Sunday, August 10, 2025

लघुकथा (अङ्क २६ मा प्रकाशित)


छोरा रमेश भर्खरै कृषिमा स्नात्तकोत्तर गरेर गाउँ आएपछि बुबा धनवीरको फुरफुर निकै बढेको थियो । गाउँमा सबैले उसलाई भन्थे अब त तेरो छोरोले गाउँमा काम लाग्ने पढेछ । गाउँमा हाम्रो लागि पनि राम्रो हुने भयो । 

असार लागिसकेको थियो । गाउँमा रोपाइँको चटारो थियो । मकै गोड्ने हतारो थियो । । रमेश भने छ्या यो हिलो फोहर खेल्नु पर्ने बेला । गाउँले जीवन दुखी जीवन । गाउँ, यो कृषि पेशा भन्यो कि वाक्क लागेर आउँछ भन्दै ऊ सहर फर्कियो ।

सहरमा उसले एन.जि.ओ.मा कृषिको तालिम दिने विज्ञ भएर टन्नै पैसा कमाएछ । घडेरी पनि जोडेछ । एकदिन फेरि रमेश गाउँमा टुप्लुक्क आइपुग्यो । उसले धनवीरलाई भन्यो बुबा मैले सहरमा घडेरी किनेको छु । अब यताको जायजेथा सबै बेचेर उतै घर बनाउनुपर्छ हिड्नुहोस् उतै । उसै पनि धनवीरलाई छोरासित रीस उठिराखेको नै थियो । अहिले झन छोराको कुराले उसको रीस ह्वात्तै बढेको थियो । 

उसले छोरालाई भन्यो तँ किसानको छोरा भएर किसान हुँ भन्न लाज मान्छस् । तँ सहरका डलर खाने ठूला  कृषिविज्ञ । गाउँमा खेतबारी काम गर्नु त के देखे पनि तँलाई एलर्जी हुन्छ । अब के म  तेरो सहरमा घर बनाउन मेरा सुनजस्ता अन्न फल्ने जेथा बेचौ । अनि तेरो सहरमा गएर कागजमा अन्न फलाउँ । अनि तँ पनि त्यहि कागजमा तालिम सिकाएर ठूला मान्छे बन्नु हुन्न । बाउका यस्ता व्यङ्गवाण सुनेपछि ऊ लुत्रुक्क सहर फर्कियो । यस्ता ठूला कृषिविज्ञ भनेका छन् । सहरबाट गाउँ खेतबारी पस्न मान्दैनन् अनि सुधार हुन्छ हाम्रो देशको कृषिको अवस्था । धनवीरले छोरालाई हेर्दै फतफतायो । तर रमेशले बाउका कुरा सुन्दै नसुनि आफ्ना  पाइला सहरतिर लम्काइरह्यो । 

- दक्षिणकाली

..............................................................................‍
..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

No comments:

Post a Comment