Saturday, May 2, 2026

समाचार


वैशाख १९ गते शनिवार

दक्षिणकाली, भङ्ज्याङस्थित गणेश हलमा हाम्रो लघुकथा केन्द्रले स्रष्टा सम्मान र हाम्रा लघुकथा संयुक्त लघुकथासङ्ग्रह विमोचन कार्यक्रम सम्पन्न गरेको छ ।

केन्द्रका अध्यक्ष डा. शेखरकुमार श्रेष्ठकाे सभापतित्वमा आयोजित सो कार्यक्रममा मञ्चासिन व्यक्तित्वहरू सभाध्यक्ष लगायत् प्रमुख अतिथि दक्षिणकाली न.पा.का प्रमुख माेहनबहादुर बस्नेत, विशिष्ट अतिथिहरू उपप्रमुख वसन्ती तामाङ डङ्गाेल, किशोर पहाडी, कृष्ण प्रधान, जयदेव भट्टराई, लता के.सी, तेजप्रकाश श्रेष्ठ, प्रा. डा. कपिल लामिछाने, गङ्गा कर्माचार्य पौडेल, महेश प्रसाईं, रमेन्द्र काेइराला र दामोदर अधिकारीले लघुकथा गान बजाएर कृतिको विमोचन गर्नु भयो।

उक्त कार्यक्रममा लघुकथाका समालोचक प्रा. डा. कपिल लामिछानेलाई केन्द्र लघुकथा समालोचना सम्मान- २०८२, अग्रज साहित्यकार महेश प्रसाईंलाई केन्द्र लघुकथा सम्मान -२०८२, अग्रज साहित्यकार गङ्गा कर्माचार्य पौडेललाई केन्द्र लघुकथा नारी सम्मान–२०८२ र साहित्यकार रमेन्द्र कोइरालालाई योगनाथ बास्तोला लघुकथा सम्मान–२०८२ बाट अवीर, दुबो माला, रूद्राक्ष, दोसल्ला, सम्मानपत्र र नगदसहित सम्मानित गरिएको थियो । साहित्यकार किशोर पहाडीको संयोजनमा दुई सदस्यहरू जयदेव भट्ट र मिसु श्रेष्ठको छनौट समितिले सम्मानित हुने स्रष्टाको नाम चयन गरेको थियो।
सम्मानित हुने स्रष्टाहरु
गणेश गुठी धिमे खलको धिमे बाजा बजाई सम्मानित हुने स्रष्टाहरूलाई भैरव मन्दिर परिक्रमा गराइएको थियो । पानसमा बत्ती बालेर, नेपाली पहिलो लघुकथाकार सिद्धिचरण श्रेष्ठको तस्बिरमा माल्यार्पण गर्दै श्रीब्रह्मानन्दसरस्वती वैदिक गुरुकुलबाट उपस्थित विद्यार्थी र शिक्षकले स्वस्तिवाचन गरेर , राष्ट्रिय गान बजाएर कार्यक्रमको सुरू गरिएको थियो ।

कार्यक्रममा संस्थाका उपाध्यक्ष सत्या अधिकारीले स्वागत मन्तव्य राख्नु भएको थियो । मनीषकुमार शर्माले सम्मानित स्रष्टा महेश प्रसाईं, मिसु श्रेष्ठले प्राडा कपिल लामिछाने, रमेश सुवेदीले गङ्गा कर्माचार्य र शान्ता तिम्सिनाले रमेन्द्र कोइरालाका जीवन र योगदानमाथि प्रकाश पार्नु भयो । बद्री कार्की, रमेश सुवेदी, गङ्गा दाहाल न्यौपाने र निर्मला बरालले सम्मानपत्र वाचन गर्नु भयो । कार्यक्रममा दक्षिणकाली नगरपालिका वडा नं ३ का वडाध्यक्ष प्रचण्डमानसिंह बस्नेत र सेतीदेवी माविका प्रधानाध्यापक रामकुमार बस्नेतले शुभकामना मन्तव्य राख्नु भयो । मन्तव्यको क्रममा विशिष्ट अतिथि किशोर पहाडीले सम्मानित स्रष्टा चयनको प्रक्रियाबारे जानकारी दिनु भयो । अर्का विशिष्ट अतिथि प्रधानले प्रकृतिको छटामा अवस्थित दक्षिणकाली नगरमा एउटा साहित्यिक कुटीको निर्माण गर्न पाए हुने भन्ने मनसाय पोख्नु भयो ।
प्रमुख अतिथि बस्नेत र विशिष्ट अतिथि डङ्गोलले भाषा, साहित्य र कलाको विकासका लागि यस क्षेत्रमा स्थापित साहित्यिक संस्थाहरूको हरेक कार्यक्रममा नगरपालिकाको बजेट अनुसार आर्थिक सहयोग गर्ने र साहित्य हब बनाउने प्रतिवद्धता व्यक्त गर्नु गर्दै दक्षिणकाली प्रज्ञा प्रतिष्ठानको काम अगाडि बढेको बताउनु भयो ।

सम्मानित व्यक्तित्व प्रा.डा. कपिल लामिछानेले मन्तव्यमा लघुकथाको समालोचनाप्रति सबै लघुकथाप्रेमीको ध्यान केन्द्रित हुनु पर्ने बताउनु भयो । साहित्यकार महेश प्रसाईँले लधुकथामा सिद्धान्तको औचित्य नरहेको धारण व्यक्त गर्नु भयो । सम्मानित नारी श्रष्टा पौडेलले लघुकथाको प्रवर्द्धनमा केन्द्रको भूमिका र योगदान बारे बताउनु भयो भने रमेन्द्र कोइरालाले लघुकथाको सैद्धान्तिक पुस्तक प्रकाशनको तयारीमा रहेको हुँदा सबैसंग सुझाव माग्नु भयो ।

संस्थाका सचिव रामराजा के.सी.ले सञ्चालन गर्नु भएको सो कार्यक्रममा स्रष्टा समाज अमेरिकाका संस्थापक प्रभात दीक्षित, लघुकथाकारहरू खेमराज पोखरेल, दीपक लोहनी, कात्यायन, ममता मृदुल, लीलाराज दाहाल, विन्दु ढकाल, रजनी खत्री, अप्सरा भट्टराई लगायत दक्षिणकाली न पा का जनप्रतिनिधिहरू, स्थानीयबासीहरु लगायत करिवन १०० जनाको उपस्थिति रहेको थियो । कार्यक्रमको अन्त्यमा अध्यक्ष श्रेष्ठले साथ, समर्थन र सहयोग पुर्याउने सबैलाई धन्यवाद दिएर कार्यक्रमको समापन गर्नु भएको थियो ।

..............................................................................‍
..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

No comments:

Post a Comment