Pages

Wednesday, September 10, 2025

अन्तर्वार्ता (अङ्क २७ मा प्रकाशित)


 

भट्टजी, प्रश्नको उठान यसरी गरौ“ । तपाईंको बाल्यकाल र प्रेरणाको स्रोत बताईदिनु न ?

पुष्करराज :  मेरो जन्म सुदूरपश्चिम, बैतडीमा भयो । सात, आठ वर्षको उमेरसम्म पहाडमा बसोबास भयो । त्यसपछि धनगढी, कैलालीमा बसोबास भयो । विद्यालय तहमा हुने विभिन्न कार्यक्रम, गतिविधिसँगै साहित्य लेखनमा जोडिने काम भयो । स्थानिय साहित्यिक संस्थाहरूको कार्यक्रममा भागलिने क्रमसँगै लेखन कार्य पनि अघि बढ्यो । 


तपाईं साहित्यमा अनवरत लागिरहने व्यक्ति हुनुहुन्छ । यो अनवरत लगावले के कस्ता फाइदा र बेफाइदाहरू गर्दोरहेछ ?

पुष्करराज :  साहित्यमा निरन्तर लगावले साहित्य क्षेत्रलाई बुझ्ने र आफूलाई पनि त्यसै अनुसार अघि बढाउन मद्दत मिलेको छ । यो एक प्रकारको फाइदा नै हो । सिर्जनात्मक जीवनमा व्यस्त हुँदा सामाजिक जीवनका अनेकन गतिविधि र सामाजिक क्रियाकलापमा सामेल हुन कम समय मिल्ने रहेछ । यसले गर्दा समाजबाट अलग हुने संभावनापनि हुन्छ । त्यसैले सन्तुलनमा रहेर काम गर्नुपर्ने हुन्छ । एकै पटक सबै काम गर्न नसकिने भएकोले लाभहानी त भइरहन्छ । 


तपाईं लघुकथाको विज्ञ हुनुहुन्छ । आम साहित्यानुरागीहरूलाई बताइदिनुहोस्‌– लघुकथा के हो ?

पुष्करराज :  लघुकथा आख्यानको सूक्ष्म विधा हो । लघुकथामा कथानक, परिवेश एवं पात्रमा सूक्ष्मता पाइन्छ । कम समयमा प्रभावकारी चेतना प्रस्तुत गर्नु र आकस्मिक अन्त्य हुनु यसको खास विशेषता हो । 

भट्टका प्रकाशित कृति
-----------------------------------------------------------------------------------------------------

साहित्य गतिशील र परिवर्तनशील हुन्छ । लघुकथालाई चाहीँ गतिशील र परिवर्तनशील हुन्छ कि हुँदैन ?

पुष्करराज : यो संसारमा रहेका सबै कुराहरू गतिशील हुन्छन् । कुनै पनि कुरा यथास्थितिमा रहँदैन । एक कालखण्डमा सबलभएको कुरा अर्को कालखण्डमा सबल रहँदैन । मात्रा र गुणमा परिवर्तनसँगै हरेक वस्तु, मानव, मानवीय चेतनामा गतिशीलता र परिवर्तन आउँछ । 


तपाईं लघुकथाको सिद्धान्त बुझेको र सिद्धान्त निर्माता पनि हुनुहुन्छ । लघुकथा संसारमार्फत समस्त जिज्ञासुहरूलाई बताइदिनु –वि.संं. २००७ सालमा प्रकाशित पूर्णप्रकाश व्राम्हणको 'झिल्को’ लघुकथाकृतिदेखि हालै प्रकाशित तपाईंकै कृति 'आमाधर्ति, बाबु आकाश’ सम्म आइपुग्दा लघुकथाको सिद्धान्तहरू कति बने र कति भत्किए ?

पुष्करराज : कुनै पनि साहित्यिक विधामा पहिले सिर्जना हुन्छ र सिर्जनालाई पछ्याउने काम सिद्धान्तले गर्छ । पूर्णप्रसाद ब्राह्मणको ‘झिल्को’ छोटो कथा भनेर लेखिएको पुस्तक हो । आख्यानमा लघु आकारका सिर्जना निर्माण हुने क्रमसँगै लघुकथा सिद्धान्तको काम अघि बढ्यो । पचासको दशकयता प्रा. मोहनराज शर्मा, प्रा.डा. दयाराम श्रेष्ठ, प्रा.डा. लक्ष्मणप्रसाद गौतम, गोपाल अश्क, प्रा.डा. कुमारप्रसाद कोइराला, प्रा.डा. कपिल लामिछाने, डा. पुष्करराज भट्ट एवं डा. हरिप्रसाद भण्डारी हुँदै विभिन्न समालोचकहरूले यसमा काम गरिरहेको अवस्था हो । प्रारम्भमा कतिपय कुरामा स्पष्ट नभएका कुरा समयक्रममा स्पष्ट हुने, कतिपय नवीन कुरा पनि आउँछ । सिर्जना र समालोचना एकअर्काका परिपुरक हुन् ।


नेपाली लघुकथामा पहिलो विद्यावारिधिकर्ताको नाताले बताउनु होस्‌– नेपाली लघुकथाहरूमा निरन्तर देखिरहेका विभिन्न प्रयोग र शैलीहरूलाई कसरी लिइरहनु भएको छ ? आम पाठकहरूले कसरी लिनुपर्छ ?

पुष्करराज : नेपाली साहित्यका विभिन्न विधामा नवीन शैली निरन्तर आइरहेको छ । नेपाली साहित्यमा विगतदेखि वर्तमानसम्म आइपुग्दा विभिन्न प्रयोग हुँदै आएका छन् । कथ्य र शैलीका सन्दर्भमा आउने विभिन्न प्रयोगले विधाको गतिशीलतालाई बुझाउँछ । कुनै पनि साहित्यिक विधाका आधारभूत पक्षलाई जोगाउँदै हुने प्रयोगले विधालाई समृद्ध बनाउँछ । विधात्मक स्वरुपलाई भंग गर्ने र बहुविधात्मक चरित्र भएका प्रयोग कतिको दिगो हुन्छन्, त्यसको भविष्य हेर्न पर्खिनुपर्छ । 


नेपाली लघुकथा लेखनमा अबको बाटो कस्तो हुनुपर्ला, डा. साब ?

पुष्करराज :  नेपाली लघुकथा लेखनको अबको बाटो कथ्य र शिल्पका दृष्टिले सबल हुनुपर्छ । यस कामका लागि गम्भीर र सचेत लेखनको आवश्यकता छ ।

--------------------------------------
.‍..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

No comments:

Post a Comment