Wednesday, April 1, 2026

लघुकथा (अङ्क ३३ मा प्रकाशित)


माथिबाट ठूलो गर्जना गर्दै बाढी आयो, किनारामा बसेर ऊ धेरै बेर टोलायो । बाढीले झनै उग्र रूप लिँदै गयो । मनमा फर्किने विचार आयो । फनक्क फर्केर दुई–चार पाइलामात्र चालेको के थियो डाँडै खसैजस्तै गरी ठूलो पहिरो झर्‍यो । पछाडि खोला उर्लिएको थियो । अगाडि पहिरो झरिरहेको थियो ।

अनेक मिठा सपना बुन्दै बाटो हिँडिरहेको ऊ टक्क रोकियो । आफू हिँडिरहेको बाटो भासिएजस्तो लाग्यो उसलाई । ऊ थचक्क बस्यो । गैह्रीखेतको मुद्दामा अदालत धाउँदाधाउँदै हजुबाबाको मृत्यु भयो, भएको टारीखेत पनि सकियो । मुद्दा अझै अदालतमै छ । मिठा सपना बोकेर साउदी गएका दाइ बाकसमा फर्किनु भयो । लिएको ऋण तिर्न नसकेर साहूले उब्जनी हुने पाटोबारी नै कब्जा गरे । स्कूलको फिस तिर्न नसकेर कान्छो भाइले बिचैमा पढाई छोड्यो, मुगलान पस्यो । बाख्रापालन गर्न भनी ऋण धनगरि आफन्ती गुहारी खोर बनाएँ, बीसओटा बाख्रापनि किनेँ । अनुदानका लागि कैयौँपटक पालिका धाएँ तर मापदण्ड नपुगेको भनेर दिइएन । घुस दिन नसकेर त्यो पनि डुब्यो । 

कालो बादल मडारिएकै थियो, पानी दर्किएकै थियो । न बाढी कमभएको थियो, न पहिरो रोकिएको थियो । माथि द्यौरालीमा पहिरो रोकिने साइत हेरेर बसेका ऊजस्ता धेरै “उठ, उठ, आऊ, आऊ” भनी चिच्याए, लामो डोरी झारिदिए । ऊ त्यही डोरी समाएर हिँड्न खोज्दै थियो, अचानक माथिबाट ठूलो ढुङ्गा अगाडि आएर बजारियो । ऊ बेस्सरी तर्सियो ।

यत्तिकैमा ऊ झल्याँस्स भयो, निद्राबाट ब्युँझियो । शिरदेखि पाउसम्म पसिनाले निथ्रुक्क भिजेको उसले सिरक फाल्यो । एकपटक तनक्क आङ तान्यो र बिजुलीको स्विच अन गर्‍यो । यसो घडी हेर्‍यो, पाँच बजेको रहेछ । उसको शरीर अझै पनि काँपिरहेको थियो, मन त्रसित थियो । 

जुरुक्क उठेर ऊ कौसीमा गयो । धर्ती बिस्तारै उजेलिँदै थियो । आकाश नीलो र निर्मल देखियो । पूर्वी क्षितिज रंगिन हुँदै गयो । हिमालमा सुनौलो प्रकाश छरिँदै गयो । धर्तिमा सूर्यको रापिलो प्रकाश फैलिँदै गयो । 

आफूले देखेको सपनाबाट आफै डराई रहेको ऊ मुसुक्क मुस्कुरायो अनि जुरुक्क उठ्यो । 

–kapilmani2017@ gmail.com

..............................................................................‍
..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

No comments:

Post a Comment