प्रतिप्रश्न
- रामेश्वर जलन
बुङ्मति ललितपुर
मृतप्रायः सम्बन्ध, पुषको चिसो रातजस्तै हुँदोरहेछ । उसले अदालतको ढोकामा पुगेर प्रतिवादी दाजुहरू भेट्दा महशुस गर्यो । धनदौलतको लागि आफ्नै रगतको नाता पनि लिलामी गर्छ मान्छेहरू । धनसम्पत्ति लोभको अघि न दाजु न भाइ ? मातृत्वको मूल्य शून्य । अदालत पेशी चल्दै गर्दा कनिष्ठ भाइले कुरा मनमा खेलाइरह्यो । दाजुका एक वकिलले वहस गर्दै थियो– "श्रीमान् मेरो प्रतिवादीका भाइ लोभी छन् । यो जग्गा उनले दाजुसँग किनेको हो । यसर्थ पैतृक सम्पत्ति भएपनि प्रतिवादीका भाइलाई हक लाग्दैन ।"
अर्को दाजुका वकिलले वकालत गर्यो, "श्रीमान् बाबुको मोहीयानी हकको जमिन वादी समयले दाजुलाई मोहीहक हस्तान्तर गर्न मन्जुरी दिइसकेको हुँदा वादीका दाजु छिमेकी भइसक्यो यसर्थ छिमेकीले जग्गा स्वेच्छाले जसलाई पनि बेच्न सक्छ । वादीलाई कुनै अधिकार छैन ।"
न्यायधिशका फाईल पल्टाई पल्टाई अध्ययन गर्दै थिए । गम्भीर भएर वकिललाई एउटा सामान्य प्रतिप्रश्न गयो – "विद्वान मित्र ल भन्नुस् त छिमेकीको बुवा र दाजुको बुवा एकै जना हुन सक्छ ?"
श्रीमान्को यस्तो प्रतिप्रश्न सुनेर वकिल स्तब्ध भयो । अब केही हुन्छ कि भन्ने आशा उसको मनमा पलायो ।
---------------------------------------
जीवित राख्नका लागि तपाईंको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

No comments:
Post a Comment