पनि बारीमा गाड्यो । त्यसको चिहानमा मार्वल लगाइएको उपलक्ष्यमा अरू नौ कुकुरका चिहानका मार्बल पनि सफा गरियो …

र… विह्वल मालिकले आफ्नो चोट पुर्न तीन दिनभित्रै अर्को कुकुरको छाउरालाई सुनको साङ्लोमा पारिसकेको थियो । ( ’स्वतन्त्रताको निमित्त’ बाट) ।


यस लघुकथामा शरद् छेत्रीले मालिक र कुकुरको अन्योक्ति (Allegory) द्वारा निरङ्कुशताको शक्तिका विविध शोषण प्रवृत्तिको सटीक चित्रण गरेका छन् । सुनको बाला देखाएर आफ्ना सिकारहरू फसाउने बुढो बाघ हुन् अधिनायकवादी वा निरङ्कुश शक्तिहरू । कथाकारले ’सुर र सङ्गीत’ लघुकथामा पनि सुनको सिक्रीले बाँधिएको निरीह कुकुरले जस्तै अन्याय र अत्याचारद्वारा थिचिएका जनाहरूका अन्तर्पीडालाई यसरी देखाएका छन् :

जाऔं हामी सबै आत्महत्या गरौँ । यो निस्सासिँदै बाँच्नुभन्दा आत्महत्या बेस ।

अरूले खोसेको जियाइभन्दा नबाँच्नु बेस ।

त्यसर्थ आत्महत्या जिन्दाबाद

तर विषमा तागत छैन,

डोरीमा प्रतिरोध छैन,

आगोलाई ओसजन छैन … ।

नदीमा हामफाल्नु बेस । 

नदी गहिरो छ । 

म पौडन ठ्याम्मै जान्दिन । 

सायद नदीमा ढुङ्गाभन्दा चाँडो डुब्ने छु । 

कोही पनि सटीक तौरमा पौरन सक्तैनन् । 

प्रतिरोधले रिंगेका तरङ्गसित खुब जुध्नुपर्छ नै । …

फेरि निलो पानी रहेछ नदीको ! कसरी अट्टाएको विस्तृत आकाश यो सीमाबद्ध नदीमा !!…

सायद नदीको पानी ठण्डा छ, हुनु कुनै कमजोरी होइन …

स्रोत छ, नदीमा । र, त किनारका गाउँहरू सतर्क छन् । – एकपल्ट नदीले विद्रोह गरेर हुनैपर्छ । र, नदीको अर्थ छ ! …नदीको हुनुलाई सबैले स्विकारेका छन् … 

अब, बाँधमा कसिए पनि त्यो नदी हामी जस्तै परतन्त्र तर होइन । – त्यो आफूमा स्वतन्त्र छ । त्यहाँ स्रोत छ, क्रान्ति छ, विजयनाद छ …

+ + +

उफ्, किन हाम्रो मस्तिष्क पनि नदी हुन सक्तैन ? –

किन आकाश हाम्रो छातीमा अटिंदैन ? –

कमसेकम एकपल्ट नदीको स्वरूपमा बाँच्नुपर्छ हामी । हामी र नदी … नदी र हामी … म र नदी … नदी र म, नदी, नदी, नदी…।

जिन्दाबाद नदी –जिन्दाबाद नदी –

र सत्यार्थमा, 

जिन्दाबाद नदी र विपक्षमा, 

आत्महत्या मुर्दावाद !

मुर्दावाद आत्महत्या !! …


अधिनायकवादको पीडा व्यक्त हुनुका साथै शोषण र दमनबाट उन्मुक्ति पाउनका लागि उपर्युक्त कथांशमा नदीलाई प्रतीकीकरण गरिएको छ । शोषित र उत्पीडित जनताको विद्रोह र अधिनायकवादको समाप्तिका प्रसङ्गहरू कथाकार छेत्रीले दिएका छन् । यसरी उनले एकातिर दार्जिलिङबासीहरूका अन्तर्पीडालाई व्यक्त गरेका छन् (’मच्छर र पहाडवासी’) भने अर्कातिर देशमा सर्वत्र हकका लागि मात्र होडबाजी चल्नु जस्तो राजनीतिक विसङ्गति देखाएका छन् 'आत्माको स्थितिबारे’ लघुकथा) । उनी देशमा श्रमको शोषण भएको देख्दछन् (ॅभविष्यवाणी’), भ्रष्टाचारले प्रोत्साहन पाएको देख्दछन् (’खर्च’) मात्र होइन, सर्पझैं विषालु मान्छेहरूको बिगबिगी पनि देख्दछन् ’साँपको कारण’ लघुकथा) । यसका साथै उनी आन्दोलनहरूद्वारा देश, समाज र जनता आजित भएको ('उग्रनाच’) र युद्धले मानव सभ्यतामै प्रश्नचिन्ह लगाएको पनि देख्दछन् । ’निर्माणको रूपरेखा’ लघुकथा)। उनी आजका मान्छेमा स्वार्थ लोलुपता र परपीडनको मनोवृत्तिले स्थान पाएको देख्दछन् (’साधक र साधना’) र अबको नयाँ पुस्ता दिशाहीन र पथभ्रष्ट भएको देख्दछन् (’वाद–विवाद साहित्य’ लघुकथा) । यसरी उनले सर्वत्र विसङ्गति र विकृतिहरूको फैलावट देखेर तिनबाट त्राण पाउनका लागि आजका मान्छेले आफूभित्र यसरी अन्तर्शक्ति सञ्चय गर्नुपर्ने कुरामा जोड दिएका छन् :


तर वयोवृद्ध मुखियालाई भने चित्त बुझेन, भनिहाल्यो –“ए तरुण लामखुट्टेहरू हो ! तिमीहरूमाथि मानव समुदायले तयार पारेका विषहरूको कुनै असर परेन भनेर त्यस्तो सोचिरहेका छौ।कुनै प्राणी पनि द्वन्द्वात्मक नियतिबाट उन्मुक्त रहन सक्तैन । …तिमीहरूलाई थाहा छ ? त्यही सेता–सेता विषका पाउडरले नै हामा पितापुर्खा निस्सासिएर मर्दथे । तर त्यो विषले हाम्रो द्वन्द्वात्मक प्रवृत्ति र शक्तिलाई पुनरुत्थान पायो । हामी त्यो विषको असरले अर्धचेतनामा भए पनि दुःख खप्दै बाँच्यौं। हामीमा विष खप्ने विचित्रको शक्ति अन्तःकरणबाट नै जाग्रत् भएर आयो। पहिले पूर्वपिँढीले मानव जातिको आक्रमण खप्नु बाहिरको भगवान्लाई गुहार माग्दामाग्दै पनि शत्रुमा होमिन परेको थियो । तर हामीले भने अन्तर्शक्तिको विकासले विष खप्न सिक्यौं । अहिले तिमीहरूलाई त्यो विषले अझ तागत प्रदान गर्दछ, त्यो हाम्रो अन्तर्शक्तिको तपस्याको फल हो …

                + + +

तरुण लामखुट्टेहरूको विचारमा अचानक परिवर्तन भयो । तिनीहरूको नाराका शब्दहरू अचानक फेरियो । मुखिया बूढाको यस्तो गम्भीर कुरा सुनेपछि सबैले मुखियाको नामसित भगवान् शब्द झुन्ड्याउनु स्विकार्ने पागलपनमा नारा जप्न थाले ।

मुखिया बुढोले तिनीहरूको पागलपनमा दुःख प्रकट गर्दै भन्यो – “प्रिय मित्रहरू ! भगवान्‌को चुनावले जहिले पनि विघटन र प्रभाजन ल्याउँछ । हामीले अझै पनि सङ्गठित भएर मानव समुदायले तयार पार्नु लागेका अरू विष र तागतहरूको सामना गर्नु छ । तथा तपाईंहरू प्रत्येकसित नै भएको ’भगवान्‌’ जसलाई मैले अघि अन्तर्शक्ति भने त्यसै शक्तिलाई पूजा गरेर प्रेरित अनि जागरित पार्नुपर्ने छ ।’


यसको अर्थ के हो भने मान्छेलाई बाँच्नुको पीडा छ, तर चाहेमा मान्छेले आफ्नो मनोबल उच्च बनाएर अथवा आफूभित्रको अन्तर्शक्तिद्वारा पीडालाई हटाउन सक्तछ । कथाकार शरद छेत्रीले, यसरी मान्छेलाई कमजोर होइन बलियो शक्तिका रूपमा मूल्याङ्कन गरेर जीवनवादी दृष्टि व्यक्त गरेका छन् । यसै सन्दर्भमा उनले मान्छेलाई राम्ररी बाँच्न प्रेरणा दिने सौन्दर्य चेतनालाई पनि महङ्खव दिएका छन् (’माछापुच्छ्रे’ कथा) ।


शरद् छेत्रीका लघुकथाका आख्यानमाथि कविताको नियन्त्रण अत्यन्त कडा छ– सुबोध्य नहुनाको कारण यही नै हो तापनि उनले स्वैरकल्पना र व्यङ्ग्यको मिश्रण सुन्दर ढङ्गबाट गरेका छन् । अन्योक्तिमय वर्ण शैली उनको कथाकारिताको पहिचान हो ।

निष्कर्षमा के भन्न सकिन्छ भने शरद् छेत्री जीवनको विसङ्गतिमा विश्वास गर्ने कथा–स्रष्टा हुन् । उनमा भएको युगीन र कालिक चेतना अत्यन्त गम्भीर छ । आख्यानमा कविताको आच्छादन उनको मौलिक विशेषता हो ।

--------------------------------------
.‍..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

No comments:

Post a Comment