अस्तित्वविहीन म
धेरै परिचयकी धनी एउटी नारी म जन्मिने बित्तिकै अनेक सम्बन्धमा बाँडिएकी, बाँधिएकी तर एक्ली म ।
बुबा आमाकी छोरी,
दाजुकी बहिनी, भाइकी दिदी,
कसैकी बुहारी, कसैकी श्रीमती
कसैकी आमा, कसैकी कमारी
एकमा अनेक म, एउटी नारी म ।
तर अफसोस्
आसैआसमा जीवन बिताउँछु ।
कोही त मलाई मानवताको भावनाले देखोस्
कोही त मलाई मेरै परिचयले चिनोस् ।
जुन दैवले धरा दियो
जसलाई होस् सम्हालेदेखि पूजा गरे,
उही दैवद्वारा अनेक परीक्षामा होमिएकी म
हरेक क्षण, हरेक पल, हरेक मोडमा
दाजुभाइको अगाडि आफू हुनुको मूल्य र मान्यता
कहिल्यै नपाएकी म
हरेक पाइला छोरी हुनुको आत्मबोध गराइएकी म
निस्फिक्र हाँसोबाट वञ्चित म
मेरो उत्सुकताको प्रश्नलाई विद्रोह ठानियो
मेरो सहनशीलताको चुपलाई जित मानियो।
विवाहपूर्व माता पिताबाट बोझ सम्झिएकी म
आफ्नाले नै पराइ धन मानिएकी म
लवाई खवाई र रहन सहनको दायरामा बाँधिएकी म
विवाहपछि आफूले आफैंलाई बिर्सेर
अर्काको घर सजाउँदै बाँचेकी म
त्याग र तपस्यालाई कर्तव्य मात्रै सम्झिनेहरूका अघि
सधैँ अधिकारविहीन म
हरेक दिन आफू मरेर पनि अरुलाई सम्हाल्ने,
एकमा अनेक एउटी नारी म
कुमारी, लक्ष्मी, दुर्गा र देवी पुजिने समाजमा
कमजोर, बेसाहारा र निर्बल मानिने म
धेरै परिचयकी धनी, एउटी नारी म
एकमा अनेक एउटी नारी म
अस्तित्वविहीन एउटी नारी म ।
उस्तै उस्तै अनुभव
पहिलो झरी, अनि पहिलो प्रेम,
उस्तै उस्तै अनुभव, उस्तै उस्तै अनुभूति !
पहिलो झरीमा भिज्दा
अनुभूति भयो प्रेम के हो ?
अंगालो फैलाउँदै
झरीलाई स्वागत गर्दा
पहिलो प्रेमको माधुर्यले
अनायास अधरमा ल्याएको मुस्कान
हृदयमा चलेको तेज धड्कनको छट्पटाहट
झरीको थोपा तप तप
निधारबाट झर्दै गाला छुँदा
अनायासै सर्माएको मन
लाली छर्दै झुकेका नयन
पहिलो प्रेमीसंगको मिलनको आभास झैँ
पहिलो झरीलाई दुई हात फैलाई
स्वागत गर्दा
पहिलो प्रेमीको स्पर्सको आभास झैँ
पहिलो प्रेमीको पहिलो नजरको मिठास झैँ
पहिलो झरीको बुँद उस्तै उस्तै अनुभव, उस्तै उस्तै अनुभूति
कति प्यारो, कति मिठो अनुभूति
पहिलो झरी, अनि पहिलो प्रेमी !
झरीमा सरीर भिजे जस्तै प्रेममा पनि त आँखा भिज्दो रहेछ
पहिलो झरी, अनि पहिलो प्रेमी !
उस्तै उस्तै अनुभव, उस्तै उस्तै अनुभूति !
पितृ ऋण
हरेक साँझ कमजोर नजर ढोकामा टाँसेर
जुटाउँदै सास बाँचेकी आमा
सन्तानको आसमा ।
आज त लिन आउँछन् सन्तान
मनमा आस पाल्दछिन्
झुकेका कम्मर कामेका खुट्टा बाटोमा चाल्दछिन् ।
बिहानीको सूर्य उदयसँगै
जागेका ती आशा
साँझको सन्ध्या आरतीसँगै
रात मै बिलाउँछन् ।
बुढेसकाललाई सहारा भनी पालेको सन्तान
कामेका हातमा सन्तानको होइन लठ्ठी छ साहारा ।
हुर्केका काख बिरानो पारी
सन्तान सुखी छन्
आमाको रोदन बिर्सेर आज सन्तान भुले छन् ।
आमाको आँसु जमेको छ है तलाउ बनेर
बाबाको आवाज दवेको छ है कहानी बनेर
बाबाका पीडा झल्कन्छ आँखामा कहानी बनेर
आमाका सपना तुहिन्छन् रातमा सिरानी भिजेर ।
बुबाआमालाई चाहिन्छ सधैं सन्तानको एक मुस्कान
संसार देखाउने आमा बुबालाई नगर अपमान ।
अझै समय बाँकी छ भन्ने भूलमा परेर
पछुताउनु पर्ला निर्दयी कालको अग्निमा जलेर
समय छँदै पूरा गर्नु पर्छ सन्तानको कर्तव्य
श्राद्ध र पिण्ड गरेर पूर्ण हुँदैन पितृ ऋण
श्राद्ध र पिण्ड गरेर पूर्ण हुँदैन पितृ ऋण ।
- विजय-लक्ष्मी निवास
रमेश विकल प्रतिष्ठानमार्ग, आरुबारी




No comments:
Post a Comment