Tuesday, September 16, 2025

पुस्तक समीक्षा (अङ्क २७ मा प्रकाशित)


लघुकथाकार मनीषकुमार शर्मा ‘समित’को अर्धशताब्दी नामक लघुकथासङ्ग्रह २०८१ मा तेस्रो कृतिको रुपमा प्रकाशित भएको छ । यस कृतिभित्र उनले लेखेका अभिलाष, अभुक्त, पुर्ताल, प्रतिकृति, दीक्षामन्त्र, प्रत्याघात लगायत विभिन्न शीर्षकका पचासवटा लघुकथाहरू राखिएका छन् । यस सङ्ग्रहभित्रको अभिलाष शीर्षकको पहिलो लघुकथामा बालकले उत्साहमा कृतिम मानवतिर फर्कंदै प्रश्न गरे भगवानको घरमा जानुभएकी मेरी आमा कहिले फर्कनुहुन्छ? पुर्ताल शीर्षकको लघुकथामा आफू विरुद्ध उजुरी परेको र यथाशीघ्र हाजिर हुनु भन्ने जिल्ला प्रशासनको आदेशले उसको दिमाग चकराएको थियो । छरछिमेक कसैलाई पनि अहित चिताएको थिएन, कुरै आपराधिक कार्यमा पनि संलग्न थिएन, फेरि कसरी यो उजूरी पर्‍यो ? ऊ घोत्लिदै थियो भनेर मनिषकुमारले लेखेका छन् ।

प्रस्तुत सङ्ग्रहका कथाहरू हाम्रो दैनन्दनीय घटनाहरूको बुनोट हो । कथाहरू सरल र बोधगम्य  छन् । धर्म, सस्कृति, शिक्षा र सामाजिक भावनासँग जोडिएका विसङ्गतिहरूलाई सरल र सहज ढङ्गले प्रस्तुत गरिएको छ । प्रतिकृति शीर्षकको लघुकथामा मुस्कानरुपी रुप, मोहित पार्ने दन्तलहर, घुँगुरिएको कालो केश, ओठ, आँखा, नाकको बनावट, सपक्क परेको जीउडाल, शालीन पहिरनले उनलाई पटक पटक घुुटुक्क थुक निल्न बाध्य बनाएको छ ।

दीक्षामन्त्र शीर्षकको लघुकथामा खचाखच भएको समारोहस्थल खाली हुँदै गयो । औपचारिक पोसाकमा ठाटिएका सुकिलामुकिलाहरू खुशीका तरङ्गमा लहरिदै बाहिर निस्के । कोही कीर्तिमान राख्न सफल भएकोमा गर्वले नाकको पोरा फुलाउँदै थिए । लघुकथाका स्रष्टा मनिषकुमारले जीवनका विभिन्न सन्दर्भ र घटनालाई एक क्षणको अनुभूतिमा समाहित गरेर लघुकथाको आकारमा ढालेका छन् । त्यसरी व्यक्त क्षणको अनुभूति र सन्दर्भबाट जीवनको एउटा एउटा विषयले पूर्णताको बोध गराउँछ । घटनाको व्याख्या नगरी उनी विषयलाई संकेतात्मक रुपमा सम्प्रेषण गर्छन् । 

लघुकथामा समसामयिक नेपाली समाजको विदु्रप रुप, अविवेकी रुप तथा अप्राकृतिक रुपको चर्चा गरिएको छ । बाआमालाई नोकरसरह काम गराउने अनि सडकमा पुर्‍याउने सामाजिक परिवेशको चित्रण गरिएको छ । नेपाली समाजको विकास भएर संयुक्त परिवारबाट एकल परिवार, एकल परिवारबाट खण्डित पारिवारिक अवधारणामा पुगिसकेको छ । किरन्टोकी शीर्षकको लघुकथामा विमोचित कृतिलाई कहिल्यै किन्न चासो नराख्ने तर कसैले सित्तैमा दिए दङ्ग पर्ने, किरन्टोकीको स्वभाव पुस्तकलाललाई राम्ररी थाहा थियो । 

अपकृत शीर्षकको लघुकथामा पितृलोकमा मातृपितृ आत्माहरू उत्साहमा थिए । सोह्र श्राद्धमा पितृभाग लिन लामबद्ध थिए । सधैँ झैँ रमाकान्तको आत्मा भने हताशमा एक छेउमा बसेर टुलुटुलु हेर्नुको विकल्प थिएन । किरियाकाष्ठमा पाएको तर्पण पश्चात उनलाई केही हात परेको थिएन । सङ्ग्रहभित्रका पात्र, परिवेश र घटना हाम्रै समाजमा देखिएका सुनिएका र भोगिएका छन् । मान्छेका प्रवृत्ति र उसले बिर्सदै गएको आफ्नो धरातल तथा हराइरहेको मानवीय संवेदनालाई पनि यस कृतिले आफ्नो विषय बनाएको छ । 

ज्यालादार शीर्षकको लघुकथामा केही दिनदेखि उसलाई नियालिरहेको थिएँ । उसको परिवर्तित क्रियाकलापले मेरो मन प्रश्नको गाँठोमा बेरिएको थियो । आज मौका मिल्यो प्रश्न गर्ने भनेर लेखिएको छ । मनिषकुमारले समाजका कुनै पनि क्षेत्रमा घटेका त्यस्ता घटना, घटनालार्ई कथात्मकता दिन उत्प्रेरित गर्ने वातावरण वा परिवेश, घटनामा संलग्न चरित्र/पात्र, बिनाबाधा अवरोध प्रदान गरेका छन् ।        

कथा आफैमा पूर्ण भएजस्तै लघुकथा पनि स्वयम्‌मा पूर्ण हुन्छ । अर्थात् लघुकथा कथाको संक्षेपीकरण होइन । लघुकथा आख्यानको लघुत्तम वा सूक्ष्मत्तम विधा हो । लघुकथा छोटो हुन्छ तर पूर्ण हुन्छ । छोटो आयाममा जीवन र जगत्‌लाई समेट्नु लघुकथाको विशेषता हो । लघुकथा लोकप्रिय भएकै कारण यसप्रति लेखनको आकर्षण बढ्दै गइरहेको छ ।

कृतिः अर्धशताब्दी (लघुकथासङ्ग्रह)
लघुकथाकारः मनीषकुमार शर्मा 'समित'
प्रकाशकः सिर्जना अभियान समाज
संस्करणः वि.सं. २०८१ मङ्सिर
मूूल्यः रु. २००/–, पृष्ठः ९६

..............................................................................‍
..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।


No comments:

Post a Comment