"तपाईँको समुदायको उत्थानको लागि हामीले शिक्षामा लगानी गर्ने योजना बनाएका हौँ ।’’
केही समय अघि पल्लो गाउँबाट आएको चिम्पान्जीको दूतले चारो हालेको थियो । चारो खान बाँदरहरू जम्मा भएका थिए । आफ्नो वशमा पारेर उनीहरूको समुदायमा राज गर्ने चिम्पान्जीहरूको मनसाय थियो ।
उनीहरूले माग अनुसार रकम विनियोजन गरेको घोषणा भएको थियो । कसैले विद्यालय, कसैले विद्यालय बस, कसैले छात्रावास त कसैले एम्बुलेन्स् सहयोग लिएर फर्केका थिए ।
बाँदरहरूको प्रतिनिधित्व गर्दै त्यस समूहमा केही ढेडुहरू पनि सहभागी थिए । आकृति र स्वभाव बढी मिल्ने भएर होला चिम्पान्जीहरू उनीहरूलाई विश्वासकासाथ वशमा पारेर आफ्नो दुनो सोझ्याउन चाहन्थे ।
लगेको बजेट कसैले सदुपयोग गरे, कसैले झ्वाम पारे ।
आज चाहीँ उनीहरूकै सहयोगमा एउटा बाँदर समुदायका लागि स्थापित विद्यालयको उद्घाटनमा चिम्पान्जी बोल्दै थिए । “अब तपाईँका छोराछोरी शिक्षित हुनेछन्, तपाईँको समूदायमा आमूल परिवर्तन आउने छ ।’’
चिम्पान्जी र ढेडुले संयुक्त रूपमा रिबन काटेर विद्यालयको उद्घाटन गरे । बाँदरहरूले ताली पड्काए ।
शिलालेखमा लेखिएको विद्यालयको नाम पढेर बाँदरहरू मुखामुख गर्न थाले । कसैले मुख लेप्य्राए ।
एउटाले खासखुस गर्यो, “होइन आफ्नो बाउको नाम राखेर विद्यालय खोल्न त, कि त उसले जग्गा दान दिएको हुनुपर्यो, कि त धन लगानी गरेको हुनुपर्यो, र्होन र भन्या ? दाता एउटा छ, कसरी लाजै पचाउन सक्या होला ?’’
अर्कोले सहमति जनायो, “त्यही त भन्या यो ढेडुले पनि मान्छेका नेता कै सङ्गत गरे जस्तो पो छ !’’
- काभ्रे, पनौती । हालः कपन, काठमाडौँ


No comments:
Post a Comment