उसले सोची । महिलाहरूको जीवन जहाँ तहीँ असुरक्षित छ । पाइला पाइलामा जोगिनु पर्छ । जोगिन नसके समाज आफै कुरा काट्न सुरु गर्छ । बरु मन मिल्ने/पढालिखा/समझदार अनि सुन्दर केटो पाए बिहे गर्न हुन्थ्यो । उसले मनमनै सोच्न थालेकी थिई ।
उसले विवाहका बारेमा सोच्न थालेकी मात्रै के थिई । नभन्दै सुन्दर, खाइलाग्दो र आकर्षक जीउडाल भएको केटा घरैमा मगनी गर्न आयो । बाबा आमासँग कुरा चल्यो ।
छोरीको के विचार छ । सोध्ने कुरा भयो । आमाले छोरीको कोठामा गएर छोरीलाई सोधपुछ गरिन्– “छोरी, तिमीलाई माग्न कुलघरानाको सुन्दर केटा आएको छ । के छ तिम्रो विचार ?
छोरी निकैबेर नबोली निहुरेर बसिरही । आमाले पुनः सोध्नुभयो– “भन न के छ विचार ? हामीलाई त केटा मन परेको छ । आखिर कसै न कसैसँग विवाह गर्नै पर्छ ।’’
उसले मौन स्वीकृति जनाई ।
त्यही केटासँग उसको विवाह भयो । जीवन फरक ढङ्गमा चल्न थाल्यो । सोची– विवाह हाम्रा लागि एक हिसाबले सुरक्षित हुनेरहेछ । सुरु सुरुमा त उसलाई विवाह सुरक्षित विधि रहेछ भन्ने नै लाग्यो ।
– प्रेमपत्र थमाउनेहरू टाढा भए ।
– अफिसमा हाकिमको नियत बद्लियो ।
– घाँस–दाउरा जाँदा मानसिक हैरानी घट्यो
– बजार जाँदा अल्लारेहरूले सिठ्ठी बजाउन र बाटो छेक्न छोडे ।
– बुढा भिनाजुहरूको भद्दा हाउभाउ हरायो ।
बस्, सबै कुरा ढुक्क भयो ।
विवाहले धेरै कुराको सकसबाट मुक्ति दिलायो । यतिबेला केवल एउटै कुराबाट मुक्त हुन सकिन ।
– त्यो हो श्रीमान्को अघोषित ’सकस’ ।
अचेल ऊ चुपचाप श्रीमान्को अघोषित सकसमा हुन्छे । सायद यो सकसबाट उम्कने विधि ऊसँग छैन ।
- बौद्ध कुमारीगाल काठमाडौँ
No comments:
Post a Comment