"बधाई छ अप्रेशन सफल भयो ।"
अप्रेशन थिएटरबाट बाहिर आएका डाक्टरले भने ।
रातीबाट अस्पतालमा बसेका रीना लगायत सबै आफन्त जनहरू खुसी भए । एकछिनपछि नर्सले बधाई दिंदै रीनाको हातमा नवजात शिशुलाई थमाई ।
– "आहा ! कति सुन्दर पुतली आमाभन्दा पनि राम्री छ ।" उसले बालिकालाई नियाल्दै भन्छे । रीना धेरै खुसी देखिन्थी हुनुपनि उसको साख्खै दिदीको पहिलो सन्तानलाई आज देख्न पाएकी थिई ।
थुप्रै आफन्तीहरू हालचाल सोध्न आएका थिए । अनामिकालाई राती नै भर्ना गरेपछि सबै चिन्तित थिए । उसलाई एकछिन पछि वार्डमा सिफ्ट गरियो ।
– "बालिकालाई आमाको दूध चुसाउनु ।" नर्सले बच्चीलाई आमाको छाती नजिकै पुराइदिन्छीन् । बालिकाले दूध चुसिरहेकी छ ।
– "दिदी ! अब यसको नाम के राखौँ ?" रीनाले बच्चीतिर स्नेहपूर्वक नियाल्दै सोधी ।
योभन्दा पहिले कि अनामिका केही बोल्थी एक जोडा अग्ला पक्का रङका हृष्टपुष्ट अपरिचित व्यक्तिहरू हातमा फूलको गुलदस्ता लिएर वार्डमा प्रवेश भए । उनीहरू सायद दम्पति थिए ।
– "हेलो अनामिका थैन्क्यू !" उसले गुलदस्ता सिरानमा राख्दै भन्यो । अनमिका झसङ्ग भई उसलाई लाग्यो भुइँचालो आयो । उसले आफूलाई सम्माल्दै मुस्कुराएझैँ अभिनय गरी ।
रिना उठेर नजिकैबाट अर्को एउटा स्टूल राख्दै बस्न इसारा गरी । रीनाको लागि उनीहरू अपरिचित हुन् । तर अनामिकाको मुहारमा कालो बादल छाएको थियो ।
– "यसको नाम हामीले सपना राख्दा कस्तो होला ?" अपरिचित व्यक्तिले सँगै आएकी महिलासँग आँखा जुधाउँदै भन्यो ।
– "हस् हजुरको इच्छा ।" उसले मुस्कुराउँदै भनी ।
– "धेरैधेरै धन्यवाद ! अनिमिका यो तिम्रो उपकार कहिल्यै भुल्ने छैनौँ ।" उसले पाँच सयको एउटा गड्डी अनामिकालाई थमाउँदै भन्यो । महिलाले बालिकालाई काखमा च्याँप्दै “बाई – बाई भनेर हिँडे । अनामिकाको आँखामा आँसु, काखमा पचास हजारको एउटा गड्डी थियो । रीनाले उनीहरू हिँडेको हेरिरही ऊ चिच्याउन खोजी तर आवाज आएन । आखिर के हो यस्तो बुझ्नै सकिन !
दाङ घोराही १८
जीवित राख्नका लागि तपाईंको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
No comments:
Post a Comment