देशमा बिचौलियाहरूको बिगबिगी, उसले बिहानको खबर पढ्यो । ठुल्दाइले आफ्नो घरमा पठाएको मान्छेको एकतर्फी कुरा सुनेर बिचौलियाको घर प्रवेश भएको उसले महशुस गर्यो । पूर्व घटनाको स्मृति भयो । आज भन्दा ६/७ वर्ष अघि आफ्नै ठुल्दाइले आफ्नै पैतृक जमिन हड्पेको थियो । अनुनय विनय गरी फिर्ता दिन नमानेपछि ठुल्दाइ विरुद्ध मुद्दा लड्नु पर्यो । अपार दुःख पीडा पछि अन्तिममा अदालतबाट न्याय पायो ।
जमिन फिर्ता लिने काम बाँकी नै थियो । अचानक आफूलाई कथित राष्ट्र सेवक, समाजसेवी भन्ने व्यक्तिहरू शान्तिदूत बनेर आएका रहेछन् । स्वार्थ र द्रव्यको आशमा । ठुल्दाइ वकिल पढेका तर पास नभएको खुरापाती दिमागका मान्छे थिए । मिडिलम्यान भेषमा आएका व्यक्तिहरूले ‘अब दाजु–भाइ मिल्नुपर्छ ।’ भन्ने सल्लाह दिन आएका रहेछन् । उसले ती व्यक्तिहरूलाई शिरदेखि पाउसम्म नियालेर हेर्यो र प्रश्न गर्यो ।
‘महाशय ! अब के कुरा मिलाउन बाँकी रह्यो र…? आफ्नै पैतृक सम्पत्ति पाउन मुद्दा खेप्नु पर्यो । कति दुःख, मानसिक यातना भोगेँ । घर बनाउन बचाएको एकएक पैसा सबै खर्च भयो । यहाँसम्म कि जागिर पनि छाडेर मुद्दा लड्नु पर्यो । के सबैको भर्पाइ तिमीहरूले गर्न सक्छौं ?’ एकै श्वासमा प्रश्नहरूको वर्षा भएपछि ती बिचौलियाहरू ‘अँ मिल्नु पर्ने हो तर भर्पाइ गर्न सक्दैनौं ।’ भन्दै एक एक पाइला पछि सार्दै आ–आफ्नो घर तर्फ लागे ।
त्यहीबेला भान्छाबाट उनकी श्रीमतीले भनिन्– ‘सर्तक भएर बस्नुस् है । खुरापाती दिमाग भएका तपाईंका दाइले के कस्तो चाल चल्न सक्छ ।’ यस्तो श्रीमतीको तर्क सुनेर उ गम्भीर बन्यो ।
बुङ्गमति २२ ललितपुर
जीवित राख्नका लागि तपाईंको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
No comments:
Post a Comment