Monday, December 1, 2025

पुस्तक समीक्षा (अङ्क २९ मा प्रकाशित)


लघुकथाकार लता के.सी.को सफलता नामक लघुकथासङ्ग्रहभित्र उनले लेखेका कदम, आरोप, प्रभाव, बुझाइ, भोेक, कुण्ठा, अदृश्य, कला लगायत विभिन्न शीर्षकका ६१ वटा लघुकथाहरू राखिएका छन् । यसमा सङ्गृहीत ६१ वटै लघुकथा पाठकलाई प्रभावकारी रुपमा आकर्षित गर्न सक्षम रहेका छन्‌ । यस सङ्ग्रहभित्रको कदम शीर्षकको पहिलो लघुकथामा छोरीको इच्छाअगाडि आमाबाबु लाचार भए । बिहे भयो । पहिलो रातमा नै केटाले गजबको कदम चाल्यौ नत्र यति सहजै हाम्रो बिहे कहाँ हुन्थ्यो र ? भनेको बारेमा  लेखिएको छ । 

यस सङ्ग्रहभित्रका लघुकथामा आन्तरिक तथा बाह्य दुबै दृष्टिबिन्दुको उपयोग भएको छ । लघुकथाको आयाम छोटोछरितो हुन्छ । छोटोको मापन गर्ने एक स्थूल आधार शब्दसङ्ख्या पनि हो । कसैले २५० र कसैले ३०० शब्दलाई एउटा लघुकथाको अधिकतम शब्दसीमा मानेका छन् । प्रभाव शीर्षकको लघुकथामा दर्शकदीर्घाबाट समर्थकहरूको कोलाहल मच्चियो । वातावरण तातेर उधुम भयो । भर्खर सत्र बसन्त टेकेकी रिनाले छमछम नाचिरहँदा सबै लठ्ठ परिरहेका थिए भनेर लघुकथाकार लताले लेखेकी छिन् । 

लघुकथाकार लताका कथाहरू छोटा भए पनि निक्कै अर्थपूर्ण छन् । कथाका विषयवस्तु विविधतापूर्ण छन् । भोेक शीर्षकको लघुकथामा बिरालोले कुकुरलाई विश्वास दिलाउँदै म दुध भात खाएर आउँछु । बरु तेरा लागि मासु कहाँ र कति छ भनेर बुझेर आउँछु नि । अनि तैले मासु र भात खानू । हुन्न ? भनेको छ । फरक शीर्षकको लघुकथामा आफूले बेचेको खसी र पालेकोे भाइका बिचको अन्तर देखाउँदै मानवीय बेइमान चरित्र उजागर गरिएको छ । बालापन शीर्र्षककोे लघुकथामा रमाइलो बालापनको स्मरण गरिएको छ । नातिसँगै मोबाइलमा रमाउने क्रममा बालापनको स्मरण भएको हो ।

लघुकथा अहिलेको लोकप्रिय विधा हो । अन्य विधामा स्थापित सर्जकहरू पनि लघुकथामा कलम चलाउन थालेका छन् । सफलता लघुकथा सङ्ग्रहबाट लता लघुकथाकारको अवतारमा देखिएकी छिन् । निर्णय शीर्षकको लघुकथामा बाबु फाल्ने डोेको लोककथामा झैँ बाआमालाई उपेक्षा गर्ने बाबुुआमालाई नातिका प्रश्नले झस्काएको छ । विचित्र शीर्षकको लघुकथामा देशैभरि चुुनावको चहलपहल बढ्दो थियो । कालुु गाउँ छाडेर सहर छिर्छ । उसले टोल टोल घुम्दै हिँडेका कुकुरहरूको जुलुस देख्छ । 

सङ्ग्रहभित्रका सबै लघुकथाहरू सवाल्टर्निक छैनन् । विषय र विचारगत विविधता लताका कथाहरूको विशेषता हो । चेली शीर्षकको लघुकथामा पोइको सधैँँजसो जाँड धोक्ने बानीले उनी आजित थिइन् । सधैँ उही विषयमा घरमा कलह मच्चिरहन्थ्यो भनिएको छ । सफलता लघुकथासङ्ग्रहभित्रका लघुकथामा सामाजिक यथार्थको सूक्ष्म चित्रण पाइन्छ । अनुुरोध शीर्षकको लघुकथामा मानिसले प्रकृृति या धर्तीको रक्षकबच नष्ट गरेको हुँदा अनेक किसिमका रोगव्याधि र महामारीको प्रकोप बढेको बारेमा देखाइएको छ ।

लताका प्रायः लघुकथाले गह्रुङ्गो औपन्यासिक खुराक बन्न सक्ने विषयवस्तुलाई लघुकथाभित्र अटाएका छन् । सूक्ष्मता, तीब्रता, घनत्व, व्यङ्ग्य, सन्देश, पात्रको सन्तुलन र विपरित मार्गबाट जीवनबोध गराउनु लघुकथाको आधारभूत तत्वहरू हुन् । लताको लघुकथाको भाषा सरल, सहज र सुबोध्य छन् । परिवर्तन  शीर्षकको लघुकथामा कार्यालयमा काम धेरै भएकाले साँझ उनलाई घर पुग्न ढिलो भयो । शरिर थकित थियो । कोठामा पस्नासाथ उनी ओछ्यानमा पल्टिइन् भनेर लताले लेखेकी छिन् । 

लघुकथा भन्ने शब्दले छोटो कथा भन्ने अर्थ दिन्छ तर अंग्रेजी साहित्यमा भने जति लामो कथालाई पनि सर्ट स्टोरी भन्ने चलन छ । लघुकथाका सम्बन्धमा विविध परिभाषा, बिचार र दृष्टिकोणहरू छन् । जे भए पनि नेपाली साहित्यमा लघुकथाले आफ्नो अलग स्वरुप र विधा ग्रहण गरिसकेको छ । यसै सन्दर्भमा नेपाली समाजको यथार्थ भोगाइहरू यसभित्र लेखिएका लघुकथामा खारिएका, माझिएका र टलक्क टल्किएका छन् । थोरै लेखेर पनि गुणस्तरमा ध्यान दिन सके कृतिको महत्व बढ्नेछ । यस तथ्यलाई लघुकथाकार लताले मनन गरेकी छिन् । विषयवस्तुका हिसाबले बहुमुखी छन् । लताका लघुकथा उनले देखेको व्यक्ति, समाज र राष्ट्रका साथै सुनेका घटनामा पनि आधारित छन् । यिनका कतिपय लघुकथा समय र स्थान सीमाका रुपमा पनि आएका छन् । 

यस सङ्ग्रहका थोरै लघुकथा शिक्षासम्बद्ध छन् । कर्म शीर्षकको लघुकथामा दाउरे भारी बोकेर गन्तव्यतिर हिँड्योे । दाउरेले यसरी नै गुजारा चलाउँथ्यो । पसिनाले पेट र परिवार पाल्नु उसको नियति बनेको थियो भनेर देखाइएको छ । मनस्थिति शीर्षकको लघुकथामा हामी सबै कर्मचारीहरू कम्पनीलाई घर ठान्थ्यौ । दिलोज्यान दिएर काम गर्थ्यौ । प्रगति देखेर कम्पनीका मेनेजर निकै खुुसी थिए भनिएको छ । लघुकथाकारको व्यङ्ग्य चेत, सामाजिक चेत तथा समसामयिकता प्रशंसनीय छ । लता के.सी.को लघुकथामा हाम्रो समाजको चरित्र स्पष्ट रुपमा देख्न सकिन्छ । 

कृतिः सफलता (लघुकथासङ्ग्रह)
लघुकथाकारः लता के.सी.
प्रकाशकः हाम्रो लघुकथा केन्द्र
संस्करणः वि.सं. २०८० पहिलो
मूूल्यः रु. २००/–, पृष्ठः ९२

.............................................................................‍
..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

No comments:

Post a Comment