प्रस्तुत अनुसन्धानात्मक लेखमा ‘प्रज्ञा नेपाली लोककथा’ सङ्ग्रहमा रहेका लोककथाहरूलाई लोकविश्वाससम्बन्धी सैद्धान्तिक मान्यताका आधारमा अध्ययन गरिएको छ । ती लोककथाहरूमा प्रयुक्त लोकविश्वासको सङ्कलन, वर्गीकरण र विश्लेषण गरिएको यस लेखमा लोकसाहित्य अन्तर्गतको लोकविश्वासको सैद्धान्तिक मान्यता प्रस्तुत गर्दै अध्ययनका लागि निर्धारित कृतिका लोककथाहरूको विश्लेषण गरिएको छ । यसका लागि लोकविश्वासलाई अतिकल्पना/ स्वैरकल्पनाप्रतिको विश्वास, जादु, टुनामुना र योगसँग सम्बन्धित विश्वास, धर्म–अनुष्ठानप्रतिको विश्वास, आत्मशीलताप्रतिको विश्वास, अन्य विभिन्न लोकविश्वासहरू गरी वर्गीकरण गरिएको छ । यसरी गरिएको सङ्कलन, वर्गीकरण र विश्लेषणबाट नेपाली लोककथामा लोकविश्वासको प्रयोग भएको निष्कर्ष निकालिएको छ । नेपाली लोककथामा प्रयुक्त लोकविश्वास केवल लोकसाहित्यका दृष्टिले मात्र नभएर लोकजीवनसँग तिनको आबद्धताका आधारमा पनि महत्वपूर्ण भएको निष्कर्ष पनि यसमा निकालिएको छ ।्
शब्दकुञ्जी
अतिकल्पना, जादु–टुना, धर्म–अनुष्ठान, लोकरीतिरिवाज, आत्मशीलता । विषयपरिचय लोककथा लोकसाहित्यको आख्यानयुक्त विधा हो । मानव सभ्यताको आरम्भसँगसँगै विकसित हुँदै आएको लोकसाहित्यको एउटा महत्वपूर्ण शाखा लोककथा हो । प्राचीन समयको ढुङ्गेयुगका मानिसहरूमा जब चेतनाको विकास हुन थाल्यो तब उनीहरूले सामूहिक जीवनयापनको आवश्यकताबोध गर्न थाले । त्यसपछि उनीहरू समाजमा बस्न थाले सामाजिक जीवनको आरम्भसँगसँगै मानिसहरूले आफ्ना अनुभव–अनुभूति साटासाट पनि गर्न थाले । यसरी समाजमा मानिसले आफ्ना अनुभव, भोगाइ, घटनाक्रम आदि एक अर्कालाई सुनाउने–सुन्ने क्रमबाट लोककथाको आरम्भ भएको मानिन्छ । नेपाली लोककथा भन्नाले नेपाली लोकजीवनमा प्रचलित दन्त्यकथा, आहान, कथाकुथुङ्ग्री, किस्सा आदिलाई बुझाउँछ । लोकमा परम्परादेखि चल्दै आएको आएको र मौखिक परम्पराबाट अगि बढिरहेको आख्यानात्मक साहित्यिक विधा लोककथा हो । मौखिक परम्पराबाट नै यो एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण हुँदै जाने गर्दछ ।
लोकजीवनमा प्रचलित परम्परागत आस्था तथा विश्वासलाई लोकविश्वास भनिन्छ जसमा मानिसको सामूहिक अवचेतना पनि समेटिएको हुन्छ । लोकविश्वासअन्तर्गत पनि अतिकल्पना/स्वैरकल्पनाप्रतिको विश्वास, जादु, टुनामुना र योगसँग सम्बन्धित विश्वास, धर्म–अनुष्ठानप्रतिको विश्वास र आत्मशीलताप्रतिको विश्वास पर्दछन् । यिनलाई लोकतात्विक पद्धतिका आधारमा अध्ययन–विश्लेषण गर्न सकिन्छ । प्रज्ञा नेपाली लोककथा डा. देवी नेपालद्वारा सम्पादित नेपाली लोककथाहरूको सङ्ग्रह हो । नेपाल प्रज्ञा–प्रतिष्ठानबाट २०७७ सालमा प्रकाशित यस सङ्ग्रहमा देशका सातै प्रदेश लगायत सीमापारिका नेपाली लोककथाहरू पनि समाविष्ट छन् ।
यसमा विभिन्न शीर्षकका १८४ ओटा लोककथाहरू सङ्ग्रहित छन् । प्रस्तुत अनुसन्धानात्मक लेखमा यसै सङ्ग्रहका कथाहरूमा भएका केही लोकविश्वासको सङ्कलन, वर्गीकरण तथा विश्लेषण गरिएको छ । नेपाली लोककथाहरूमा प्रयुक्त लोकविश्वासहरूसँग सम्बन्धित जिज्ञासाका आधारमा तयार पारिएको यो अनुसन्धानात्मक लेख नेपाली लोककथाहरूमा केकस्ता लोकविश्वासहरूको प्रयोग गरिएको छ र लोकजीवनसँग तिनको कस्तो सम्बन्ध रहेको छ भन्ने समस्याको प्राज्ञिक समाधान खोज्ने उद्देश्यमा केन्द्रित रहेको छ ।
अनुसन्धानको विधि
प्रस्तुत अनुसन्धानका लागि पुस्तकालयीय कार्यबाट सामग्री सङ्कलन गरेर विश्लेषणात्मक विधिबाट त्यसको विश्लेषण गरिएको छ । प्रज्ञा नेपाली लोककथा सङ्ग्रहका लोककथाहरूलाई आधार सामग्रीका रूपमा लिएर लोकसाहित्य अन्तर्गत लोकविश्वास सम्बन्धी सैद्धान्तिक मान्यताका आधारमा
उपर्युक्त सङ्ग्रहका लोककथाहरूमा भएका लोकविश्वास सङ्कलन, वर्गीकरण र विश्लेषणका लागि यसप्रकारको ढाँचा तय गरिएको छ :
(क) लोकविश्वास
(अ) अतिकल्पना/स्वैरकल्पनाप्रतिको विश्वास
(आ) जादु, टुनामुना र योगसँग सम्बन्धित विश्वास
(इ) धर्म–अनुष्ठानप्रतिको विश्वास
(ई) आत्मशीलताप्रतिको विश्वास
(उ) अन्य विभिन्न लोकविश्वासहरू
लोकविश्वाससम्बन्धी सैद्धान्तिक मान्यता
लोकजीवनमा प्रचलित आस्था–विश्वास, रीतिरिवाज, परम्परा, संस्कारजन्य व्यवहार आदिको संयोजित स्वरूप नै लोकविश्वास हो । ‘लोक’ र ‘विश्वास’ दुई शब्दको संयोजनबाट ‘लोकविश्वास’ शब्द बनेको हो । यसले समाजमा परम्परादेखि प्रचलित विश्वास तथा विधि–व्यवहारको प्रतिनिधित्व पनि गर्दछ । लोकविश्वासले मानवीय मनको अन्तरमा सञ्चित भएर रहेको मानसिकता र आस्थालाई ग्रहण गरेको हुन्छ । यस शब्दले सुसङ्केत र कुसङ्केतका रूपमा विद्यमान सामाजिक तथा सांस्कृतिक पक्षलाई बोध गराएको हुन्छ (लम्साल, २०७७, पृ.१४५) । लोकविश्वासले लोकजीवनका आस्था, विश्वास एवं प्रचलित परम्पराको प्रतिबिम्बन गरेको हुन्छ । यसको सम्बन्ध सामूहिक अवचेतनासँग पनि हुने भएकोले व्यक्ति तथा समाजका हरेक गतिविधिमा कुनै न कुनै रूपमा यस्ता विश्वास सम्मिलित भएकै हुन्छ । यी आस्था, विश्वास एवं परम्परालाई समाजमा हरेक पुस्ताले आफ्नो अगिल्लो पुस्ताबाट ग्रहण गर्दै तथा पछिल्लो पुस्तालाई हस्तान्तरण गर्दै आइरहेको हुन्छ ।
लोकजीवनको समग्र व्यवहार, रहनसहन, रीतिरिवाज, प्रचलित प्रथा तथा विश्वासहरूको समष्टि स्वरूप लोकविश्वासभित्र समेटिएको हुन्छ । लोकजीवनले आफ्नो जातीय परम्परा र संस्कृति अनुसारको आस्था–विश्वास, वास्तुकला, शिल्पकला र प्रदर्शनकारी कला आदिमा कतै न कतै लोकविश्वासको अभिव्यक्ति गरेको हुन्छ । हरेक समुदाय तथा जातिको घर, मठमन्दिर निर्माण तथा शृङ्गार आफ्नै संस्कार–संस्कृति अनुसार गरिएको हुन्छ । पाटीपौवा तथा सार्वजनिक स्थलहरू पनि स्थानीय सामाजिक एवं धार्मिक संस्कृतिअनुसार नै बनाइएका हुन्छन् । काठ, ढुङ्गा, माटो अनि धातुका मूर्तिहरू, भित्तेचित्र आदि सबैमा लोकविश्वास र आस्था विद्यमान हुन्छ । लोकविश्वासका सम्बन्धमा षडानन्द पौडेलको धारणा यस्तो छ :
लोकविश्वास शब्दले समस्त संसारमा प्रचलित व्यवहारको विश्वासलाई बुझाउँछ । समस्त लोकमा बसोबास गर्ने मानिसका अनन्त किसिमका विश्वासका आधार छन् । विश्वासको भरमा समाजको मानिस चलायमान हुने भएकाले लोकमा प्रचलित मान्यता र मानवनिर्मित व्यवहारलाई लोकविश्वासका रूपमा बोध गर्न सकिन्छ …. लोकमा प्रचलित मान्यता र समयअनुसार जीवनका विभिन्न पक्षमा जोडिँदै आएको लोकविश्वास व्यावहारिक
संस्कृतिको सन्दर्भ हो । लोकका मान्य चिन्तन मानव जीवनमा प्रकट भएको अवसरमा त्यसको उपस्थिति अनेक ढङ्गमा देखिएको हुन्छ । समाजमा लोकविश्वासको भरमा धार्मिक, सामाजिक तथा सांस्कृतिक क्रियाकलाप सम्पादन गरिने भएकाले मानिसको हरेक व्यवहारमा लोकविश्वासको सन्दर्भ सहज रूपमा उपस्थित भएको दृष्टिगोचर हुन्छ । (पौड्याल, २०७८, पृ. ३०–३१)
लोकजीवनमा प्रचलित संस्कार, प्रथा, पर्व, मेला, धार्मिक अनुष्ठान तथा रीतिरिवाज आदि सबै लोकविश्वासमा आधारित हुन्छन् । यसैगरी मानिसहरूका भेषभूषा, खानपान, नाताकुटुम्ब, जातीय प्रथा आदि लोकविश्वासकै परिणति हुन् । लोकविश्वासअन्तर्गत अतिकल्पना/स्वैरकल्पनात्मक विश्वास, धर्म–अनुष्ठानसम्बन्धी विश्वास, जादु–टुनामुनाप्रतिको विश्वास, आत्मशीलतासम्बन्धी
विश्वास आदि पर्दछन् । हंसपुरे सुवेदीले लोकविश्वासलाई धार्मिक लोकविश्वास, सांस्कृतिक लोकविश्वास, आभिचारिक लोकविश्वास, व्यावहारिक लोकविश्वास र अन्धविश्वास वा रूढिग्रस्त लोकविश्वास भनी पाँच भागमा वर्गीकरण गरेका छन् (सुवेदी, २०५५, पृ. २८) । धार्मिक लोकविश्वास भन्नाले देवीदेवता, मन्दिर, पाठपूजा, दानपूण्य, धर्मकर्म आदिलाई बुझाउँछ ।
सांस्कृतिक लोकविश्वास अन्तर्गत परम्परागत लौकिक चालचलन, पर्व, उत्सव र आचार–विचार पर्दछन् । आभिचारिक लोकविश्वास भन्नाले जादु, टुनामुना, लागोभागो, तन्त्रमन्त्र, भूत–प्रेत, डाइनी–बोक्सी अनि धामी–झाँक्रीलाई बुझाउँछ । व्यावहारिक लोकविश्वासमा लोकजीवनका सामाजिक व्यवहारहरू पर्दछन् भने अन्धविश्वास वा रूढिग्रस्त लोकविश्वासमा शकुन–अपशकुन, फाप–अफाप जस्ता विषयवस्तु पर्दछन् ।
उपर्युक्त वर्गीकरण तथा मोतीलाल पराजुलीको (पराजुली, २०६३, पृ. ७५) वर्गीकरणलाई समेत आधार मानेर नेपाली लोकविश्वासहरूलाई निम्नलिखित पाँच शीर्षकहरूमा वर्गीकरण गर्न सकिन्छ :
(क) अतिकल्पना/स्वैरकल्पनाप्रतिका विश्वासहरू
(ख) जादु–टुनामुना र योगसँग सम्बन्धित विश्वासहरू
(ग) धर्म–अनुष्ठानप्रतिका विश्वासहरू
(घ) आत्मशीलताप्रतिका विश्वासहरू
(ङ) अन्य विभिन्न लोकविश्वासहरू ।
लोकले विश्वास गर्ने तथा परम्परादेखि मानिआएका विषय मात्र लोकविश्वास अन्तर्गत पर्दछन् । लोक वा समाजको सामूहिक विश्वासले लोकविश्वासको निर्माण गरेको हुन्छ । त्यसैले लोकविश्वासमा व्यक्तिगत नभएर सामूहिक आस्था अभिव्यञ्जित हुने गर्दछ । व्यक्तिविशेषले मात्र विश्वास गर्ने तर उसको समाज वा लोकले विश्वास नगरेका तत्वहरू लोकविश्वासभित्र पर्दैनन् । नेपाली लोककथामा प्रस्तुत लोकविश्वासको सङ्कलन, वर्गीकरण तथा विश्लेषण प्रज्ञा–नेपाली लोककथामा लोकविश्वासहरूको प्रशस्त मात्रामा प्रयोग गरिएको पाइन्छ । यस सङ्ग्रहमा रहेका लोककथाहरू नेपालको विविध भौगोलिक, सामाजिक र सांस्कृतिक परिवेशबाट निर्मित हुनाले तिनमा लोकतात्विक विविधता पाइन्छ । प्रस्तुत लेखमा ती लोककथाहरूको अध्ययन गरी त्यहाँ प्रयोग गरिएका लोकविश्वासको सङ्कलन, वर्गीकरण र विश्लेषण गरिएको छ ।
लोकजीवनले आफ्नो जातीय तथा सांस्कृतिक परम्परा अनुसार लोककलाको निर्माण गरेको हुन्छ । वास्तुकला, शिल्पकला, प्रदर्शनकारी कला आदि लोककला अन्तर्गत पर्दछन् । घर, मन्दिर, पाटीपौवा, मूर्ति, चित्र आदिको निर्माण तथा त्यसमा अंकित सजावटले सम्बन्धित लोकजीवनको लोककलाको प्रतिबिम्बन गरिरहेको हुन्छ । यसैगरी बाजा, सङ्गीत, नृत्य आदि पनि लोककलाअन्तर्गत पर्दछन् । लोककला कुनै पनि समाजको जीवन्त अतीतका रूपमा रहेको हुन्छ । यस्तो कलामा लोकविश्वासको महत्वपूर्ण स्थान रहेको हुन्छ । नेपाली लोककथामा लोककलासम्बन्धी विश्वासका केही सन्दर्भ यसप्रकार रहेका छन् :
- तामाङ जातिको आदिपुर्खा पेङदोर्जेले मृगको छाला र चराको छाला–भुत्लाबाट डम्फु बनाउनु र डम्फुको तालसँगै सेलो गाउनु (डम्फु र सेलो, पृ.२१),
- दोलखा बजारमा रहेको भीमेश्वरको मन्दिरमा छानो नहुनु (भीमेश्वर र बाह्र ढाक्रेहरू पृ.१९४),
- भक्तपुरमा नवदुर्गा प्रतिस्थापन गरेर माली र मालाकारहरूद्वारा देवी–देवताका मुकुण्डो लगाएर गणनाच गरिने प्रचलन ।
उपर्युक्त प्रसङ्गहरूमा निश्चित जाति, समुदाय तथा भौगोलिकतामा प्रचलित लोककलाको प्रतिबिम्बन पाइन्छ । अहिले पनि तामाङ समुदायमा सोही प्रकारको डम्फु बजाएर सेलो गाउने र नाच्ने परम्परा छ । यसैगरी भक्तपुरको देवीनाचले त्यहाँको लोककलालाई अद्यावधि निरन्तरता दिइरहेको छ ।
भीमेश्वरले छानो नभएको मन्दिरमा मात्र आफू बस्ने भन्ने सपना देखाएपछि सो मन्दिरमा अहिलेसम्म पनि छानो छैन । यसप्रकारको निर्माण स्थानीयको विश्वासका आधारमा भएको हो ।
लोकजीवनले आदिम कालदेखि मान्दै आएका सामाजिक, धार्मिक तथा सांस्कृतिक महत्वका क्रियाकलाप तथा त्यससँग सम्बन्धित मान्यताहरू लोक रीतिरिवाज अन्तर्गत पर्दछन् । यो पनि लोकविश्वासबाटै निर्मित हुन्छ । प्रस्तुत सङ्ग्रहमा भएका केही लोक रीतिरिवाजहरूलाई निम्नानुसार प्रस्तुत गर्न सकिन्छ :
- राई समुदायमा लेमलेमा देउता राख्ने स्थानमा थुन्से राखिनु, यी देउता पुज्ने घरमा बाख्रा पाल्न नहुने विश्वास, घरमूलीले बाख्रा नछुने र नखाने (थुन्से बोक्ने देउता पृ.२४),
- लेप्चा जातिले हरेक वर्ष पुसेऔँशीका दिन उत्सवका साथ नयाँ वर्ष मनाउनु, कोङ्फो चराले आफ्नो उद्धार गरेको हुँदा त्यसलाई कहिल्यै नमार्नु बरु आफूले फलाएको नयाँ अन्न र फलफूल त्यसलाई चढाएर मात्र खानु (लेप्चाको सृष्टि, पृ.२६–२७),
- बिहेमा छोरीसँगै दहीको ठेकी र सुँगुरको पाठो पठाउनु, बेहुलीसँग लोकन्ती जानु (सैतालसँग जम्काभेट, पृ.६५),
- दिना र भद्रीको मृत्युपश्चात् मुसहर जातिले उनीहरूको थान बनाई पूजा गर्नु, असार महिनामा वार्षिक पूजा गर्नु, धामीको आज्ञाअनुसार बाजा बजाउने, गाथा गाउने, कतै पाठो त कतै पाठीको रक्तधार दिने परम्परा (दिना भद्री, पृ.१८२),
- बौद्ध धर्मावलम्वीहरूले प्रत्येक आश्विन पूर्णिमाको दिन चैत्यमा परिक्रमा गरी मङ्गलोत्सव गर्ने परम्परा अर्थात् दीपङ्खा यात्रा (दीपङ्खा यात्रा, पृ.२०७–२०८),
- तामाङहरू गाउँबाट टाढा गएर फर्कने बेला गौँडामा तीनओटा स्याउलाले आफ्नो जिउ झारेर त्यसलाई दोबाटोमा लगी ढुङ्गाले थिचेर मात्र गाउँ पस्ने चलन (आँखा नदेख्ने भूत, पृ.२२७),
- बिहे गरेको पाँच वर्षमा गौना गरेर बुहारी घर ल्याउने परम्परा, त्यसका लागि केही कोसेली लिएर छोराको बाबु सम्धीकहाँ जानु (अबुझ ससुराकी चतुर बुहारी, पृ.३४५),
- कुनै गाउँमा मान्छे मरेपछि एउटा ब्याउने गाई त्यो लाससँगै पठाउने चलन (बाछो र छाउराको मितेरी, पृ.३९३) ।
कुनै समयमा भएका घटना तथा गरिएका क्रियाकलाप लोकजीवनमा आस्था र विश्वासका रूपमा कायम रहेका हुँदा तीनले निरन्तरता पाउँदै आए । पछिल्लो पुस्ताले त्यसलाई आफ्नो रीतिरिवाजका रूपमा मानेको पाइन्छ । ‘थुन्से बोक्ने देउता’ कथामा घरमा भएको अनिष्टको कारण तथा त्यसको उपायबारे छोरीलाई सपनामा देउताले भनेपछि थुन्सेमा देउता राख्ने उपर्युक्त चलन राई समुदायमा अझै पाइन्छ । लेप्चाहरूका पुर्खाले राक्षससँगको बाह्रवर्षे युद्धमा जितेको खुसीयालीमा मनाएको उत्सवले अहिले उनीहरूको नयाँ वर्षको पर्वको रूप लिएको छ । कुनै समयमा भूतको आतङ्कबाट सताइएका तामाङहरूलाई स्याउलामा मन्त्र गरी झाँक्रीले जोगाएको हँुदा अहिले पनि स्याउलाले जिउ झारेर मात्र गाउँ पस्ने परम्परा पाइन्छ । यसैगरी माथि उल्लेख गरिएका रीतिरिवाजहरू लोकजीवनमा अझै पनि कायमै छन् ।
(बाँकी अंश अर्को अङ्कमा)
जीवित राख्नका लागि तपाईंको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
No comments:
Post a Comment