कपिल लामिछानेको लघुकथा 'थकथकी’ पढिरहँदा मेरो मस्तिष्कमा एउटा शिक्षक, एउटा नागरिक र एउटा भावुक मानवका अनेकौँ तस्विरहरू एकैपटक नाच्न थाले । यो केवल शब्दहरूको सँगालो मात्र होइन, यो त मेरो आफ्नै मुटुको धड्कनमा ठोक्किएको एउटा निर्मम यथार्थ हो । म जतिबेला यो लघुकथाको अन्तिम हरफमा पुगेँ, मेरा आँखा रसाए र हातहरू काँपे । जीवनको यस यात्रामा म आफ्ना अनुभूतिहरूलाई एउटा निसमालोचकको रुपमा होइन, बरु एउटा घाइते आत्माको तर्फबाट पोख्न चाहन्छु ।
कपिल लामिछानेको 'थकथकी’ लघुकथा मेरो शिक्षक हृदयका लागि एउटा नमिठो झट्का र बिझाउने सत्य बनेर उभियो । जब म यो लघुकथाको अन्तिम हरफमा पुगेँ, मेरो आँखा रसाए र छाती भारी भयो । एउटा मान्छेले आफ्नै हातले आफैँलाई रक्ताम्य बनाउनु शारीरिक चोट मात्र होइन, यो त विवेक मर्दाको चरम आत्मग्लानि हो । एक शिक्षकको नाताले म जहिल्यै सिर्जना, शान्ति र निर्माणको पक्षमा उभिएँ, तर लघुकथाको त्यो ’मसानघाट’ जस्तो कार्यालय देख्दा मलाई आफ्नै शिक्षा कतै हारिरहेको त छैन भन्ने डर लाग्यो ।
आगो झोस्ने बेलाको त्यो उन्माद र छाती फुलाएको अहङ्कार जब जलेको बेन्चमा बस्दाको घृणामा बदलिन्छ, तब मात्र मान्छेले आफूले गरेको ध्वंसको वास्तविक मूल्य बुझ्छ । आन्दोलनका नाममा सार्वजनिक संरचना जलाउनु भनेको आफ्नै भविष्यको छानोमा आगो लगाउनु रहेछ । ती अधबैँसे पात्रले आफ्नै औँलो छुट्याउँदा बगेको रगतले मलाई चिच्याएर भनिरहेको छ– जलाएर र मारेर कहिल्यै सुन्दर संसार बन्दैन । जेन्जी वा कुनै पनि नामको आन्दोलनले जब कलिला बालबालिकाको जीवन र राष्ट्रको सम्पत्ति नष्ट गर्छ, तब त्यसको उपलब्धि केवल 'थकथकी’ को खरानी मात्र हुन्छ ।
मैले बुझेको सत्य यही हो– भत्काउने हातहरूभन्दा बनाउने हातहरू हजार गुणा शक्तिशाली र पवित्र हुन्छन् । कसैको चेतना खुल्नका लागि उसले आफ्नै अङ्ग काट्नुपर्ने र रक्ताम्य हुनुपर्ने अवस्था आउनु हाम्रो समाजको ठुलो विडम्बना हो । यो कथाले मेरो मुटुमा एउटा गहिरो घाउ बनाएको छ र मलाई अझ दृढताका साथ भन्न बाध्य पारेको छ कि विध्वंस कहिल्यै पनि विकासको विकल्प हुन सक्दैन । म अब झन् बढी सङ्कल्पका साथ विद्यार्थीलाई सिकाउनेछु– ढुङ्गा हान्न होइन, ढुङ्गाबाट सुन्दर भविष्य कुँद्न ।
१. मसानघाट बनेको कार्यालय र मेरो शिक्षक ह्दय
लघु कथाको सुरुमै जब लेखकले कार्यालय परिसरलाई “मसानघाटको झल्को’’ दिने गरी चित्रण गर्छन्, मेरो मनमा चिसो पस्यो । म एक शिक्षक हुँ । मेरो काम भनेको ढुङ्गालाई मूर्ति बनाउनु हो, अक्षरलाई ज्ञान बनाउनु हो र एउटा काँचो माटो जस्तो विद्यार्थीलाई देशको खम्बा बनाउनु हो । जब म आफ्नै देशका सार्वजनिक संरचनाहरू, जुन हाम्रै पसिनाको करबाट बनेका हुन्, तिनलाई जलेको र भत्केको देख्छु, मलाई लाग्छ– मैले सिकाएको शिक्षा कतै अपुरो त भएन ?
ती कर्मचारीहरू जो खुला आकाशमुनि बसेर सेवा दिइरहेका छन्, उनीहरू प्रतिको मेरो सहानुभूति शब्दमा व्यक्त गर्न सकिँदैन । “अगुल्टाले हानेको कुकुर’’ जस्तै डराएका कर्मचारीहरूको त्यो मनोविज्ञानले मलाई मेरो कक्षाकोठाको सम्झना गरायो । के हामीले आफ्ना सन्ततिलाई यतिसम्म हिंस्रक बनायौँ कि उनीहरू आफ्नै सेवकसँग डराउनुपर्ने स्थिति आयो ? यो दृश्यले मलाई भित्रभित्रै चिमोट्छ ।
२. त्यो 'छाती फुलाएको’ अहङ्कार र मेरो असहमति
लघु कथाको त्यो अधबैँसे पात्र जब “छाती फुलाएर’’ कार्यालय पस्छ, मलाई त्यो देख्दा घृणा र दया दुवै लागेर आयो । त्यो छातीमा वीरता होइन, बरु विवेकहीनताको एउटा खोक्रो अहङ्कार भरिएको थियो । उसले राजस्व बुझाउने ठाउँमा थर्काउनु र रसिद हुत्याउनुले हाम्रो समाजमा व्याप्त ’आन्दोलनकारी मानसिकता’ को कुरुप पाटो देखाउँछ ।
म जलाएर, भत्काएर, मरेर र मारेर आउने परिवर्तनको घोर विरोधी हुँ । मेरो विचारमा परिवर्तन त त्यो हो, जसले मानिसको सोच्ने शैली बदलोस्, जसले एउटा गरिबको ओठमा मुस्कान ल्याओस् । तर यहाँ त “परिवर्तन’’ को नाममा एउटा यस्तो उन्माद देखियो, जसले आफ्नै देशको सम्पत्तिलाई शत्रुको धन ठानेर आगो लगायो । त्यो पात्रको सुरुवाती उग्रता देख्दा मलाई लाग्यो– के यसले साँच्चै आफूलाई विजेता ठानेको छ ?
३. जेन्जी आन्दोलनको मुखुण्डो र भित्रको अपराधी
नेपालमा हालै भएको जेन्जी आन्दोलनले एउटा नयाँ आशाको सञ्चार त गरायो । म स्वीकार गर्छु, नयाँ पुस्तामा अन्याय विरुद्ध लड्ने एउटा विशेष ऊर्जा छ । तर, त्यो आन्दोलनको पवित्रतालाई धुमिल पार्न अपराधीहरूले 'जेन्जी’ को मुखुण्डो भिरे ।
लघु कथाको त्यो अधबैँसे पात्रले पनि सायद कुनै भीडको हिस्सा बनेर त्यो भवन जलाएको थियो । आन्दोलनको नाममा कसैको निजी रिसइबी साध्नु, सार्वजनिक सम्पत्ति ध्वस्त पार्नु र अन्त्यमा त्यसैको मारमा निर्दोष बालबालिका पर्नु, यो भन्दा ठुलो विडम्बना अर्को के हुन सक्छ ? जब आन्दोलन नियन्त्रणको बहानामा कलिला बालबालिकाको जीवनलीला नष्ट गरिन्छ, तब मेरो शिक्षक हृदय रुन्छ । ती बालबालिका, जो भोलिका वैज्ञानिक, साहित्यकार वा इन्जिनियर हुन सक्थे, उनीहरूलाई राजनीतिको वेदीमा चढाउनु कस्तो न्याय हो ?
४. 'जलेको बेन्च’ र चेतनाको पहिलो झट्का
लघु कथाको एउटा मर्मस्पर्शी मोड तब आउँछ, जब त्यो पात्रलाई बस्नको लागि “आधाआधी जलेको बेन्च’’ देखाइन्छ । उसले त्यहाँ बस्न घिनाउँछ ।
ओहो ! कति ठुलो प्रहार । हामी आगो त झोस्छौँ, तर त्यो आगोले डढेको कोइलामा बस्न हामी आफैँलाई लाज लाग्छ । उसले आफ्नै लुगा टकटक्याउनु र पसिना पुछ्नुले उसको भित्री मनमा हलचल सुरु भएको स्रोत गर्छ । “सर्भर मर्मत भइरहेको छ, म्यानुअली गर्दा समय लाग्छ“ भन्ने कर्मचारीको जवाफले उसलाई ऐना देखाइदिन्छ । उसले जुन मेसिन र प्रविधिलाई ध्वस्त पार्यो, आज त्यही सेवा पाउन उसले कुर्नुपरेको छ । यसले के सिकाउँछ भने विकास भत्काउन सजिलो छ, तर त्यसको अभाव झेल्न अत्यन्तै कठिन छ ।
५. त्यो इँटा र छुट्टिएको औ“लो : मेरो हृदयविदारक अनुभूति
लघु कथाको उत्कर्षमा जब उसले गोजीबाट लाइटर निकाल्छ, मलाई लाग्यो उसले फेरि केही जलाउन आँट्यो । तर होइन, उसले त इँटाले आफ्नै हातमा प्रहार गर्न थाल्यो । त्यो दृश्य मेरो मानसपटलमा ठोक्किँदा मेरो मुटुको ढुकढुकी बढ्यो ।
“अस्ति यहाँ आगो झोस्ने हात यिनै हुन् !’’
यो वाक्यले मेरो भित्री हृदय कुत्कुत्यायो, चिमोट्यो । एउटा मान्छे जब आफ्नै गल्तीको बोध गरेर आफूलाई शारीरिक सजाय दिन तयार हुन्छ, त्यो उसको पश्चात्तापको पराकाष्ठा हो । उसको एउटा औँलो छुट्टिएर रगत बग्नु भनेको केवल एउटा अङ्ग काटिनु होइन, बरु उसको चेतनाको पुनर्जन्म हुनु हो । तर यो पुनर्जन्म कति महँगो सावित भयो ! उसले आफ्नो शरीरको अङ्ग गुमायो, राज्यले आफ्नो भवन गुमायो र समाजले आफ्नो शान्ति गुमायो । राष्ट्रले होनहार जनशक्ति गुमायो, सुनौलो भविष्यको आधार गुमायो । शान्ति र अमनचयन गुमायो ।
६. शिक्षण पेशा र सिर्जनाको पक्षमा मेरो अडान
म जहिले पनि आफ्ना विद्यार्थीहरूलाई भन्छु– “हातहरू सिर्जनाका लागि हुन्, ध्वंसका लागि होइन ।’’ यो लघुकथाले मेरो यही मान्यतालाई थप बलियो बनाएको छ । विध्वंसात्मक गतिविधिबाट कहिल्यै विकास हुँदैन । विकास त निरन्तरको पसिना, धैर्य र विवेकबाट मात्र सम्भव छ ।
आज नेपालको राजनीति र सामाजिक आन्दोलनहरूमा “भत्काउनु’’लाई नै ठुलो उपलब्धि मान्ने गलत संस्कार विकास भएको छ । तर यस लघुकथाले देखाएको छ कि, भत्काउनेहरूले अन्ततः आफैँलाई भत्काइरहेका हुन्छन् । त्यो पात्रले आफ्नै औँलो काटेर जुन पीडा भोग्यो, त्यही पीडा आज सिङ्गो राष्ट्रले भोगिरहेको छ । हामीले हाम्रा कलिला बालबालिकालाई आन्दोलनको अग्रपङ्क्तिमा होइन, प्रयोगशाला र पुस्तकालयको अग्रपङ्क्तिमा उभ्याउनु पर्छ ।
७. निष्कर्ष : पश्चात्तापको खरानीमा उम्रिएको चेतना
कपिल लामिछानेको 'थकथकी’ले मलाई रातभर निदाउन दिएन । यो लघुकथा पढिसकेपछि मलाई लाग्यो– हामी सबै कतै न कतै त्यो अधबैँसे पात्र जस्तै छौँ । हामी कहिलेकाहीँ आवेशमा आएर आफ्नो घर आफैँ जलाउँछौँ र पछि खरानी मुसारेर रुन्छौँ ।
म जलाएर, भत्काएर र मारेर परिवर्तन चाहन्नँ । म त त्यो परिवर्तन चाहन्छु, जहाँ कुनै पनि नागरिकले पश्चात्तापमा परेर आफ्नै हात काट्नु नपरोस् । म त्यो नेपाल चाहन्छु, जहाँका विद्यालयहरूले विद्यार्थीलाई ढुङ्गा हान्न होइन, ढुङ्गाबाट मूर्ति कुँद्न सिकाऊन् ।
यो लघुकथा मेरो लागि एउटा ऐना हो, जसमा मैले आफ्नै समाजको विभत्स अनुहार देखेँ । तर त्यही ऐनामा मैले एउटा आशा पनि देखेँ– यदि मान्छेले आफ्नो गल्ती महसुस गर्न सक्छ भने, ऊ ढिलो चाँडो सही बाटोमा आउन सक्छ । तर मेरो प्रार्थना छ– कसैको चेतना खुल्नका लागि उसले आफ्नो औँलो वा कसैको ज्यान गुमाउनु नपरोस्।
यो लघुकथाको 'थकथकी’ हामी सबैको सामूहिक थकथकी बनोस् र हामीलाई सिर्जनाको बाटोमा हिँड्न प्रेरित गरोस् । मेरो गह भरिएको छ, तर मेरो सङ्कल्प अझ बलियो भएको छ, म सधैँ सिर्जनाकै पक्षमा उभिनेछु ।
लघु कथाको अन्त्यमा त्यो पात्र “घुँक्क–घुँक्क रुनु’’ केवल एउटा मानिसको रोदन मात्र होइन; यो त विवेक हारेको र चेतना ढिलो गरी पलाएको एउटा सामूहिक आर्तनाद हो । यो रूवाइले मेरो आँखा मात्र रसाएनन्, मेरो शिक्षकको हृदयभित्र एउटा ठुलो हलचल पैदा गरिदियो ।
आँखा रसाउने त्यो क्षणः जब म कल्पना गर्छु– त्यो रगताम्य हात, त्यो छुट्टिएको औँलो र अनुहारभरि पोतिएको पश्चात्तापको रगत । ओहो ! एउटा मान्छे कतिसम्म विक्षिप्त भएपछि मात्र उसले आफैँलाई यसरी दण्ड दिन्छ होला ? उसले भत्काएको भवन त फेरि बन्ला, तर उसले गुमाएको औँलो र उसको मानसपटलमा परेको त्यो गहिरो खत कहिल्यै पुरिने छैन । म सम्झन्छु ती कलिला बालबालिकाहरूलाई, जो परिवर्तनको सपना देख्दै सडकमा ओर्लिए, तर घर फर्किँदा कि त लास बनेर फर्किए कि त घाइते सपनाहरू बोकेर । के ती अबोध नानीहरूको रगतको मूल्य यो सत्ता र यो परिवर्तनले चुकाउन सक्छ ? यो प्रश्नले मेरो मुटुमा चिसो सियोले घोचे झैँ बनाउँछ ।
यति हुँदाहुँदै पनि, यो कथाले एउटा झिनो आशाको दियो बालेको छ । पश्चात्ताप नै सुधारको पहिलो खुड्किलो हो । त्यो पात्रले आफ्नो गल्ती लुकाउन सक्थ्यो, कर्मचारीलाई गाली गरेर उम्किन सक्थ्यो, तर उसले “मैले नै आगो झोसेको हुँ“ भन्ने हिम्मत गर्यो । यो स्वीकारोक्तिमा एउटा ठुलो शिक्षा लुकेको छ– गल्ती गर्नेले जब आफ्नो अपराध स्वीकार गर्छ, तब मात्र समाजले सही मार्ग पाउँछ । म मेरा विद्यार्थीहरूलाई सिकाउन चाहन्छु कि वीर त्यो होइन जसले अरूको घर जलाउँछ, वीर त त्यो हो जसले आफ्नै भित्रको रिस र आवेगलाई जलाएर भष्म बनाउँछ र सिर्जनाको दियो बाल्छ ।
यस लघुकथाले आजको नेतृत्व र नागरिक दुवैलाई एउटा गम्भीर चेतावनी दिएको छ । खबरदार ! यदि हामीले विकासको अर्थ ध्वंसमा खोज्यौँ भने, हाम्रा आगामी पुस्ताले पनि यस्तै ॅथकथकी’मा जलेर जीवन बिताउनुपर्नेछ । जेन्जीका नाममा होस् वा अन्य कुनै राजनीतिक वादका नाममा, जब हामी भौतिक संरचना भत्काउँछौँ, हामीले आफ्नै भविष्यको जग खनिरहेका हुन्छौँ । शिक्षकको नाताले म यो सन्देश गाउँ–गाउँमा पुर्याउन चाहन्छु– “कलमले कोरेको एउटा अक्षरले हजारौँको जीवन उज्यालो बनाउन सक्छ, तर एउटा सलाईको काँटीले लाखौँको भविष्य खरानी बनाइदिन सक्छ ।’’
अन्त्यमा, कपिल लामिछानेको यो 'थकथकी’ मेरो लागि एउटा पाठ्यपुस्तक बनेको छ । यो लघुकथाले मलाई अझ बढी जिम्मेवार बनाएको छ । अब म कक्षाकोठामा जाँदा केवल गणित वा विज्ञानका सूत्र मात्र सिकाउने छैन, बरु “आफ्नो देशको सम्पत्तिलाई आफ्नै मन्दिर सम्झनु’’ भन्ने मानवताको पाठ पनि सिकाउनेछु । मेरो गह भरिए पनि मनमा एउटा अठोट छ– अब कुनै पनि नेपालीले आफ्नै हातले आफैँलाई सजाय दिनु नपरोस्, र कुनै पनि आमाले आन्दोलनको नाममा आफ्नो सन्तान गुमाउनु नपरोस् । कुनै अहङ्कारी शासक गर्जँदै विनाश काले विपरीत बुद्धि भनेझैं ओरालो बाटोतिर जाने मौका नपाओस् । त्यसको अहङ्कारको समूल नष्ट होओस् ।
यस लघुकथाको रगत पुछ्दै अब हामीले सिर्जनाको नयाँ इतिहास लेख्नुपर्छ । किनकि, खरानीमा फूल फुल्न सक्छ, तर खरानीले पेट भर्न सक्दैन ।
०००
स्रोत लघुकथा : थकथकी
– कपिल लामिछाने
एउटा अधबैँसे छाती फुलाएर कार्यालय परिसरमा पस्यो अनि मेरै अगाडि ठिङ्ग उभिएर आगजनी र तोडफोडबाट क्षतिग्रस्त भवनतिर आँखा डुलायो ।
भवनले मसानघाटको झल्को दिन्थ्यो । अधिकांश साथीहरू सरसफाइमा खटेका थिए भने हामी केही कर्मचारीहरू खुला ठाउँमा बसेर सेवाप्रवाह गरिरहेका थियौँ । सेवाग्राही फाट्टफुट्ट आउन थालेका थिए ।
“राजस्व बुझाउने यहीँ हो ?’’ उसले थर्काएको शैलीमा भन्यो ।
मैले विनम्रतापूर्वक भनेँ, “हो ।’’
उसले पुरानो रसिद मेरो टेबुलमा हुत्याइदियो । मैले नजिकै राखिएको बेन्चतिर देखाउँदै भनेँ, “बस्नुहोस् ।’’
बेन्च आधाआधी जलेको थियो । उसले बस्न घिनाएझैँ गर्यो । उठी–उठी भन्यो, “मेरो काम छिटो गरिदिनु, म गइहाल्छु ।’’
मैले भनेँ, “सर्भर मर्मतको काम भइरहेको छ । म्यानुअल्ली गर्दा समय लाग्छ । बस्नुहोस्, म सुरु गरिहाल्छु ।’’म काममा लागेँ ।ऊ बेन्चमा बस्यो र जुरुक्क उठिहाल्यो । हात र लुगा टकटक्यायो । गोजीबाट रूमाल झिकेर पसिना पुछ्यो । उसले केही बेर टोलाएर चारैतिर हेर्यो । उसमा छटपटी झल्किन्थ्यो ।
उसको अनुहारमा बादल लाग्दै गयो । म काम गर्दै थिएँ र उसका गतिविधि पनि हेर्दै थिएँ । उसका आँखा अलिक पर रहेको इँटामा परे । ऊ हुत्तिएर इँटा भएको ठाउँमा पुग्यो । हामीलाई हान्ने भयो भनेर म डराएँ । हामी ’अगुल्टाले हानेको कुकुर’ भएका थियौँ । काममा व्यस्त सँगैको साथीलाई सजग गराएँ ।
उसले गोजीबाट लाइटर निकाल्यो र इँटाले हानेर चकनाचुर बनायो । त्यसपछि उसले घरी देब्रे र घरी दाहिने हातमा हान्न थाल्यो ।
“साहिल !’’ मैले गार्डलाई बोलाएँ अनि म पनि त्यहीँ पुगेँ ।उसको हातबाट रगत बगिरहेको थियो । एउटा औँलो पूरै छुट्टिएको थियो । उसले हान्न भने छोडेको थिएन ।मैले हत्तपत्त इँटा खोस्दै भनेँ, “के गरेको यो ?’’उसले रगताम्य हातले अनुहार छोप्न खोज्यो । अनुहार पनि रगताम्य भयो ।उसले घुँक्क–घुँक्क रुँदै भन्यो, “अस्ति यहाँ आगो झोस्ने हात यिनै हुन् !“
०००
उत्तरकथा : प्रायश्चित्तको आगो
– नन्दलाल आचार्य
“त्यो रगत पुछ्नुहोस्, यसले केही निको पार्दैन ।’’
मैले रूमाल बढाउँदै भनेँ । उसको कटेको औँलोबाट रगतको चोक्टा भुइँमा खसिरहेका थिए । ऊ अझै पनि त्यही इँटाको थुप्रोतिर हेरिरहेको थियो, मानौँ त्यहाँ उसको शत्रु लुकेको छ । कार्यालयको वातावरण स्तब्ध भयो । सेवाग्राहीहरू डराएर पर सरे । साहिल गार्डले उसलाई समात्न खोज्यो, तर उसको भावशून्य आँखा देखेपछि हच्कियो ।
“मैले त केवल आदेश मानेको थिएँ,’’ उसले बर्बराउँदै भन्यो । उसको अनुहारमा अब आक्रोश होइन, एउटा गहिरो र अँध्यारो रिक्तता थियो । उसले खल्तीबाट एउटा पुरानो मोबाइल निकाल्यो । स्क्रिन फुटेको थियो, तर त्यहाँ एउटा सानो बालकको तस्विर प्रस्ट देखिन्थ्यो । उसले रगताम्य हातले त्यो तस्विर सुम्सुम्यायो ।
हामी सबै अवाक् थियौँ । उसले किन आफ्नै हातलाई यसरी सजाय दियो ? कार्यालय जलाउनु र उसको यो आत्मदाहबीचको कडी के होला ? उसले बिस्तारै टाउको उठायो । उसका आँखाबाट बरबर आँसु झरे र भुइँको रगतसँग मिसिए । वरिपरिको जलेको भग्नावशेषले उसलाई गिज्याइरहेझैँ लाग्थ्यो । उसले रूमाल लिनुको साटो उही इँटाको टुक्रा फेरि मुठ्ठीमा कस्यो ।
अन्त्यमा, उसले मेरो आँखामा हेर्दै गुनगुनायो, “भवन जल्दा धुवाँले निसासिएर मर्ने त्यो बालक मेरै छोरा थियो, जसलाई बचाउन मैले यो हात कहिल्यै अघि बढाइनँ !”
०००
– सिद्धार्थटोल, उदयपुर


No comments:
Post a Comment