विशाल जुलुस, जुलुसमाथि अश्रुग्याँस र पानीको फोहोरा, जुलुस अनियन्त्रित बन्दै, ड्याम्म, ड्याम्म, प्रहरीबाट गोली ।
विपनाले टिभी बन्द गरेर फोन लगाइन्, ‘तपाईंले गर्नु भएको मोबाइलको स्विच अफ गरिएको छ ।’ उनमा बेचैनी बढ्दै गयो । “हजुर ! जुलुसमा त हाम्रै छोराको कलेजका विद्यार्थी पनि देखिन्छन् नि । यसो फोन गरेर बुझ्नुस् न है ।”
सन्देशले झटपट कम्प्युटर बन्द गरे, ब्याग लिए, मोवाइलमा नम्बर डायल गर्दै अफिसबाट निस्किए ।
फोनगर्दै र बुझ्दै दिन ढल्कियो, सन्ध्या छिप्पियो । पढ्न गएको छोरो बेलुकी अबेरसम्म पनि नआएपछि बाउ–आमामा छटपटी बढ्दै गयो ।
“बाबा ! बाबा ! खै कतिजना त मारिइसके रे, कतिलाई अस्पताल लगिएको छ रे ! मर्ने र घाइते हुनेमा धेरै विद्यार्थी छन् रे ! कतै हाम्रो दाइपनि … ।
एकपटक निजामति अस्पताल गएर बुझौँ न है ।” छोरीको कुराले उनीहरू आत्तिए ।
सन्देश भिडलाई पन्छाउँदै गेटको भित्तामा टाँसिएको लिस्टमा हेर्दै थिए कि उनी त्यहीँ थचक्क बसे । भिडमा रहेका केहीले उनलाई अस्पतालभित्र लगे । उनको दृष्टि र श्रवण हरायो, डुङ्रुङ्ङ भुइँमा लडे । केही समय डाक्टरको निगरानीपछि उनलाई घरमा ल्याइयो ।
जीवन न हो, जस्तै पीडा परे पनि ‘मुटुमाथि ढुङ्गा राखी’ सहनै पर्दोरहेछ । दिनहरू बित्दै गए । छोरा गुमाउनुको शोक छोराको सपनामा परिणत भयो । सरकार बदलियो, आयोग बन्यो, अनेक तर्क–वितर्क र अड्कलबाजी भए तर कहीँपनि छोराको सपना विम्बित भएन । अब अन्तिम एउटै आशा फाल्गुन एक्काइसको चुनावमा अल्झियो ।
देशैभरि मौन लहर, तैँ चुप, मै चुप । भटाभट चुनावी परिणाम, नयाँ पुस्ता, नवीन आशा, मौन उल्लास, मौन उमङ्ग । होसियार ! खबरदार ! छोराको त्यो बुलन्द आवाज । उनी मुस्कुराइन् । ‘आमा ! हेर्नु त, मैले के ल्याइदिएँ’ भन्दै छोराले गालामा म्वाईँ खायो र चिमोट्यो । उनी झल्याँस्स भइन् ।
पसिनाले निथ्रुक्क विपनाले पर्दा खोलिन्, पसिना पुछ्दै पूर्वी क्षितिजतिर नियालिन् । अँधेरी हट्दै थियो, सूर्य झुल्किने जमर्को गर्दै थिए, धर्तीमा नवीन किरण छरिँदै थियो । कालो आकाश बिस्तारै नीलो देखिँदै थियो ।
उनले एकपटक भित्ताको फोटोमा हेरिन् । मुसुक्क हाँसिरहेको छोराले केही भन्न खोजेजस्तो उनलाई लाग्यो । फेरि बाहिर हेरी लामो हा … ई … गरिन् अनि सन्तोषको सास फेरिन् ।


No comments:
Post a Comment