स्टेजमा गीत गाएको आवाज आउँछ । दर्शक उनको गीत सुनेर/हेरेर ‘वा… वा…’ गर्दै थिए । तालीको गडगडाहट बजेको बज्यै थियो । गायकको गायकीले श्रोताको मन जितेको जित्यै थियो । केही समयपछि उनलाई सिनेमामा गीत गाउन सम्झौता पनि मिल्यो ।
सम्झौता गरेपछि उनीले आफ्ना आशाहरू फुलाउन थालिन्– म यसो गर्छु, म त्यसो गर्छु… । तर, दैवको खेल ! सम्झौता आफसेआफ टुट्यो । सम्झौता टुटेपछि उनी विक्षिप्त हुन्छिन् । के गर्ने र के नगर्ने भन्ने दोसाँधमा उनी पुगिन् ।
यही सिलसिलामा उनको साथीका अनुसार– उनले आत्महत्याको समेत कोशिश गरिन् रे ! तर संजोग ! आत्महत्या गर्छु भनेर जब उनीले नदीमा हाम्फालिन्; त्यही समयमा एक पौडीबाजले आएर उनलाई बचाएछन् र किनारमा ल्याएर एक झापड उनको गालामा चड्काउँदै भनेछन्– 'कायर केटी ! यसरी पनि कसैले हिम्मत हार्छ ?… सङ्घर्ष हो जीवन !’ जब आफ्नो गालामा उनले चड्कन खाइन् तत्क्षण उनी झसङ्ग भइछिन् । चड्कनले उसलाई झनन्न बनायो । वास्तवमा उनले पाएको त्यही एक चड्कन उनलाई वरदान हुन्न पुग्यो । अहिले उनी स्टेजमा चढेकी छिन् र जमेर गीत गाउँदैछिन् ।
गायिकालाई झापड लगाउने मान्छे के ईश्वर–स्वरूप थिए ? कि त्यो संयोग मात्रै थियो ??
- ललितपुर


No comments:
Post a Comment