अतिकल्पना/स्वैरकल्पनाप्रतिका विश्वासहरू
मानिसले प्राचीन कालदेखि नै सपना र कल्पनाका माध्यमबाट अलौकिक परिवेश, असाधारण शक्तिसम्पन्न देवता तथा अर्धदेवताहरू, राक्षस, यक्ष, किन्नर, असाधारण शक्ति, सामर्थ्य र स्वरूप भएका मानव, वस्तु आदिको कल्पना गर्दै आएको छ । अतिकल्पनाका माध्यमद्वारा निर्मित यी प्राणी र वस्तुहरूले लोकमानसमा स्थायी तथा गहिरो प्रभाव पारेका हुन्छन् । यस्तो कल्पनाप्रतिका विश्वासहरू नेपाली लोककथामा प्रशस्त मात्रामा पाइन्छन् । प्रज्ञा नेपाली लोककथामा रहेका अतिकल्पना/स्वैरकल्पनाप्रतिका विश्वासहरू यसप्रकार रहेका छन् :
* मरेकी छोरीको पेट फुटेर निस्केको पिँडालुको बोक्रा र उखुको खोस्टाबाट कुर्ले ढुकुरको जोडी उत्पन्न हुनु, ढुकुरलाई बाबुले आफ्नी छोरीको अवतार मानेर त्यो कुर्लदा छोरी पेट दुख्यो भनेर रोएको भन्नु (कुर्ले ढुकुरको उत्पत्ति, पृ.३२),
* सैताल राक्षसले गाउँका सबैलाई पालैपालो खानु, बलरामले चलाखीका साथ उसलाई पराजित गर्नु (सैतालसँग जम्काभेट, पृ.६७–६९),
* इन्द्राणीको आग्रहमा इन्द्रदेवले गरिब किसानको सहयोगका लागि हलाको सियोमा सुनका घैला राखिदिनु (दुई ठगको कथा, पृ.८६),
* बेलवन्ती रानी रुखमा बेलको गेडा भएर रहनु, परीहरूले उसको रखबारी गर्नु, बेल फोड्दा बेलवन्ती निस्कनु, राक्षसनीले बेलवन्तीलाई इनारमा खसालेर उसका लुगा आफूले लगाएर बस्नु, राक्षसनीलाई रानी ठानेर घर लैजाँदा भात–तरकारीबाट सचेतताको आवाज आउनु (बेलवन्ती रानी, पृ. १२२),
* राजकुमारको परीसँग सङ्गत भएपछि उनी दुब्लाउँदै जानु र त्यो रहस्य खोलेपछि उनको मृत्यु हुनु, उनैले भनेअनुसार उनको मृत शरीर फूलबारीमा बनाएको कोठामा राखेर ढोका बन्द गरिनु र त्यसपछि चारजना परीहरू आएर सुनको लौरोले छोएर उनलाई ब्युँताउनु अनि उनीसँग जुवा खेल्नु, बालकका लागि भनेर परीसँग उसको नाकको फुली माग्नु, परीले त्यो दिएपछि राजकुमार सधैँका लागि जिवित हुनु (नाकको फुली, पृ.२३६–१४०),
* कनिके टुहुरो र मसानहरू बीच संवाद हुनु, उनीहरू आपसमा बाजी राखेर जुवा खेल्नु, कनिके टुहुराले मसानलाई हराएर पाएको कालो र सेतो चमरद्वारा मरेको मान्छेलाई जीवित बनाएर उठाउनु (कनिके टुहुरो, पृ.२८०–२८१)
* भूतेढुङ्गामुनि तीनओटा भूत बस्नु र वीरेले तिनीहरूसँग कुरा गर्नु (तीनओटा भूत पृ ३०३–३०४),
* टुहुरीलाई बाख्रीले खिर खान दिनु, बाख्रीको हाड गाडेको ठाउँमा सुनको मौलो पलाउनु, त्यसलाई टुहुरीले मात्र उखेल्न सक्नु र राजासँग उसको बिहे हुनु, सौताने आमाले छल गरी मारेर इनारमा फालेकी टुहुरी रानीले कमलको फूल बनी छोरा र राजाको स्याहार गर्नु (टुहुरीको कथा, पृ.३१२–३१६),
* कोढी राजा पोखरीमा डुबुल्की लगाएर निस्केपछि कोढ निको भई सुन्दर र जवान हुनु (नुनजस्तै मिठो, पृ.३४०),
* अँध्यारो रातमा बिजुली काजीको भूतसँग जम्काभेट हुनु, दुवैको रातभरि कुस्ती चल्नु, हारेको भूतले काजीको मित्रताको प्रस्ताव स्वीकार गर्नु, भूतले काजीको धान रोपिदिने लगायत उनको घरमा परेको बेला सघाउनु र जे चाहिएको छ त्यो पुर्याइदिनु (भूतसँग मितेरी, पृ.४११–४१२) ।
‘कुर्ले ढुकुरको उत्पत्ति’ कथामा पेट दुख्यो भन्दै मरेकी छोरीको पेट फुटेर निस्केको पिँडालुको बोक्रा र उखुको खोस्टाबाट कुर्ले ढुकुर अर्थात् चराको उत्पत्ति हुनु अतिकल्पना हो । यस्तो भए पनि लोकजीवनमा यस्ता विश्वास रहेका हुनाले ओखलढुङ्गाको मानेभञ्ज्याङमा अहिले पनि कुर्ले ढुकुरलाई मारिँदैन बरु त्यसलाई त छोरीको अवतार मानी माया गरिन्छ । यसैगरी माथि आएका भूतप्रेत तथा राक्षसका प्रसङ्ग पनि वैज्ञानिक दृष्टिले स्वैरकल्पना मात्र हुन् तर पनि लोकजीवनले यसलाई मानिरहेको छ । ‘टुहुरीको कथा’ कथामा सौताने आमाले हेला गरेकी टुहुरीलाई बाख्राले मिठामिठा खानेकुरा उत्पन्न गरिदिनुका साथै त्यसलाई पनि सौताने आमाले काटेपछि हाडखोर
जमिनमा गाडिएिर सुनको मौलो पलाउनु र त्यसैका माध्यमबाट टुहुरी रानी बन्नु, उसलाई सौताने आमाले धोका दिएर मार्नु, उसले फूल बनेर छोरा र राजाको सेवा गरिरहनु जस्ता प्रसङ्गहरू स्वैरकल्पनात्मक लोकविश्वास हुन् । यथार्थमा यस्ता कुरा सम्भव छैनन् र पनि आत्माको अमरताका आधारमा मानिसले यस्ता अलौकिक प्रसङ्गलाई पनि विश्वास गरेको हुन्छ । ‘भूतसँग मितेरी’ कथामा बिजुली काजीले चलाखी र बहादुरी देखाएर भूतसँग मितेरी लगाएर आफ्नो काम गरेको प्रसङ्ग पनि लोकजीवनमा विश्वासका रूपमा रहेको हुँदा नै त अझै पनि ‘भाग्यमानीको भूतै कमारो’ भन्ने उक्ति प्रचलित रहेको छ । नेपाली लोककथामा यस्ता लोकविश्वासहरू प्रशस्त मात्रामा आएका छन् ।
मान्छेको यथार्थ धरातलभन्दा परका यस्ता अतिकल्पना/स्वैरकल्पनाप्रतिका विश्वासले नै लोकसाहित्यलाई रोचक तथा आधुनिक लिखित साहित्यभन्दा भिन्न बनाएको हुन्छ । अतिमानवीय पात्र तथा तिनका अविश्वसनीय क्रियाकलापयुक्त यस्ता प्रसङ्गहरूबाट नेपाली लोककथाहरूमा अतिकल्पनासम्बन्धी लोकविश्वासहरूले प्रशस्त ठाउँ पाएको देखिन्छ ।
जादु, टुनामुना र योगसँग सम्बन्धित विश्वासहरू
मानिसले विभिन्न साधना–उपासनाका माध्यमबाट अलौकिक शक्ति प्राप्त गर्दछ र त्यसैका सहायताले विभिन्न चमत्कार गरी आफ्नो वर्चस्व कायम राख्दछ । यति मात्र होइन, मानिस वा अन्य प्राणीलाई वशमा राख्नु, आकार वा स्वरूप परिवर्तन गर्नु, अनेक तन्त्रमन्त्र झारफुकसम्बन्धी लोकविश्वासहरू यसअन्तर्गत पर्दछन् । प्रज्ञा नेपाली लोककथामा रहेका जादु, टुनामुना र योगसँग सम्बन्धित केही लोकविश्वासहरू यसप्रकार छन् :
* वनमान्छे वनमा बस्ने देउता हुनाले उसले मान्छेका साना छोरालाई राति उठाएर लगी धामी विद्या सिकाएर पठाउनु, नेपालको पूर्वी पहाडी गाउँमा अझै पनि आफूलाई वनझाँक्रीले लगेर धामी विद्या सिकाएर पठाएको भन्ने मान्छे भेटिनु (वनमान्छे, वनझाँक्री र सोक्पा, पृ.३०),
* साधुले दिएको गुटका मुखमा राखेपछि राजकुमारलाई कसैले नदेख्नु तर उसले सबैलाई देख्नु, खरानी भइसकेको राजकुमारलाई साधुले कमण्डलुको पानी छर्केर पुनः जीवित पारिदिनु (बेलवन्ती रानी, पृ.१२२),
* तान्त्रिकले तन्त्रमन्त्रद्वारा नवदुर्गा गणको प्रतिस्थापन गर्नु, तान्त्रिक विधिले पूजा गरी देवीदेवताहरूलाई बाँधेर आफ्नो घरको गोप्य कोठामा राख्नु, तन्त्रद्वारा देवीदेवतालाई आफ्नो नियन्त्रणमा राख्नु (नवदुर्गा भक्तपुरमा आगमन, पृ.२१४–२१५),
* चिलले पञ्जाले च्यापेर बालकलाई उडाएर लैजानु (भाटभटेनी, पृ.२२१),
* भिरबाट खसेर मरेको पति राति सपनामा आएर पत्नीलाई आफूसँग आउन भन्नु, ऊ चिहानबाट उठेर भूतको रूपमा आफ्नो घरको दैलोमा जानु, उसलाई देखेर डरले भागेका उसका छोराछोरीको मृत्यु हुनु, भूतले गाउँलाई नै तर्साउनु, धामीले डोमसिङ (एक प्रकारको वनस्पति)को हाँगामा मन्त्र गरी भूतको आँखा छोपिदिनु, भूत र झाँक्रीबीच संवाद हुनु (आँखा नदेख्ने भूत, पृ.२२५–२२७),
* खोलाछेउमा रहेका तीन युवतीको हेर्ने आँखा एउटै हुनु, उनीहरूले पालैपालो त्यही आँखाले हेर्नु, उनीहरूसँग भएको जादुको झोलामा जेजति राखे पनि अटाउनु, जादुको टोपी लगाएपछि लगाउनेलाई कसैले नदेख्नु, जादुको जुत्ता लगाएपछि जहाँ भन्यो त्यहीँ पुग्न सक्नु (चतुरे राजा बन्यो पृ.२२९–२३०),
* ढुङ्गेबाघको मुखबाट सुनका डल्ला झरेर बाल्टी भरिनु (ढुङ्गेबाघ पृ.२७४),
* तन्त्रविद्याद्वारा भूतलाई नियन्त्रणमा लिएर तिनलाई थुनिदिनु (तीनओटा भूत, पृ.३०५),
* साकामारु कमानको बङ्गलामा बोक्सीले उत्पात मच्चाउनु, टाटे झाँक्रीले त्यसलाई सबैसामु उपस्थित गराएर बकाउनु (टाटे झाँक्री, पृ.४९९–५००),
* बोक्सी र धामीबीच शक्तिको प्रतिस्पर्धा हुनु र अम्लिसोको पात खाने प्रतिस्पर्धामा धामीले बोक्सीलाई जित्नु (अम्लिसोको पातमा दाँत, पृ.५०४–५०५),
* एक जना बाहुनको मसानसँग भेट हुनु, उसलाई खाना दिएबापत बाहुनले दुईओटा वरदान (पन्छी भाषा बुझ्ने र पापी धर्मात्मा चिन्ने) पाउनु, त्यो रहस्य बताएपछि ऊ शिलामा परिणत हुनु (माछा मार्ने बाहुन, पृ.५०९–५१०) ।
उपर्युक्त प्रसङ्गहरूमा जादुगरी शक्ति, तन्त्रमन्त्र, योगसम्बन्धी विषयहरू पाइन्छन् जुन मानवीय भन्दा अतिमानवीय तहमा मात्र सम्भव देखिन्छन् । गाउँघरमा मात्र नभएर सहरमा पनि प्रचलित धामीविद्याको स्रोत वनमान्छे वा वनझाँक्री हुन् भन्ने विश्वास जनमानसमा रहिआएको छ ।
यस्तै अन्य तन्त्रमन्त्र प्राप्तिका लागि मानिसले अलौकिक शक्तिको साधना गनुपर्ने हुन्छ । यसरी प्राप्त गरेको बलद्वारा मानिसले भूत प्रेत, बोक्सी आदि दुष्ट शक्ति मात्र होइन देवीदेवतालाई नै पनि नियन्त्रणमा लिएका प्रसङ्गहरू उपयुक्त लोककथाहरूमा आएका छन् । जादु, टुनामुना र योगसम्बन्धी यस्ता विश्वासको प्रयोगका कारण लोककथाहरू रोचक बन्ने गर्दछन् । अझै पनि समाजमा झारफुके उपचारका साथै तान्त्रिक विधिद्वारा पूजा गर्ने प्रचलन छँदै छ । विभिन्न देवीदेवतासम्बन्धी किंवदन्तीमा यसप्रकारको लोविश्वास समाहित छ । लोकजीवनमा परापूर्वकालदेखि नै यस्ता लोकविश्वासहरू रहँदै आएको पाइन्छ । त्यसैले यसलाई अझै पनि जनमानसले आस्थाका साथ सुन्ने–सुनाउने गरी नै रहेको पाइन्छ । नेपाली लोककथाहरूमा यसप्रकारका लोकविश्वासहरूको प्रयोग प्रशस्त मात्रामा पाइन्छ ।
धर्म र अनुष्ठानप्रतिका विश्वासहरू
धर्म भनेको मानव हृदयमा रहेको आस्था हो भने अनुष्ठान सो आस्थाको निष्ठा वा कार्यरूप हो । मानिसले देवता, पितृ, अतृप्त आत्मा, यज्ञ, तीर्थजस्ता लोकआस्थामा आबद्ध भई धार्मिक कार्य गर्दछ । यसैलाई धर्मअनुष्ठान भनिन्छ । यस्तो धर्मअनुष्ठानप्रतिको विश्वास पनि लोकविश्वासअन्तर्गत पर्दछ । दैवीशक्ति, जातीय संस्कार, दान, व्रत, पर्व, पूजाआजा, धर्मशास्त्र आदिजस्ता धार्मिक विश्वासमा आधारित लोकताङ्खिवक सामाग्री यसअन्तर्गत पर्दछन् । प्रज्ञा नेपाली लोककथामा रहेका धर्मअनुष्ठानप्रतिका केही लोकविश्वासहरू यसप्रकार रहेका छन् :
* पाथीभरा क्षेत्रको अदेख देवीदेउताको पूजा आराधना गरेपछि हराएका भेडा तथा कुकुर प्राप्त हुनाका साथै भेडीगोठ फस्टाउँदै जानु, गोठालाका पशु पुनः हराउनु र कालीदेवीले सपनामा भनेबमोजिम पूजा र भोग दिएपछि फेरि जस्ताको त्यस्तै हुनु, पाथीभरा देवीको उत्पत्ति तथा विभिन्न ठाउँमा उनका सन्तान बैनीहरूका रूपमा पुजिनु, देवीको भलो चिताउनेको फलिफाप तथा कुभलो चिताउनेको सत्यानाश हुने विश्वास (पाथीभरा देवी, पृ.२०),
* जितियाको व्रत बस्ने दिदीको फलिफाप हुनु, व्रत नबस्ने तथा लुकाएर खानेकुरा खाने बहिनीका सन्तान मर्नु तथा उसलाई दुःख आइलाग्नु, जितिया माताले सन्तानको रक्षा, उन्नति–प्रगति गराउँछन् भन्दै मण्डल जातिका महिला व्रत बसी जितिया पर्व मनाउने परम्परा (मण्डलनीको जितिया, पृ.४२–४३),
* गाउँका सुब्बा बुढाले सपनामा देखेअनुसार बिरालो आकारको ढुङ्गालाई देवीका रूपमा स्थापित गरेर तिनलाई म्याङलुङ देवी मानी पुज्नु, वनदेवीले म्याङलुङ देवी बनेर मान्छे र प्राणी जगतको सेवा र रक्षा गर्छिन् भन्ने विश्वास (म्याङलुङ देवी, पृ.४७),
* नाग–नागिनी बस्ने पोखरीले पापी र धर्मात्मा छुट्याउनु, पापी व्यक्ति पोखरीछेउ हिँड्दा पानी उम्लेर आई छालले तानेर उसको मृत्यु हुनु (ढुङ्गाको छाता, पृ.४८),
* सभापोखरीमा नुहाएर फर्कंदा पारुहाङमा महादेवको ज्योति र सुम्निमामा पार्वतीको ज्योति मिसिनु, उनीहरूलाई किराँत जातिको सृष्टि गर भन्ने आकाशवाणी हुनु, उनीहरूलाई किराँतीहरूले देवताका रूपमा पूजा गर्नु (सभापोखरीमा पारुहाङ सुम्निमा, पृ.६३–६४),
* ढाक्रेहरूले चुलो बनाएको ढुङ्गोबाट भीमेश्वर जाग्नु र प्रख्यात देवताका रूपमा रहनु, तिनै भीमेश्वर दोलखा भीमेश्रका रूपमा अहिले पनि पुजिनु (भीमेश्वर र बाह्र ढाक्रेहरू, पृ.१९२–१९४),
माथिका प्रसङ्गहरूमा देवीदेवताप्रतिको आस्था तथा उपासनाद्वारा मानिसले मनोकाङ्क्षा पूर्ण गरेको, पुण्यप्राप्तिका लागि देवीदेवतालाई खुसी पारेको, अतृप्त आत्माको उपस्थिति तथा उसको मुक्तिबारेको चर्चा, पुनर्जन्मप्रतिका विश्वास आदि देखिन्छन् । त्यसैले यी प्रसङ्गहरू धार्मिक अनुष्ठानप्रतिको विश्वासअन्तर्गत पर्दछन् । धर्मअनुष्ठानप्रतिको विश्वास सर्वाधिक मनन गरिने लोकविश्वास हो किनभने जनमानसमा यस्तो विश्वास अद्यावधि कायमै रहेको देखिन्छ । उदाहरणका रूपमा पाथीभरा देवीको दर्शन गरेमा मनोकाङ्क्षा पूर्ण हुन्छ भन्दै असङ्ख्य मानिसहरू अहिले पनि अनेक कष्ट सहेर त्यहाँ पुग्छन् । यसैगरी तराईका केही जात–समुदायमा जितिया पर्व धुमधामका साथ मनाइन्छ । परिवारको सुख र सन्तानको रक्षाका लागि महिलाहरू जितियाको व्रत बस्छन् । म्याङलुङ देवीको महिमा अझै उत्तिकै छ साथै उनकै नामबाट स्थानको नामकरण गरिएको छ । पाप र धर्मसम्बन्धी विश्वासबाट मानिस मुक्त हुन अहिले पनि सकेको छैन । सुम्निमा र पारुहाङबाट किराँत जातिको सृष्टि भएको मान्दै उनीहरूलाई किराँत जातिले आफ्ना देवता मान्दछन् । दोलखा भीमेश्वरमा शक्ति रहेको र केही अनिष्ट हुन लागेमा उनको मूर्तिमा पसिना आउँछ भन्ने विश्वास अहिले पनि रहेको छ । यसरी अझै पनि हरेक समुदायमा आआफ्नै प्रकारका धार्मिक विश्वास र अनुष्ठानहरू हुने गर्दछन् ।
आत्मशीलताप्रतिको विश्वास
लोकसाहित्यमा मानवेतर प्राणीहरूलाई पनि आत्मशील मान्ने गरिन्छ । मानवेतर प्राणी अर्थात् पशुपन्छी तथा बोटवृक्षजस्ता सजीव वस्तुहरूले पनि मानिसले जस्तै बोल्ने, विचार गर्ने, काम गर्ने अनि उनीहरूमा पनि विवेक र चेतना हुन्छ भन्ने धारणालाई आत्मशीलता भनिन्छ ।
लोककथाहरूमा पशुपन्छीहरू पनि मानिस झैँ क्रियाशील पात्रका रूपमा देखिएका हुन्छन् । उनीहरूले आवश्यक परिस्थितिमा नायक–नायिकालाई सहयोग गर्ने गर्दछन् । यस्तै वनस्पति, हावा, पानी, ढुङ्गा, माटो एवं अन्य पदार्थ पनि आत्मशील हुन्छन् भन्ने लोकविश्वास लोककथाहरूमा रहेको हुन्छ । यही नै आत्मशीलताप्रतिको विश्वास हो । नेपाली लोककथाहरूमा रहेका आत्मशीलताप्रतिका केही विश्वासलाई निम्नानुसार प्रस्तुत गर्न सकिन्छ :
* मान्छेको उपस्थितिका कारण पशुको रगत खान नपाएका लामखुट्टे भेला भई मान्छेकै रगत खाने निर्णय गर्नु, मान्छेको ठोकाइबाट आफू मर्ने सम्भावनाका कारण मान्छेलाई टोक्न जाँदा परिवारसँग बिदा मागेर जानु (लामखुट्टेको बाचा–कसम, पृ.३१),
* मेलङदिङ नामक स्त्रीले जुम्ल्याहा सन्तानका रूपमा मान्छे र बाघ जन्माउनु, ती दुई दाजुभाइबीच सधैँ झगडा हुनु, अन्त्यमा जुक्ति लगाएर मान्छेले बाघलाई जित्नु (खाप्पुना मेलङदिङ, पृ.३६–४१),
* मरेको साथी सम्झेर राँगो रुनु, मरेको राँगाको टाउको त्योसँग बोल्नु, किसानलाई सराप्दै त्यो हाँस्नु (राँगाको टाउको हाँसेपछि, पृ.४४–४५),
* हिममुनालले पारुहाङ र सुम्निमाको आतिथ्य गर्नु, उनीहरूलाई सभापोखरी सम्बन्धी धार्मिक–पौराणिक कथाहरू सुनाउनु (सभापोखरीमा पारुहाङ सुम्निमा, पृ.६०–६४),
* अजिंगरले किसानसँग सहायता माग्नु तर पछि धोका दिएर उसलाई खान खोज्नु, वरको बोट र गोरुसँग किसानले न्यायको प्रश्न गर्नु तर उनीहरूले आफू अनुकूल उत्तर दिनु, स्यालले चलाखीपूर्वक किसानको सहायता गरी अजिंगर मारेर खानु (गुनले गुन खान्छ तँलाई म खान्छु, पृ.७१–७४),
* स्यालहरूले बुढाबुढीलाई कर्कलो रोप्ने तरिका सिकाउँदै पिँडालु खाइदिनु, स्याल र बुढाबुढीबीच कुराकानी हुनु (खटिया, नरिया र बुढाबुढी, पृ.८१–८५),
* अजिंगरले नौलखियाको दाउराको भारीमा नाम्लो बनेर सहयोग गर्नु, चराको राजाले सबै चरा भेला पारेर उसको बोराभरीको धानबाट चामल निकालिदिनु (नौलखिया, पृ.१४५–१४६),
* राजाको इच्छाअनुसार कछुवाले हात्तीलाई जङ्गलको राजा बनाउने भन्दै फकाएर फुर्क्याएर जालमा पार्नु (हात्ती र बाठो कछुवा, पृ.१८५–१८६),
* तित्राको चल्ला बेल्नु र उसले बुढीको सन्तान जस्तै भएर उसको सेवा गर्नु, राजाकी छोरीसँग बिहे गर्नु (कुसुन्तीको चल्ला, पृ.१४२–१४४),
* गोही र स्यालको मित्रता, उनीहरूले आपसमा मित लगाउनु, स्यालले आफ्नो स्वार्थसिद्ध गरी सोझो गोहीलाई मार्नु (गोही र स्याल, पृ.२६१–२६४),
* मनकोइला रानीको दुःख बुझेर कागले उसको पत्र लगेर परदेशमा भएका उदयचन्द्र राजालाई दिनु (मनकोइला रानी, पृ.२८३),
* आफ्नी आमा र दिदीबहिनीलाई मारेर खाने स्यालसँग अण्डाले बदला लिने निधो गर्नु, सुइ, गोबर, बिच्छी र रुखको ठुटाले उसलाई सहयोग गर्नु र स्याल मार्न सफल हुनु (अण्डाको बदला, पृ.३३७–३३८),
* टुहुरीलाई बाख्रीले खानेकुरा खान दिनु र अन्य सहयोग गर्नु (टुहुरीको कथा, पृ.३१३),
* स्यालले गाउँलेहरूलाई मात्र नभएर महादेवलाई समेत मुर्ख बनाउनु (चतुरे स्याल, पृ.३५२) ।
उपर्युक्त कथाप्रसङ्गहरूमा लामखुट्टे, चरा, स्याल, हात्ती, अजिङ्गर, राँगो आदि पशुपन्छीहरूमा पनि मानिसको जस्तो व्यवहार देखाइएको छ । तिनीहरूले मानिसका कमीकमजोरी औंल्याएका छन् । तिनीहरूले मानिसलाई आपतमा सहयोग पनि गरेका छन् । ‘नौलखिया’ कथामा अजिंगर र चरोले नौलखिया जस्ता सतपात्रलाई मद्दत गरेका छन् । ‘कुसुन्तीको चल्ला’ कथाको चल्लाले मान्छेकै जस्तो व्यवहार गरी बुढीको सहायता गरेको छ । ‘टुहुरीको कथा’ मा बाख्रीले टुहुरीलाई खान दिनुका साथै आफू मर्ने बेलामा पनि उसको सुखको उपाय बताएको छ । काग मनकोइला रानीको सन्देशबाहक बनेको छ । त्यसैले अझै पनि मानिस कागलाई सन्देशबाहक मानी पूजा गर्छन् । सुइ, गोबर बिच्छी, रुखको ठुटो अण्डासँग मिलेर दुष्ट स्याल मारेको प्रसङ्ग प्रेरणादायी छ । पशुपन्छीमा पनि विवेक र संवेदना भएको यस्ता प्रसङ्गबाट लोककथाहरू जीवन्त भएका हुन्छन् । त्यसैले यस्ता प्रसङ्गहरू आत्मशीलतासम्बन्धी लोकविश्वासअन्तर्गत पर्दछन् ।
अन्य विभिन्न लोकविश्वासहरू
माथि उल्लेख गरिएका विश्वासहरूबाहेक लोकजीवनमा अन्य विश्वासहरू पनि पाइन्छन् । लोकपरम्परामा प्रारम्भदेखि मानिदै आएका मान्यताहरू, भविष्यवाणी, श्राप, भाग्य, निषेधसँग सम्बन्धित मान्यताहरू, समाजसँग सम्बन्धित लोकविश्वासहरू, वस्तु वा पदार्थ विशेषसँग सम्बन्धित मान्यता आदिलाई अन्य लोकविश्वासअन्तर्गत राख्न सकिन्छ । लोकजीवनको आस्था र निष्ठाद्वारा निर्मित यस्ता लोकविश्वासहरू भिन्नभिन्न परिवेशमा भिन्नभिन्न रूपमा रहेका हुनछन् । नेपाली लोककथाहरूमा पाइने अन्य केही लोकविश्वासहरूलाई निम्नानुसार प्रस्तुत गर्न सकिन्छ :
* सौताने सन्तानलाई हेला गर्नु (कुर्ले ढुकुरको उत्पत्ति, पृ.३२),
* भाँडा माझ्दा नकोरीकन र आवाज ननिकालेर माझ्नुपर्छ अन्यथा राँगाले सरापेर अनिकाल लाग्छ भन्नु (राँगाको टाउको हाँसेपछि, पृ.४४–४५),
* सौताने छोरालाई षडयन्त्रपूर्वक खोलामा बगाएर मार्नु, छोराकी आमा मरेको छोरा खोज्दै खोला किनार डुल्दै मरेपछि पनि थिबिया चरा बनेर छोरा खोज्दै बिरही भाकामा कराउनु (थिबिया चरा, पृ.७५–७६),
* सर्किनी रानीको मृत्युले शोकाकुल राजा उदयचन्द्र बेपत्ता भएपछि उनी हाप्सिलो र रानी न्याउली भएर जन्मेको, हाप्सिलो र न्याउली एकसाथ रोयो भने गाउँमा अनिष्ट हुन्छ भन्ने विश्वास (उदयचन्द्र राजा र सर्किनी रानी, पृ.९५),
* खडेरी परेमा महिलाहरूले निर्वस्त्र भएर हलो जोत्नु, इन्द्रको दूत मानिने भ्यागुतो मारेर हिलोका साथ कर्कसा आइमाईका आँगनमा फालेमा पानी पर्छ भन्ने विश्वास (जट–जटिन, पृ.२४२),
* आपसमा अत्यन्त पिरती भएका मनकोइला रानी र उदयचन्द्र राजा एकैसाथ मरेका हुँदा उनीहरू परेवाका रूपमा जन्म लिएको, त्यसैले परेवा जोडीलाई प्रेमको प्रतीकका रूपमा मानिनु (मनकोइला रानी, पृ.२८५),
* छैटीको रात भावी आएर बालकको भाग्य लेखिदिन्छन् भन्ने विश्वास (भावीको कथा, पृ.३०७),
* पत्नीको इच्छाअनुसार दाजुले बहिनी मारेर उसको रगतबाट पत्नीको सारी रङ्गाइदिनु (बाँसुरीबाट बनेकी रानी, पृ.३४१),
* कान्छी सौताले जन्माएको छोरो जेठी सौताले नदीमा बगाइदिनु (दुई सौता, पृ.३९७),
* सरपजुवासँग बिहे गरेर सुखी भएकी बहिनीको रिस गरेर दिदीले उसलाई कुवामा धकेलेर आफू उसको भेषमा जानु (सरपजुवा, पृ.४४६),
* बिरामी देउरानीलाई पानीसम्म खान नदिएकी पापिनी जेठानी देउरानीको श्रापले बौँणाइ चरा भएर जन्मनु, त्यसले धर्तीको पानी रगतसरी रातो देख्नाले वर्षाको पानी चुच्चामा थापेर मात्र खानु (सरक दिदी पान पान !, पृ.४४८),
* आफूले चोरेको कसैले पत्तो नपाई कस्तो चलाख चोर रहेछ भनेको सुन्दा चतुरेले अग्लो ठाउँमा बसी आफ्नो चोरी कबुल गरी पुरुषार्थ देखाउन खोज्दा पक्राउ पर्नु (पाप धुरीबाट कराउँछ, पृ.४९०) ।
माथिका कथाप्रसङ्गहरूमा नेपाली लोकजीवनमा परम्परदेखि चल्दै आएको लोविश्वासहरू देखिएका छन् । कुनै समयमा संयोगवश कसैको जीवनमाथि घटेका हुनसक्ने भए पनि त्यस्ता घटनाहरूप्रति त्यहाँको समाजले नै विश्वास गरेर कालान्तरमा तिनैलाई स्थापित गराइएका हुन्छन् ।
सौतासौताबीचको ईर्ष्यासम्बन्धी धेरै प्रसङ्गहरू नेपाली लोककथामा पाइन्छन् त्यसैले आज पनि सौताने सम्बन्धलाई नकारात्मक रूपमा नै लिइन्छ । हाप्सिलो कराउनुलाई अहिले पनि अलच्छिन मानिन्छ । मान्छेको भाग्य भावीले छैटीको दिनमा लेखिदिन्छन् भनेर अहिले पनि त्यस रात पूजाआजाका साथै कापी र कलम बालकको नजिकै राख्ने परम्परा कायमै छ । दिदीबहिनीबिच पनि रिस–डाहा हुनु अझ नन्दभाउजूबीचको कटु सम्बन्धलाई अझै पनि समाजले नकार्न सकेको छैन ।
‘बाँसुरीबाट बनेकी रानी’ कथाले यस्तै देखाएको छ । अर्काको कुभलो गर्नेको कहिल्यै भलो हुँदैन भन्ने विश्वासका कारण बौँणाइ चरा सधैँ पानीका लागि तड्पिरहन्छ भन्ने मान्यता छँदै छ । पाप धुरीबाट कराउँछ अर्थात् मान्छेले गरेको दुष्कर्म कतै न कतैबाट बाहिरिन्छ भन्ने विश्वास पनि समाजमा छँदै छ । कुनै वैज्ञानिक तथ्यको आधार नभए पनि लोकजीवनको आस्थाको बलियो आधार यिनले पाएका हुन्छन् ।
निष्कर्ष
नेपाली लोककथामा प्रयुक्त लोकविश्वाससम्बन्धी अध्ययनबाट के निष्कर्ष निकाल्न सकिन्छ भने लोकमा प्रचलित प्राचीन आस्था, मूल्य र मान्यताहरू लोकविश्वासमा समेटिएका हुनाले यसको सम्बन्ध लोकजीवनसँग पनि गाँसिएको हुन्छ । लोकजीवनका कला, रीतिरिवाज आदिले लोकविश्वासमा समायोजित भएर लोकसाहित्यलाई निरन्तरता दिनुका साथै यसले विभिन्न सामाजिक–सांस्कृतिक परिवेश तथा परम्परालाई पनि निरन्तरता दिइरहेको हुन्छ । नेपालजस्तो सांस्कृतिक विविधता भएको देशमा यो संस्कृतिको अभिन्न अङ्ग पनि बनेको देखिन्छ ।
लोककथाहरूमा पनि लोकविश्वासको महङ्खवपूर्ण स्थान रहेको हुन्छ । यसले नै लोककथालाई जीवन्तता दिने काम पनि गरेको हुन्छ । प्रज्ञा नेपाली लोककथामा सङ्कलित लोककथाहरूमा विभिन्न प्रकारका लोकविश्वासहरू समेटिएका छन् । लोकविश्वासअन्तर्गत पनि अतिकल्पना/स्वैरकल्पनाप्रतिको विश्वास सबैभन्दा बढी देखिएको छ । यसैगरी आत्मशीलताप्रतिको विश्वास, जादु, टुनामुना र योगसँग सम्बन्धित लोकविश्वास तथा धर्म–अनुष्ठानसम्बन्धी लोकविश्वासहरू पनि उल्लेख्य मात्रमा आएका देखिन्छन् । लोकविश्वासका अन्य प्रकारहरू पनि प्रशस्त मात्रामा आएका छन् । यिनै लोकविश्वासहरूले लोककथालाई जीवन्त बनाएको हुन्छ । यस्ता लोकविश्वासहरू लोकसाहित्यका मात्र नभएर लोकजीवनका पनि अभिन्न अङ्ग बनेका देखिन्छन् किनभने आज पनि मानिसले गर्ने विधि–व्यवहारमा तिनै विश्वास निहित हुन्छन् । नेपाली लोककथामा प्रयुक्त लोकविश्वास लोकसाहित्यका दृष्टिले मात्र नभएर लोकजीवनसँग तिनको सामिप्यका आधारमा पनि महङ्खवपूर्ण देखिएका छन् ।
जीवित राख्नका लागि तपाईंको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
No comments:
Post a Comment