Tuesday, April 1, 2025

लघुकथा (अङ्क २२ मा प्रकाशित)


"बचाऊ…!’’ चोटिलो आवाजले ऊ झस्कियो ।

रातको मध्यभाग ! 

सहरको एउटा सुनसान गल्ली । टाउकोमा टोपी, बाक्लो ज्याकेट, र छाँयाजस्तो चाल लिएर हरेराम हतारिँदै हिँडिरहेको थियो । समय रातको झन्डै १२ बज्न लागेको थियो ।

अचानक, पछाडिबाट कसैले खुट्टामा समायो ।

ऊ एक्कासी झस्कियो । सडकको पेटीमा कोही रक्ताम्य लडिरहेको थियो । अनुहार हेर्दा चिन्न सकिने जस्तो लाग्थ्यो, तर रातको अँध्यारोले अस्पष्ट ।

“म… म…लाई बचाऊ,’’ त्यो व्यक्ति आत्तिदै छटपटाई रहेको थियो ।

उसले झर्को मान्दै खुट्टा तान्यो । “यो झन्झटमा किन फस्ने?’’ मनमनै सोच्यो । तर त्यो घाइते मानिसको आँखामा अनुनयको दयालाग्दो अवस्था देख्यो ।

“पानी…! पानी…!’’

उसको मुटु ढुकढुक गर्‍यो । लुटपाट गरेर भाग्दा यत्तिकै छोडेको मान्छे नै त थिएन?

“तिमी…?’’

“तिमी…?!’’

घाइते व्यक्तिको एककोहोरो हेराईले अतीत ताजा बनाइदियो । केही घण्टा अघि, उसले यही गल्लीमा एक जनालाई पर्स खोस्दै गर्दा प्रतिकारमा चक्कु प्रहार गरेको थियो । तर ऊ कल्पनै नगरेको परिस्थितिमा पुग्यो ।

“मलाई अस्पताल लैजाऊ…’’ घाइतेको कर्कस स्वर आइरहेको थियो ।

उसको भित्र द्वन्द्व चल्यो । बचाउने कि भाग्ने? यदि बचायो भने आफैं पक्राउ पर्ने खतरा । यदि छोड्यो भने यहीँ मृत्युवरण हुने अवस्था ।

उसले चारैतिर हेर्‍यो । गल्ली सुनसान थियो, कोही देख्ने थिएन ।

“बचाउने छौ ?’’ घाइतेले अनिश्चित स्वरमा सोध्यो ।

तर अनपेक्षित रूपमा, ऊ झुकेर घाइतेलाई समाउन पुग्यो ।

ऊ केही नबोली घाइतेलाई काँधमा उठायो ।

केही समय अघि उसले अपराध गरेको थियो, तर अब निर्णय उसैको हातमा थियो–“मानिस बन्ने कि अपराधी नै रहने?’’

..............................................................................‍
..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

No comments:

Post a Comment