Showing posts with label Saturday literature. Show all posts
Showing posts with label Saturday literature. Show all posts

Friday, June 12, 2026

शान्ति ‌कंडेल न्यौपानेका चार कविताहरू


 विदेशको वाध्यता

मेरा आँखा ओसिला छन् बाढी पैरो देख्दा रुन्छु कहिले जिन्दगीका झाडी मैलो देख्दा केराघारी बन्न पुग्छु कहिले बन्छु केको आँधी चल्दा जिन्दगीमा खोजेको छु टेको चारैतिर मायाजाल बुन्न मन लाग्छ पालमुनि बस्न पाए पानी आफैँ भाग्छ त्यसै त्यसै ओइलाएर बस्नुपर्छ घर सबै गए विदेशमा छैनन् वरपर एयरपोर्टमा दिन दिन विदेशीको लर्को नेपालको बसाइ पनि हुन थाल्यो चर्को आजभोलि चाडबाड ओइलिएको देख्दा खुसी छैनन् कोही पनि फेसबुकमा भेट्दा टाढैबाट निधारमा टीका थाप्नुपर्छ बुझ्दै जाँदा बस्तीतिर अब चाप्नुपर्छ नेपालमा उठाएनन् चिया खा’को कप खै कसरी पूरा गर्छन् लगाएको गफ ? नेपालका सबै चाड आफ्नै जस्ता थिए न्वारन बिहे व्रतबन्ध विदेशीले लिए मुखमा आउँछ झुन्डेको छ परदेशी भयौ कहाँ पाऊँ ? कता खोजौँ ? घरदेशी गयौ !
*****

Friday, May 29, 2026

मीना श्रेष्ठका चार कविता


 

हराएको मुस्कान

बा ! गए एकपटक पनि पछाडि नहेरी कहिल्यै नफर्किने गरी बादल पारीको गाउँ जाँदा माताजीको गलाको पोते हातका इन्द्रधनुषी चुराहरू बट्टामा राखेको कुमकुम मिश्रित सिन्दुरको डिब्बासहित लिएर गए बाले त्यति मात्र लगेनन् । मेरो शिरको ताज कर्ली कपाल लिएर गए वाणीमा सम्मोहन थप्ने मेरो मुस्कान पनि लिएर गए । लैजानै परे पछि, किन लैजानु त्यो निर्दोष मुस्कान निस्फिक्री हाँसो बालसुलभ चञ्चलता बरू लैजानु नि भिडले नछेक्ने दर्किरहने रोक्दै नरोकिने आसुँको झरी, मेरो घाँटी न्याक्ने भक्कानाहरू , कसैले नबुझ्ने ब्यथाहरू, र, किन्नै नसकिने रहरहरू । बा ! तिमी एक्लै गएनौ रित्तै गएनौ उदासी दिएर छोरीलाई लगेका छौ जीवनका ऊर्जाहरू ।
*******

Friday, April 10, 2026

कल्पना मरासिनीका तीन कविता

 



थकित मान्छे !

​बिहान झिसमिसेमै बिउँझिन्छे ऊ जब सूर्य मस्त निद्रामा हुन्छ ऊ भने आफ्नै छातीभित्र जमेको नुनिलो पानीको ढिस्को फुटाउन खोज्छे तर अहँ ! केही लाग्दैन उसको ​देख्छे छिमेकी र जोरीपारीहरू खित्का छोडेर हाँसेको उसलाई थाहा छैन कुन 'मल' मा पाइन्छ हाँसोको बीउ? अनि कसरी उमार्न सकिन्छ खुसी आँसुको सिँचाइ गरेर ! ​कहिलेकाहीँ लाग्छ घर त बन्दीगृह पो हो आफैँले धुरीखाँबोमा झुण्ड्याएको अक्षताको पोको र त्यही पोकोमा भाकिएका कुलदेवता आज हेरिरहेछन् उसकै रमिता ! थाकेपछि मान्छे घरभित्र आउँछ तर भित्रै पो थाकेपछि कहाँ जान्छ मान्छे ? ​आरामको खोजीमा जब सूर्य ओरालो लाग्छ ओढेर क्षितिजको फराकिलो सिरक ऊ पुनः निसासिन्छे महसुस गर्छे कतै आफ्नैबाट छुट्टिए जस्तो आफैँभित्र लुटिए जस्तो सुरक्षाको तन्ना च्यातिएर असुरक्षित र बेसहारा भए जस्तो बयानका लागि उभ्याइएको कैदी जस्तो भन्नै मुस्किल खै कस्तो-कस्तो !

Friday, April 3, 2026

महेन्द्र नेउपानेका तीन लघुकथा

 


पुस्तान्तरण


एउटा बूढो रुखलाई एकटक लगाएर हेरिरहेछु । त्यस्तो बन्जर र सुखा ठाँउमा यो बृक्षले कसरी यत्रो आकार लियो? मेरो मनमा प्रश्नहरु तेर्सिन्छन। सायद यसले ठुलै सङ्घर्ष गरेको हुनु पर्छ । हेर्छु, मुख्य काण्ड क्षत बिक्षत भएर मक्किन थालेको छ । ओहो ! यो त निकै पुरानो हुनु पर्छ। तर अझै यो ठिङ्ग उभिएको छ। ससाना बिरुवाहरू सायद यसैका बीचबाट उम्रेका होलान्, वरपर एक तमासले हुर्किदै गरेका छन। ती बिरुवाहरू भन्दैछन, "बा अब तिमी जाउ, हामी आयौ ।" बृद्ध वृक्ष सोध्दै छ, "अब तिमीहरूलाई मेरो संरक्षकत्व चाहिँदैन? तिमीहरू आफै उभिन सक्छौ?" सबै बिरुवाहरू एकै स्वरमा भन्छन, "सक्छौ ।" "कति कठिनले मैले यो उराठ भूमीमा आफूलाई जीवित राखेँ, अहिले तिमीहरू बस्न सक्ने बनाएँ, तिमीहरूलाई जन्माएँ, हुर्काएँ। कति सजिलै तिमीहरू मलाई लखेटन चाहान्छौ।" बृद्ध वृक्ष संयभित हुँदै भन्छ, "मेरो शरीर जिर्ण भयो म मान्छु, तर अझै म तिमीहरूलाई यहाँ लहलहाउँदै गरेको अनि तिमीहरू मेरै छहारीमा बसेको हेर्न चाहान्छु ।"
ती विरुवाहरू भन्दैछन, "यो प्राकृत सत्य हो कि समय अन्तरसँगै सबैले पुस्तान्तरण गर्नु पर्छ। अब तिमीले ढल्नु पर्छ र आउने सयौ बिरुवाहरूलाई खेल्न दिनु पर्छ । जब यहाँ थुप्रै बिरुवाहरू हुर्कनेछन, जङ्गल हुने छ। अनि मात्र सायद इतिहासले तिमीलाई सम्झने छ।"
***

Friday, December 19, 2025

अन्जु चालिसे (रुपाञ्जली)का तीन कविता

 

अस्तित्वविहीन म



धेरै परिचयकी धनी एउटी नारी म जन्मिने बित्तिकै अनेक सम्बन्धमा बाँडिएकी, बाँधिएकी तर एक्ली म ।
बुबा आमाकी छोरी, दाजुकी बहिनी, भाइकी दिदी, कसैकी बुहारी, कसैकी श्रीमती कसैकी आमा, कसैकी कमारी एकमा अनेक म, एउटी नारी म ।
तर अफसोस् आसैआसमा जीवन बिताउँछु ।

कोही त मलाई मानवताको भावनाले देखोस्
कोही त मलाई मेरै परिचयले चिनोस् ।
जुन दैवले धरा दियो जसलाई होस् सम्हालेदेखि पूजा गरे, उही दैवद्वारा अनेक परीक्षामा  होमिएकी म हरेक क्षण, हरेक पल, हरेक मोडमा दाजुभाइको अगाडि आफू हुनुको मूल्य र मान्यता कहिल्यै नपाएकी म हरेक पाइला छोरी हुनुको आत्मबोध गराइएकी म निस्फिक्र हाँसोबाट वञ्चित म मेरो उत्सुकताको प्रश्नलाई विद्रोह ठानियो मेरो सहनशीलताको चुपलाई जित मानियो।
विवाहपूर्व माता पिताबाट बोझ सम्झिएकी म आफ्नाले नै पराइ धन मानिएकी म लवाई खवाई र रहन सहनको दायरामा बाँधिएकी म विवाहपछि आफूले आफैंलाई बिर्सेर अर्काको घर सजाउँदै बाँचेकी म त्याग र तपस्यालाई कर्तव्य मात्रै सम्झिनेहरूका अघि सधैँ अधिकारविहीन म हरेक दिन आफू मरेर पनि अरुलाई सम्हाल्ने,
एकमा अनेक एउटी नारी म कुमारी, लक्ष्मी, दुर्गा र देवी पुजिने समाजमा कमजोर, बेसाहारा र निर्बल मानिने म धेरै परिचयकी धनी, एउटी नारी म एकमा अनेक एउटी नारी म अस्तित्वविहीन एउटी नारी म ।

Friday, December 5, 2025

भागीरथी ज्ञवालीका दुई कविता


 रफ्तार

हो तिमीलाई हतार छ, गतिशील बन्ने नौलो रफ्तार छ, बेफुर्सद र ब्यस्त कार्यक्रमको जञ्जाल छ सक्षम सहकर्मीहरुको गतिलो संजाल छ ।
हो तिमी यसरी नै गतिशील बनिरहनु म आशाको भावले पर्खेर हेरिरहन्छु, तिमी अघि बढ सद्भावको हात बेरिरहन्छु तिमी उन्नतिको शिखर चढ्नु उत्साहको बल जेलिरहन्छु ।
हो तिमी बेफुर्सदी छौँ, म चाहान्छु तिमी यसरी नै ब्यस्त बनिरहनु लक्ष्यमा पुग्ने गोरेटो मस्त खनिरहनु, सपना सजाउने काममा दुरुस्त बनिरहनु कर्तव्य र जिम्मेवारीका तारतम्य बुनिरहनु ।
हो तिमीले मिल्काएर फाल्नु पर्छ , बेथिति र कु-संस्कारको कालो जालो, भ्रष्टाचार र अनियमितताको चलन निरालो, चाकरी चाप्लुसी र हुकुमी शैलीको बियालो ।
हो तिमीले नथाकी चढ्नु पर्छ नविन सभ्यताको उकालो, साम्य पारी पुर्नु पर्छ पुरातन र वर्तमानको भंगालो बलियो गाँस्नु पर्छ विकास र समृद्धिको अँगालो, तिमीले बन्नुपर्छ इतिहास र नव प्रवर्तनको सँगालो ।
हो तिमीले बन्नुपर्छ, तिमीले बन्नुपर्छ करोडौ जनताको दरिलो भरोसा पूरा गर्नु पर्छ आम जनताका सुशासनका आशा, बाँड्न सक्नु पर्छ शान्ति र सम्बृद्धिका दीलासा अनि सुनौलो भविष्यका रङ्गीन अभिलाषा ।
हो तिमी रफ्तारमा अघि बढ, ज्योतिपुञ्ज बनेर प्रकाश छर्नु पर्छ विश्वासको धरोहर बनेर कर्म गर्नु पर्छ, घाइते पीडितका घाउमा मलम छर्नु पर्छ, सहिदका सपनाका पूरा गर्न सत्कर्म गर्नु पर्छ ।

Friday, July 11, 2025

भूमिका गैरे तिमिल्सिनाका तीन लघुकथा

 

धर्म                      

"ए लौ न,गाडीले मान्छे हान्यो ।" आत्तिएको स्वरमा सुरेश कराए ।

बिहानीको समय सुरेश चोकतिर निस्केका थिए । आँखै अगाडि भएको दुर्घटना देखेर उनी त्यतैतिर दौडिए । मान्छेको भिड जम्मा भयो ।

"को मान्छे रहेछ ? कस्लाई हो हानेको ? स्थिति कस्तो छ ?"  भिडबाट आवाज आयो ।

"बुढी आमा बाटो काट्न लागेकी थिइन रे ! गाडी पनि कति तीब्र गतिले चलाएको हो कुन्नि ?
बाटोभरि रगतै रगत छ । अब पुलिसलाई फोन गर्नु पर्यो ।" भिडबाट अर्को आवाज आयो ।

भिडका मान्छे सबै रमिते बनेका थिए । सबैलाई फोटो खिच्न मात्र हतारो देखेपछि सुरेशले भने, 
"तुरुन्तै अस्पताल पुर्याउन पाए बाँच्थिन् कि ?"

भिडबाट कसैले भन्यो,  "लाँदा लाँदै बाटोमा केही हुने हो कि ? घरपरिवार को हुन् ?  केही थाहा छैन । पछि अप्ठ्यारो पर्ने पो हो कि ? फेरि पैसा पनि खल्तीमा छैन । पुलिसलाई खबर गरौँ ।"

सुरेश अघि सरे र भने,  "घाइते मर्न आटिसक्यो । पहिला अस्पताल लैजाऔँ । बाँकी कुरा पछि गरौंला।" उनले नै एम्बुलेन्स बोलाए । पुलिस पनि त्यतिखेरै आइपुगे । पुलिसले एम्बुलेन्सभित्र घाइतेलाई राख्यो र अस्पतालतिर दौडायो ।

अवस्थाको मूल्याङ्कन गर्दै सुरेशले मनमनै सोचे,  "आजकलका मानिसहरू मानवीय धर्मभन्दा पनि प्रचारबाजीमा बढी रमाउने भएका किन होला ?"


लत                      

खुट्टा लर्बराउँदै घरमा छिरेको लोग्नेलाई देखेर स्वास्नीले आक्रोश पोखी, "हैन, कति खान सकेको हो, यो झोल पनि ? लबस्तरोले दिउँसै धोकेर पो मरेछ । छि ! कसैले देखेभने नि के भन्लान् ?"

उसले ठाडै जवाफ दियो,  "हैन, खाएँ त आफ्नै बाउको खाएँ । तलाई के को टाउको दुख्यो हँ ?"

सम्झाउने लवजमा ऊ बोली, "घरमा जवान छोरी, बिहेको लायक भाकी छे ! उसको मनोविज्ञानमाकस्तो असर पर्ला ? अलिकति पनि सोच्नु पर्दैन ?"

ऊ दलानमै डङ्ग्रङ्ग लडेर बर्बरायो,  "घरमा आयो कि जहिले कचकच मात्रै गर्छे । आउन नि मनै लाग्दैन । के गर्नु ?"

"तिम्रो चालामाल देखेर छोरी बाहिर निस्किन पनि मान्न छाडिसकी । बाहिर निस्कियो कि जड्याहाको छोरी भन्छन् रे ! घरको इज्जत कहाँ पुगिसक्यो ? खान, लाउन पनि मैले नै हाड घोट्नु पर्ने भयो । हरे ! मेरो भाग्य !"  ऊ गनगनाउन थाली ।

ऊ जुरूक्क उठ्यो र ठूलो स्वर गर्यो,  "नाथे, त्यसै ठूली भएकी छे ! खान, लाउन पाकै छस् क्यारे !तिमीहरुलाई सबै चिज पुर्याएकै छु । त्यसै जान्ने हुँदिरहिछे बडा !"

उसले उदास स्वरमा भनी,  "कोही माग्न आए भने पनि तपाईंको यो लतले छोरीको विवाहमा वाधा पुर्याउँछ कि भनेर अत्यास लागेको छ । आफ्नो जिम्मेवारी त बुझ्नु पर्यो नि !"

ऊ जङ्गियो, "अरुका स्वास्नीले लोग्नेलाई कति माया गर्छन् । तँ एउटी चाहिँ मलाई देख्यो कि बिग्रिएको रेडियोझै जतिखेर पनि क्यारक्यार क्यारक्यार गर्न जान्या छेस् । होइन ?"

राम काका कराउँदै प्रवेश गरे,  "हैन, बाहिरै बसेर जोईपोइ के को गन्थन हो ? छोरीलाई केटोको कुरो लिएर म आएको, बिहे गर्ने हो नि ? के छ, बिचार ?"

उसले आत्तिदै सोधी,  "काका, केटाको रक्सी पिउने लत त छैन नि ? अलि राम्रोसँग बुझ्नू है !"

Friday, July 4, 2025

डा. नवराज न्यौपानेका तीन कविता

  


जुट्नु र छुट्नु



चढ्दो जवानीसँगै
बढेका नातासम्बन्धहरू
ढल्दो जवानीसँगै
एक एक गर्दै
टुट्दै जान्छन् ।

 

मासका कोसाझैँ
प्वाट्ट फुटेपछि
टाँसिएका गेडाहरू
आ-आफ्नै बाटो लाग्छन् ।

 

मक्ख पर्छौ किन जुटेकामा ?
बिलौना गर्छौ किन छुटेकामा ?

 

जुट्नु र छुट्नु त
हो एउटा
संयोग मात्रै ... !

 

विषमता 


सुकुमारी चुचुराहरू
उषाको उठानमा
भर्खरै नुहाएर
प्रज्ज्वलित कान्तियुक्त
अद्वितीय मुस्कान छाड्छन् !

 

कुप्रा खोँचहरू
अभिशप्त वर्तमानबिच
वर्तमानमै तुहाउँछन
भविष्यको गर्भ

र

सुक्सुकाउँछन्
सेतो पछ्यौरीभित्र !

 

रविरश्मिको पहिलो केन्द्र
शिखरमै छ युगौँदेखि
माथिकाहरूले
खोँचमा हेरेको इतिहास छैन् !

Friday, April 4, 2025

निर्मलरमण पराजुलीका तीन कविता

 

बागमती विष्णुमती ...


प्रकृति स्वच्छ राखौ जुटौ आजै सङ्कल्प बोकेर मनमा बागमती विष्णुमती सफा रहे पवित्र हुन्छ घर आँगन हे ! कान्तिपुरी नगरी तिम्रा पवित्र जल धारहरू हुन् यिनै तिम्रा सुन्दर कल कल गर्ने मोतीका हारहरू हुन् यिनै यिनैका जलले हाम्रो प्राण सञ्चार गराउँछन् आराध्यदेव भगवान् यिनै नदीहरूमा नुहाउँछन् यस्ता पवित्र तिर्थस्थल नदीहरूमा मलमूत्र बगिरहेछ छि छि कस्तो लाज मर्नु भो हामीलाई धिक्कार छ देवर्षी महर्षी ज्ञानीहरूले तपस्या गरे यहाँ कति कति लिए अखण्ड भक्ति ज्ञान यिनै नदीहरूका तीरमा बसी लागौं अब सरसफाईतिर कत्ति पनि ढिला नगरी हाम्रा लागि यिनै नदीहरू हुन् गंगा यमुना काबेरी आजीवन हामीले बागमती विष्णुमतीको गाथा गाउँ अन्त्यमा ब्रह्मनालमा सुत्दा यिनैको जल पिउन पाउँ हाम्रो निश्चल निस्कपट आस्था श्रद्धा छ मनभरि स्वर्गभन्दा पनि पवित्र छ हाम्रो कान्तिपुरी नगरी यिनैका छेउमा रोपौं फलफूल बिरुवा खाली ठाउँ नराखी कतै अनि बाचौं हासौं स्वस्थ भई स्वच्छ वातावरणमा मजासितै नदी र नगर प्रदूषित बन्दा वातावरण र मन स्वच्छ हुन्न यसैको परिणाम, हामी सबैको दीर्घरोगी बन्दछ जीवन सत्कर्मले मानिस महान बन्दछ बागमती विष्णुमती राखौं मनमा अनिमात्र सत्य धर्म-संस्कृति सु-संस्कार भित्रिन्छ हाम्रो घर-आँगनमा यी जलाशय जननी बागमती, विष्णुमती, सरिता, सुधा, लतामती यिनैका निर्मल आशिर्वादले स्वस्थ्य सम्बृद्धि बन्दछन् हाम्रा सन्तति ...!!! ***************

Friday, March 21, 2025

अरूणबहादुर खत्री 'नदी'का तीन लघुकथा


 

विमोचन कार्यक्रम

साहित्यकार रामप्रसादले आफ्नो कथासङ्ग्रहको पाण्डुलिपि तयार गरेर अग्रज साहित्यकारहरूलाई लगेर देखायो र भूमिका लेख्न आग्रह गरेर आफ्नो कथा सङ्ग्रह प्रकाशित गर्‍यो अनि विमोचनको कार्यक्रममा उसको कृतिको चर्चाका लागि उसले एकजना मन्त्रीलाई गएर भेटेर भन्यो – “हजुरले मेरो कथासङ्ग्रहको प्रमुख अतिथि बनेर विमोचन गरिदिनु पर्‍यो !” 

मन्त्रीले  "म तपाईंहरू जस्तो कथा कविता लेख्ने साहित्यकार परिन तपाईंले आफ्नो कथा सङ्ग्रहको निम्ति वरिष्ठ साहित्यकारलाई भेटेर यो कुरा भन्नुभएमा धेरै राम्रो हुने थियो” भने । 

“हजुर मन्त्री हुनु भएकोले विमोचन गरिदिनु भयो भने विभिन्न ठाउँबाट टेलिभिजनहरू आएर हाम्रो कार्यक्रम खिंचेर समाचारमा देख्न पाइन्थ्यो” कृतिका लेखक रामप्रसादले भने ।

“तपाईंले वरिष्ठ साहित्यकारलाई आफ्नो पुस्तकको विमोचन गराउन बोलाउनु भयो भने पनि टेलिभिजन आएर खिंचिहाल्छन् नि !” मन्त्रीले भने ।

“अहिले राजनीतिक द्वन्द्व चलेको युगमा देशका राजनीतिक व्यक्तिहरूको कार्यक्रममा मात्र टेलिभिजनहरू पुगेको हामीले देखेका छौंं” कृतिका लेखक रामप्रसादले भने पछि मन्त्रीले विमोचन गर्न स्वीकार गरे । तर विमोचन कार्यक्रममा कार्यव्यस्तता भन्दै मन्त्री आएनन् र टेलिभिजन क्यामरा पनि देखिएनन् । विमोचन एक जना वृद्ध साहित्यकारका हातबाट नै भयो । यसको खबर कतै पनि प्रकाशित प्रचारित नभएको देखेर लेखक रामप्रसाद पुर्पुरोमा हात राखेर झोक्रिए !

Friday, March 7, 2025

प्रार्थना खनाल जोशीका तीन लघुकथा



 शिवरात्रि


"केटाकोटी हो ! आज हामी हिन्दूहरूको ठूलो धार्मिक दिन हो, सबै केटाकेटीले नुहाई सफा लुगा लगाएर शिव भगवानको नाउँमा धुप बाली पूजा अर्चना गर ।" हजुरआमाले नातिनातिनालाई भन्नुभयो । सबै केटाकेटीले हजुरआमाले भनेको मानेर “हस्" भन्दै सनातनीय कर्ममा लागे । यत्तिकैमा "अलक" भन्दै जोगी बहिर ढोकामा उभिए। हजुरआमाले "बनाएका नैवेध्य भगवानलाई छुट्याएर जोगीलाई खान दिनु”, भनी बुहारीलाई अह्राउनुभयो । कान्छो नातिले, "सधैँ आउँदा जोगीलाई चामल र पैसा दिएपुग्थ्यो, आज चाहिँ किन मीठो नैवेद्यको परिकार नि?” सोध्यो। "आज आउने व्यक्ति भगवानको रूपमा आउँछन् नाति,” हजुरआमाले भन्नुभो । कान्छो नातिले मजाक गर्दै, "हजुरआमा म पनि कतै आफन्तकोमा जानुप-यो मलाई पनि भगवान भनेर मीठो खान देलान् नि !” "हा..हा..!” सबै हॉसे । "आज मन्दिर जानुपर्छ" भन्दै बुहारीले हजुरआमा माझ प्रस्ताव राखिन् ।
हजुरआमाले बुझाएर बुहारीलाई भन्नुभो, "हेर, शिव प्राप्तिका लागि हृदयभित्रको परमात्मालाई ध्यानस्थ भई प्राप्त गर्ने हो । मन्दिर जाने भनेको त हातमा भएको हिरालाई फालेर रूखको फल टिप्नु जस्तो हो बुझ्यौ !”
**********

Friday, February 21, 2025

नैना सुब्बा बराईलीका तीन कविता

 


 

सूनको प्यालाभरिको विष

खै ! कस्तो दुनियाँ यो ? घरभित्र पनि त्रस्त घर बाहिर पनि त्रस्त यहाँ आफ्नै छायाँको पनि विश्वास हुँदैन यहाँ आफ्नै मायाको पनि भरोसा हुँदैन, यहाँ शंकै शंकामा हात मिलाउनु पर्छ यहाँ प्रतिदिन आफैलाई विष पिलाउनु पर्छ, यहाँ कि त भाग्दै हिँड्नु पर्छ कित त प्राण हत्केलामा राख्दै जिउनु पर्छ किन कि हामी आजको दुनियाँमा छौं, जो आफै चर्किँदै गएको आफै तोडिँदै गएको आफै मक्किदै गएको बारुदले छिया छिया यो जीर्ण भग्नावशेष जो आफ्नै नङ्ग्राले अनुहार चिथोर्दै कुरूप र विभत्स छ, दर्पणमा आफ्नै रक्ताम्मे अनुहार हेर्दै तर्सिरहेछ मानौ गान्धारीको श्रापले यो श्रापित छ । कस्तो सृजना यो निरर्थक ? कस्तो उपलब्धि यो विनाशक ? हो, यो दुनिया आफ्नै लाश बोकेर श्मसान कुरिरहेछ कस्तो निर्माण र आविष्कार यो ? यतै चित्कार उतै चित्कार सन्त्रास र भय चारैदिशा ह्वास्स ह्वास्स रगत गनाउँछ जलमा, थलमा, नभमा मानवता जलेको धुवाँले आकाश ढड्याम्म ढाकेको छ खोरैबाट परेवाहरू गिद्दले लुछिरहेछ लेबानन, इरान, सिरिया, युक्रेन इजरायल, यमन र कता कता व्याप्त आर्तनाद सुनेर पनि भगवान् यहाँ असहाय छ मान्छेको वधशाला अघि बुद्ध अवाक छ, यस्तो लाग्छ अब यहाँ मुटु बिनाको मान्छे जन्मिन थाले छि: कस्तो व्यूह रचना यो ? कस्तो पागलपन यो ? मान्छेले मान्छे मार्नलाई अरबौं सम्पति दाउमा, व्यूह रचना त तोड्नलाई होइन जोड्नलाई हुनु पर्ने दूरत्व मेट्नलाई हुनपर्ने प्रेम र सद्भावले समेट्नलाई हुनपर्ने | यसैले म यो युगलाई घृणा गर्छु यो सूनको प्यालाभरिको विष हो यो मानवताको महापरिहास हो ।
******************

Friday, February 14, 2025

अरुण कुमार भुजेलका तीन कविता

 



मनसँग

तिमी सबैलाई माया गर्नू आदर, सत्कार र सम्मान गर्नू धैर्य अनि सहनशील बनी सर्वत्र सकारात्मक ज्योति छर्नू मेरो मन तिमी यस्तै नै हुनू । हिलोमा फुल्ने कमल हुनू चोटहरूमा दल्ने मलम हुनू स्रष्टाहरूलाई साथ दिँदै सृजना रच्ने कलम हुनू मेरो मन तिमी यस्तै नै हुनू । हाँस्ने अनि हँसाउने गर्नू बाँच्ने अनि बचाउने गर्नू मानव धर्मको शरणमा परि कर्म नै धर्म हो प्रचार गर्नू मेरो मन तिमी यस्तै नै हुनू । दाँतहरू जस्तै रूखो भएर अल्पायुमै एकाएक झर्ने नहुनू जिब्रो सर नरम भएर मृत्यु पर्यन्त सँगै रहनू मेरो मन तिमी यस्तै नै हुनू । ********
अनुरोध
हेर मल-जल नगरे पनि जंगली फूल फुलेकै हुन्छ पहरामा देख्छौ ढुङ्गा र जरा प्रेमले अँगालो मारेकै हुन्छ । अँध्यारो हेर त नभनी हुन्छ उज्यालो फेरि नबोलाई आउँछ रित्तोले आकाश ताकेको हुन्छ लटरम्म हाँगो भुइँ तिरै झुक्छ । असल कमसल तिमी भित्रै स्वर्ग र नर्क त्यो तिमी भित्रै बैरी को हो ? को हो मित्र? आखिर सबै छन् तिमी भित्रै। बनाउन सक्छौ के ढुङ्गा-माटो ? हावा-पानी र अरू चराचर सक्दैनौ कम्तीमा कृतकृत्य बन धन्य-धन्य जीवन यति त भन। ********

Friday, February 7, 2025

धर्मराज पौडेल अल्पायुका दुई गीत


बाऊआमाको हाड घोटी


बाऊआमाको हाड घोटी खाका छन् सहरको सुबिधा पाका छन् !! काम गर्न छाडे सबै किनि खाने ठुला बाहिरी रासन आउनु पर्छ बल्न हाम्रा चुला बजारको हाउ भाऊ फेसनले मार्यो ठुला ठालु बन्न पर्ने पार्नु आपत पार्यो !! बारी खेत बाँझा राखी हिड्छन मस्किएर सिन्को भॉच्न गार्हो हुने खान्छन् पस्किएर लाज सरम पचेपछि जे गरे नि हुने होटल होटल चाहर्दै हिड्छन तिन्लाई कस्ले छुने .. जागिर भत्ता केही छैन लाऊछन् फेसन फेरि यसरी नै सन्तान बिग्रे आउला आँधिबेरी नयाँ नयाँ मोबाईल बोकी हिंड्छन जुता ठोकी चिन्नै पनि गार्हो हुने केटा हो की ? केटी ... अङगभङग देखाउँदै केटा रोजी रोजी रात दिन तिन्कै हुन्छ मोबाईलमा खोजी कस्को कुरा कस्ले सुन्ने सबै उस्ता उस्तै होटल लज पुग्छन उनै आईस क्रिम चुस्दै ... घरको काम गर्नुपर्दा सदा अर्को झर्को घुम्नलाई बानी पर्यो यिन्लाई सहरको पढ्न भनी किताब बोकी हिड्छन् देखाउन जानेका छन् बाऊ आमाको ढाड सेकाउन ... बाऊ आमाको हाड घोटी खाका छन् सहरको सुविधा पाका छन् ... 
 
****** 

Friday, January 31, 2025

बुद्धिमान महर्जनका तीन कविता

 


मुग्लान

केही समय सानो सपना पुरा गर्दै मुग्लानको हावामा रमाउँदैं पाउमा अल्झेका बुँदहरू पसिनाले पखाल्दैँ कर्मभूमीको युद्धमा जब सुन्दर संसारको अवतरण भयो मेरी परी ओझेल भइन मलाई छली मेरो खोजीको आयामहरूमा । हरेक दिनको उनको पूजा निराहार बन्दै गएको उनको समय कहाँ थियो र ममा भगवान् दिव्य शक्ति दिनलाई उनीमा सालको पातको स्वाद लिई उकाली र ओरालीमा नाम्लोको दाम क्षितिजले लम्ब्याएको रातहरूमा निरन्तर ओझेल परेको न्यानो माया मुग्लानको चिसोमा कठाङ्ग्रीदै थियो । थिएन सुपारीको बोट निर्बाङ्ग मेरो वरपरका काल्लाहरूमा थिएन ! निर्भरका सखुवाँ, मेरो साथमा निर्छलो आत्मा बीच निर्दयी बन्दै गरेको जिन्दगी काकाँकुवाँको शब्द बीच निस्तब्ध बनेका बिस्तार बीच मेरो रमरमको संसारले तालगाँठी मिल्दैथ्यो । कलिलो मुना दैवको सूत भुईचरीको आँगन उराठ बनेछ छितिजको ध्वजा फरफराएसँगै मनको चरी उढेर गएछ । गर्मीको छहारी तिर्खाको झरी गंगा बगेछ सहरदमा काँधको छैला मनको मैला कस्तुरी थिएन आँगनमा बेरीतको काँच मनको ऐना टुटेछ मुग्लानको जवानीमा ।

Friday, January 24, 2025

विष्णा विरहीका तीन गीत

 

 
रोएँ धरर

चल्यो हावा सरर रोएँ धरर पानीको तिर्खा झैँ माया हरर पाखो वारि कोदाली खन्दैछु कैले आउँछौ दिन मैना गन्दैछु रोएँ धरर............
पाइन्न खुसी किन्न धन पैसाले मान्दैन मन भोलिको आशाले रोएँ धरर............
कोदो फापर बारीमा रोपौँला सुस्केरामा सँगै थकान मेटौँला रोएँ धरर............
फर्क छिटै परदेशी आउ घर नेपालमा नपाउने के छर रोएँ धरर............
चल्यो हावा हरर रोएँ धरर सम्झना हजुरकै आयो हरर ।