नेपाली साहित्यको लघुकथा विधामा अनवरतरूपमा सक्रिय महिला साहित्यकार हुन् – इन्दिरा चापागाईं । आमा लेखमाया चापागाईं र बुवा खगेन्द्रप्रसाद चापागाईंकी सुपुत्री इन्दिरा चापागाईं २०२९ माघ २० गते सभापोखरी गा.पा.१, संखुवासभामा जन्मिएकी हुन् ।
स्नातकोत्तर(जनप्रशासन) औपचारिक अध्ययन पूरा गर्नुभएका इन्दिरा चापागाईं निजामति सेवामा कार्यरत हुनुहुन्छ । साहित्यमा निकै रुचि राख्नु हुने इन्दिरा सानैदेखि कविता, निबन्ध लेखन तथा वक्तित्वकलामा उत्कृष्ट प्रस्तुतिमा सक्रिय रहेको बताउनु हुन्छ । पहिलो प्रकाशित लघुकथा सन् २०२० मे २० मा हिमाल टाइम्स डटकममा प्रकाशित 'प्रवृत्ति' शीर्षक लघुकथा थियो ।
हाम्रो लघुकथा संसार अनलाइन मासिकको विशेष सहयोगी रहनु भएकी उहाँ विभिन्न साहित्यिक संघसंस्थाहरूमा आजीवन सदस्यता ग्रहण गरेर एक उदाहरणीय साहित्यकारको रुपमा उभिएकी छिन् । केही पुस्तकहरू प्रकाशनको तयारीमा रहनुभएकी इन्दिराको हालै अन्तहीन परिधि नामक लघुकथासङ्ग्रह प्रकाशित भएको छ ।
विभिन्न राष्ट्रको भ्रमण गरिसक्नुभएका इन्दिरा चापागाईं संगम साहित्य सम्मान–२०७९ र कल्पतरु वर्ष श्रष्टा पुरस्कार– २०७९ बाट समेत पुरस्कृत तथा सम्मानित हुनुहुन्छ । उहाँसँग लघुकथा संसारले गरेको छोटो कुराकानी ।
*****************************************************************************
विशेष विधा के हो र किन लेख्नु हुन्छ ? केका निम्ति लेख्नु हुन्छ ?
इन्दिरा : मेरा लागि साहित्यका सबै विधा विशेष । सबै विधा फुर्सद मिलेसम्म पढ्ने गर्छु । कथा, निबन्ध, गीत पनि लेख्छु तर कविता र लघुकथा बढी लेख्ने गर्छु । आफ्ना मनोभावनाहरु पाठकसँग बाँड्न र आफ्नो सन्तुष्टिका लागि नै लेख्छु । यस बाहेक साहित्य कहिलेकाहीँ आवाजविहीनहरुको आवाज बन्न सक्छ । कसैको लागि मार्गदर्शन या दुखेको घाउको मल्हम बन्न सक्छ भन्ने मान्यतामा म लेख्ने गर्छु ।
कथा र जीवन दर्शनलाई दाँजेर कसरी हेर्नुहुन्छ ?
इन्दिरा : एउटा साहित्यकारले त कथामा जीवनदर्शन लेख्छ या भेट्छ । अर्को शब्दमा कथा नै जीवनदर्शन हो । त्यस्तै जीवनदर्शनमा पनि अनेकन कथाहरु हुन सक्छन् । तिनलाई चिन्न, लेख्न र पाठकहरुमाझ साझा गर्न आवश्यक हुन्छ । जसले गर्दा पाठकले पनि आफ्नो र अरुको जीवनकथा बुझ्न सिकून् । सहज ढङ्गले जीवन जिउन सिकुन् । आखिर जीवन पनि एउटा कथा त हो अनि कथा पनि कसैको जीवनको कुनै हिस्सा या भोगाइ त हो । यसरी जीवनदर्शन र कथाबीच अन्योन्याश्रित सम्बन्ध हुन्छ भन्ने मलाई लाग्छ ।
| प्रकाशित कृति |
यहाँको सन्दर्भमा कथा लेख्ने कुनै निश्चित समय र स्थान हुन्छ कि ?
इन्दिरा : त्यस्तो चाहिँ हुँदैन । कुनै घटना परिघटनाले छोएपछि लेख्न बस्ने हो कुनै पनि समय हुन सक्छ । तत्काल लेख्न नसक्दा यसो विषयबस्तु टिपोट गर्ने हो । कतै पठाउनु पर्ने भयो भने चाहिँ यसो वास्तविकता र परिकल्पनाको मिश्रण बनाउन थाल्ने हो । निन्द्रा नपरेको बेला यसो चिन्तन गर्ने हो ।
अहिले कविता, कथा र दर्शनलाई बुझेर लेख्ने वा रहरले लेखेर सामाजिक सञ्जालमा पोष्ट्याउने/कवि, कथाकार भनाउने चलन असाध्यै बढेर गएको छ यसलाई कसरी लिनु भएको छ ?
इन्दिरा : विशेष गरी कोरोनाकालपछि बुझेर लेख्नेहरुभन्दा पनि रहरले लेख्ने र सामाजिक सञ्जालमा प्रेषित गर्ने, कवि कथाकार भनाउने, त्यति मात्र होइन लेख्न लगाएरै या खर्च गरेरै भए पनि वाहवाही पाउने र ‘भाइरल’ हुने प्रवृत्ति बढ्दै गएको छ । सिर्जना हुनु राम्रो कुरा हो तर अलिकति अध्ययन साधना र चिन्तन गरेपछिको लेखन दिगो कालजयी बन्न सक्छ भने रहर र हतारको वाहवाही दिगो नहुन सक्छ । पचासौँ वर्ष साधना गरेका साहित्यकारहरुबाट यही कुरा सिक्न सकिन्छ । सिर्जनामा गुदी र गिदी प्रतिविम्बित हुनु पर्छ ।
वर्तमान कविता, कथा लेखनको समग्र प्रवृत्तिलाई कसरी हेरिरहनु भएको छ ?
इन्दिरा : वर्तमान समय साहित्यका विविध विधाको उर्वर समयको रुपमा देखिएको छ । विशेष गरी कोरोनाकाल पछाडि साहित्यवृत्तले थुप्रै स्रष्टा र कृतिहरु पाएको छ । कविताका थुप्रै स–साना रुपहरु समेत जन्मेका छन् र हुर्किदै बढ्दै छन् । आख्यान विधाका कथा लेखनमा लामा कथा मात्र होइन लघुकथा पनि अझ सशक्त बन्दै गएको छ । सैद्धान्तिक बहस र छलफल पनि चलिरहेको छ । नयाँ नयाँ प्रयोगहरु पनि भैरहेका छन् । सिद्धान्त परिमार्जनको आवश्यकता समेत महसूस गर्न थालिएको छ ।
कविता र कथामा तात्विक भिन्नता के कस्ता हुन्छन् ? केही खुलाई दिनुहुन्छ कि ?
इन्दिरा : कविता अनुभूतिको भावपूर्ण एवं लयात्मक अभिव्यक्ति हो । जसलाई विम्ब प्रतीक रस र अङ्कार आदिले आभूषित गरिन्छ । कविताका लघुतम, लघु, मध्यम र बृहत् चारओटा रूपको प्रयोग भएको पाइन्छ ।
लघुकथाभन्दा ठूलो र उपन्यासभन्दा सानो आख्यानात्मक रचनालाई कथा भनिन्छ । जो विश्वमै लोकप्रिय विधा पनि हो । आख्यानका लघुतम, लघु र बृहत् तीनओटा रूपमध्येमा कथा लघु संरचनामा पर्दछ । कविता विचारप्रधान या भावमय हुन्छ भने कथामा घटनाको प्रधानता हुन्छ ।
अहिले लेखिएका/छापिएका लघुकथाहरूको कमजोर पक्ष ? अथवा लघुकथाका चुनौतीहरू के–के होलान् जस्तो लाग्छ ?
इन्दिरा : लघुकथालाई लघुकथाको सिद्धान्त र मर्म अनुरुप बनाउनु नै चुनौतिपूर्ण देखिन्छ । लघुकथा लेखन र कृति प्रकाशनमा २/४ वर्ष यता बाढी नै आएको छ । बाढीमा मोती खोज्नु पर्ने अवस्था छ । यो बाढी सङ्ग्लिन समय लाग्छ नै । आफूखुसीका रचना गर्ने र लघुकथा भनेर प्रेषित गर्ने मात्र होइन अनलाइन साथै छापा पत्रिकामा प्रकाशित समेत हुने गरेका छन् । धेरै त छोटा कथा या कुनै चुट्किला पनि भएका छन् । यो आफैँमा अनुशासित हुनुपर्ने विषय हो तर अध्ययन र साधनाबिना नै लेख्ने र विभिन्न तरिकाले ‘भाइरल’ हुने प्रवृति पनि मौलाउँदै गएको छ । यसले सिर्जनाको सही गुणस्तर कायम राख्न चुनौति बढाएको छ ।
विश्व साहित्यको बजारसम्म नेपाली लघुकथालाई पुर्याउन के गर्न सकिएला ?
इन्दिरा : यसमा मुख्यत दुईवटा काम गर्नु पर्ने देखिन्छ । पहिले त विज्ञहरुको एक समुहले राम्रा लघुकथाहरु छनौट गर्नु पर्छ र हिन्दी अङ्ग्रेजी साथै अन्य भाषामा अनुवाद गरेर प्रकाशन गर्नु पर्छ । ती कृति विभिन्न साहित्यिक संस्था मार्फत् व्यापक प्रचार प्रसार गर्नु पर्छ । दोस्रो कुरा चाहिँ विभिन्न देशका विभिन्न संस्था र विदेशका विभिन्न संस्थाबीच सहकार्य गरेर कहिले विदेशका कार्यक्रममा सहभागी हुने त कहिले स्वदेशमा कार्यक्रम आयोजना गरी विश्व साहित्य बजारमा प्रचारप्रसार गर्ने गर्न सकिन्छ । केही सर्जक र केही संस्थाहरु यसमा लागिरहेका पनि छन् ।
पाठक शुभचिन्तकहरूलाई अब आउन लागेको नया“ कोसेली कृति केही छन् ?
इन्दिरा : हजुर, सम्भवतः अब दोस्रो लघुकथा कृति नै पाठकलाई कोसेलीको रुपमा आउँदैछ ।
साहित्यको कुन विधा यहाँलाई प्रिय लाग्छ अथवा पाठकले आफूलाई को हुँ भनेर बुझिदिए हुने थियो जस्तो लागेको छ ?
इन्दिरा : साहित्यका सबै विधा मन पर्छ र सकेसम्म पढ्ने गर्छु । कविता सबैभन्दा प्रिय लाग्छ । बेलाबखत लेख्छु र प्रकाशित पनि भैरहेका छन् यद्यपि प्रकाशनमा चाहिँ लघुकथा कृतिले उछिनेको छ । अहिलेलाई ‘साहित्यानुरागी’ भनेर मात्र चिन्दा नै पर्याप्त होला किन भने साहित्यिक पहिचान बनाउन धेरै बाँकी छ ।
अन्तमा लघुकथा क्षेत्रमा आएका नयाँ सर्जकहरूलाई के सुझाव दिनुहुन्छ ?
इन्दिरा : विभिन्न मुहारिका पृष्ठले चलाएका प्रशिक्षण, समीक्षा कार्यक्रममा सहभागी हुनुहोस् । सिद्धान्त सुन्दैमा नडराउनुहोस् । सिद्धान्त भनेको बन्धन होइन केवल मार्गदर्शन हो, जसले लेखनमा सहजता ल्याउँछ न कि ब्यवधान । लघुकथा लेख्दा एक स्थान एक समय र एक घटनाको परिपालना गर्नुहोस् र विपरित भावमा समापन या समापनमा झड्का दिन नछोड्नुहोस् । किन भने आख्यानका अरु विधा उपन्यास या कथा या नाटक जस्ता विधाबाट लघुकथालाई पृथक गराउने न्युनतम तत्वहरु हुन् । बिस्तारै विम्ब, प्रतीक, स्वैरकल्पना, द्वन्द्व र व्यङ्ग्य समावेश गरेर कालजयी लघुकथा लेख्नुहोस् । यसका लागि अध्ययन, साधना र समर्पण मूलमन्त्र हुनु पर्छ ।
जीवित राख्नका लागि तपाईंको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

No comments:
Post a Comment