Pages

Sunday, August 10, 2025

लघुकथा (अङ्क २६ मा प्रकाशित)


–  विवेकले कलेज जाँदा बाटो ढुकेर हातैमा प्रेमपत्र थमायो ।
– अफिसमा हाकिमले कैले अनावश्यक धाप मार्ने वा शरीरका अङ्गहरूमा छुने प्रयत्न गर्दथ्यो ।
– घाँस दाउरा गर्न गयो । साइँलाले के–के, के–के…. भनेर हैरान गर्थ्यो ।
– बजार हिंड्यो । अल्लारेहरूले जिभ्रो पट्काएर र बाटो छेकेर हैरान पार्ने ।
– बुढा भिनाजुहरू आउँथे । छिल्लिएर जोगिनै गाह्रो हुने ।

उसले सोची । महिलाहरूको जीवन जहाँ तहीँ असुरक्षित छ । पाइला पाइलामा जोगिनु पर्छ । जोगिन नसके समाज आफै कुरा काट्न सुरु गर्छ । बरु मन मिल्ने/पढालिखा/समझदार अनि सुन्दर केटो पाए बिहे गर्न हुन्थ्यो । उसले मनमनै सोच्न थालेकी थिई ।

उसले विवाहका बारेमा सोच्न थालेकी मात्रै के थिई । नभन्दै सुन्दर, खाइलाग्दो र आकर्षक जीउडाल भएको केटा घरैमा मगनी गर्न आयो । बाबा आमासँग कुरा चल्यो ।

छोरीको के विचार छ । सोध्ने कुरा भयो । आमाले छोरीको कोठामा गएर छोरीलाई सोधपुछ गरिन्– “छोरी, तिमीलाई माग्न कुलघरानाको सुन्दर केटा आएको छ । के छ तिम्रो विचार ? 

छोरी निकैबेर नबोली निहुरेर बसिरही । आमाले पुनः सोध्नुभयो– “भन न के छ विचार ? हामीलाई त केटा मन परेको छ । आखिर कसै न कसैसँग विवाह गर्नै पर्छ ।’’

उसले मौन स्वीकृति जनाई । 

त्यही केटासँग उसको विवाह भयो । जीवन फरक ढङ्गमा चल्न थाल्यो । सोची– विवाह हाम्रा लागि एक हिसाबले सुरक्षित हुनेरहेछ । सुरु सुरुमा त उसलाई विवाह सुरक्षित विधि रहेछ भन्ने नै लाग्यो ।

– प्रेमपत्र थमाउनेहरू टाढा भए ।
– अफिसमा हाकिमको नियत बद्लियो ।
– घाँस–दाउरा जाँदा मानसिक हैरानी घट्यो
– बजार जाँदा अल्लारेहरूले सिठ्ठी बजाउन र बाटो छेक्न छोडे ।
– बुढा भिनाजुहरूको भद्दा हाउभाउ हरायो ।
बस्, सबै कुरा ढुक्क भयो । 

विवाहले धेरै कुराको सकसबाट मुक्ति दिलायो । यतिबेला केवल एउटै कुराबाट मुक्त हुन सकिन ।
– त्यो हो श्रीमान्‌को अघोषित ’सकस’  । 

अचेल ऊ चुपचाप श्रीमान्‌को अघोषित सकसमा हुन्छे । सायद यो सकसबाट उम्कने विधि ऊसँग छैन ।

- बौद्ध कुमारीगाल काठमाडौँ

..............................................................................‍
..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

No comments:

Post a Comment