Wednesday, November 26, 2025

लघुकथा (अङ्क २९ मा प्रकाशित)



 सामाजिक सञ्जालको “मेसेन्जर बक्स“ मा एउटा लामो पत्र आएको देखेपछि उसले पत्र पढ्न थाली । पत्रको व्यहोरा यस्तो थियोे –

प्रिय, 

म तिमीलाई निकै माया गर्छु । मेरोजस्तो माया संसारमा आजसम्म तिमीलाई कसैले गरेकोे छैन । अरूहरूले जस्तै म भन्दिन कि तिमीलाई मुटुभित्र र आँखामा राख्छु । तिम्रो निम्ति जून तारा टिपेर ल्याइदिन्छु । त्यसो भन्नु भनेको सरासर झूटो बोल्नु हो । किनभने त्यस्तो हुनै सक्दैन । ती कुरा केवल तिमीलाई फकाउने तरिका मात्रै हुन् । आजसम्म न कसैले त्यसो गरेका छन् न त गर्न नै सक्छन् । तिमी नै भन के त्यो संभव छ ? 

प्रिय, बरू म तिमीलाई मैले गर्न सक्ने वचन दिन्छु । म तिमीलाई सुनको दरबारको नवरत्नहरू जडेको सिसैसिसाको कोठामा राख्छु । त्यो त्यस्तो कोठा जहाँ दिन र रातमा सँधै जूनको उज्यालो हुन्छ । तिमी भन्छ्यौ भने रानीमहल त्यही सुनको दरबारको आँगनमा ल्याइदिन्छु र ताजमहल तिम्रो त्यही कोठामा राखिदिन्छु । तिमी मेरो माया स्वीकार मात्रै गरिदेऊ । बस् ।

यस्तो प्रकारको पत्र पढेर ऊ छक्क परी । उसले यस्तो प्रकारको वहुलठ्ठी पत्र लेख्ने को रहेछ भनेर उसको प्रोफाइल खोलेर विवरण हेरी । तर त्यहाँ सबै खाली थियो । 

त्यसपछि उसले एउटा प्रश्न लेखेर पठाई – चिन्नु न जान्नु मलाई यस्तो चिठी लेख्ने को पागल हो?

उसको यस प्रश्नको जवाफ पनि तुरुन्तै आयो  –“प्रिय, म पागल होइन, म त तिम्रो अत्याधुनिक “एआई प्रेमी“ हूँ जसले कहिले धोका दिँदैन ।

..............................................................................‍
..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

No comments:

Post a Comment