विदेशको मेरो पहिलो यात्रा थियो । चिडियाखाना अवलोकनका लागि निस्केको थिएँ । एयरपोर्टका कर्मचारीहरूले अनावश्यक दुःख दिए । अलिकति पैसा दिएर बल्लतल्ल बाहिर निस्केँ । एयरपोर्टबाट बाहिर निस्केर चारैतिर हेर्दछु । बाहिरका सबै क्षेत्र खुला चिडियाखाना पो रहेछ ।
त्यहाँका दृश्यहरू देखेर आश्चर्यचकित भएँ । भेडाहरू भाषण सुनिरहेका थिए । गधाहरू कुरा नबुझेर हाँसिरहेका थिए । मदारीहरूले बाँदरहरू नचाइरहेका थिए । फ्याउराहरू त्यसै कराइरहेका थिए । बिनाकाम कुकुरहरू भुकिरहेका थिए । मैमत्त साँढेहरू डुक्रिरहेका थिए । बाघको छाला ओढेका स्यालहरू सिंहासनमा थिए । चिडियाखाना सञ्चालनका लागि नियम कानुन बनाउन उल्लुहरू संसद् नामको स्थानमा उँघिरहेका थिए ।
दृश्यहरू आँखाले हेरेर स्मृतिमा नअट्ने भए । त्यसपछि भिडियो क्यामरा निकालेर खिच्न थालेँ ।
अनुमतिबेगर किन फोटो खिचेको भन्दै प्रहरी हौँ भन्ने दुई व्यक्तिले मेरो क्यामरा खोस्न थाले ।
“म पर्यटक हुँ ।” मैले भनेँ ।
त्यसो भन्नेबित्तिकै मसँग पासपोर्ट होइन डलर मागे । अलिकति डलर दिएर तिनीहरूबाट छुट्कारा लिएँ ।
त्यसपछि अलिक ढुक्क भएर फेरि भिडियो खिच्दै थिएँ ।
“हामी हुँदाहुँदै समाचार बनाउने तँ को होस् ? कसको अनुमतिले समाचार सङ्कलन गरेको ? प्रेसपास देखा ।” आफूलाई पत्रकार भन्ने दुई व्यक्तिले मलाई धम्क्याए ।
“म पर्यटक हुँ ।” डराउँदै मैले भनेँ ।
“त्यसोभए हामीलाई रक्सी र मासु खुवा ।” उनीहरुले माग राखे ।
नजिकैको भट्टी पसलमा तिनीहरूलाई मासु र रक्सी किनिदिएपछि सन्तोषको सास फेरेँ ।
ती सारा झमेलाबाट मुक्ति मिलेपछि अब आनन्दले चिडियाखाना घुम्नुपर्ला भनेर सोच्दै थिएँ । भिसाको म्याद सकियो कहाँ घुमिराखेको भन्दै कसैले मलाई च्याप्प समात्यो । आत्तिँदै म अर्धनिद्रामा उठेँ ।
“कस्तो समय आयो हँ ? सपना हेर्न पनि भिसा लगाउनुपर्ने ?” रिसले म बर्बराएछु ।
“हामी सपना देख्नैका लागि म्यानपावर कम्पनीलाई थुप्रै पैसा तिरी भिसा लगाएर यहाँ आएका हौँ ।” मजदुर क्याम्प बसेको मेरो रूम पार्टनरले भन्यो ।
जीवित राख्नका लागि तपाईंको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।


No comments:
Post a Comment