Thursday, January 22, 2026

समालोचना (अङ्क ३१ मा प्रकाशित)

मृत्यु एउटा अन्त्य होइन, यो त एउटा ठूलो विश्राम हो । 
जसरी दिनभरिको कामपछि रातको निद्रा आउँछ, 
जीवनको लामो यात्रापछि मृत्युले नयाँ ऊर्जाका लागि ठाउँ खाली गरिदिन्छ ।”
– ओशो

हामी जन्मदिनलाई उत्सव ठान्छौँ, तर त्यही उत्सवको मञ्चमा मृत्युको मैनबत्ती चुपचाप जलिरहेको हुन्छ । हरेक वर्ष केक काट्दा एक वर्ष घटिरहेको जीवनको हिसाबले कमैलाई झस्काउँछ । ओशोको दार्शनिक चिन्तनले यही विरोधाभासमा औँला ठड्याउँछ– जन्ममा होस राख, मृत्युमा हाँस । मृत्यु अन्त्य हो भन्ने भ्रमले हामीलाई रूवाउँछ, तर जीवन नै दुःखको निरन्तर अभ्यास हो भन्ने सत्यलाई हामी उत्सवले छोप्छौँ । यही दार्शनिक झट्कालाई अत्यन्त सानो कथ्यमा, तर गहिरो अनुभूतिमा उतार्ने काम लघुकथा अभिभावक उपाधिले विभुषित लता के.सी.को लघुकथा ‘दृश्य’ले गरेको छ ।

ओशो (रजनीश) का अनुसार जन्म र मृत्यु दुई भिन्न घटना होइनन्, बल्कि एउटै सिक्काका दुई पाटा हुन् । उनको दर्शनले जीवनलाई एक शाश्वत प्रवाहको रुपमा हेर्छ, जहाँ मृत्यु अन्त्य होइन तर एउटा नयाँ सुरूवात मात्र हो ।

ओशोको दार्शनिक दृष्टिकोणलाई निम्न बुँदाहरूमा बुझ्न सकिन्छ :

१. मृत्यु एउटा झूट हो (Death is a Fiction)

ओशो भन्छन् कि वास्तवमा मृत्यु हुँदै हुँदैन । जसरी हामीले पुरानो लुगा फेरेर नयाँ लगाउँछौँ, आत्माले पनि एउटा शरीर छोडेर अर्को शरीर धारण गर्छ । उनले जोड दिएका छन् कि हामी ’शरीर’ होइनौं, हामी ’चेतना’ हौं । चेतनाको कहिल्यै विनाश हुँदैन ।

२. जन्म र मृत्यु : एउटै ढोकाका दुई छेउ

ओशोका अनुसार जसलाई हामी जन्म भन्छौं, त्यो कतैबाट ’बिदा’ हुनु हो र जसलाई हामी मृत्यु भन्छौं, त्यो अन्तै कतै ’प्रवेश’ गर्नु हो । यस अर्थमा, 

  जन्मः शरीरसँगको सम्बन्धको सुरूवात ।
  मृत्युः शरीरसँगको सम्बन्धको अन्त्य ।

तर ’स्वयम्‌’ (क्भाि) वा 'साक्षी' दुवै अवस्थामा स्थिर रहन्छ ।

३. मृत्युलाई उत्सव बनाउनु पर्छ

धेरैजसो धर्म वा समाजले मृत्युलाई शोकको रुपमा लिन्छन्, तर ओशोले यसलाई ‘परम उत्सव’ (त्जभ ग्तिष्mबतभ ऋभभिदचबतष्यल) भनेका छन् । उनका अनुसार यदि तपाईंले जीवनलाई होशपूर्वक जिउनुभएको छ भने, मृत्यु एउटा विश्राम र मुक्ति हो । मृत्युले अहङ्कारको अन्त्य गर्छ, आत्माको होइन ।

४. मृत्युको डर र अज्ञानता

ओशो भन्छन् कि मानिस मृत्युसँग डराउनुको मुख्य कारण उसले जीवनलाई नबुझ्नु हो । हामीले जीवनलाई पक्रिराख्न खोज्छौं, जुन सम्भव छैन । जब हामी “म शरीर हुँ” भन्ने भ्रमबाट मुक्त हुन्छौं, तब मृत्युको डर स्वतः हराएर जान्छ ।

५. 'अहिले र यहीं' (Here and Now)

जन्म र मृत्युको रहस्य बुझ्न ओशोले ध्यान (ःभमष्तबतष्यल) लाई एक मात्र उपाय मानेका छन् । ध्यानको माध्यमबाट मानिसले जीवित छँदै मृत्युको अनुभव गर्न सक्छ अर्थात् शरीर र मनभन्दा परको ’शून्य’ अवस्थालाई बुझ्न सक्छ । जसले जिउँदै मर्न (अहङ्कार त्याग्न) जान्दछ, उसका लागि मृत्यु एउटा ढोका मात्र बन्छ ।

यहाँ चर्चा गरिँदै गरेको लघुकथाको ‘दृश्य’ शीर्षक आफैंमा अर्थगर्भित छ । यहाँ दृश्य केवल आँखाले देखिने घटना होइन; यो चेतनाले देख्ने सत्य हो । एकै दिन छोरो जन्मिनु र बुबाको मृत्यु हुनु संयोग मात्र होइन, जीवनको गोलचक्करको प्रत्यक्ष प्रमाण हो । लघुकथाकारले कुनै दार्शनिक भाषण नगरी, एउटा घरको आँगनमै ब्रह्माण्डीय प्रश्न उभ्याइदिएकी छन् । यही सादगी नै लघुकथाको ठूलो शक्ति हो ।

लघुकथामा पात्रको व्यवहार सामाजिक मान्यताभन्दा उल्टो छ– बुबाको मृत्युमा हाँसो, छोराको जन्ममा रोदन । यही उल्टोपनले पाठकको मन झस्किन्छ । हामी मृत्युमा रोएर ‘कर्तव्य’ पूरा गर्छौँ र जन्ममा हाँसेर ‘खुशी’ प्रदर्शन गर्छौँ । तर लघुकथाको पात्र यी दुबै अभिनयबाट मुक्त छ । ऊ समाजको आँसुहाँसोको नक्साभन्दा बाहिर उभिएको छ । यो विद्रोह चर्को नारा होइन; मौन, तर तीखो प्रश्न हो ।

घाटको दृश्यले विशेष अर्थ बोकेको छ । दागबत्ती दिँदा उज्यालो अनुहार हुनु कुनै क्रूरता होइन, मुक्तिको स्वीकारोक्ति हो । “बुबाले मुक्ति पाउनुभयो” यो वाक्यमा पूर्वीय दर्शनको गहिरो ध्वनि छ । जीवनलाई बन्धन र मृत्युको क्षणलाई विश्राम ठान्ने दृष्टि यहाँ स्पष्ट छ । बुबा अब दुःख, श्रम, जिम्मेवारी र असहाय वृद्धावस्थाको पीडाबाट मुक्त भए । यस्तो मुक्तिमा आँसु होइन, शान्त मुस्कान स्वाभाविक हुन्छ ।

तर लघुकथाको सबैभन्दा मार्मिक ‘दृश्य’ अन्त्यतिर आउँछ– नवजात शिशु र काख । बच्चा शान्त हुन्छ, तर बुबा बनेको छोरो डाँको छोडेर रून्छ । यहाँ लघुकथाले हाम्रो भावनात्मक सुरक्षालाई भत्काइदिन्छ । हामी बच्चाको रोदनलाई दुःख र शान्तिलाई सुख ठान्छौँ । तर यहाँ उल्टो छ । बच्चाको शान्ति भविष्यको अज्ञानताको प्रतीक हो र बाबुको रोदन चेतनाको परिणाम । उसलाई थाहा छ– यो शिशुले जीवन पाएको होइन, जीवनभरिको सङ्घर्ष बोकेको छ ।

यो वाक्य लघुकथाको मेरूदण्ड हो । जीवनलाई उपहार मान्ने प्रचलित दृष्टिकोणमाथि यो कठोर प्रश्न हो । गरिबी, असमानता, पीडा, श्रम र अन्तहीन सङ्घर्षको समाजमा जन्म आफैंमा उत्सव हो कि जिम्मेवारी ? लघुकथाले उत्तर दिन खोज्दैन; पाठकलाई असहज प्रश्नसहित छोड्छ । यही असहजता नै सफल यस आलेखको मूल आधार हो ।

लता के.सी.को भाषा सरल छ, तर भाव अत्यन्त गहिरो छ । कुनै अनावश्यक अलङ्कार छैन । संवाद थोरै छन्, तर ती संवादले कथा बोक्छन् । मौनले यहाँ ठूलो भूमिका खेलेको छ– पात्रको मौन, कथावाचकको मौन र अन्ततः पाठकको मौन । यो मौन नै आत्मचिन्तनको ढोका हो । ‘दृश्य’ केवल जन्ममृत्युको कथा होइन; यो चेतनाको स्तरको कथा हो । यो लघुकथा पढिसकेपछि जन्मदिनको केक काट्दा मन अलिकति गम्भीर हुन्छ, र मृत्युको खबर सुन्दा मन अलिकति शान्त । यही परिवर्तन साहित्यको सफलता हो । ओशोको दार्शनिक चेतना र लता के.सी.को कथात्मक संवेदनाले यहाँ एकअर्कालाई पूरक बनेका छन् ।

अन्ततः ‘दृश्य’ लघुकथाले हामीलाई सिकाउँछ– जीवनलाई अन्धो उत्सव होइन, सचेत जिम्मेवारीका रुपमा हेर्नु र मृत्युबाट भाग्नु होइन, त्यसलाई शान्त स्वीकार गर्नु । जन्ममा होस र मृत्युमा मुस्कान, यो सन्देश कुनै उपदेश होइन, एक सानो लघुकथाको मौन चिच्याहट हो, जुन धेरै बेरसम्म मनभित्र गुञ्जिरहन्छ ।

०००

स्रोत लघुकथा– 

दृश्य

– लता के.सी.

कस्तो संयोग हो, यो ? उसको घरमा आजकै दिन घुतुमुने छोरो जन्मियो अनि बुढा भएका बुबाको मृत्यु ! जन्म र मृत्युको खबर एकैसाथ सुनेर म उसको घरमा गएँ । ऊ हाँसो मिश्रित रोदनमा डुबेको थियो । मलाई अचम्म लाग्यो– बुबाको लास उठाउने बेलामा ऊ मस्त हाँसिरहेको थियो । जब कि घरका बाँकी सबै आर्तनादको कोलाहलमा डुबेका थिए । ऊ घाटमा पनि रोएन ।

दागबत्ती दिँदा त झन् उसको अनुहार उज्यालो थियो । विधिविधानपूर्वक अन्त्येष्टि सक्यो । मलामीसँगै ऊ र म सँगसँगै फर्किंदै थियौं । मैले सोधें, “बुबाको मृत्युले तपाईंलाई दुखेन ?“

ऊ केही बोलेन । त्यसपछि म पनि बोलिनँ । चुपचाप म उसकै घरमा पुगें । नवजात शिशु च्याँ च्याँ गरेर रोइरहेको थियो । उसले नुहाएर कोरामा बस्नुपूर्व छोरालाई काखमा लिन चाह्यो । बच्चा बुबाको स्पर्शले शान्त भयो । ऊ भने बेसरी डाँको छोडेर रून थाल्यो । मलगायत सबै आश्चर्यचकित भयौं । मृत्युमा हाँसो र जीवनमा रोदनको रहस्यले मलाई पोल्यो । मैले मन थामेर कारण सोधें । उसले गम्भीर भएर भन्यो, “बुबाले मुक्ति पाउनुभयो । त्यसैले किन रूने ? यो नवजात शिशुले जीवन पायो कि जीवनभरिको दुःख र सङ्घर्षको भार ? त्यसैले म यसको जन्ममा कसरी हाँसू ?“

०००


लता के.सी.को लघुकथा ॅदृश्य’ले जीवन र मृत्युको परम्परागत धारणामाथि गहिरो दार्शनिक प्रहार गरेको छ । यसैको रहस्यलाई उधिन्दै तयार पारिएको उत्तरकथा यहाँ प्रस्तुत छः

उत्तरकथाः 

नयाँ गोरेटो

– नन्दलाल आचार्य 

“तर साथी, यो त जीवन प्रतिको अविश्वास भएन र ?” मैले उसको आँसु पुछ्दै सोधें ।

ऊ झ्यालबाट बाहिर देखिने विशाल बरको रूखतिर फर्कियो, जसका पुराना पातहरू झरिरहेका थिए र नयाँ पालुवा पलाउँदै थिए ।

“होइन”, उसले सुक्सुकाउँदै भन्यो, “यो त यथार्थको ऐना हो ।”

“त्यसोभए के यो बालकको भविष्य अँध्यारो मात्र छ त ?” मेरो जिज्ञासा मेटिएको थिएन ।

उसले शिशुलाई सुस्तरी कोक्रोमा राख्यो र मतिर हेर्दै दृढताका साथ भन्यो, “बुबाको मृत्युले एउटा अध्याय सकियो, त्यो त प्रकृति हो । तर यो शिशुको रूवाइले मलाई झकझक्यायो– हामीले उसलाई विरासतमा केवल सङ्घर्ष र आँसुको पोको मात्र सुम्पने कि त्यो सङ्घर्ष चिर्ने चेतना पनि ?”

उसको स्वरमा अब दार्शनिक गाम्भीर्य मात्र थिएन, एउटा प्रगतिशील विद्रोह पनि झल्कन्थ्यो । उसले अन्तिम वाक्यमा मेरो चेतना नै हल्लाइदिने गरी भन्यो, “मैले उसको जन्ममा आँसु बगाएको होइन मित्र, बरु उसको भविष्यका लागि आफ्‌ना काँधहरू बलियो बनाउने सङ्कल्प गरेको हुँ !”

०००

– सिद्धार्थटोल, उदयपुर

.............................................................................‍
..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

No comments:

Post a Comment