Thursday, January 22, 2026

पुस्तक समीक्षा (अङ्क ३१ मा प्रकाशित)


लघुकथाकार डा. हिमलाल श्रेष्ठको चौतारो चिन्तन नामक लघुकथासङ्ग्रह २०८२ मा दोस्रो कृतिको रुपमा प्रकाशित भएको छ । यस कृतिभित्र उनले लेखेका डाँफेको एकालाप, चिलहरूको वार्तालाप, काग र कोइलीको हानथाप, सोलीफिस्टो लगायत विभिन्न शीर्षकका अठ्चालिसवटा लघुकथाहरू राखिएका छन् । यसमा सङ्गृहीत अठ्चालिसवटै लघुकथा पाठकलाई प्रभावकारी रुपमा आकर्षित गर्न सक्षम रहेका छन्‌ । यस सङ्ग्रहभित्रको डाँफेको एकालाप शीर्षकको पहिलो लघुकथामा मलाई लाग्छ हावा चलोस् । चिसो, तातो अनि मध्यम वायुको बेग बगोस् । अझै मेरो पखेटाको शक्तिलाई माथ गरौँ गरौँ भन्ने हुण्डरी चलोस् र त्यो हुण्डरीमा कावा खाँदै कहिले बेसी त कहिले लेक डुल्न पाइयोस् भनेर डा. हिमलालले लेखेका छन् । 


उनले मनमा उर्लिएका भावलाई लघुकथाको रुप दिन सकेका छन् । चिलहरूको वार्तालाप शीर्षकको लघुकथामा हामी सिमलको अग्लो रुखको डालीमा बसेर तल हेर्छौ । साना साना मुसा समेत देखेर सिकार गर्छौ । त्यसले किसानहरूको बालीनाली सप्रिन्छ भनेर लेखिएको छ । यस सङ्ग्रहभित्रका लघुकथाहरू आकारले मात्र होइन विषयका दृष्टिले पनि लघुकथा हुन् । उनले सामाजिक विषयका स–साना प्रसङ्गमार्फत जीवनका विविध पक्षलाई सरल ढङ्गले उजागर गरेका छन् । पाइलापाइलामा कुनै न कुुनै घटना भइरहेका हुन्छन् । ती घटनाले फरक फरक व्यक्तिमा फरक फरक सोच र सवेदना जगाउने गर्छन् ।

भाषिक सरलता डा. हिमलालका कथाहरूको महत्वपूर्ण विशेषता हो । विषय र विचारगत विविधता उनको कथाहरूको मूल उद्देश्य हो । काग र कोइलीको हानथाप शीर्षकको लघुकथामा अल्छी भए पनि बडो परिश्रम गरेर कागले आफ्नो गुँड तयार गर्‍यो र यो वर्षको नयाँ छिमल हुर्काउने उपक्रम सुरm भयो भनिएको छ । डा. हिमलालका लघुकथाहरूले आजको सामयिक विषय, पर्या चेतनाको आवश्यकता र राज्यले विगतमा भोग्नुपरेको भयावहतालाई सिर्जना मार्फत उजागर गरेका छन् । एउटा स्रष्टाले समय र समाजका सबैजसो सन्दर्भलाई केलाएर प्रस्तुत गर्दछ । 

फुर्के पोखरी शीर्षकको लघुकथाभित्र बडेमानको माछालाई उकुसमुकुस हुन्छ र मनमनै सोच्छ । मानिसहरू यतिका नकारात्मक कुराहरू कसरी दिमागमा राखिरहन्छन् ? भनिएको छ । एक माओवादीको मृत्यु शीर्षकको लघुकथामा साँझ परिसकेको समय उनी बर्छरेको बाटो हुँदै डाँडा उक्लदै थिएँ । बाटोमा ठुलो एकलास वन पर्थ्यो । उताबाट एक हुल प्रहरी आइरहेका थिएँ । प्रहरी साँझको समयमा एकलासे जङ्गलमा मान्छे देखिएकोले सशङ्कित बन्दै ३/३ जनामा विभाजित भई चारैतिर छरिएर माइला घर्तीलाई निगरानी गरेर बसे । 

डा. हिमलाल वातावरण अध्येता हुन् । त्यसैले उनमा पर्यासम्बन्धी जानकारी र चेत निकै छ । थोरै लेखेर पनि गुणस्तरमा ध्यान दिन सके कृतिको महत्व बढ्नेछ । यस तथ्यलाई लघुकथाकार डा. हिमलालले मनन गरेका छन् । सङ्ग्रहभित्रका पात्र, परिवेश र घटना हाम्रै समाजमा देखिएका सुनिएका र भोगिएका छन् । मान्छेका प्रवृत्ति र उसले बिर्सदै गएको आफ्नो धरातल तथा हराइरहेको मानविय संवेदनालाई पनि यस कृतिले आफ्नो विषय बनाएको छ । आशावादी भएर समाजका विकृतिलाई निर्मूल पारेर एउटा सुन्दर समाज निर्माण गर्न सकिन्छ भन्ने सन्देश प्रवाह गर्नका लागि यस सङ्ग्रहभित्रका कथा सक्षम छन्‌् । स्रष्टा एउटा समाजको द्रष्टा पनि भएकाले ऊ यो समाजबाट अलग हुन कत्ति पनि सक्दैन । यही समाजमा रहेका सङ्गत, बिसङ्गत सबै कुरासँग पौँठाजोरी खेल्नुनै पर्छ । 

लघुुकथा भनेको कुनै एउटा सानो घटना र क्षणभरकै अनुभवलाई शब्द सीमाभित्र समेटेर पाठकलाई कौतुहलता प्रदान गर्दै समापनमा झस्याङ पार्ने रचना हो भनेर बुझ्ने होे र यसै सिद्धान्तभित्र दोषीको कलम खोज्ने हो भने धेरैजसो लघुकथाहरू सामान्य नै रहेका छन् । अयोग्य लडाकु शीर्षकको लघुकथामा कृष्णराम ओहोरदोहोर गरिरन्छन् । उनी मनमा त्रास अनि हुटहुटी दुबै बोकेर घरि वल्लो छेउ घरि पल्लो छेउ गरेर आफ्नै आँगन नापिरहन्छन् । जाउँ भने पल्लो गाउँमा आर्मीको गस्ती आएको भर्खर खबर छोडेर गयो बिर्खे दाइ नजाउँ भने मनले मान्दैन ।

लघुकथाकार डा. हिमलालका लघुकथामा व्यङ्ग्यात्मक भावको समेत अभिव्यक्ति पाइन्छ । लघुकथाकारका लघुकथामा अन्तर्विधात्मक चेत पाइन्छ । 

कृतिः चौतारो चिन्तन (लघुकथासङ्ग्रह)
लघुकथाकारः डा. हिमलाल श्रेष्ठ
प्रकाशकः सिर्जना अभियान समाज
संस्करणः वि.सं. २०८२ पहिलो
मूूल्यः रु. २२५/–, पृष्ठः ११७

 .............................................................................‍

..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

No comments:

Post a Comment