Wednesday, November 26, 2025

लघुकथा (अङ्क २९ मा प्रकाशित)


'हामी जनताका माग लिएर सडकमा आएका हौँ । राज्यले हामीलाई कमजोर ठान्ने धृष्टता नगरोस् । यदि हामी युवा एकजुट भयौँ भने यहाँ आँधीबेहेरी आउन सक्छ । यो सत्ता ढाल्न हामीलाई क्षणभर पनि लाग्दैन ।’

ताली परर छुट्छ । सबैले नेताजीका कुरालाई सहमति जनाउँछन् । उनमा झन् जोस बढ्छ । जाँगर थपिन्छ । उनी पोडियम छोडेर स्टेजमै निस्कन्छन् र आफ्ना भनाइलाई निरन्तरता दिन्छन् । क्रान्तिकारी युवा नेताको छवि बनाएका उनी झन्‌झन् ठुलो आवाजमा बोलिरहेका हुन्छन् ।

’तपाईँहरू ढुक्क हुनुहोस्, हामी कुनै पनि हालतमा सम्झौता गर्दैनौँ । मागहरू यथावत नै छन् । जनताका माग पूरा नभएसम्म हाम्रो आन्दोलन जारी रहन्छ ।’ 

उनी बोलिरहेका थिए । एकपछि अर्को गर्दै हुटिङ आइरहेको थियो । नेताजी बोल्दै गर्दा उनको मोबाइल बज्छ । मोबाइलमा पिलिक्क हेर्छन् र उनी हतार हतार गरेर आफ्नो भाषण टुङ्ग्याउँछन् । भाषण टुङ्गिनासाथ उनी त्यहाँबाट निस्कन्छन् । उनी निस्केको केही घण्टामै सरकार परिवर्तन हुन्छ । उनी युवा तथा खेलकुद मन्त्रीमा नियुक्त भएको खबर आउँछ । आन्दोलन रोकिन्छ । देशैभरिका मिडियामा समाचार आउँछ । समाचारको हेडलाइन हुन्छ ॅचट्टानी अडान : राज्यले अडान भएको एक जना इमानदार युवा नेता पाएको छ’ ।

..............................................................................‍
..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

No comments:

Post a Comment