Monday, August 11, 2025

पुस्तक समीक्षा (अङ्क २६ मा प्रकाशित)


लघुकथाकार प्रा.डा. कपिल लामिछानेको मन्त्रीको मुस्कान नामक लघुकथासङ््‌ग्रह २०८० सालमा प्रकाशित भएको छ । यस कृतिभित्र उनले लेखेका पिँजडा, बाघको विजय, ईश्वरको पुनर्जन्म, साझा तीर्थ, जुक्ति, रोवर्ट मान्छे लगायत विभिन्न शीर्षकका ५४ वटा लघुकथाहरु राखिएका छन् । यसमा सङ्गृहीत ५४ वटै लघुकथा पाठकलाई प्रभावकारी रुपमा आकर्षित गर्न सक्षम रहेका छन्‌् । यस सङ्ग्रहभित्रको पिँजडा शीर्षकको पहिलो लघुकथामा ऊ पिँजडामा बन्द मौन सुगालाई नियालिरहेकी थिई । सुगा साँघुरो पिँजडाभित्र खेल्दै थियो । सुगासित खेल्न पाएर ऊ खुब रमाउन थालेकी थिई भनिएको छ । 


बाघको विजय शीर्षकको लघुकथामा बाघ प्रसन्न भयो । सौदा पक्का भयो । नभन्दै चुनाउमा बाघको सानदार विजय भयो । अहिले उही प्रधानमन्त्री छ भनेर लामिछानेले लेखेका छन् ।

सानो एउटा कुनै घटना भयो कि लघुकथा लेखिहाल्ने । त्यो लघुकथा भयो कि भएन भन्ने कुनै चिन्ता छैन लामिछानेलाई । लघुकथा नामले नै छोटो कथा भन्ने बुझिन्छ । तथापि यसले सिर्जित गर्ने कौतुहलता, रोचकता र मनमस्तिष्कमा झिल्का उठाउने गरी पर्ने तीक्ष्ण प्रभावले यसको प्रभावकारिता एवम् ख्यातिलाई बढाएको छ । 

सङ्ग्रहभित्रका सबै लघुकथाहरु सवाल्टर्निक छैनन् । लामिछानेका प्रायः लघुकथाले गह्रुङ्गो औपन्यासिक खुराक बन्न सक्ने विषयवस्तुलाई लघुकथाभित्र अटाएका छन् । सूक्ष्मता, तीब्रता, घनत्व, व्यङ्ग्य, सन्देश, पात्रको सन्तुलन र विपरित मार्गबाट जीवनबोध गराउनु लघुकथाको आधारभूत तत्वहरु हुन् । लामिछानेको लघुकथाको भाषा सरल, सहज र सुबोध्य छन् । 

लघुकथा भन्ने शब्दले छोटो कथा भन्ने अर्थ दिन्छ तर अंग्रेजी साहित्यमा भने जति लामो कथालाई पनि सर्टस्टोरी भन्ने चलन छ । लघुकथाका सम्बन्धमा विविध परिभाषा, बिचार र दृष्टिकोणहरु छन् । जे भए पनि नेपाली साहित्यमा लघुकथाले आफ्नो अलग स्वरुप र विधा ग्रहण गरिसकेको छ । यसै सन्दर्भमा नेपाली समाजको यथार्थ भोगाइहरु यसभित्र लेखिएका लघुकथामा खारिएका, माझिएका र टलक्क टल्किएका छन् । थोरै लेखेर पनि गुणस्तरमा ध्यान दिन सके कृतिको महत्व बढ्नेछ । यस तथ्यलाई लघुकथाकार लामिछानेले मनन गरेका छन् । 

रोबर्ट मान्छे शीर्षकको लघुकथामा एक्कासि रोबर्ट इन्जिनियरको छैठौ इन्द्रिय सक्रिय भयो । सोचे, यो रोवर्ट मनुवा यसरी मिलिजुली गरेर बस्यो भने त मैमाथि खनिन बेर छैन भनेर लामिछानेले लेखेका छन् । थाल शीर्षकको लघुकथाभित्र भाउजू अरु केही नबोली भित्र पस्नुभो र थाल लिएर दैलोमा निक्लदै भन्नुभो यी लिनुस् बाबु । थाल ओल्टाईपल्टाई हेरे मेरै थियो भनेर लेखिएको छ । 

लामिछानेका लघुकथाको भाषा सरल  छ । कसिएको छ । प्रस्तुुति मिठो छ । सुुरम्य छ । लघुत्व छ । सङ्क्षिप्त छ । पढ्दा निकै आनन्द आउँछ । उनका लघुकथा उनले देखेको व्यक्ति, समाज र राष्ट्रका साथै सुनेका घटनामा पनि आधारित छन् । यिनका कतिपय लघुकथा समय र स्थान सीमाका रुपमा पनि आएका छन् । 

मनमा बिझेका, मनलाई छोएका, देखे–भोगेका र कल्पनामा दौडिएका कुराहरु नै कथाका रुपमा आउने रहेछन् । यस सङ्ग्रहभित्रका प्रायः जसो लघुकथाहरु मलाई मन परेका छन् । मन्त्रीको मुस्कान शीर्षकको लघुकथामा सचिव बोलेकै थिएनन्, मन्त्रीले स्वकीय सचिवलाई बोलाएर भने तेरो दिदीलाई छिटो तयार हुन भन्, आज हेलिकप्टरमा घुम्न जानुपर्छ भनेर लामिछानेले लेखेका छन् । 

बा र अक्षर शीर्षकको लघुकथामा बाले मेरो कापी हेरेर भन्नुभयो, भएन बाबु भएन । अक्षर चिटिक्का, सिलित्त परेका, मोतीका दाना मिलाएर राखे जस्ता हुनुपर्छ । अक्षर राम्रा भएमात्र जीवनमा सफल भइन्छ भनेर लेखिएको छ । 

राजनीतिक नियक्ति शीर्षकको लघुकथामा मन्त्रालयबाट फोन आयो, जीएम साब, अघिल्लो सरकारका पालामा नियुक्त सबै कर्मचारीलाई बर्खास्त गरी यहाँ मन्त्रालयमा जानकारी गराऊ है । आजै । अहिल्यै भनेर लामिछानेले लेखेका छन् । सहयात्री शीर्षकको लघुकथामा मलाई वास्तै नगरी ऊ बसको ढोकामा झुन्डियो । अनि अरुलाई धकेल्दै आफू भित्र छिर्‍यो । साथ छाड्नु भएन । मैले पनि त्यसै गरे भनेर लेखिएको छ । मापखण्ड शीर्षकको लघुकथामा बाआमा, दाजुभाउजूसँग बिदाबादी भई उनी घर जाने तयारी गर्दै थिइन् । हाम्रो चिन्तै नगर नानी, दाजुभाउजू छदैछन् यहाँ । आमाले छोरीको चिन्ता भगाउने प्रयत्न गर्दै भनिन् हाम्रोमात्र चिन्ता किन गर्छेस् नानी भनिएको छ । 

खाना शीर्षकको लघुकथामा म सामान्यतया लाइन होटलमा खाना खान रुचाउन्न । त्यसमाथि बसले मुख जोडेको होटेलमा झन् खान्न । वल्तिरपल्तिर खोजे, तर यहाँ यो एउटै होटेल थियो भनेर लेखिएको छ ।

कृतिः मन्त्रीको मुस्कान (लघुकथासङ्ग्रह)
लघुकथाकारः प्रा.डा. कपिल लामिछाने
प्रकाशकः भु“डीपुराण प्रकाशन
संस्करणः वि.सं. २०८० भदौ
मूूल्यः रु. २००/–, पृष्ठः ९७

..............................................................................‍
..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

No comments:

Post a Comment