Tuesday, July 8, 2025

लघुकथा (अङ्क २५ मा प्रकाशित)


"गन्हाएर बाटोमा हिँड्नै नसकिने भयो । के मरेछ कुन्नि ?’’
बिहानीको घुमाइमा रमिताले कवितासँग भनिन् ।

कविताले नाक छोप्दै थपिन्,  "यता उता हेर्‍यो खै केही देखिंदैन त, कति साह्रो गन्हाएको हो छ्या, कुकुर हो कि बिरालो ?’’

राम मन्दिर अगाडिको घुम्ती भएको बाटोमा गन्हाएर हिँड्नै नसकिने भएको कुराले गाउँलेलाई चिन्तित बनायो । गाउँका भद्रभलाद्मी जुटे, स्थानीय क्लब पनि जुट्यो । सबैले यताउता खोजी गरे तर केही फेला परेन । अन्तिममा प्रहरी चौकीमा खबर गरियो ।

प्रहरीको टोली आयो । चेक जाँच गरे । निषेधित ठाउँ भनि कसैलाई नि प्रवेश गर्न दिएन । खोज्दै जाँदा अरेली काँडाको झाडीभित्र एउटा बोरा भेट्यो । बोराको मुख बाँधिएको थियो । पुलिसले फोटो खिच्यो र बोरा खोल्यो, मान्छेको शव फेला पर्‍यो ।

सबै चकित परे ।  "को मान्छे हो ? कसको छोरा हो ? हेर ! घर परिवारले कति खोजेका होलान् ।’’ अनेकन् तर्कनाहरूबारे खासखुस चलिरहेको थियो ।

पुलिसले  "मृतकको कोहीसँग वैरभाव वा भनाभन भएको थियो ?’’ भनेर स्थानीय जनतासँग सोधिरहेका थिए ।


स्थानीय सुरेश भने मनमनै गुन्दै थिए,  "आफ्नो जीवनभरि कमाएको पहिचान कतै त्यहीँ बोराभित्रको बेवारिसे शवमा टुङ्गिने त होइन ?’

- गैंडाकोट ४, नवलपुर

.............................................................................‍
..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

No comments:

Post a Comment