Friday, October 24, 2025

म किन लेख्छु ? (अङ्क २८ मा प्रकाशित)


साहित्य मेरा अनुभवमा जीवन जगतलाई गहिरिएर सूक्ष्मरुपमा हेर्ने, देख्ने टेलिस्कोपजस्तो लाग्छ । आँखा चिम्लिएर पनि देख्ने निलो चश्मा झैँ ।

साहित्य रचना गर्दा म समाजप्रति संवेदनशील र उत्तरदायी हुन्छु । कोरा कल्पनामा हराएर निरुद्देश्य उडानमा मनोरञ्जन लिन चाहन्न । जीवन जगतप्रतिको आफ्ना भावनात्मक, दार्शनिक अनुभूतिलाई व्यक्त गर्दछु । साहित्य आफ्ना सोच विचार, याद दर्शन पाठक समाजसँग बाँडचुँड गर्ने माध्यम हो । तर साहित्य विषयवस्तु मात्र होइन यसको आफ्नै प्रभावकारी पठन विधि, शैली पनि हुन्छ । मजबुत शैली सम्पन्न साहित्यलेखनले पाठक समाजसँगको 'कनेक्टिभिटी’ (Connectivity) अर्थात् सम्बन्धलाई प्रभावकारी बनाउँछ । म साहित्य लेखन गर्दा पाठकलाई छुने भाषाशैलीप्रति पनि सजग हुनुपर्ने कुरा प्रति ध्यान दिन्छु ।

साहित्य लेखनको अवस्थामा म एकप्रकारको तनावमा हुन्छु । हुन त तनावलाई अस्वस्थकर नकरात्मक दृष्टिले हेरिन्छ, तर न्यूरोसाइन्टिष्टहरू भन्छन्‌– सबै तनाव अहितकर हुँदैनन् सकरात्मक तनाव पनि हुन्छ । हाम्रो मस्तिष्क विकासको लागि मानसिक चुनौती पनि चाहिन्छ । यसले हामीलाई सृजनात्मक कार्य सम्पन्न गर्न ऊर्जा प्रदान गर्दछ । तनाव मानसिक सृजनात्मक चुनौती हो । 

साहित्य लेखनमा अनुभव हुने तनावबाट म आफूलाई सृजनात्मक कार्यमा लाग्न अभिप्रेरित हुन्छु । 

अन्तमा, अब प्रश्न रह्यो म किन लेख्छु भन्ने सन्दर्भमा म साहित्य लेखन आत्मसन्तुष्टिको लागि मात्र गर्दिन । समाजको सक्दो सूक्ष्म विश्लेषण गरी समाजको संचेतना वृद्धि गर्न र गराउन साहित्य लेख्छु । विश्व द्रुत गतिले अगाडि बढ्दैछ, हाम्रा पाठकहरूलाई युगसापेक्ष नयाँनयाँ गतिशील सम्भावनाहरूप्रति सजग र सचेत गराउन लेख्छु ।

..............................................................................‍
..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

No comments:

Post a Comment