Pages

Wednesday, September 10, 2025

व्यक्तित्व (अङ्क २७ मा प्रकाशित)


आधुनिक नेपाली कथा–परम्पराको 'नवचेतनाको युग’ (सं. २०२०–३९) मा कथाकार रमेश नेपाली (सं. २००५) देखा परेका हुन् । उनको पहिलो लघुकथाको शीर्षक हो 'वर्ण र लाल विष्णुको जाल’ (सं. २०२२) जुन 'कल्पना’ पत्रिकामा छापिएको थियो । स्नातकोपाधि प्राप्त गरेका उनको गहिरो अभिरुचि साहित्यिक पत्रकारितातर्फ पनि रहेको पाइन्छ। उनी आफ्ना हजुरबुबा महानन्द सापकोटा र पिता जगदीश नेपालीबाटै प्रेरणा ग्रहण गरी साहित्य साधनातर्फ लागेका हुन् । उनी स्थानीय (धरान, सुनसरी) उद्योग–वाणिज्यसँग सम्बन्धित सङ्घ–संस्था, धार्मिक र आध्यात्मिक सङ्घ–संस्था तथा राजनैतिक सङ्घ–संस्थाहरूसँग आबद्ध रही सक्रिय जीवन विताउन कटिबद्ध रहे। उनको एक मात्र लघुकथा सङ्ग्रह 'पाटीकी बौलाही’ (सं. २०३२) प्रकाशित छ । उनको लेखनीको अर्को क्षेत्र हो उपन्यास विधा ।

रमेश नेपाली मानवीय न्याय र सौहार्दतामा आधारित प्रेम–अनुरागमा विश्वास गर्ने कथा–स्रष्टा हुन् । त्यसैले उनी हृदयको अन्तरबाट उद्भुत पारस्परिक प्रणय भावलाई महत्व दिन्छन् । 'पाटीकी बौलाहीॅ, 'आकर्षण’, 'एक नवीन रीत डायरीको’, 'उनी गइन्‌’ र 'मानिका’ कथाहरूमा उनले पवित्र र प्राकृत प्रेम–अनुरागको महङ्खवलाई प्रकाशमा ल्याएका छन् । उनको दृष्टिमा प्रेममा सच्चा मानवीय न्याय हुन सकेमा त्यसले सबै प्रकारका भेदभावको अन्त्य गरिदिन्छ । यसै सन्दर्भमा उनले स्वार्थी समाजले आत्मसात् गरेको आडम्बरी प्रेमको विरोध गर्दै चोखो मानवीय भावना एवम् सौर्हादतामा आधारित प्रेम–अनुरागप्रतिको झुकावलाई 'पाटीको बौलाही’ कथामा यसरी प्रस्तुत गरेका छन् :

यसैताक मेरो विवाहको कुरो चल्छ । परिवारका सबै यसका लागि उत्सुक हुन्छन् । देश–विदेशबाट अनगिन्ती निम्ताहरू मेरा निम्ति आउँदछन् । म खानदानी, सुन्दरी र दिव्य सुन्दरीहरूकहाँ पनि पुग्छु, तर पाटीभित्रको उनको बौलट्ठीपनले मलाई जति आकर्षित गरेको छ, चाहेर पनि सद्धेहरूबाट पाउन असफल हुन्छु । उनले नबोलीकनै नहेरीकनै र कुनै नखरापन नगरीकनै मेरो माया, प्रेम र स्नेह चुँडिसकेकी हुन्छिन् । मलाई आफूप्रति एकोहोर्‍याइसकेकी हुन्छिन् ।

मलाई मन पर्ने देखाई विवाहको कुरो टुङ्ग्याउन मेरा परिवारका सबै हैरान भए भने म झन आफ्नो प्रेमकथा सुनाई दुनियाँका सामु हाँसो हुन्छु भन्ने व्यथाले बेचैन भएको छु । म विवश छु भन्न कि ए मेरा पूज्यजनहरू हो ! मेरो प्रेम उनीसँग छ, मेरो माया उनीसँग छ । उनीबिना मेरा निम्ति यो धर्ती शून्य छ, यो महल बेकम्मा छ अनि यो ऐस, आराम र सान खोक्रो छ ।

कथाकार नेपाली सामाजिक आडम्बर र आवरण तोडी प्रेम–अनुराग जस्ता पवित्र कुरामा नैसर्गिक अधिकार कायम राख्न चाहन्छन् । त्यसैले उनी मानवीय न्यायलाई जिताउन खोज्दछन् त्यस पाटीकी बौलाहीलाई अन्तर्हृदयदेखि प्रेम गरेर । उनले 'आकर्षण’ कथामा पनि यस्तै प्रवृत्तिलाई यसरी व्यक्त गरेका छन् :

आफ्नो कार्यालय प्रवन्धकहरूको अभिवादन स्वीकार गर्दै देशव्यापी ख्याति सानै उमेर भए तापनि औद्योगिक र व्यापारिक क्षेत्रमा जमाई सकेका अनुप लिफ्टबाट आफ्नो आराम–कक्षमा के प्रवेश गर्न लागेका थिए झट्ट उनको दृष्टि आत्तिदै एउटा हातमा पानीको वाल्टी र अर्को हातमा खरेटो लिई बाथरुम सफा गरिरहेकी २०–२२ वर्षकी एउटी ढुमुनीपट्टि पर्यो । एकछिन उनी ठिङ्ग उभिए …

+ + +

उनी नजानिँदो किसिमले लग्गिए । आफ्नो आफ्नो परिवार, समाज र भविष्यको ध्यान राख्दै गम्भीर भएर सोच्न लागे । उनले त्यो गर्दा सबैले उडाउने खिल्लीको पनि मनमनै अनुमान गरे । तर कसै गर्दा पनि त्यो ढुमुनी केटीको सिङ्गो तस्बिरको कल्पना उनको ध्यानबाट हट्न सकेन । उनका निम्ति तँछाड मछाड गर्दै अघि सरेका खानदानी सुन्दरीहरूको तस्विरहरू पनि उनको सामु नाच्न थाले तर त्यो ढुमुनीबाट पाएको आकर्षण उनले भुल्न सकेनन् । नचाहँदा नचाहँदै भए पनि उनले त्यो ढुमुनीलाई आफ्नो प्रेयसी नबनाईकन सकेनन् र एक दिन यस्तो पनि समय आयो कि उनले त्यही दुमुनीलाई श्रीमती बनाई सधैं आफ्नो छेउ नराखी कुनै कामै गर्न सकेनन् ।

पाटीकी बौलाहीलाई झैँ एउटी सामान्य कूचीकार केटी (ढुमुनी) लाई अन्तर्हृदयदेखि प्रेम गर्नुको अर्थ हुन्छ मानवीय प्रेम–सम्बन्धमा स्वतन्त्रताको स्वच्छन्द वरण र त्याग तथा आत्मसमर्पण । कथाकार रमेश नेपालीले आफ्ना अन्य कथाहरूमा पनि चोखो प्रेममा हुने समर्पण भाव, त्याग, र उन्मुक्तिलाई महत्वका साथ हेरेका छन् । दरबारकी राजकुमारी भई सुख र ऐस–आराम हात पारिसकेकी एउटी राजकुमारीले ती राजकुमारलाई त्यागी आफ्नै गाउँका एक गरिब किसानसँग सम्बन्ध गाँस्न पुग्नुको आशय के हो ? ’उनी गइन्‌’ कथामा यसको उत्तर छ :

“राजकुमार अनिल ! तपाईं मेरा सर्वस्व हुनुहुन्छ, अनि म तपाईंकी । हो, म जान्दछु तपाईंको ममाथि सच्चा प्रेम, स्नेह र माया थियो । मेरा निम्ति तपाईंले आफू, आफ्नो परिवार र राज्यकै कुनै परवाह नगरी सिकार खेल्न गएकै दिन मेरा मातापिता सबैलाई राजी गराएर म जस्तो गरिब र दुःखी नारीलाई पनि राजकुमारी बनाइदिनुभयो, जब म राजकुमारी बनेर तपाईंको दरबारभित्र छिरें र आज २ वर्ष भयो, राजकुमारी नै बनेर बिताएँ, जीवनको यस लामो दौरानमा मैले एउटी पत्नीले आफ्नु पतिबाट जस्तो प्यार, स्नेह र माया पाउनुपर्ने हो, त्योभन्दा लाख गुणा ज्यादा तपाईंबाट मैले पाएँ, तर अपसोच, मलाई यो ऐस र आरामको दुई वर्ष चिडियाखानाको जन्तुहरूका बिच मार्नका निम्ति एउटा कैदीलाई छिराएजस्तै लाग्यो, तपाईंको रूप र लावण्यका सामु पनि म मेरो बचपनदेखिकै मैले चाहेको मेरो गाउँको एक किसानको छोरा सन्तोषलाई जति बिर्सु भन्दा पनि झन् दिन–प्रतिदिन उनैको सम्झना मेरो दिमागमा आउन थाल्यो, हुँदाहुँदा तपाईंको म जान्दछु साँचो माया हो मप्रति तर मेरा निम्ति एक देखावटी जस्तो मात्र बन्न थाल्यो। तपाईंको माया र प्रेमलाई म कहिल्यै पनि बिर्सन सक्दिनँ, मैले तपाईंबाट सन्तोषको माया र प्रेम लिन सकिनँ जब कि तपाईंले मलाई त्योभन्दा बढ्तै दिनुभएको थियो, तैपनि म सन्तोषलाई बिर्सन सक्दिनँ, किन सक्दिनँ ? मसँग उत्तर छैन। तपाईंको तुलनामा उनी रूप र गुणमा ज्यादै पछि छन्, म पनि उनकी भएपछि शारीरिक कष्ट नगरी हातमुख जोर्न सक्दिनं, तैपनि किन हो मैले उनलाई भुल्न सकिनं…।“

सच्चा प्रेमको अव्यक्त प्राकृत रूपलाई यहाँ देखाइएको छ । कथाकार रमेश नेपाली सामाजिक यथार्थका पर्यवेक्षक पनि हुन् । उनी समाजभित्र अनेक विकृतिहरू देख्दछन् । उनी के देख्दछन् भने मानिसमा नैतिक मूल्यको कमीले गर्दा विश्वासघातको स्थिति बलियो भइरहेको छ ('बालक हरायोॅ र 'खुलदुली’ कथाहरू) र सच्चा माया र स्नेहको अभावमा मान्छे कुमार्गतर्फ उन्मुख भई आत्महत्या गर्न प्रेरित भइरहेको छ ('टोमी’ कथा)। उनले 'एउटा प्रेमको कथा’, 'एउटा समाजको अन्त’ र 'न्यायको तराजु कता ?’ कथाहरूमा समाजमा हुने अन्याय, मानिसहरूमा व्याप्त निराशा भाव र मान्छेको बढ्दो अन्तर्पीडालाई देखाएका छन् । बिछोड, विग्रह, वैमनस्य र बर्बर स्वभावका कारण मान्छेले जीवनमा अनुभूत गर्ने संवेगलाई पनि उनले आफ्ना कथाहरूको विषय बनाएका छन् । यसै सन्दर्भमा उनले मान्छेले जीवनमा अनुभूत गर्न बाध्य हुनुपर्ने प्रतिलोभ परिस्थितिको चित्रण 'फुटपाथकी रानी’ कथामा यसरी गरेका छन् :

मलाई डोर्‍याउँदै उनले फुटपाथभित्र लगी खुब सजिएको बिस्तरामा बस्ने आग्रह गरिन् । मैले उनको आग्रह स्वीकार गरी परिचय सोधे । उनले भनिन्, म एघार वर्षको लाग्नेबित्तिकै मेरी आमाले १३ वर्षको दाजुलाई साथीका रूपमा छोडेर परलोक भइन् । पिताजी त्योभन्दा ५ वर्षपहिले नै खसिसक्नुभएको थियो । तब त्यो एकान्तको लड्न लागिसकेको झुप्रोमा म र मेरो दाजु मात्र रहन थाल्यौं । यसैतेसै गर्दै ६ वर्ष पेटसम्म पाली त्यो घरमा बसिरहेका थियौँ । एक दिन गाउँकै एउटा सेठले लोभ्याएर मेरो दाजुलाई विदेश भगाएर लगिदिएछ । आउँछन् २ भन्दै बाटो हेरेर रुदै कराउँदै ३ महिना बिताएँ, तर उनी फर्केनन् । अनि बन्धु बान्धव सबै बिर्सेर म सहरतिर लागें । रावलपिन्डीको सानो गाउँ त्यसमाथि पनि एकान्तको ठाउँमा हुर्किएकी मैले पेकिङको यत्रो विशाल सहरमा आइपुग्दा जीविकोपार्जनको केही बाटो नभेटी यताउता हल्लिदै थिये, भाग्यवश एक बुढी आइमाईले मलाई भेटिन्, उनको आग्रहअनुसार मैले नछिपाईकन मेरो जीवनको समस्त करुण इतिहास सुनाइदिएँ । ती बुढी आइमाईले मेरो इतिहास सुनिसकेपछि मलाई सान्त्वना दिँदै भनिन् “नानी, तिमी जस्तो जवान केटीले बजारमा सजिलैसँग सोख श®यामा सुतेर खान सक्छ्यौ यदि मैले भनेझै गर्‍यो भने ।“

.....उनी आश्चर्यको साथ मपट्टि नजर दौडाउँदै भन्छिन् लोग्ने मानिस भएर पनि कत्ति कोमल हृदय तपाईको मैले रुन्चे स्वरमा मेरो आँखाबाट आँसु खसेको कारण उनलाई भने, तिम्रो जीवन सुन्दासुन्दै एक्कासी मलाई मेरो बहिनीको सम्झना आयो, मैले पनि तिमी जस्तै १३–१४ वर्षकी बहिनीलाई छोडेर धन कमाई धनी हुने अनि मेरो वहिनीलाई राम्रो चोलो साडी र जीउभरि गहना लगाइदिने उद्देश्य लिई विदेश भासिएको आज निकै वर्ष वितिसक्यो … जब तिम्रो जीवनको करुण कहानी सुनें तब मलाई मेरी बहिनीको यादले सताउन थाल्यो ।

तब ती फुटपाथकी रानीले अङ्ग्रेजीमा मेरो जीवन तिमी जस्तै छ ऊ तिम्रो जीवनी म जस्तै रहेछ भन्दै मेरो हात समाती उनको नग्न छातीमा हँसाई उनी उत्तानो परेर ढल्किइन् अनि मलाई उनीमाथि ढल्किन लगाइन्, उनको नाङ्गो पाखुरामा मेरी बहिनीको जस्तै आगोले पोलेको खत त्यसको अतिकति पर्तिर ठुलो कोठी देख्दा म झसङ्ग झस्की हात भवाट्ट तान्दा उनको मालामा मेरो हात अल्झियो, यसो माला हेर्दा त मेरै बहिनी नीलम !

यो नाटकीय दुर्घटना भनेकै मान्छेको नियतिको उल्टो खेल, अथवा विडम्बना र विसङ्गति हो । यौनकर्मीका रूपमा आफ्नै बहिनीसँग त्यसरी अचानक भेट हुनु भनेको जीवनको ठुलो अन्तर्पीडा हो । कथाकार रमेश नेपालीले 'विरुवा’ कथामा पनि अन्योक्तिमूलक (Allegorical) शैलीमा जीवनको विडम्बना र विसङ्गतिलाई यसरी प्रस्तुत गरेका छन् :

मलाई पनि उत्सुकता भयो, पिताजीले रोपेकै वरपिपलका बिचमा एउटा अमिलोको बिरुवा गाउँ । मेरो स्वार्थ केवल वरपिपलको बेरबारबाट जोगिएला भन्ने मात्र हो । कारण म वारबेर गर्न अलिक केटाकेटी नै भएको हुनाले ढङ्ग नपुग्ने थियो र सामथ्यै पनि नभएकाले ।

तर मेरो केटाकेटी बुद्धि मैले यति पनि जान्न सकिनँ वर र पिपलका सेपमा त्यो अमिलो फस्टाउन सक्ला ? धेरै वर्षपछि हेर्न जाँदा विरुवा जस्ताको तस्तै मर्न पनि नपाई बोटमा सेता किरा लागिसकेको रहेछ ।

अमिलोको बोटझैँ मान्छेको जीवन पनि सेप लागी नष्ट हुन सक्तछ । कथाकार रमेश नेपालीले यसरी जीवनका कुण्ठा र विफलतालाई आफ्ना कथाहरूमा व्यक्त गरेका छन् ।

'पश्चात्तापको आँसु’, 'वर्षा र लाल विष्णुको जाल’, 'सङ्घर्षकर्ता विजयी विष्णु अवतारको हार’ र 'फैसला’ राजनीतिक विषयवस्तु भएका कथाहरू हुन् । यी कथाहरूमा उनले भगवान् विष्णुलाई मिथकका रूपमा प्रयोग गरेर विष्णु अवतार राजाको अधिनायकवादी चरित्र र प्रवृत्तिको आलोचना गरेका छन् । भगवान् विष्णु (अधिनायक राजा) ले आफ्नो नाममा बैङ्गमा करोडौँ रुपियाँ जम्मा गरेर नपुगी मत्र्यलोकमा धनाढ्यहरूको सम्पत्ति पनि निजीकरण गरी विरोधी (पञ्चायती शासनका विरोधी) तारकासुरलाई सुदर्शन चक्रद्वारा समाप्त पारिदिएका र एकछत्र राज्य चलाएका ('पश्चत्तापको आँसु’ कथा), उनै भगवान् विष्णुले राजगद्दीमा आँखा लगाउने शत्रुहरूलाई ब्रह्माको सहायताले छल गरी ज्यान लिएका ('वर्ण र लाल विष्णुको जाल’ कथा), फेरि उनै विष्णु भगवान्ले आफ्ना चारैतिरबाट घेरिएका विरोधीहरूको आक्रमणबाट सुरक्षित हुन् आवश्यक व्यवस्था मिलाएका ('सङ्घर्षकर्ता विजयी विष्णु भगवान्‌को हार’ कथा) र सर्वशक्तिमान् ती विष्णुले ठाडो आदेश दिई हत्याका सच्चा अभियुक्तलाई सफाई दिन लगाएर निरपराधी जासुसी विभागका प्रमुखलाई सजाय दिन लगाएका ('फैसला’ कथा) जस्ता प्रसङ्गहरू दिएर उनले अधिनायकका बर्बर शासन व्यवस्था र गतिविधिहरूको आलोचना गरेका छन् । यसै सन्दर्भमा 'वर्ण र लाल विष्णुको जाल’ कथाको यो अंश हेरौं :

नारद नारदै हुन्, किन त्यस जमघटमा पुग्न चुक्थे र ? उनी ब्रह्माको कुरा काट्दै भन्छन् विष्णुको आसन यस खाल्डोमा मात्र हैन तिनै लोकमा भएको छ । उनका नन्दी मन्त्री लाटा हुन्जेलसम्म । तर भगवान् यो सोचिबक्सियोस् मत्र्यलोकका वर्ण र लालले त हजुरको आसनै खुस्काउन लागिएको विष्णु भगवान्बाट प्रत्युत्तर भयो कस्ताकस्ता कठिन काम त मेरो जालबाट मिलाइसके यो नाथु त जानिहालेको छ नि मैले जाल रच्न ।

+ + +

विष्णुको आदेशानुसार वर्ण र लाललाई उनको लोकमा आउने ढोका खुल्ला भयो । तत्पश्चात् उनीहरू आए पनि ।

विष्णु भगवान् वर्ण र लाललाई दर्शनभेट दिई भन्नुहुन्छ 'म तिमीहरूको कार्यदेखि प्रसन्न भएँ माग जे वर मागे पनि म स्विकार गरिदिन्छु, किनकि मलाई थाहा छ मैले गरेको अत्याचारहरूको प्रायश्चित्त गर्ने बेला आइसक्यो ।’ दुवैले वर माग्नका निम्ति आज्ञामुताबिक आँखा बन्द गरे ।

विष्णुको आदेशानुसार ब्रह्मा हातमा धुलो लिएर वर्ण र लालको अगाडि उभिएका थिए । तथास्तु भनेको सुनी आँखा उघार्नेबित्तिकै ब्रह्माले उनीहरूको आँखामा धुलो हालिहाले फलस्वरूप वर्ण र लालले आँखा मिचेकै बेलामा विष्णुका नन्दी भूङ्गीले उनीहरूको शिर छेदन गरे ।

कथाकार रमेश नेपालीले यस मिथकबाट देशका समसामयिक अधिनायकवादी शक्तिका कपट, षड्यन्त्र र एकल स्वार्थपूर्ण मनोवृत्तिको भण्डाफोर गरेका छन् ।

कथा–शिल्पी रमेश नेपाली अन्योक्ति र मिथकको प्रयोगमा अभिरुचि राख्ने प्रतिभा हुन् । उनले लघुकथाको बान्की र विशुद्धतालाई निकै हदसम्म स्वायत्त गरेका छन् । कहीँकतै अस्पष्टताको आभास हुनुदेखि बाहेक उनी आफ्नो उद्देश्यमा स्पष्ट छन् । विदेश भूमिमा नेपाली पात्रलाई उभ्याएर उनले तयार पारेको कथ्य प्रशंसनीय छ ।

निष्कर्षमा के भन्न सकिन्छ भने रमेश नेपाली मानवीय चेतनामा आधारित प्रेम–अनुरागको शाश्वत मूल्यमा आस्था राख्ने कथा–स्रष्टा हुन् । उनले सामाजिक यथार्थमा अभिरुचि राख्नुका साथै मानिसको अन्तर्पीडालाई व्यक्त गरेका छन् । उनले आफ्ना लघुकथाहरूमा राजनीतिक चेतनालाई व्यक्त गरेर आफूभित्रको विद्रोहको भावना प्रस्तुत गरेका छन् ।

--------------------------------------
.‍..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

No comments:

Post a Comment