नेपाली लघुकथामा आधुनिक सभ्यता एवम् जीवनशैलीको अध्ययन गरिएको छ । नेपाली लघुकथामा समाजमा आधुनिक सभ्यता एवम् जीवनशैलीले मानिसको जीवनशैली एवम् उसको सोचमा व्यापक परिवर्तन ल्याउने भाव व्यक्त भएको छ । यस अध्ययनमा नेपाली समाजमा परिवर्तनमुखी चेतना र परिवर्तनका नामका आएका विभिन्न विचार, दृष्टिकोण एवम् क्रियाकलापले पारेको प्रभावको अध्ययन गरिएको छ । यस अध्ययनमा नारी–पुरूष सम्बन्धको प्रस्तुति, पुस्तागत सम्बन्धमा आएका उतारचढावको अभिव्यक्ति, अस्वाभाविक जीवनशैली एवम् असामान्य क्रियाकलापजन्य क्रियाकलापलाई प्रस्तुत गरिएको छ ।
नारी–पुरुष सम्बन्धको प्रस्तुति
नेपाली लघुकथामा आधुनिक सभ्यता एवम् जीवनशैलीको अध्ययनका क्रममा नारी–पुरुषबिचको सम्बन्धलाई प्रस्तुत गरिएको छ । यी लघुकथामा समाजमा उत्पन्न हुने विविध विचार एवम् जीवनशैलीको प्रभावले मानिसहरूको आपसी सम्बन्धलाई प्रभावित तुल्याएको विचार व्यक्त भएको छ । आजको दिनमा सूचना प्रविधिले मानिसले एकआपसमा जोडेको, प्रविधिको सही उपयोग हुन नसक्दा मानव जीवन सङ्कटमा परेको घटना प्रस्तुत गरिएको छ । नेपाली समाजमा बढ्दो सहरीकरण, सामुहिक परिवारको विघटन र उपभोक्तावादको प्रभावसँग मानिसहरू एकल परिवार समूहमा आबद्ध हुन थालेको विषय सन्दर्भलाई लघुकथा निर्माणको कथ्य सन्दर्भका रूपमा प्रस्तुत गरिएको पाइन्छ। नेपाली लघुकथामा आजको आधुनिक पुस्ता मानवीय संवेदनाभन्दा पनि व्यक्तिगत स्वार्थ एवम् महत्वकाङ्क्षमा रुमल्लिने गरेको, पुस्ताहरूबिचको अन्तर्सम्बन्धमा चिसोपना आएको, पति–पत्नी, आमाबाबु एवम् छोराछोराबिचको सम्बन्ध यान्त्रिकताले जड बनाएको घटनालाई विषयवस्तु बनाएको देखिन्छ । यस अध्ययनमा नारी–पुरुष सम्बन्धमा आधारित गोपाल ढकालको साहसिक कदम, देवेन्द्र अर्याल ’आँसु’ को अग्निपरीक्षा, आर. आर. चौलागाईको ऊ अझै फर्केन, मणिकुमार पोखरेलको परिचय, श्रीओम श्रेष्ठ ’रोदन’ को तृष्णा एवम् रवीन्द्र तिमसेनाको अचम्म लघुकथालाई विश्लेषण गरिएको छ :
(क) “म टेष्टट्युब प्रविधिको सहायताबाट गर्भवती भएकी हुँ“ रमिलाले तेस्रोपटक मुख खोली…. सबै भद्र भलादमीहरू जर्याकजुरुक गरेर हिंडे । कचहरी त्यतिकै सकियो । उता गाउँका मुखिया भने नारीवादी महिला नेतृको साहसको प्रशंसा गर्दै भन्दै थिए, “तिमीले त मलाई कत्रो सङ्कटबाट बचायौ, नानी“ (ढकाल. २०६२ : १३) ।
यस अंशमा अनैतिक सम्बन्धबाट गर्भवती भएकी महिलाले टेष्टटयुब प्रविधिको सहायताबाट गर्भवती भएको विचार व्यक्त गरेकी छिन् । लघुकथामा गाउँको मुखिया र गाउँकी आधुनिक जीवनशैली एवम् फेसनको प्रभावमा बाँचेकी महिलाको संसर्गपछि महिला गर्भवती भएको घटनालाई ढाकछोप गरिएको छ । यहाँ उक्त महिलालाई ’नारीवादी महिला’ भनिएको र मुखियाले महिलाको साहसको प्रशंसा गरेर आफूलाई सङ्कटबाट बचाएको अभिव्यक्ति दिएको छ ।
(ख) विदेशमा काम गर्न गएका एक हुल रामहरू स्वदेश फर्किए । उनीहरूले सीताको सतीत्वमाथि शङ्का गरी अग्निपरीक्षा दिनुपर्ने प्रस्ताव राखे । जब यो कुरा महिला समूहमा पुग्यो, तब जोडतोडका साथ उनीहरूले “अब सीताहरूले होइन, अग्निपरीक्षा दिने पालो रामहरूको हो” भन्ने निर्णय गरे… रगत परीक्षणमा सम्पूर्ण रामहरू ’एच.आइ.भी. पोजेटिभ देखिए । तब सीताहरूले रामहरू अग्निपरीक्षामा सफल हुन नसकेको र उनीहरूलाई त्यागिएको घोषणा गरे (अर्याल आँसु २०६६ ५३) ।
यस अंशमा विदेशमा रोजगारका लागि गएका युवाले असुरक्षित यौन व्यवहार गरेको, विदेशमा गएर आफूले जथाभावी गरेको तर स्वदेश आएर आफ्ना पत्नीमाथि शङ्का गरेर मेडिकल जाँच गराउन खोजेको घटनालाई प्रस्तुत गरिएको छ । यहाँ महिलाहरूले विदेश गएका ती पुरmष वर्गको जाँच गराउँदा उनीहरूमा एच. आइ. भी. पोजेटिभ लागेको यथार्थ घटनालाई अभिव्यक्त गरिएको छ । यस रचनामा पुरुष वर्गको अनावश्यक शङ्कालु प्रवृत्ति एवम् छाडा कार्यप्रति व्यङ्ग्य गरिएको छ ।
(ग) अमर र सुधाको योजना मुताबिक उनीहरू अदालतमा गएर सम्बन्धविच्छेदको नाटक गर्छन् र छुट्टिन्छन् । अमर कुइरिनीसँग विवाह गर्दछ । ऊ एकचोटी सुधा र कलिला छोराछोरीसँग सुटुक्क भेट्छ र एयरपोर्टबाट अमेरिका उड्छ….. बिस्तारै दश वर्ष र बीस वर्ष पनि बित्छ…. छोरो विवाह भएपछि अन्तै घरजम गरेर बस्छ । छोरी पनि विवाह गरेर जान्छे । सुधा बुढी हुन्छे, ….अमर अझै फर्कदैन (चौलागाई. २०६५ : ४९–५०) ।
यस अंशमा वैदेशिक रोजगारमा जान एवम् धन कमाउनका लागि गरिएका गलत कर्मले उत्पन्न पीडाबोधलाई प्रस्तुत गरिएको छ । आर्थिक लोभमा परेर श्रीमान्सँग सम्बन्धविच्छेद गर्नु, श्रीमान्ले विदेशी महिलासँग विवाह गर्नु, श्रीमान्ले विदेश गएर नफर्कनु आदि घटनाका माध्यमबाट लोभले लाभ, लाभले विलाप उत्पन्न गराएको छ । यहाँ आफ्नो व्यक्तिगत लाभका लागि श्रीमतीलाई धोका दिई विदेशमा गएर कुइरिनी विवाह गर्ने श्रीमान् पात्रको धोकेवाज चरित्रलाई देखाइएको छ । लघुकथामा आपसी प्रेमपूर्ण सम्बन्धभन्दा धनप्राप्तिलाई बढी महत्व दिने आधुनिक श्रीमान्–श्रीमतीको क्रियाकलापलाई प्रस्तुत गरिएको छ ।
(घ) छोरीले परिचय दिइन् उहाँ मसँग कलेजमा पढ्ने साथीं…. दोस्रोपटक आउँदा छोरीले थप जानकारी दिँदै भनिन्…. अब उहाँ तपाईंहरूको धर्मछोरो…. तेस्रोपटक पनि सोही युवकलाई लिएर छोरी आइन् उनको सिउँदोमा सिन्दुर देखेर आमाबाबुले झस्किदै उत्सुकतापूर्वक छोरीको मुखमा हेरे… राताराता गाला पारेर खुट्टाको बुढीऔंलाले भुई कोट्याउँदै छोरीले भनिन्, उहाँ हजुरहरूको… हामीले… मन्दिरमा… विवाह गरौँ । बुढाबुढी जिल्ल परे (पोखरेल. २०६९ : १४) ।
यस अंशमा छोरीले आमाबाबुलाई छलेर आफ्नो जीवनसाथी चयन गरेकी छ । प्रारम्भमा दिएको परिचय र पछि दिएको परिचयमा भिन्नता भएका कारण आमाबाबु आश्चर्यमा पर्दछन् । यहाँ युवायुवतीले सामाजिक सम्बन्धको अपमान गरेर नयाँ जीवन प्रारम्भ गरेका छन् । यस रचनामा आधुनिक सभ्यताका नाममा गलत क्रियाकलाप गर्ने नवपुस्ताको क्रियाकलापलाई प्रस्तुत गरिएको छ ।
(ङ) अर्को हप्ता मैना अफिस आइपुगिन् । उनी पहिलेभन्दा राम्री, उज्याली र सन्तुष्ट देखिन्थिन् । सबैजना उनको वरिपरि झुम्मिए । उनले अलिकति पनि धक नमानेर भनिन्– “म त अर्कै घर हिंडें नि ! घरमा रातिको ड्युटी गर्ने एकजना दाइ हुनुहुन्थ्यो, उहाँसँगै गएँ । के गर्ने ? घरमा लोग्नेसँग भेट हुन गाह्रो, यहाँ तपाईंहरू जहिले पनि कुरै मात्र गर्ने । यसरी कति दिन बांच्ने ?“ (श्रेष्ठ, २०६७ : २२) ।
यस अंशमा एक महिलाले यौन आवश्यकता पूरा गर्न पहिलेको श्रीमान् छोडेर घरको पालेसँग पोइल गएको घटनालाई प्रस्तुत गरिएको छ । यहाँ अति कामुक महिलाको यौनजन्य गतिविधिलाई व्यक्त गरिएको छ ।
महिलाले कार्यालयमा पनि असामान्य व्यवहार गर्ने र पुरुषहरू पनि उनीप्रति झुम्मिने गरेपनि घरको सुरक्षा गर्ने पालेलाई आफ्नो सुरक्षित गन्तव्य ठानेको घटनालाई प्रस्तुत गरिएको छ । यहाँ महिलाको यौनजन्य आवेगले सामाजिक मर्यादाको ख्याल नगरेको र छाडा भएको स्थितिलाई प्रस्तुत गरिएको छ । लघुकथा अंशमा महिलाको असामान्य मनोदशाले उत्पन्न गरेको विकृत चेतनालाई प्रस्तुत गरिएको छ ।
(च) सहकर्मीहरू विकास र कमलाको सम्बन्धलाई देख्दा पौराणिककालका दाजुबहिनी यमराज र यमुनालाई सम्झिन्थे… अचम्मको कुरा के छ भने उनीहरूले जन्माएको बच्चाले फुपू र मामाभन्दा पहिला आमबच्चाहरूले जसरी नै मामु र पापा भन्न सिक्यो (तिमसेना. २०७६. ४१) ।
यस अंशमा पहिला दाजु र बहिनीको नाता लगाएर समाजमा चिनिने पछि श्रीमान्–श्रीमती बन्न पुगेका पात्रका गतिविधिलाई प्रस्तुत गरिएको छ । लघुकथामा समाजमा अवाञ्छित सम्बन्ध राख्ने पात्रका क्रियाकलापप्रति व्यङ्ग्य गरिएको छ ।
पुस्तागत सम्बन्धमा आएका उतारचढावको अभिव्यक्ति
नेपाली लघुकथामा पुस्तागत सम्बन्धमा आएको उतारचढावलाई अध्ययनको विषय बनाइएको पाइन्छ । यी लघुकथामा वर्तमानमा सम्पत्ति एवम् ओहोदाको प्राप्तिसँगै पुरानो पुस्ताको अवमूल्यन एवम् व्यक्तिगत मोजमस्तीपूर्ण जीवनको खोजतर्फ नवपुस्ता दौडिरहेको सन्दर्भ प्रस्तुत गरिएको छ । यस अध्ययनमा पुस्तागत सम्बन्धमा आएका उतारचढावसँग सम्बन्धित गोरखबहादुर सिंहको आधुनिक विचार, सिन्धु गौतमको विडम्बना, सुमन सौरभको अप्रासङ्गगिक, किशोर पहाडीको अर्धसत्य, मणिकुमार पोखरेलको रहस्य, सत्या अधिकारीको भोक एवम् विश्वनाथ खनालको भाडाको छोरा लघुकथालाई प्रस्तुत गरिएको छ :
(क) मिठाराम वृद्धाश्रममा प्रवेश गरेको अर्को दिन उसको डाक्टर छोराले छिमेकीसँग सगर्व फूर्ति छाट्यो, “हाम्रो बुबा त साह्रै आधुनिक मान्छे, छोरा बुहारीलाई किन झन्झट दिनु भनेर उहाँ हिजै रामानन्द वृद्धाश्रममा जानु भयो ।’’ मिठारामको आधुनिक विचार टोल छिमेक छिचोल्दै रफ्तार विस्तारित हुँदै गयो (सिंह. २०६५ : ९) ।
यस अंशमा वृद्धाश्रम गएका बुबाका सन्दर्भमा छोराले गरेको टिप्पणीलाई प्रस्तुत गरिएको छ । लघुकथामा आधुनिक समाजमा मानवीय मूल्यको गिरावट र मानिसको आडम्बरपूर्ण जीवनशैलीलाई प्रस्तुत गरिएको छ । यहाँ छोरा पात्रले आफ्ना बाबुलाई वृद्धाश्रम पठाएर समाजमा आफू असल देखिन खोजेको छ । लघुकथामा पुरानो पुस्ताप्रति असहिष्णु नयाँ पुस्ताको कार्यको आलोचना गरिएको छ ।
(ख) तीन वर्षअघि आश्रममा झुक्याएर छोडेकी आमालाई सम्झियो र हान्नियो आश्रमतिर । फलफूल र मिठाई लगेर छोडिदियो आश्रममा । ऊ जाने आँट गरेन आमाछेउ । टाढैबाट देख्यो…. तप्प आँसु झार्यो…। तर उसलाई थाहा छैन, आज त त्यो मिठाई, फलफूल खान्छिन् तर भोलि उसकी आमा भोकै हुन्छिन् भनेर… (गौतम. २०६८ : २३) ।
यस अंशमा छोरा पात्रको दोहरो चरित्र देखिन्छ । लघुकथामा छोराले एकातिर आमालाई वृद्धाश्रम पनि पठाउँछ भने अर्कोतिर आमाको सम्झना पनि गर्दछ । नेपाली समाजमा मानवीय मूल्यको गिरावट र व्यक्तिगत स्वार्थमुखी क्रियाकलाप बढ्दै गइरहेको छ । यसै सन्दर्भमा छोरा पात्रले आजको स्वार्थी संसारको चेतनाको प्रतिनिधित्व गरेको छ । छोराले एकातिर आफ्नो स्वार्थका कारण आमालाई वृद्धाश्रम पठाएको छ भने अर्कातिर आमाको माया लागेर फलफूल र मिठाइ लगेर आश्रममा पनि छोडेर आएको छ । लघुकथामा एकातिर आमालाई माया गर्ने अर्कोतिर आमालाई वृद्धाश्रम छोड्ने छोराको क्रियाकलापलाई प्रस्तुत गरिएको छ ।
(ग) छोरी आमासँग कुन्नि के कुरामा झगडा गर्दै थिई र उसकै बारेमा नानाथरी फलाक्दै थिई । ऊ डायरी लुकाएको लुकायै फर्कियो । छोरी कराएको सुनिंदै थियो– “भो, भो आमा हाम्रा बाउ अब अप्रासङ्गिक भइसकेका छन् । उनको कुराको पछि लागेर के काम । उनको असफलताको मात्र कुरा गर्ने हो भने आधा दर्जन कारण म अहिले गनिदिन्छु’’ (सौरभ. २०६८ : २६) ।
यस अंशमा दुई भिन्न पुस्ताविचको सम्बन्धलाई प्रस्तुत गरिएको छ । नवपुस्ताले पुरानो पुस्तालाई सारहीन ठानेको छ । लघुकथामा व्याको हृदयमा छोरीप्रति अपार ममता भए पनि उसले छोरीलाई सही किसिमले सम्झाउन सकेको पाइँदैन । वर्तमानमा नवप्रस्ताले देखासिकीमा विश्वास गरेको, विगतका उपलब्धिप्रति वेवास्ता गरेको एवम् तत्कालको लाभ मात्र हेरेको पाइन्छ । यहाँ छोरीको बुबाप्रतिको कमजोर सोचाइका कारण उनीहरूको सम्बन्ध तनावपूर्ण हुने देखिन्छ । यस रचनामा पुस्तान्तरणका समस्या एवम् वर्तमान पुस्ताको स्वार्थी प्रवृत्तिलाई अघि सारिएको छ ।
(घ) त्यो मान्छेले रुँलाझैं अभिनय गर्यो– “मेरी आमा बिरामी हुनुहुन्छ । उहाँलाई दुध लग्न लागेको ।’’ गोविन्दले झन् तान्यो । उसलाई र भन्यो–’फटाहा कुरा नगर, साले ! हामीलाई थाहा छ, अचेल आफ्नी आमाको निमित्त कसैले पनि त्यति धेरै सेवा गर्दैनन् । स्वास्नीलाई भन् न बरु पत्याउँछु’’ (पहाडी २०५३ : ८) ।
यस अंशमा आजको युगमा नवपुस्ता पुरानो पुस्ताप्रति सहिष्णु हुने कुरा पत्याउन नसकिने भाव व्यक्त भएको छ । लघुकथामा आजको युगमा मानिसले आमाभन्दा श्रीमतीलाई धेरै प्राथमिकता दिने र उनको सेवा चाकरी गर्नमा लीन हुने कार्यले फरक पुस्ताका विचमा उतारचढाव उत्पन्न हुने विचार व्यक्त गरिएको छ । यहाँ वर्तमानमा मानिसको स्वार्थपरकता एवम् अग्रज पुस्ताको अपहेलना गर्ने प्रवृत्तिप्रति व्यङ्ग्यभाव आएको छ ।
(ङ) अनवरले आत्महत्या गरेको खबरले धेरैलाई आश्चर्यमा पायो…. केही महिनापश्चात् गाउँमा खबर फैलियो, अनवरकी स्वास्नीले छोरो पाई रे…. नवजात शिशुको न्वारन गर्नुपर्ने भएकाले अनवरका बाबुको खोजी गरियो । यसै समयमा गाउँको एउटा केटो खबर लिएर आयो, गाउँ नजिकै रहेको खोलाढिकमा भएको सिमलको रूखमा कसैको लास झुन्डिएको छ… यथार्थमा लास अनबरको बाबु कामदेवको थियो (पोखरेल. २०६९ : २६) ।
यस अंशमा घरपरिवारमा ससुरा बुहारीबिचको अनैतिक सम्बन्धले बाबुछोरा दुवैले आत्महत्या गर्नुपरेको घटना प्रस्तुत गरिएको छ । लघुकथामा नातासम्बन्धको मर्यादा उल्लङ्घन हुँदा परिवारका अविश्वास एवम् आशंका कारण अपराधको जन्म हुने यथार्थलाई व्यक्त गरिएको छ । यस रचनामा सामाजिक मूल्यको उपेक्षाले निम्त्याएको कारुणिकतालाई प्रस्तुत गरिएको छ ।
(च) उनीहरू सबै कोठामा खुरुखुरु छिरे । हामी हतार गरेर खानेकुरा पकाउन जुट्यौं । पाकेपछि खान बोलायौँ । उनीहरूले टसमस गरेनन्…. का बुझ्दा त होस्टेलमा नेट नभएर पो उनीहरू छिटो आएका रहेछन । उनीहरू आउनासाथ छोराले पासवर्ड दिएको रहेछ (अधिकारी २०७८ : ९८) ।
यस अंशमा प्रानो पुस्ताले घरमा छोराका साथी आउँदा खाजा बनाएर खुवाउन खोजेको छ भने नयाँ पुस्ता नेटको चक्करमा लागेको छ । लघुकथामा पुरानो पुस्तामा मानवीय संवेदना पाइन्छ भने नवपुस्ता प्रविधिका नाममा आत्ममुग्ध छ । उसलाई दुनियाँ, संसारको कुनै वास्ता छैन । लघुकथामा भिन्न–भिन्न पुस्ताको चिन्तनगत भिन्नतालाई प्रस्तुत गरिएको छ ।
(छ) सुयशका वा बिते…. बल्ल बल्ल फोन उठायो सुयशले । जवाफमा उसले भनेछ– ’म अहिले आउन अनुकूल छैन । पि.आरको लफडामा छु । पशुपतिमा भाडाका छोरा छ्यासछ्यास्ती पाइन्छन् । तिनैबाट कर्म फुकाउनु’ (खनाल. २०७६ : १५८) ।
यस अंशमा विदेशमा रोजगारका लागि गएको छोराका लागि आफ्ना बाबुको मृत्युप्रति कुनै पनि किसिमको संवेदना पाइँदैन । ऊ जसरी पनि विदेशमा बस्न चाहन्छ । बाबुको किरिया गर्न घर आउँदा आफ्नो अवसर, काम गुम्ने डरले ऊ घर आउन चाहँदैन । उसमा कुनै पनि किसिमको जिम्मेवारीबोध देखिंदैन । आफ्नो जिम्मेवारीबाट पन्छिन उसले भाडाको मानिस खोजेर किरिया गर्न सल्लाह दिएको छ । लघुकथामा नवपुस्ता पदप्रतिष्ठा, स्वार्थका खातिर जुनसुकै स्तरमा पनि गिर्न सक्ने अवस्थालाई प्रस्तुत गरिएको छ ।
नेपाली लघुकथामा आधुनिक सभ्यता एवम् जीवनशैलीलाई प्रस्तुत गर्ने क्रममा पुस्तागत सम्बन्धलाई पनि विषय बनाइको छ । नेपाली लघुकथामा वर्तमानमा मानिसमा हराउँदै गएको संवेदना एवम् व्यक्तिवादले मानिसले आफ्ना आमाबाबुलाई बुढेसकालमा दुःख दिने, सताउने एवम् घरबाट निकाल्ने समेत क्रियाकलाप गरेको यथार्थ अभिव्यञ्जित गरिएको छ । लघुकथा रचनामा समाजमा प्रतिष्ठित पनि हुन चाहने अर्कातिर आमाबाबुप्रति क्रूर व्यवहार गर्ने मानिसको सङ्ख्या बढिरहेको एवम् व्यक्तिगत भोगवादले मानिसमा नैतिक मूल्यको क्षय गरेको यथार्थ अभिव्यञ्जित भएको छ ।
असामान्य जीवनशैली एवम् क्रियाकलापको वर्णन
नेपाली लघुकथामा मानिसका असामान्य जीवनशैली एवम् क्रियाकलापलाई अध्ययन गरिएको पाइन्छ । मानिसले अरूलाई आफूभन्दा विशेष देखाउन जीवनशैली एवम् क्रियाकलापमा असामान्यपना देखाएको पाइन्छ । यसरी जीवनलाई सहज एवम् सामान्य हिसाबले लग्न नसक्दा असन्तुलन उत्पन्न भएर मानिसको जीवन दुर्घटनाग्रस्त हुन पुगेको छ । यस अध्ययनमा महेश प्रसाईंको रूपवती, विमला अधिकारीको यथार्थ, कैलाशकुमार शिवाकोटीको संस्कृति मोह, देवेन्द्र अर्याल ’आँसु’ को चुनौती, हेमलता उप्रेतीको कपल फोटो च्यालेन्ज, सुपमा मानन्धरको तीतोसत्य, प्रोल्लास सिन्धुलीयको स्तर, रन्जुश्री पराजुलीको विकास, रामप्रसाद पन्तको विबरा एवम् हरिगोविन्द भोमीको समय लघुकथाको विश्लेषण गरिएको छ :
(क) “समयको अन्तरालमा रूपवतीको बैंस ढल्किंदै गइरहेको थियो । शृङ्गार पनि अस्वभाविक हुँदै गइरहेको प्रतीत हुन्थ्यो । जता गए पनि रूपवतीकै टीकाटिप्पणी सुनिन्थ्यो । अब समयले रूपवतीसित मुख मोडिसकेको थियो । एकदिन असार संसारको सार नदेखेर रूपवती कृत्रिम बजारबाट हराइन्’’ (प्रसाई. २०६८ : ४) ।
यस अंशमा स्वाभाविक जीवनशैली अंगाल्न नसक्दा एक महिलाको जीवन मूल्यहीन भएको, ठाउँ छोडेर गएको अवस्थालाई प्रस्तुत गरिएको छ । यस रचनामा मानिसको कुनै योग्यता, क्षमताभन्दा पनि सौन्दर्यका आधारमा पाइएको सम्मान टिकाउ हुँदैन भन्ने तथ्य आएको छ ।
(ख) विस्तारै सानातिना काम गर्नेहरूसँगको सङ्गत रुचाउन छाड्यो उसले । चुरीफुरी निकै बढ्न थालेपछि साना भुरेटाकुरेलाई गन्ने त कुरै रहेन । सम्पत्तिवाल बन्ने रहरमा हेर्दाहेर्दै उसमा क्यासिनो धाउने बानी बढ्दै गयो । क्यासिनो धाउन थालेदेखि एक, दुई पटकको जितसँगै उसमा लत बस्यो । आजभन्दा भोलि, भोलिभन्दा पर्सि क्यासिनोमा जितसँगै हार्ने प्रक्रिया बढ्दै गयो (अधिकारी. २०६९ ५५)।
यस अंशमा गलत आदतका कारण मानिसले सम्पत्ति नास गरेर टाट पल्टेको अवस्था चित्रण छ । यहाँ गलत आदत, गलत संस्कार एवम् गलत क्रियाकलाप कहिल्यै पनि टिकाउ हुँदैन भन्ने विचार व्यक्त भएको छ । यस रचनामा अस्वाभाविक जीवनशैली अंगाल्ने मानिसको क्रियाकलापप्रति बिमतिभाव व्यक्त भएको छ ।
(ग) गाडीमा “म कहिले नझुक्ने नेपालको छोरो’’ गीत घन्किरहेको थियो…. क्या झुर गीत । अलि गतिलो छैन । जसोजसो बाजे उसैउसै स्वाहा, गुरुजीले पनि नेताज्यूको आज्ञामुताबिक काम फत्ते गर्दै गए । आलोपालो गरी “चोलीके पिछे क्या है…। तु चिज बढी है मस्तमस्त…’’ जस्ता गीतले वाताबरण गुञ्जायमान भयो (शिवाकोटी २०७० : १४८) ।
यस अंशमा राजनीतिक नेताले राष्ट्रिय गीतलाई झुर भनेको, विदेशी गीतप्रति अनुराग देखाएका छन् । नेतामा सांस्कृतिक एवम् नैतिक पतन देखिएको पुष्टि भएको छ । लघुकथामा राजनीतिक नेताको असामान्य गतिविधिप्रति विमतिभाव व्यक्त भएको छ ।
(घ) एकदिन भगवान् पनि मत्र्यमण्डलमा युवाहरूको के कस्तो अवस्था छ होला भनी बुझ्न ठाँटिएर पृथ्वीमा झरेछन्न…. मत्र्यमण्डलका युवाको स्थिति बुझ्न गएका भगवान्लाई झन्डै 'चोक्टा खान गएकी बुढी झोलमा डुबेर मरी’ भनेझै भएको थियो । यता त्यस युवतीको अनुहारमा यौवनको ज्वाला अझै निभेको थिएन । जसलाई कम गर्न ऊ पेगका पेग बियरको चुस्की लगाउँदै फतफताइरहेकी थिई, 'यस्ता पनि लोग्नेमान्छे, हुतिहारा, नामर्द’ (अर्याल 'आँसु’ २०६६ : ७०–७१) ।
यस अंशमा एकजना महिलाको आत्मनियन्त्रणको अभावलाई प्रस्तुत गरिएको छ। लघुकथामा भोगविलासपूर्ण जीवनशैली अंगालेकी महिला यौन उन्मादले ग्रसित क्रियाकलाप अभिव्यक्त भएको छ । यहाँ महिलाले आफ्नो दैहिक आवश्यकता पुरा गर्न नसक्दा उत्पन्न पीडालाई सहन गर्न नसकी उसमा असामान्य मनोदशा एवम् विक्षिप्तता बढ्दै गएको पाइन्छ । यस रचनामा महिलाको अस्वाभाविक जीवनशैलीप्रति असहमत चेतना व्यक्त भएको छ ।
(ङ) आफ्नो जोडीको सर्वोत्तम फोटो हेरेर उनले मुस्कुराउँदै भनिन्, “अब भने चट्टसँग कपल फोटो च्यालेन्जमा पोस्ट गर्दछु ।’’ उनले फेसबुक खोलिन् । उनले कुकुर, बिरालो, बाँदर आदिका जोडीलाई कार्टुन बनाई कपल च्यालेन्जमा हालेको फोटो भाइरल भइरहेको देखिन् (उप्रेती. २०७८ : २२)।
यस अंशमा सामाजिक सञ्जालको प्रभावमा परेर देखावटीपूर्ण जीवन बिताउने नरनारीको जीवनप्रति व्यङ्ग्य गरिएको छ । लघुकथामा मानिसको देखावटीपनप्रति व्यङ्ग्य गर्न 'कुकुर, बिरालो, बाँदर आदिका जोडीलाई कार्टुन बनाई कपल च्यालेन्जमा हालेको फोटो भाइरल भइरहेको’ भनिएको छ । यहाँ मानिसको फेसन एवम् आडम्बरपूर्ण जीवनप्रति, प्रदर्शनमुखी व्यवहारप्रति आलोचना एवम् व्यङ्ग्य गरिएको छ ।
(च) 'हेरहेर फेरि को आए छ यै बेला ?’ माथिबाट कोही झर्कियो । 'त्यै तपाईंको काम नपाको साथी होला । रिटाएर भएपछि घरघरै चाहार्ने जागीर खाका छन् ।’ आजित भएको अर्को नमिठो स्वर पनि सँगसँगै ओर्लियो (मानन्धर, २०७६ : १७) ।
यस अंशमा एक जना अवकाश पाएको व्यक्तिले अवकाश पाएपछि छिमेकीको घर जाँदा भोग्नुपरेको अपमानलाई प्रस्तुत गरिएको छ ।
लघुकथामा बुढो, कनै पनि पदमा नभएको व्यक्तिलाई कसरी उपेक्षा गरिन्छ भन्ने कुरालाई दर्शाइएको छ । लघुकथामा पूरानो पुस्ताको ज्ञान र अनुभवको उपयोग गर्नेभन्दा पनि त्यसलाई उपेक्षा गर्ने प्रवृत्ति देखाइएको छ । यस अंशमा अवकाश प्राप्त गरेपछि मानिसको नियमित जीवनशैली भङ्ग हुने, उसको जीवनशैलीका कारण अरूले पनि दुःख पाएको अवस्थालाई चित्रण गरिएको छ ।
(छ) त्यस्तो राम्रो विश्लेषक, राज्यको वर्तमान राजनीतिबारे बेखबर होला भन्ने हामीलाई विश्वास नै भएन…. पछि थाहा लाग्यो, ऊ पञ्चायतकालमा विदेश पलायन भएर भर्खर जसो फर्केको रहेछ । त्यही भएर उसको राजनीतिक चेतना पनि देश छाडेर जाँदा जस्तो थियो… जस्ताको त्यस्तै रहेछ (सिन्धुलीय २०७२ : ५६) ।
यस अंशमा कुनै पनि कुराको ज्ञानबिना सो विषयमा बोल्दा सामाजिक टिप्पणीको विषय बन्ने यथार्थलाई प्रस्तुत गरिएको छ ।
लघुकथामा लामो समय देश छोडेर पछि नेपाल आएको मानिसले यहाँको वस्तुस्थितिको सही विश्लेषण गर्न नसकेको यथार्थलाई प्रस्तुत गरिएको छ । लघुकथामा यथार्थमा नगएर खालि प्रदर्शनमुखी व्यवहार गर्दा मानिसको जीवन असमान्य एवम् अस्वभाविक बन्ने र ऊ अपहेलनाको पात्र बन्ने गरेको सन्दर्भलाई प्रस्तुत गरिएको छ ।
(ज) “जनताले विकास चाहेका छन् । विकासबिना पार्टी बलियो हुँदैन…’’ भनेर बट्टा थाप्दथ्यो । पार्टीप्रति समर्पित उक्त किशोरप्रति प्रभावित हुँदै एक जना बटुवाले “पार्टीलाई ज्यादै माया गर्छौं जस्तो छ नि ! तिम्रो नाम के हो ?’’ भनेर सोध्यो । उसले फूर्तिसाथ “विकास’’ भनेर उत्तर दियो (पराजुली. २०७५ : ११३) ।
यस अंशमा राजनीतिको नाम लिएर ठगी कार्य गर्ने मानिसको क्रियाकलापलाई प्रस्तुत गरिएको छ । लघुकथामा राजनीतिको नाममा ठगी गर्ने मानिसका कारण समाजमा राजनीति गर्ने हरेक मानिसमाथि गलत शंका उत्पन्न भएको अवस्थालाई प्रस्तुत गरिएको छ । लघुकथामा असामान्य व्यवहार गर्ने व्यक्तिको क्रियाकलाप प्रस्तुत गरिएको छ। नेपाली लघुकथामा फेसन एवम् आडम्बरपूर्ण जीवनशैलीसँग सम्बन्धित रचनामा मानिसको प्रदर्शनमुखी व्यवहार र त्यस व्यवहारले उत्पन्न गरेको विकृत परिवेशलाई प्रस्तुत गरिनाका साथै त्यस्तो विकृत परिवेश एवम् क्रियाकलापविरोधी चेतना प्रस्तुत गरिएको छ ।
(झ) दुई महिलामध्ये एउटीले अर्कीलाई कोट्याउँदै भनिन्– “विचरा ! देख्दा यति राम्री र पढेलेखेकी लाग्ने, तर कति गरिब रहिछ नि बरे !’’…. अर्कीले मुसुमुसु हाँस्दै मुख कानैनेर लगेर भनिन्– “त्यस्तो कहाँ हो र ! त्यो त फेसन पो !’’ (पन्त. २०७२ : ६६) ।
यस अंशमा एक आधुनिक सभ्यतामा रमेकी महिलाको अर्धनग्न रूपलाई देखेर एक महिलाले गरिब ठान्न पुगेकी छिन् । अर्कीले फेसन भनेपछि यथार्थको रहस्योघाटन भएको छ । यस लघुकथामा आधुनिक सभ्यताका नाममा समाजमा असमान्य गतिविधि गर्ने पात्रप्रति व्यङ्ग्य गरिएको छ ।
(ञ) “यो च्यातिएको हैन हजुरबा आजकलको फेसन हो ।’’ ….. अहो ! कस्तो गजब ! कस्तो विडम्बना ? उनले विगत सम्झे । आफ्नो पालामा गरिबीको कारणले बाध्य भएर च्यातिएकै लुगा पनि दस ठाउँमा टालेर लगाउनुपरेको थियो (भोमी. २०७९ : ४९) ।
यस लघुकथा अंशमा वर्तमानमा युवा पुस्ताले अस्वाभाविक जीवनशैली अँगाल्ने गरेको, फेसनका नाममा च्यातिएको कपडा लाउने गरेको अवस्थालाई प्रस्तुत गरिएको छ । विगतमा मानिसले आर्थिक अभावका कारण फाटेका कपडालाई दस ठाउँमा टालेर लाउनुपरेको अवस्थाबोध गरिएको छ । लघुकथामा वर्तमानमा नयाँ पुस्ताले फेसनका नाममा असामान्य क्रियाकलाप गर्ने कार्यलाई प्रस्तुत गरिएको छ । नेपाली लघुकथामा समाजमा असल संस्कार एवम् संस्कृति स्थापना हुनुपर्ने चेतना सशक्त किसिमले अभिव्यक्त भएको छ ।
जीवित राख्नका लागि तपाईंको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।


No comments:
Post a Comment