प्रियाजी, प्रश्नको उठान यसरी गरौं – तपाईंको पृष्ठभूमि र साहित्यिक प्रेरणाको स्रोत बताईदिनु न ?
प्रिया पत्थर – मेरो साहित्यलेखनको पृष्ठभूमिको बारेमा भन्नुपर्दा मैले सानै उमेरदेखि साहित्यिक रचना मन पराउने गरेको थिएँ । विशेषत् पाठ्यपुस्तकमा रहेका कथा कविता मलाई साह्रै मन पर्थ्यो ती बाहेक विद्यालयका पुस्तकालयबाट साहित्यिक पुस्तक ल्याई पढ्ने गर्थेँ । पछि एस.एल.सी. गरिसकेपछि लेख्ने प्रयास गर्न थालेँ र जिल्लाका खबर पत्रिकाहरूमा छपाउन थालेँ । यसप्रकार मेरो साहित्यिक प्रेरणाको स्रोत भनेको मेरो आफ्नै मनको साहित्यप्रतिको लगाव हो ।
तपाईं साहित्यमा अनवरत लागिरहने व्यक्ति हुनुहुन्छ । यो अनवरत लगावले के कस्ता फाइदा/बेफाइदाहरू गर्दा रहेछन् ?
प्रिया पत्थर – साहित्यप्रति मेरो लगाव विगतको ४०–४५ वर्ष अघिदेखिको हो । साहित्य मेरो लागि लेखनको विषय मात्र नभएर पठनको विषय पनि हो । पठन संस्कृतिबाट मैले धेरै ज्ञान आर्जन गरेँ । लेखनको माध्यमबाट मैले आफ्नो मनमा रहेका धेरै उकुसमुकुस र द्वन्द्वलाई निकास दिएँ । मैले लेखेका साहित्यले समाजलाई अलिकता भएपनि केही बाटो देखाएको होला, चेतना दिएको होला भन्ने ठान्दछु र मेरो यो सत्प्रयासलाई साहित्यका बुद्धिजीवीहरूले मूल्याङ्कन गरी मलाई हमेशा प्रोत्साहन दिइरहनु भएको छ त्यसर्थ साहित्यले मलाई समाज उपयोगी भएर बाँच्ने प्रेरणा दिएको छ यही नै मेरो जिन्दगीको लक्ष्य उद्देश्य भएको हुँदा साहित्यलाई मैले जीवनको ठूलो उपलब्धि ठानेको छु ।
तपाईं गजल, मुक्तक हुँदै उपन्यास, कथा र बेला बेला लघुकथा पनि लेख्नुहुन्छ । अनेक विधामा कलम चलाउँदा एउटै विषय फरक फरक विधामा प्रवेश हुँदोरहेछ कि नाई ?
प्रिया पत्थर – साहित्यका विविध विधाहरू जस्तै उपन्यास, गजल, मुक्तक, कथा, निबन्ध, आत्मसंस्मरण, समीक्षा जस्ता सबै विधामा आवश्यकता अनुसार मैले कलम चलाए । विधा जुनसुकै होस् उद्देश्य एउटै हुन्छ इमान्दारीपूर्वक त्यो विधालाई विधागत न्याय दिनु । गजल, मुक्तक र लघुकथा रूप आकारमा छोटो भए पनि भावसम्प्रेषण र पूर्ण सन्तुष्टि दिने खालको विधा हुन् भने कथा, उपन्यास, निबन्ध आदि जीवन र जगतको बारेमा सूक्ष्म ज्ञान दिने विधा हुन् । विषयवस्तुका दृष्टिले हेर्दा सबैका विषयवस्तु मानव समाजसँग सम्बन्धित हुने हुँदा उस्तै उस्तै लागे पनि शैली र संरचनाका कारण भिन्न देखिनु स्वाभाविक नै हो ।
लघुकथाप्रति तपाईंको धारणा के कस्तो छ, बुझाउनु न ?
प्रिया पत्थर – मेरो विचारमा लघुकथा आख्यान विधाको छोटो रूप हो जो आकारमा छोटो भएर पनि पूर्ण आख्यान हुन्छ अर्थात् कथाले दिनु पर्ने सन्देश दिन सामर्थ्य राख्छ, चोटिलो र तिख्खर प्रस्तुति लघुकथाको विशेषता हो ।
कोरोनाको विश्वव्यापी महामारीको बेलामा तपाईं लघुकथा समाजको लागि सुदूर पश्चिम प्रदेशको अध्यक्ष बन्नु भयो । त्यो चुनौती र अवसरलाई कसरी लिनुभएको छ ?
प्रिया पत्थर – मेरो लागि त्यो कुनै खास चुनौती वा अवसर होइन । मेरो काम खास केही बढी पनि थिएन मैले आफ्नो नेतृत्वमा यस क्षेत्रका लघुकथाकारहरुलाई समेटेर संगठन तयार गरेँ । कोरोना काल भएको हुँदा भौतिक रूपमा मिटिङ पनि गर्न सकिएन र जुम मिटिङबाट लघुकथा वाचन कार्यक्रम गर्यौँ । लघुकथा लेखन प्रशिक्षण चलाउने हाम्रो योजना थियो तर पछि केन्द्रको विधान अनुसार प्रदेश कमिटी विघटन भयो ।
मलाई थाहा भए बमोजिम तपाईं ४४ वर्षदेखि सुदूर पश्चिममा रहेर साहित्यमा क्रियाशील हुनुहुन्छ । अहिले सुदूरपश्चिम प्रदेशमा लघुकथा लेखनको माहोल कस्तो छ ?
प्रिया पत्थर – खासमा भन्नु पर्दा यस क्षेत्रमा लघुकथा लेख्ने साहित्यकारहरू संख्यात्मक रूपमा कम नै हुनुहुन्छ । फाटफुट रूपमा कसै कसैले लेख्नु हुन्छ । डा. पुष्करराज भट्ट र नारा जोशीको लघुकथा पुस्तक नै प्रकाशित भएका छन् भने अन्य केहीको पुस्तक निस्कने क्रममा छन् ।
अग्रज साहित्यकारको नाताले बताइदिनु न, नेपाली लघुकथा लेखनमा अबको बाटो कस्तो हुनुपर्ला ?
प्रिया पत्थर – वास्तवमा भन्ने हो भने लघुकथा साँच्चै नै लघुकथाजस्तो हुनु पर्छ। बढीमा एक पृष्ठको । कथा लघुरूपमै भए पनि यसमा सारतङ्खव सघन रूपमा प्रस्तुत हुनुपर्छ पाठकको मनलाई चसक्क छुनु पर्छ र समाजलाई सचेत गराउने र केही नयाँ सन्देश दिने खालको हुनु पर्छ । चोटिलो र व्यङ्ग्य प्रधान लघुकथाले नै पाठकको मन जित्न सक्छ । यस तर्फ कथाकार सचेत हुन आवश्यक छ ।
जीवित राख्नका लागि तपाईंको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।




No comments:
Post a Comment