एस.एल.सी. परीक्षाको नतिजापछि उच्चशिक्षा अध्ययनका लागि कुलराज गाउँबाट सहर छिरेका थिए । स्नातकसम्म अध्ययन गर्न उनलाई हम्मेहम्मे भयो । उनको घर परिवार आर्थिक हिसाबले विपन्न थियो। गाउँबाट महिनामहिनामा पढाइ शुल्क पठाउन पनि मुस्किल थियो उनलाई । गाउँमा आमा–बाले कहिले बोको बेचेर छोराका लागि सहरमा पठाइदिन्थे भने कहिले घिउ–मह बेचेर पठाइदिने गरेका थिए । स्नातक गरेपछि उनले अधिकृतका लागि लोकसेवा परीक्षामा प्रतिस्पर्धा गरे ।
तीनपटकसम्म पनि नाम ननिस्केपछि उनले नायब सुब्बमा नाम निकाल्न सफल भए । यता छोराले लोकसेवा पास गरेको जानकारी गाउँमा पुग्यो । तर आमा–बालाई चिन्ता थपियो । गाउँमा आएर शिक्षक बनोस् र हाम्रो हेरविचार गरोस् भन्ने आशा थियो आमा–बामा । कुलराजको शुरु नियुक्ति भने पश्चिम पहाडको एक जिल्लाको सदरमुकामस्थित एक कार्यालयका लागि भयो । सडक सञ्जालले नछोएको र दुर्गम भएकोले उनलाई शुरु नियुक्ति भएको जिल्लास्थित कार्यालयमा जान कठिनाइ व्यहोर्नुपर्यो ।
दुर्गम जिल्लाको कार्यालयमा खासै काम पनि नहुने हुँदा कर्मचारीहरु दिउँसै कार्यालयमा तास खेलेर बिताउने गर्दथे भने कोही कोही झरना र तालतलैया हेरेर आनन्द लिन घुमफिरमा जान्थे । बेलुकी रक्सी–मासुमा पनि रमाउँथे कार्यालयका कर्मचारीहरु । काठमाडौँस्थित एक मालदार अड्डामा नायब सुब्बाको पद रिक्त रहेको जानकारी कुलराजले पाए । सो कार्यालयमा सरुवाका लागि उनले निवेदन दिए र सरुवा पनि भयो ।
नयाँ आकर्षक कार्यालयमा हाजिर भएपछि कुलराजले तलब भत्ताका अतिरिक्त चिया खर्च, खाजा खर्च आदिको बहानामा उनको गोजीमा नाजायज रकम पर्दथ्यो । उक्त कार्यालयमा हाजिर भएको दुई हप्तामै उनको गलामा सुनको दुईतोलाको सिक्री देखिन थाल्यो । एक महिना बितेपछि औँलामा औँठी पनि देखिन थाल्यो । एकदिन कुलराजले मागेको घुस सेवाग्राहीले दिन नसकेपछि सेवाग्राहीको काम रोकियो । सेवाग्राहीले अख्तियारलाई गुहारेपछि कुलराज अख्तियारको फन्दामा परे । भ्रष्टाचारको दाग लागेपछि पछिसम्म पनि उनका छोराछोरीको बिहे हुन सकेको थिएन ।
- बूढानिलकण्ठ, काठमाडौँ
जीवित राख्नका लागि तपाईंको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
No comments:
Post a Comment