"कुनै अपराधीलाई दण्ड दिनुपनि सोध्नुपर्छ त ?’’ – साहु आफ्नाबाटै फतफतायो । उसको हातमा अखबार थियो । त्यो देखेर साहुकी बुढीले हाँसो रोक्न सकिनन् र खित्का छाडेर हास्न थालिन् ।
“अखबारमा लेखेको छ अपराधीहरूलाई दण्ड सजाय दिने की नदिने ? त्यो पढेर मलाई रिस उठ्यो र रिसको झोंकमा बोलेको थिएँ । तिमीले भने कुरै नबुझेर खित्का छाड्यौ ।’’ – साहुले आफ्नो सफाईमा भने ।
“हजुरले अखबारमा पढ्नुभएको बारे मलाई के थाहा हजुर बोलेको मात्र सुनेर हाँसो लाग्यो ।’’ – रूपालीले पनि सफाई दिँदै भनी ।
“सर यहाँ साहुजी को हुनुहुन्छ ?’’
उनीहरूको कुरा चलिरहेको थियो । एउटा कुरियर वाला कुरियर लिएर आयो । “मेरो नाम साहु हो किन ?’’ – साहुले प्रश्न गरे । सर म वेलाडा प्रहरी कार्यालयको स्टाफ हुँ हजुरको नामको एउटा सम्मानपत्र आएको छ ।’’ – उसले पत्र हातमा थमाउँदै भन्यो ।
“केको सम्मान ?’’ –साहु आश्चार्य हुँदै प्रश्न राख्यो ।
“विगत आन्दोलनमा तोडफोड, आगजनी र सामान लुट्नेमा हजुरको पनि नाम आएको छ ।’’ – उसले मुस्कुराउँदै भन्यो ।
साहु त्यो बेला विदेशमा थिए ।
“उफ् ! यस्तो कसरी भयो ?’’ – उनी आश्चार्यचकित भए ।
“यसैले पनि होला यो अखबारले सोधेको ।’’ – उसले पुस्तिकामा सही गर्दै मनमनै भन्यो । अहिले उनीहरू दुबैजनाको अनुहार अँध्यारो थियो ।
–दाङ, घोराही–१८


No comments:
Post a Comment