नयाँ नेपाल बनाउने अभियान घोषणा भयो ।
सबै सहमत भए ।
नयाँ नेपालको यात्रा आरम्भ भो ।
नारा जुलुस, आन्दोलन, तोडफोड, आगजनी, गोली बर्षा, हत्या ।
ध्वंश, विध्वंश, नाश, विनाश, सर्वनाश ।
काख रित्तिए, सिन्दूर पुछिए, टुहुरा भए ।
पुराना सरकारीभवन सबै जले । व्यावसायिक भवनमा लुटपाट भो । नेताको घर तोडफोड भए । पुराना नेताहरु लखेटिए । पुराना कर्मचारी विस्थापित भए ।
पुराना विस्थापित भएपछि सबै नयाँ भो ।
एउटाले बोल्यो– ‘विध्वंशले नयाँ नेपाल बनेन, पुरानो पनि रहेन । त्यसैले नेता मात्र होइन, जनता पनि परिवर्तन गर ।’
‘आन्दोलनको म्याण्डेट विपरीत बोल्ने को हो ?’ एक क्रान्तिकारीले धावा बोल्यो ।
‘पागल हो पागल ।’ एक नवभलाद्मीले उत्तर दियो । जुन नवभलाद्मीले आफ्ना अनुहारमा भर्खरै पुरानो सिंहदरबार जलेर निस्केको नयाँ खरानी घसेको थियो ।
..............................................................................
....साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।


No comments:
Post a Comment