Pages

Tuesday, September 16, 2025

समालोचना (अङ्क २७ मा प्रकाशित)


उमानाथ दाहालको लघुकथा 'आमा' पढ्दा मन गह्रौं हुन्छ । सुरुको दृश्यमा रामले आमाको तस्विरसँग गरेको पूजाआजा साधारण लागे पनि त्यसमा रहेको भाव अत्यन्त गहिरो छ । आमालाई गुमाएको पीडा, तस्विरमा मात्र बाँकी रहेको मातृत्व, अनि स्मृतिको गहिराइले कथा आरम्भमै पाठकलाई छोइहाल्छ ।

लघुकथामा रामको यात्रा प्रतीकात्मक छ । घरभित्र आमाको तस्वीरसँगको संवादले मातृत्वप्रतिको श्रद्धा देखाउँछ । वृद्धाश्रमतर्फको पाइला समाजप्रतिको प्रश्न हो । लघुकथाकार दाहालले धेरै शब्द खर्च नगरी सानातिना दृश्यमार्फत ठूलो यथार्थ उतारेका छन् ।

वृद्धाश्रमको वर्णनमा 'आशामुखी वृद्ध–वृद्धा' भन्ने प्रयोग अत्यन्त अर्थपूर्ण छ । जीवनको अन्तिम चरणमा सन्तानको आशा गर्ने तर निराशाको छायामा बाँचेका वृद्धवृद्धाको चित्र एक वाक्यमै खिचिएको छ । यही वाक्य पढ्दा मेरो मन आफ्नै ठाउँको वृद्धाश्रमतिर लाग्छ, जहाँ मैले पनि यस्तै अनुहारहरू देखेको छु ।

रामले मनमनै भनेको वाक्य– “धिक्कार छ यी देवतासमान वृद्धका सन्तानलाई !”  साहित्यिक मात्र नभई सामाजिक उद्घोष हो । यसमा आजको यथार्थ र भोलिको भय दुवै मिसिएको छ । आमाबुबालाई बिर्सने सन्तानलाई धिक्कार्ने स्वर मेरो आफ्नै मनको आवाजजस्तै लाग्छ ।

लघुकथाको उत्कर्ष त्यतिबेला आउँछ जब रामले एक वृद्धाको अनुहारमा आमाको झल्को देख्छ । यथार्थ र स्मृतिको भेट त्यही क्षण हुन्छ । त्यो वृद्धासँगको संवाद हृदयविदारक छ । विशेष गरी जब वृद्धा भन्छिन्‌– “मेरो कोही छैन नानी  ! … छोरो विदेश गएको, मरे कि बाँचे अत्तोपत्तो छैन ।” यो वाक्यले हजारौँ वृद्धआमाबुबाको पीडा बोलेको छ ।

मैले पनि कतिपल्ट यस्तो वाक्य आफ्नै छिमेकी वृद्धाआमाबाट सुनेको छु । सन्तान विदेशिएपछि बुढेसकालमा आधारविहीन हुने पीडा यो कथामा मेटाफोर होइन, कठोर यथार्थ बनेर आएको छ । त्यसैले कथा पढ्दा आँखा रसाउँछन् ।

लघुकथाकार दाहालले प्रयोग गरेको सरल शैलीले लघुकथालाई सुगम बनाउँछ । तर त्यस सरलतामा गहिरो चोट लुकेको छ । लघुकथाले पाठकलाई दोष दिने होइन, आत्मपरीक्षण गर्न प्रेरित गर्छ । म आफैँ पनि यो लघुकथा पढेपछि आमा सम्झन पुग्छु । पहिले त उहाँसँग फोनमै कुरा गर्न सकिन्थ्यो, तर अहिले उहाँको नश्वर देहले हामीबाट २०७७ असोज ७ गते नै बिदा लिइसकेको छ ।

रामको अन्तिम वाक्य– “तपाईँलाई म आफ्नै आमा जस्तै सम्झेर याद गर्छु नि त ।” जीवनदायी र आश्वस्त पार्ने वाक्य हो । तर यसको गहिराइ बेदनाले भरिएको छ । आफ्नै आमा नभएका कारण अर्कैलाई आमा ठान्नुपर्ने परिस्थिति कस्तो पीडादायी होला !

यस लघुकथाले एउटा ठूलो सामाजिक प्रश्न उब्जाउँछ । के हामी आमाबुबालाई बिर्सन सक्ने हकदार छौँ ? या उनीहरूलाई वृद्धाश्रममा थुनेर आफ्नो उत्तरदायित्व पूरा भएको ठान्ने ?

सङ्क्षेपमा भन्नुपर्दा, 'आमा' लघुकथा साधारण कथाभन्दा बढी हृदयको धड्कन हो । यसमा लघुकथाकार दाहालको आफ्नै जीवनानुभवको सुगन्ध झल्किन्छ । वाक्यहरू छोटा, छरिता र पोटिला छन् । भाव भने समुद्रद्रजस्तै गहिरो ।

यो लघुकथा पढ्दा मलाई लाग्छ, आमाबुबा हाम्रो जीवनका जरा हुन् । जरै सुख्खा भए रूखमा हरियाली कसरी टिक्छ ? सन्तानले आमाबुबालाई बिर्सने हो भने त्यस सन्तानको जीवन पनि बिर्सिन लायक मात्रै हुन्छ ।

यही अनुभूतिजन्य सत्यको कलात्मक चित्रण भएकाले ’आमा’ कथा केवल प्रतिस्पर्धाका लागि लेखिएको सानो रचना मात्र होइन, यो हाम्रा समाजको ऐना हो ।

०००

लघुकथा– आमा

उमानाथ दाहाल

राम छिट्टै उठ्यो । नित्यकर्म सिद्ध्यायो । आमाको तस्वीर निकालेर पुस्पाञ्जली गर्यो । ढोग्यो र अघिकै ठाउँमा झुण्ड्यायो । अगरबत्ती बाल्यो र चढायो । आज ऊ निकै गम्भीर देखिन्थ्यो । आमाको सम्झनाको खहरे उसकै मुटुमा गड्गडायो । हिजोमै ठिक पारेको एक झोला खानेकुरा लिएर ऊ वृद्धाश्रमतर्फ लम्कियो ।

नजिकै रहेको वृद्धाश्रम पुग्दा उसले थुप्रै आशामुखी वृद्ध–वृद्धा देख्यो । मनमनै भन्यो– “धिक्कार छ यी देवतासमान वृद्धका सन्तानलाई !”

रामले झोलाबाट खानेकुरा निकालेर एक–एक गर्दै बाँड्न थाल्यो । वृद्धवृद्धा हर्षित भए । बाँड्दै जाँदा एक वृद्धाको अनुहारमा उसले आमाको झल्को पायो । अनुहार केही मिल्दोजुल्दो थियो । उसले बोलायो–

“आमा ! सञ्चै हुनुहुन्छ ?”

एकाएक कसैले आमा भनेर बोलाएको सुनेर उनी भावविह्वल हुँदै भनिन्‌–

“मेरो कोही छैन नानी ! ठ्याक्कै तपाईँकै उमेरको एउटा छोरो थियो । बुहारी लिएर विदेश गएको, मरे कि बाँचे अत्तोपत्तो छैन । मनमा सधैँ पीरको पीर छ, अनि कसरी सञ्चो हुन्थ्यो र बाबु !”

“अनि अरु सन्तान ? श्रीमान् ?” रामले जिज्ञासा राख्यो ।

“छैनन् नि । श्रीमान् बितेको सात वर्ष भयो । अरु कोही छैन मेरो टेक्ने–समाउने आधार ।”

राम एकछिन मौन रह्यो र फेरि बोल्यो–

“तपाईँलाई म आफ्नै आमा जस्तै सम्झेर याद गर्छु नि त । छिट्टै तपाईँसँग अलि लामो कुरा गर्ने गरी आउँछु है, आमा !”

०००

उत्तरकथा– विरानो अनुहार

नन्दलाल आचार्य

“आमा, फेरि भेट्न आएको छु ।” राम वृद्धाश्रमको ढोकाबाट भित्र पस्यो ।

वृद्धा मुस्कुराइन्, आँखा रसाए; “बाबु, तिमी आइरहँदा मलाई जीवन बाँचेको अनुभूति हुन्छ ।”

रामले वृद्धाको हात समायो । मनमा न्यानोपन उम्लियो;

“आमा, अब म तपाईंलाई यहाँ छोड्दिनँ । आफ्नो घरै लैजान्छु ।”

वृद्धा एकाएक काँपिन्‌;  “घर…? तिमी मेरा कुन छोरा हौ ? मैले तिमीलाई चिनेकै छैन ।”

राम स्तब्ध भयो ।

“आमा, हिजो त तपाईंले मलाई छोरो सम्झनुभएको थियो नि !”

वृद्धाले टाउको हल्लाइन् ।

“बाबु, मेरो साँचो छोरो त विदेशमा हराएको छ । म त सबैलाई छोरा भन्छु ।”

रामको अनुहार निलो भयो । उसको स्वर थरथरायो; “अनि म ? तपाईंले छोरा भन्नु भएपछि त म त पुरै विश्वासमा बाँचिरहेको थिएँ ।”

वृद्धाको आँखा आँसुले छोपिन थाल्यो ।

“साँचो भन्नु छ बाबु ! म तिम्रो आमा होइन । तर तिमी मेरो छोराभन्दा पनि ठूला लाग्छौ ।”

राम मौन भयो । आकाशमा कालो बादल उम्लियो ।

उसको आँखाबाट पनि असिना बग्न थाल्यो ।

उसले मनमनै सोच्यो; “कसैलाई ‘आमा’ भन्नु सजिलो छ, तर आमा पाउन भने जीवनै जुधाउनुपर्छ ।”

०००

..............................................................................‍
..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

No comments:

Post a Comment